गोर्खा भर्ती : १४५ तालिम केन्द्रमा छाती नाप्दै युवा | Khabarhub Khabarhub

गोर्खा भर्ती : १४५ तालिम केन्द्रमा छाती नाप्दै युवा

नेपाली युवाको २१० वर्षे रहर



धरान – ‘यदि मेरो सेनामा गोर्खाहरू हुन्थे भने म संसारै जित्थेँ’– फ्रेन्च सम्राट नेपोलियन बोनापार्ट

‘यदि कुनै मानिसले भन्यो कि ऊ मृत्युबाट डराउँदैन भने ऊ या त झूट बोलिरहेको छ, या ऊ गोर्खा हो ।’ – भारतीय सेनाका पूर्व प्रमुख सैम मानिकशा

‘सबैभन्दा बहादुरको पनि बहादुर, सबैभन्दा उदारहरूमा उदार, कुनै पनि देशले गोर्खाजस्ता विश्वस्त साथी कहिल्यै पाएको थिएन ।’– ब्रिटिश इतिहासकार, दार्शनिक सर राल्फ लिली टर्नर

गोर्खा सेपोइ (सिपाही) सैनिकका बारेमा विभिन्न इतिहासकार, सम्राट, बेलायत र भारतीय सेनाका पूर्व प्रमुखहरू र गोर्खाबारे अध्येता इतिहासकारहरूले यति उच्चकोटिको शब्दावली प्रयोग गरेका छन् कि ती भनाइहरूलाई विश्लेषण गर्ने हो भने अरु मुलुकका सैनिक त केही पनि होइनन् ।

सन् १९८२ मा अर्जेन्टिनाको स्वामित्वमा रहेको फोकल्याण्ड टापु कब्जा गर्नुअघि ब्रिटिश मिडियाहरूले लेखे, ‘हामीसँग बिजुलीझैँ चम्किने खुकुरीधारी गोर्खा सेना छन् जसले जिउँदो मानिसलाई पलभरमै काटेर रगत चुस्छन् । तिनीहरू शान्त देखिए पनि घातक हुन्छन् ।’ यति भएपछि अर्जेन्टिनी सेनाहरू हतियार छाडेर आत्मसमर्पण गर्न तयार भए । युद्धका लागि पठाइएका सातौँ गोर्खा राइफल्सको पल्टनले फोकल्याण्ड टापु सहजै जितेर महारानी एलिजाबेथलाई सुम्पिए ।

यस्ता अनेक मिथक र किंवदन्तीले विश्वमा गोर्खा जवानको बहादूरी, इमान्दारिता, निष्ठा, युद्ध कौशल र जिम्मेवार अनुशासित योद्धा भएको ऐना देखाउँछ । चाहे ब्रिटिश गोर्खा सैनिक होस् वा भारतीय गोर्खा सैनिक उनीहरूलाई चिनाउन यी माथिका मिथक, किंवदन्ती वा इतिहासकारहरूले लेखेका शब्दहरू काफी छन् ।

गोर्खाहरूले युद्धमा देखिएको युद्धकौशलकै कारण इतिहासमा मिथक रचिए, किंवदन्ती फैलिए वा इतिहासकारहरूले मनैदेखि लेखे । गोर्खाको बहादूरीको वर्णनलाई आधार बनाएर अहिलेसम्म पनि बेलायत र भारतले त्रिपक्षीय सम्झौताअनुसार बर्सेनि नेपालबाट छानी छानी युवाहरू लैजाने गरेका छन् । र, युवाहरूले गोर्खा भर्तीमा भिड्नु र बेलायत तथा भारतले आफ्नो राष्ट्रको सेवकको रुपमा सेनामा भर्ती गर्नु २ सय वर्ष यता संस्कृतिको रूपमा विकास भएको छ । यही संस्कृति यतिबेला आधुनिक पुस्ताका नेपाली युवाको मनमष्तिष्कमा गाडिएको छ ।

रहर र करको रूपमा जरा गाडिएकैले होला गोर्खा भर्तीमा अब्बल उत्रनका लागि ताप्लेजुङको पाथिभरा याङ्वरकका मानबहादुर लिम्बू शारीरिक रूपमा कठिन कसरत गरिरहेका छन् । उनी धरानको एक ट्रेनिङ सेन्टरमा भर्ना भएका छन् । २०२५ मा बेलायती सेना र सिङ्गापुर पुलिस फोर्समा ५ सय जना युवाहरू जाने निश्चित छ ।

बेलायती पाउण्ड स्टर्लिङ वा सिङ्गापुर डलर कमाउनका लागि भर्ती हुन भने त्यति सजिलो छैन । नेपालीको हकमा भर्ती हुन चाहाने युवाका लागि शारीरिक स्वस्थता र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण हुनुपर्ने अनिवार्य शर्त छ । लाहुरे बन्ने वा भर्ती लाग्ने युवाहरूको भीडमा ताप्लेजुङका लिम्बूजस्तै पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुरलगायतका जिल्लाबाट हजारौँ जना धरानका ट्रेनिङ सेन्टरमा भर्ना भई कठिन अभ्यासमा जुटिरहेका छन् ।

भर्खर १८ वर्ष पुगेका लिम्बूले भने, ‘प्लस टु पढ्दा पढ्दै बेलायती सेनामा भर्ती जाने रहर चल्यो । आफूभन्दा सिनियरहरू भर्ती भएको देखेर पढाइलाई बीचैमा छाडेर लाहुरे ट्रेनिङ सेन्टरमा भर्ना भएको छु । अनलाइन रजिष्ट्रेशन फर्ममा बेलायती सेना रोजेको छु । शारीरिक कसरतसँगै अङ्ग्रेजी, साइन्स र म्याथको अभ्यास पनि हुँदैछ । हेरौँ पहिलो प्रयास के हुन्छ ?’

लिम्बूले बेलायती सेना रोजे पनि उनका अर्का साथी पाँचथरका फाल्गुनन्द गाउँपालिकाका सुधीर लिम्बूले भने अनलाइन रजिष्ट्रेशन फर्ममा सिङ्गापुर पुलिस फोर्स रोजेको बताए । उनले प्लस टु पास गरिसकेका छन् । प्लस टु पास गरेर स्नातक तहको अध्ययन गर्न कलेज नरोजेर उनी धरानका विभिन्न चोक र गल्लीहरूमा सञ्चालित टे«निङ सेन्टर घुम्दै एउटालाई रोजे ।

‘मास्टर तह पढेर पनि के गर्नु, आखिर जाने त विदेश नै हो । हङकङ जाउँ भने आइडी छैन । आइडी किनेर जाँदा एक करोड रुपैयाँभन्दा बढी भन्दा रहेछन् । सजिलै बेलायत जानका लागि आफ्नो बाउआमा ब्रिटिश गोर्खा सैनिक हुनु पर्‍यो,’ सुधीर भन्छन्, ‘विकल्पमा कि कोरिया, कि खाडी, कि स्टुटेण्ट भिसामा अस्ट्रेलिया, जापान, युरोप जानुपर्‍यो। त्यहाँ पुग्नका लागि पनि पैसाको खोला बगाउनु पर्छ । बरु ठूलो खर्च नगरी यसो ट्रेनिङ सेन्टरमा भर्ना भएर प्रयास किन नगर्ने भनेर लागियो यता ।’

धरानमा उनी जस्तै लाहुरे बनेर पैसा कमाउने सपना बुन्ने युवाहरू कम छैनन् । ट्रेनिङ सेन्टरमा आवासीय तालिम लिनेहरूको सङ्ख्या ६ हजार बढी छ । घरैमा आफैँ तालिम लिने युवाहरूको सङ्ख्या पनि कम छैन । ती युवाहरू बेलायतमा भर्ती भएमा उतैको नागरिक पनि हुन पाउने र पैसा पनि कमाउन सकिने, युरोपमात्र नभएर विश्वका कतिपय कुना कुना घुम्न पनि पाइने लोभमा परेर भर्ती हुन चाहानेहरूको सङ्ख्या बढेको छ ।

यस्तै बेलायती सेनामा पछिल्लो नियमअनुसार २२ वर्षपछि अवकाश पाउँदा मासिक न्यूनतम ६० हजार रुपैयाँभन्दा बढी पैसा बसीबसी पाउने गरेका छन् । सिङ्गापुर पुलिसले पेन्सन मात्र मासिक एक लाख रुपैयाँभन्दा बढी र भारतीयहरूले ५० हजार रुपैयाँ बढी पाउने गरेकाले गल्ला समक्ष छाती नापेर भर्ती हुन चाहने युवाहरूको सङ्ख्या बढेको छ ।

देशभर १४५ ट्रेनिङ सेन्टर

नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनमार्फत् दर्ता भएर सञ्चालित लाहुरे भर्ती ट्रेनिङ सेन्टरमा युवाहरू भर्ना हुने गरेका छन् । मुलुक भरी (धरान, पोखरा, दमक, ललितपुर, काठमाडौंलगायत) १४५ ट्रेनिङ सेन्टर खुलेका छन् । ती मध्ये धरानमा मात्र ४५ वटा ट्रेनिङ सेन्टर छन् ।

लाहुरे भर्ती लगाउने तालिम सेन्टर मुलुकमै पहिलो पटक ०५८ सालमा धरानमा बुल्स ट्रेनिङ सेन्टर खोलिएको थियो । तर त्यो राम्ररी सञ्चालन नभएपछि पर्वत राई, राजेन्द्र राई र युवराज गुरुङ मिलेर ब्रिटिश गोर्खा ट्रेनिङ सेन्टर (विफ आर्मी) वैधानिक रूपमा दर्ता भएर व्यावसायिक रूपमा सञ्चालनमा आयो ।

नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनका संस्थापक संरक्षक पर्वत राई भन्छन्, ‘भर्ती हुन चाहाने युवाहरूलाई यस्ता व्यावसायिक तालिम सेन्टरहरूले शारीरिक र बौद्धिक विकासमा मद्दत गरेको छ । ट्रेनिङ सेन्टरले एउटा युवालाई शारीरिक कसरतमात्र सिकाउँदै म्याथ, साइन्स र अङ्ग्रेजी भाषा पनि बोल्न र लेख्न सिकाउँछ ।’

सन् २०२५ का लागि करिब १८ हजार युवाको दरखास्त

सन् २०२५ अर्थात् विसं २०८२ को गोर्खा भर्ती इन्टेक (बेलायती र सिङ्गापुर) को पहिलो चरणको प्रकृया सकिएको छ । फागुन १६ देखि सुरु भएको पहिलो चरणको प्रक्रिया सकिएसँगै वैशाख १६ देखि दोस्रो चरण सुरु भएको छ । पहिलो चरणमा मुलुक भरीका १८ वर्ष पूरा गरेर २० वर्ष नकाटेका र कम्तिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) गरेका लक्का जवान स्वस्थ युवाहरूले अनलाइन दर्ता गर्नुपर्छ । गोर्खा भर्तीको इन्टेक २०२५ का लागि करिब १८ हजार युवाहरूले अनलाइन दर्ता फारम भरेको बताइएको छ ।

अर्थात् यो पनि एक प्रकारको अमेरिकन डिभी भरेजस्तै हो । फरक के छ भने अमेरिकन डिभी भर्दा कुनै पनि शारीरिक कसरत गर्नु पर्दैन । तर गोर्खा भर्तीमा प्रतिस्पर्धा गर्न कठिन शारीरिक कसरतको जरुरत पर्छ ।

अमेरिकन डिभीमा हजारौँले अनलाइन दर्ता गर्छन् । आखिरमा नेपालबाट एकसय डेढसयले चिट्ठा पार्छन् । गोर्खा भर्तीमा पनि हजारौँले अनलाइन दर्ता गरेर शारीरिक कसरतसँगै गणित र अङ्ग्रेजी भाषामा पनि अब्बल निस्कनु पर्छ । त्यति गर्दा पनि अन्तिममा बेलायती सेनामा जाने यो वर्षका लागि ३ सय ६० जना र सिङ्गापुर पुलिस फोर्समा जाने १ सय ४० जनामात्र हो ।

अर्थात् यो वर्ष ५ सय जना नेपाली युवा बेलायत र सिङ्गापुरमा भर्ती हुने निश्चित छ । अनलाइन दर्ताको सुरुवातमै बेलायती सेनामा जाने कि सिङ्गापुर पुलिस फोर्समा जाने भनेर दिएको ‘अप्सन’ छान्नुपर्छ ।

भर्ती हुन के गर्नुपर्छ ?

अनलाइन दर्ता गरिसकेपछि वैशाख १६ देखि असार २० गतेसम्म विशेष ‘एजुकेशन टेस्ट’ हुन्छ । एजुकेशन टेस्टमा सफल भएपछि ‘फिजिकल टेस्ट’ मा सहभागी हुन उपयुक्त सूचीमा नाम निस्कन्छ । र, उनीहरू यो वर्षको भदौ ११ देखि असोज ११ सम्ममा तयार हुनुपर्छ ।

अन्तिम चरणको प्रकृया पुस २३ देखि माघ १७ सम्म हुनेछ । त्यस अवधिमा १५ किलोको डोकोको भारी बोकेर ५.८ किलोमिटरको दूरीलाई ४३ मिनेटमा पूरा गर्नुपर्छ । हेभिङ कम्तिमा १४ पटक गर्नुपर्छ । रिपिटेड एण्ड क्यारी २.४० सेकेण्डमा सक्नु पर्छ । एउटा हातमा २० र अर्को हातमा २० लिटर पानीले भरिएको जर्किन बोकेर २ मिनेटमा ३० मिटरको दूरीलाई चार पटक कुद्नु पर्छ भने पाँच पटक खाली दौडनु पर्छ ।

२ मिनेट ३० सेकेण्डमा ८ सय मिटर दूरी दौडेर पूरा गर्नुपर्छ । २ हजार मिटरको दूरी ७ मिनेट १५ सेकेण्डमा दौडेर पूरा गर्नुपर्छ । यति सबै गर्दा अब्बलका पनि अब्बल जो उत्रन्छन्, ऊ नै बेलायत र सिङ्गापुर सेनामा भर्ती हुने भाग्यशाली युवा बन्न पुग्छन् ।

गोर्खा भर्तीमा प्रतिस्पर्धा गर्न सलक्क परेको ज्यान भएरमात्र हुँदैन । अति ट्यालेण्ट भएर पनि हुँदैन । शतप्रतिशत स्वस्थ शरीर त हुनै पर्छ । हात फैलाउँदा १८० डिग्रीको हुनै पर्छ । दुईभन्दा बढी दाँत किराले खाएर ग्याप भरेको हुनुहुँदैन । आँखा उस्तै दुरुस्त हुनुपर्छ । कलर भिजनदेखि पिसाब टेस्ट गर्दा चिकित्सकको मापदण्डभित्र पर्नुपर्छ । मधुमेह, प्रोटिन र ड्रग्स (कुनै लागूपदार्थ सेवन) को सङ्केत देखिनु हुँदैन । रक्तचाप सही हुनुपर्छ । ५ फुट ३ इन्च उचाईभित्र बडीमास इण्डेक्स (बिएमआई) १८–२८ भित्र हुनुपर्छ ।

गोर्खा भर्तिको इतिहास

गोर्खा भर्तीको इतिहास कोट्याउँदै जाँदा धेरैलाई लाग्न सक्छ सुगौली सन्धिका कारण गोर्खा भर्तीले मान्यता पाएको हो । ‘ब्रिटिश गोर्खा भर्ती : राष्ट्रिय कलङ्कको चिरफार’ पुस्तकका लेखक पूर्व ब्रिटिश गोर्खा सैनिक कृष्णकुमार हेम्ब्या लिम्बूका अनुसार सुगौली सन्धिका ९ वटै बुँदाहरू गोर्खा भर्तीबारे मौन देखिएका छन् ।

उनका अनुसार नेपाल अङ्ग्रेज युद्ध सन् १८१४ देखि १८१६ सम्म जारिरहेको बेला ब्रिटिश इस्ट इण्डिया कम्पनीका तर्फबाट २ डिसेम्बर १८१५ मा लेफ्टिनेन्ट कर्णेल ब्रांड शाले एकतर्फी हस्ताक्षर गरी १५ दिनभित्र हस्ताक्षर गर्न सन्धि–पत्र पठाएका थिए । उसबेलाको यातायात र सञ्चारको कुनै सुविधा नभएको अवस्थामा पत्र पाएको तीन महिना पछिमात्र सुगौलीमा रहेको अङ्ग्रेज शिविरमा पुगेर नेपालको तर्फबाट पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए ।

गोर्खा भर्तीबारे इतिहास लेख्दै आएका लिम्बूले पुस्तकमा लेखेका छन्, ‘पक्षपातपूर्ण सन्धि लाद्नुअघि नै ब्रिटेनले अवैधानिक रूपले नेपाली युवालाई आफ्नो सेनामा परिणत गर्यो । हुन त त्यो समयमा अहिले जस्तो साँध सिमाना र सार्वभौमसत्तासहितको राज्यको निर्माण भएकै थिएन । अहिलेका टोले गुण्डाझैँ पैसा र शक्ति हेरी खासगरी दक्षिण एसियाका सेनाहरूको ‘जता धेरै खान पायो उतै लाग्ने’ प्रचलन सामान्य थियो ।’ (ब्रिटिश गोर्खा भर्तीः राष्ट्रिय कलङ्कको चिरफार, पृष्ठ ३२)

गोर्खा भर्तीको चलनबारे पुस्तकमा उनले दाबी गरेका छन्, ‘कालीपारी देवथल र मलाउको लडाइँमा पराजित भएपछि स्वाभाविक रूपले सबै गोर्खा सेनाहरू अङ्ग्रेज सेनाको कब्जामा परे । सबै शर्तहरू मन्जुर गरी अमरसिंह थापा युद्ध मैदान छाडेर काली नदी तरे । दोस्रो चरणको युद्धमा अमरसिंह थापाले सिन्धुली गढीको जिम्मा पाए । र त सुगौली सन्धि सम्पन्न भएपछि पेट पाल्नकै लागि उनी सिख पल्टनमा भर्ती हुन पञ्जाबतिर लागे ।

उता अमरसिंह थापाले युद्ध मैदानमा छाडेका बाँकी पराजित गोर्खा सेनाहरूलाई शर्तअनुसार अङ्ग्रेजहरूले जे मन लाग्यो त्यही काम लगाउन थाले । धेरै गोर्खा सेनाहरू युद्धमा मरे । बाँचेका पनि महिनौँ भोक तिर्खाले थकित भए । कमाण्डरबिनाका हरूवा गोर्खा सेनाहरू बिरानो देशमा जताततै अलपत्र परे । आफ्नो जीवन रक्षा र एकपेट भातकै लागि भए पनि दुश्मनले जे भन्यो त्यही मान्न बाध्य हुनुपर्‍यो ।’ (ब्रिटिश गोर्खा भर्ती : राष्ट्रिय कलङ्कको चिरफार, पृष्ठ ३२)

धेरैलाई थाहा नहुन सक्छ करिब २ सय १० वर्ष अघि भएको नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली सेनाले खुकुरी, भाला र ढुङ्गामुढाको भरमा देखाएको युद्ध कौशल, निडरता, आँट र साहस देखेर ब्रिटिश इस्ट इण्डिया कम्पनीका जनरल अक्टरलोनीले आफ्नो सेनामा भर्ना गर्ने विचार गरे ।

नेपाल–अङ्ग्रेज बीचको सुगौली सन्धिमा दुईपक्षीय हस्ताक्षर हुनभन्दा अगाडि नै तत्कालीन गभर्नर हेस्टिङको अनुमतिमा गोर्खाली युद्धबन्दीलाई घर फर्काउनुको सट्टा हतियार नदिई भारी बोक्ने, ट्रेञ्च खन्नेजस्ता काममा प्रयोग गरे । युद्धमा पराजित गोर्खा सेनालाई पनि मिलाएर २४ अप्रिल १८१५ मा दुई नासिरी र एक सिर्मोर गरी तीन बटालियन स्थापना गरेर अनौपचारिक रूपमा गोर्खा भर्तीको सुरुआत गरेको गोर्खा भर्तीका इतिहासकार लिम्बूको बुझाइ छ ।

गोर्खा सेनाको रणकौशलबाट आकर्षित भएर लगत्तै अङ्ग्रेजहरूले कुमाउ क्षेत्रका सेनालाई पनि मिलाएर कुमाई बटालियन स्थापना गरे । गोर्खा पल्टनका जन्मदाता भने लेप्टिनेन्ट फ्रेडरिक योङ हुन् । उनी खलङ्गा युद्धमा गोर्खालीको युद्धबन्दी बनेका थिए । उनी युद्धबन्दी बन्नु अगाडि उनका सहयोगी जनरल जिलेस्पी भने गोर्खालीको प्रहारबाट बाँच्न सकेनन् । युद्धबन्दी भएकै अवस्थामा उनले गोर्खालीको चरित्रमात्र बुझ्ने मौका पाएनन्, भाषा र संस्कार पनि सिके ।

त्यहीबाट उनले वास्तविक गोर्खाको खाँटी व्यवहार र चरित्र पनि बुझ्ने मौका पाए । उनले देहरादुनको सिरमोरमा गोर्खा पल्टन स्थापना गरे । पछि त्यो पल्टन ‘सिरमोर रेजिमेन्ट’मा परिणत भयो । यसैलाई फेरि दोस्रो गोर्खा राइफल्स नामाकरण गरियो । सन् १९४७ को त्रिपक्षीय सन्धिपछि यो रेजिमेन्ट बेलायतको भागमा पर्‍यो । र, सन् १९९७ मा बेलायतले हङकङ छाड्नासाथ गोर्खा पल्टनको इतिहास बोकेको सिरमोर रेजिमेन्ट सदाका लागि विघटन भयो ।

भूगोलविद् डा. हर्क गुरुङले योभन्दा केही फरक इतिहास बताएका छन् । ‘लाहुरे’ शब्द र लाहुर जाने प्रचलन बारे उनले शिख सेनामा जाने (भर्ती) हुने चलनसँग जोडेका छन् । ब्रिटिशले गोर्खा भर्ती स्थापना गर्नुभन्दा अगाडि नै सन् १८०६ तिरै नेपालीहरू पन्जाबका राजा रणजित सिंहको सेनामा काम गर्न जाने गरेको र उनीहरू लाहोर (हालको पाकिस्तानको एक शहर) मा पुग्ने गरेका थिए र सोही लाहोर शब्दसँग लाहुरे नेपालीकरण भएको भन्ने भनाइ डा. गुरुङको छ ।

यद्यपि ब्रिटिशले औपचारिक रूपमा गोर्खा भर्ती केन्द्र सुरु गरेको समय भने सन् १८८६ मा हो जुन उत्तर प्रदेशको गोरखपुरमा राखिएको थियो । भारत, पाकिस्तान र बङ्गलादेश छुुट्टिनु अगाडि बेलायतको उपनिवेशकालमा पूर्वका लिम्बू र राई युवाहरूका लागि सन् १८९० मा दार्जिलिङमा (पछि जलपहाडमा) भर्ती केन्द्र स्थापना गरियो ।

सन् १९४७ मा नेपाल–भारत–ब्रिटिश बीच त्रीपक्षीय सन्धि भएपछि दार्जिलिङदेखि नेपालकै पक्लिहवा र धरानमा करिब सन् १९५३–५४ तिर सारियो । त्यसबेलाका चर्चित गोर्खा भर्ती केन्द्रहरू धरान, गोरखपुर, घुम (दार्जिलिङ), देहरादुन, कुनराघाट, जलपहाड, पुर्निया (बिहार) र पोखरा थिए ।

सन् १८०६ देखि नै गोर्खालीहरू दोस्रो मुलुकमा भाडाको सिपाही बनेर ज्यानको बाजी थाप्थे । पहिलो विश्वयुद्ध सन् १९१४–१८ र दोस्रो विश्वयुद्ध सन् १९३९–४५ मा धेरै लक्का जवान युवाले वीरगति प्राप्त गरे । पहिलो र दोस्रो विश्वयुद्ध र त्यसबाहेक अनेकौँ युद्धमा मारिएका गोर्खाली युवाको तथ्याङ्क हालसम्म पनि यकिन छैन । यो तथ्य लाखौँमा छ ।

यदि ती मारिएका लाखौँ युवाहरू कुनै युद्धमा नगएका भए नेपालको जनसङ्ख्या विशेष गरी पूर्वमा लिम्बू र राई, पश्चिमा मगर र गुरुङका जनसङ्ख्या अरु जातिको तुलनामा तेब्बर हुन्थ्यो । अरु जातिहरू सम्भवत अल्पसङ्ख्यकमा गणना हुन्थे । इतिहास लेखक कृष्णकुमार हेम्ब्या भन्छन्, ‘हाम्रा उर्जाशील युवाहरूलाई दशैंमा खसीबोकालाई जस्तै नापतौल गरेर ब्रिटिश सरकारलाई छानी छानी बेच्ने परम्पराको निरन्तरता स्वरुप हाल पोखरामा बर्सेनि महामेला सम्पन्न हुन्छ ।’

उनका अनुसार गोर्खा भर्तीका लागि गल्ला (भर्ती गराउनका लागि बेलायतले नेपालमा नियुक्ति दिएर राखेका स्थानीय प्रतिनिधि) ले गाउँमा आएर लर्के केटाहरू खोज्दै बैना पैसा दिन्थे । भर्ती केन्द्रसम्म पुग्नका लागि बाटो खर्च समेत दिन्थे ।

गोरखनाथबाट गोरखा, गोरक्षाबाट गोरखा, गाईबस्तु चराउने खर्कबाट गोरखा शब्द बनेको अनेक मिथकका बीच अङ्ग्रेजहरूले भने ‘गूर्काह’, ‘गूर्खा’, ‘गूर्का’ लेख्दै र उच्चारण गर्दै सन् १८९१ मा पहिलो पटक ‘जीयुआरकेएचए’ गुर्खा÷ गोर्खा लेखे र सोही अनुसार उच्चारण गरेर औपचारिक रूपमा चलनमा ल्याएको लेखक कृष्णकुमार हेम्ब्याको दाबी छ ।

विश्वयुद्धमा ६० हजार गोर्खाको वीरगति

नेपालको गोर्खा, गोरखा शब्द अङ्ग्रेजका लागि गुर्खा बनेको छ भने भारतीय सेनामा भर्ती हुने नेपालीका लागि पनि गुर्खा नै बनेको छ । सन् १८९१ अघि (गूर्खा) लेखिँदै आएकामा त्यसपछि भने सबै रेजिमेण्टहरूले गुर्खा (जीयुआरकेएचए) राइफल्स लेखे । पहिलो विश्वयुद्धमा २ लाख र दोस्रो विश्वयुद्धमा २ लाख ५० हजार गरी ४ लाख ५० हजार गोर्खाहरूले भाग (भर्ती) लिएका थिए । ती मध्ये ६० हजारले वीरगति प्राप्त गरे । डेढलाख जना घाइते भएका थिए ।

गोर्खा भर्तीबारे इतिहासकार कृष्णकुमार हेम्ब्याले आफ्नो खोजअनुसन्धान पुस्तकमा भनेका छन्, ‘सन् १८५८ देखि १९४७ बीचको नौ दशक अङ्ग्रेज र नेपालका शासकहरूका लागि गोर्खा भर्ती केन्द्र स्वर्णिम युग सावित भयो । गोर्खा सेनाकै बलमा अङ्ग्रेजहरूले ८९ वर्षसम्म प्रत्यक्ष लण्डनबाट हिन्दुस्तानमा ‘ब्रिटिश राज’ चलाए ।

ब्रिटिश आर्थिक समृद्धिको इतिहासमा यसलाई स्वर्णिम युग मानिन्छ । गोर्खा सेनाले दुईवटा विश्वयुद्धहरू यही समयमा लडेका थिए । यता राणाहरूको निरङ्कुश शासन् लम्ब्याउने एकमात्र माध्यम गोर्खा भर्ती भयो । अङ्ग्रेज र राणा शासकहरूको स्वार्थका कारण मगर, गुरुङ, लिम्बू, राई र पश्चिमान्चलका खस ठकुरी समुदायमा अपूरणीय क्षति भयो ।’ (ब्रिटिश–गोर्खा भर्तीः राष्ट्रिय कलङ्कको चिरफार, पेज ४३)

गोर्खा भर्ती राणादेखि राजासम्मको भागी खाने भाँडो

ब्रिटिश गोर्खा आन्दोलनबारे जानकारसमेत रहेका पूर्वसांसद तथा परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले पनि सन् १८१४–१५ को नेपाल अङ्ग्रेज युद्धभन्दा अगाडिदेखि नै अर्कै मुलुकमा गएर भर्ती हुने चलन बसेको ‘ब्रिटिश–गोर्खा (सन्धिदेखि सर्वोच्चसम्म) पुस्तकमा उल्लेख गरेका छन् । (ब्रिटिश–गोर्खा अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल) ।

उनका अनुसार सिक्किमको सेनामा मध्यकालदेखि लेप्चा भोटियाहरूसँगै केही लिम्बू र अन्य पहाडी मूलका गोर्खालीहरू सम्मिलित थिए । १७औँ शताब्दीदेखि भुटानमा बसाइ गएका गोर्खालीहरूले दक्षिण भुटानको रक्षा गर्नुका साथै भुटानी सुरक्षा सेवामा योगदान गर्दै आएका छन् । सन् १८८० देखि म्यानमार (बर्मा) मा गोर्खालीहरू भर्ती भएको पनि श्रेष्ठले उल्लेख गरेका छन् ।

त्यतिमात्र नभएर उनले बीसौँ शताब्दीको प्रारम्भमा चीनको स्वशासित क्षेत्र तिब्बतमा केही नेपालीबाबु र तिब्बती आमाबाट जन्मेका सन्तानहरूलाई सुरक्षा सेवामा भर्ती गरेको र बर्माबाट पनि केही भूपू ब्रिटिश गोर्खाहरू चीनको युनान प्रान्तमा गएर चिनियाँ सुरक्षाकार्यमा संलग्न रहेको पनि मनन् गर्नुपर्ने श्रेष्ठको बुझाइ छ ।

सन् १९४७ को त्रिपक्षीय सन्धिमा सार्वजनिक भएअनुसार १२ वटा बटालियन गोर्खा सैन्य भारतमा रहने र ८ वटा बटालियन बेलायतले लैजाने सहमति भएको आधारमा त्यसैको निरन्तरताको रूपमा नेपालीहरू गोर्खाली जवानको नाममा बेलायत र भारतमा मात्र सैनिक सेवामा भर्ती हुने गरेका छन् भन्ने आमधारणा छ ।

तर इतिहासकार दिनेशराज पन्तले ‘लाहोरमा नेपाली वीरहरू’ भनेर पूर्णिमा पूर्णाङ्क ५, वि.स.२०२२ मै विस्तृत लेख प्रकाशित गरिसकेका थिए । पञ्जाब केसरी रणजित सिंहको सेनामा नालापानी युद्धका नेपाली कमाण्डर बलभद्र कुँवर र अमरिसिंह थापा, उनका भाइ भूपालसिंह थापाहरू नेपाल अङ्ग्रेज युद्धपछि तिनै रणजित सिंहको सेनामा भर्ती भएको तथ्य उजागर गरेका छन् पन्तले ।

राणाकालमा गोर्खा भर्ती शासकहरूका लागि धन कमाउने, मान पदवी र सम्मान पाउने माध्यम बन्यो । त्यसबेला श्री ३ राणा प्रधानमन्त्रीहरू जङ्गबहादुर राणा, वीर शमशेर, चन्द्र शमशेर, जुद्ध शमशेर, पद्म शमशेर, मोहन शमशेरले अङ्ग्रेजलाई खुसी पार्न सत्ता टिकाउने कुटनीतिक अस्त्रको रूपमा प्रयोग गरे ।

पूर्वी पहाडका युवाहरूलाई अङ्ग्रेजी फौजमा भर्ती हुनका लागि उर्दी जारी गरे । शाहकालमा पनि यसैले निरन्तरता पायो । पृथ्वीनारायण शाहका सन्ततिहरू राजेन्द्र, सुरेन्द्र, पृथ्वीवीर, त्रिभूवन, महेन्द्र र ज्ञानेन्द्र राजाहरूले (सन् १८१६–२००७) मान पदवी र रोयल्टीको लोभमा गोर्खा भर्तीलाई मागी खाने भाँडो बनाए । (ब्रिटिश गोर्खा भर्ती : कलङ्कको चिरफार, पेज ४५) ।

वर्तमानमा गोर्खा भर्ती

करिब २१० वर्ष अघिदेखि सुरु भएको गोर्खा भर्ती अर्थात् कतिपय इतिहासकार, अनुसन्धानकर्ता र लेखक तथा स्वयम् गोर्खा पल्टनेहरूले भन्ने गरेको ‘अर्काको देशमा पैसामा बिकेर बन्ने भाडाको सिपाही’ हुने चलनको आधुनिक संस्करणमा पनि खासै परिवर्तन भने आएको छैन ।

यति हो, पुराना गोर्खा लाहुरेहरूले त्यसबेलाकै सामान्य हतियार गोर्खालीको हकमा खुकुरी अनिवार्य चलाउँथे । कम्पनीले उपलब्ध गराएको एकनाले बन्दुक र तोपहरू चलाउँथे ।

बेलायती सेनामा भर्ती हुनेले बेलायतले दुश्मन करार गरेको मुलुकका सेना र जनतामाथि जाइ लाग्थे । भारतीय सेनामा भर्ती हुनेहरूले भारतका दुश्मन मुलुकमाथि आक्रमण गर्थे । अहिले हतियारमात्र फेरिएको छ । आधुनिक हतियार चलाउन जान्ने भएका छन् गोर्खाहरू । त्यतिमात्र होइन अहिले भारत र बेलायती सेनामामात्र सीमित छैनन् ।

गोर्खा भर्तीबारे नेपालसँग कुनै सन्धि सम्झौता नै नभएका अमेरिका, फ्रान्स, रसिया, बहराइन, अफगानिस्तान, क्यानडाजस्ता मुलुकमा पनि भर्ती हुने गरेका छन् । भलै, बेलाबेलामा नेपालका केही नेताहरूले गोर्खा भर्ती बन्द गर्नुपर्छ भनेर कुर्लिए पनि रोकेर देखाउने आँट नेपाल सरकारले गर्न सकेको छैन । (अग्नीवीर प्रकरणले भारतीय सेनामा भर्ती हुने प्रक्रिया भने केही वर्ष यता रोकिएको छ)

सिङ्गापुरको सिङ्गापुर पुलिस फोर्स र ब्रुनाईको गोर्खा रिजर्भ युनिट (जिआरयु) मा भने बेलायतमार्फत् युवा पठाउने गरिन्छ । सिङ्गापुरमा रिक्रुटिङ अवस्थादेखि नै भर्ती गरिन्छ भने ब्रुनाईको जिआरयुमा बेलायती गोर्खा सेनाबाट अवकाश प्राप्त गोर्खालाई भर्ती गर्ने चलन छ ।

पछिल्लो केही वर्षयता चारवर्षे कालको ‘अग्निवीर’ प्रकरणले नेपालबाट छाती नाप्दै भारतीय गोर्खा सेनामा भर्ती गराउने कार्य भने रोकिएको छ । ७ वटा रेजिमेन्टमा ४३ वटा बटालियन रहेको भारतीय सेनामा गोर्खाहरू करिब ४२ हजारको सङ्ख्यामा रहेको (सन् २०२० यता भर्ती प्रक्रियामा रोक लागेकाले हाल ३२ हजार जनामात्र कार्यरत रहेको) ले सोही अनुसार वार्षिक १२ सय देखि १५ सय जना भर्ती हुने गरेका थिए । भारतीय गोर्खा सेनाको तलब तहअनुसार फरकफरक छ । २०२५ देखि सेपोइ (सिपाही) को न्यूनतम तलब ३० हजार भारु तय गरिएको छ ।

बेलायती सेनामा भर्ती हुने गोर्खाहरूको सङ्ख्या भने सानो छ । हाल त्यहाँ करिब ४ हजारको सेरोफेरोमा मात्र गोर्खा सेना छन् । नेटो मुलुकमध्ये सबै भन्दा कम सेना भएको नै बेलायत हो । जम्माजम्मी उसको सेना ७५ हजार आसपासको सङ्ख्यामा मात्र रहेको बताइन्छ । तर बेलायतले अप्रिलमा ४ सय जना गोर्खालाई समेटेर ‘किङ्ग्स गोर्खा आर्टिलरी’ स्थापना गरेको छ । (२९ अप्रिल, २०२५ मा प्रकाशित ‘द टाइम’ )

बेलायती गोर्खा सैनिकको तलब न्यूनतम ३ लाख ४० हजार रुपैयाँदेखि तहअनुसार वृद्धि हुँदै जान्छ । यस्तै सिङ्गापुर पुलिस फोर्समा हाल करिब १ हजार ८ सय गोर्खाहरू कार्यरत छन् । उनीहरूको मासिक तलब न्यूनतम २ लाख २८ हजार रुपैयादेखि माथि छ । तहअनुसार तलब वृद्धि हुँदै जान्छ ।

युवाको शैक्षिक जीवनमा गोर्खा भर्तीको असर

ब्रिटिश गोर्खा भर्तीको प्रक्रिया एक वर्षको हुन्छ । प्रत्येक वर्ष मुलुक भरीका करिब १८ हजार जनादेखि २० हजार जना भिड्छन् । अर्थात् गोर्खा भर्तीमा भिड्नका लागि १८ वर्षदेखि २० वर्षका प्रत्येक युवाले एक वर्षको समय दिनुपर्छ ।

पछिल्लो समयमा १८ वर्ष पुगेका अधिकांश युवा कक्षा १२ सिध्याएका हुन्छन् कि त स्नातक पहिलो वर्षमा पढिरहेका हुन्छन् । प्रत्येक वर्षको फागुनमा पहिलो चरणको गोर्खा भर्ती प्रक्रिया सुरु हुने सूचना सार्वजनिक हुनुभन्दा अगाडि युवाहरू नागरिकता बनाउने, राहदानी बनाउने, शैक्षिक प्रमाणपत्रहरू तयार गर्ने र धरान, इटहरी, विर्तामोड, दमक, पोखरा, काठमाडौं, ललितपुरलगायतका ट्रेनिङ सेन्टरमा भर्ना तयारीमा जुट्ने गरेका छन् । अनि सूरु हुन्छ ट्रेनिङ ।

कलेजको पढाइमा भन्दा ट्रेनिङमा बढी समय दिनुपर्ने भएकाले अधिकांशको पढाइ छुट्छ । आखिर बेलायत र सिङ्गापुरमा भर्ती हुने त साढे तीनसय जनामात्र हो । (यो वर्ष दुवै गरी ५ सय जनाको कोटा छ) बाँकी जो एक वर्षसम्म भिडेर पनि असफल हुन्छन् । ती मध्ये करिब १० हजार जना दोस्रो चरणमा असफल हुन्छन् ।

पोखराको अन्तिम छनौटका लागि पुगेका एक हजार जनामा आधा त्यही फ्याँकिन्छन् । तिनीहरू आँखाभरी आँशु पार्दै मनभरी तनाव र पीडा बोकेर घर फर्किन्छन् । कतिपय कुलतमा लाग्छन् । कतिपय बरालिएर अन्यत्रै मोडिन्छन् ।

कतिपयले अर्को वर्ष भर्ती लाग्ने तयारीमा जुट्छन् । फेरि पढाइमा फर्कने, कलेजमा भर्ना भएर छुटेको पढाइलाई निरन्तरता दिने, कम्तिमा मास्टर्स डिग्री गर्ने र त्यति गरेपछि नेपालकै सेना, प्रहरीमा लाग्ने वा लोकसेवा आयोगको पाठ्यक्रम पढेर नायब सुब्बा, अधिकृत, शाखा अधिकृत, सहसचिव, उपसचिव, शिक्षा सेवा वा चिकित्सा सेवा, इञ्जिनियरिङ, खाद्य प्राविधिक, वन सम्बन्धी फरेस्टर हुनेतर्फ सोच्नै भ्याउँदैनन् । गोर्खा भर्तीमा लाग्ने प्रयास गर्दागर्दै असफल भएपछि ५ प्रतिशत युवाहरूमा वैराग चलेर सिधै लागूऔषध दुव्र्यसनमा फस्ने गरेका छन् ।

धरान–१८ रत्नचोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक प्रेम मुकारुङ भन्छन्, ‘सन् २००८ देखि बेलायती सरकारले गोर्खा सेनालाई पनि ब्रिटिश सेना सरह समान तलब, सेवा सुविधा दिन र समान व्यवहार लागू त गर्यो । तर भर्ती लाग्ने उमेर भने १८ वर्षदेखि २० वर्ष नै कायम गर्‍यो ।

युवाहरू गोर्खा भर्तीका लागि भिड्छन् तर ती भिडेकामध्ये ९५ प्रतिशत फेल हुन्छन् । सबैलाई लैजाने कुरो पनि भएन । यो अवधिमा उनीहरूको पढाइ भने बिग्रन्छ ।’ उनका अनुसार बेलायती नागरिकले भने १६ वर्षदेखि ३६ वर्ष सम्मको उमेरमा पनि भर्ती भिड्न पाउने प्रावधान छ ।

‘नेपाल सरकारले बेलायत सरकारसँग सिधै कुरा गरेर नेपालबाट भर्ती हुन चाहाने युवाहरूको उमेर २० देखि २५ वर्षको तय गर्न सकेमा अधिकांशको पढाइ बिग्रनबाट बच्न सक्छ । नत्र २५ वर्षदेखि माथि २८ वर्षसम्मकाले भिड्ने व्यवस्था भएमा धेरै युवाको पढाइले पूर्णता पाउँछ ।

यस्तो गरेमा कुनै पनि युवाले उसको पढाइअनुसार नेपालमै पनि जागिर वा व्यवसाय गरेर जीविका चलाउन सक्छ ।’ मुकारुङ भन्छन्, ‘भर्ती लाग्ने इच्छा भए भिड्न सक्छ । किनकि भर्ती लाग्ने उमेरको हदबन्दी दुई मुलुकको सरकार बीचको सहमतीमा बढाउन वा घटाउन सक्छन् ।’

सन् २००८ अघि भने भर्ती लाग्ने युवाको उमेर साढे १७ वर्षदेखि २२ वर्षसम्म तोकिएको थियो । बेलायत नेटोको प्रमुख नेतृत्वकर्ता मुलुक भएकाले आफ्नो सेनालाई युनिभर्सल आर्मीको रूपमा विकसित गरेकाले नेपालदेखि भर्ती हुनेहरू पनि सोही अनुसार छनौट हुने गरेका छन् ।

पहिलो र दोस्रो विश्वयुद्धमा बन्दुक बोकेर कुद्ने र चलाउन जान्ने भए पुग्थ्यो भने अहिले कुनै पनि शारीरिक, मानसिक र बौद्धिक सङ्कट आइपरेको बेला तत्काल निर्णय क्षमता देखाउन सक्ने र अङ्ग्रेजी, विज्ञान र गणितको उत्कृष्ट ज्ञान भएको शारीरिक रूपले पनि योद्धा नै हुनुपर्छ ।

झण्डै युवतीहरू पनि बेलायती गोर्खा सेनामा !

पाँच वर्षअघि धरानका केही ट्रेनिङ सेन्टरमा १८ देखि २० वर्षका युवतीहरू पनि कठिन शारीरिक कसरत गरिरहेको देखिन्थे । युवाहरू सँगसँगै उनीहरू दौडने, पुसअप, ह्याबिङ, डोको दौडमा भाग लिन्थे । बेलायतले नेपालबाट युवतीहरू पनि गोर्खा सेनामा लैजाँदैछ भन्ने व्यापक हल्ला र चर्चा चलेको थियो ।

त्यसबेला सन् २०२० देखि नेपालबाट करिब दुईसय जना युवतीहरूलाई पनि बर्सेनि लैजाने चर्चा चलेको थियो । तर नेपाल सरकारले नेपाली युवतीलाई गोर्खा सेनामा भर्ना हुन अनुमति नदिएपछि त्यो चर्चा त्यतिकै सेलायो ।

नेपालबाट नेपाली युवती गोर्खा सेनामा भर्ना गर्न नदिएपछि बेलायतमा भने पछिल्लो समयमा बेलायतमै आमाबाबु भएका पूर्व ब्रिटिश गोर्खा सैनिकका कपिपय छोरीहरूले उतैको नागरिकता लिएर ब्रिटिश सेनामा भर्ती भएको मुकारुङले बताए ।

तलका समाचार पनि पढ्नुहाेस् :

‘गोर्खा सेनाको गौरवशाली इतिहास’

नेपालले अंग्रेजसँगको युद्ध नजितेपछि उत्पन्न परिणाम

गोर्खा भर्तीसम्बन्धी रिट खारेज

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

गोर्खा भर्ती स्थगन गर्न माग

सर्वोच्चको आदेश कार्यान्वयनका लागि पूर्व ब्रिटिस गोर्खा सैनिकले प्रदर्शन गर्ने

काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू)

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

सर्वोच्चको फैसला कार्यान्वयन नगरे आन्दोलन गर्ने बिगेसोकाे चेतावनी 

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

बेलायती सेनाको टोलीद्वारा गोर्खा विग्रेडको प्रतिवेदन प्रस्तुत

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

बेलायती सेनामा भिसी पाउने पहिलो गोर्खा सैनिक थापाको सालिक अनावरण

बेलायती सेनामा भर्ती भएका नेपाली महिलालाई फिर्ता बोलाउन निर्देशन

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ४१ बजे

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल