नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको छ । जहाँ एक पुरुष आफ्नै बगैंचामा पालेको सिंहको आक्रमणबाट मारिएका छन् ।
सिंहले ती मालिकको शरीरको ठूलो हिस्सा खाइदिएको छ। उक्त आक्रमण गत बिहीबार भएको हो हो । यस घटनाले इराकमा बढ्दो अवैध वन्यजन्तु व्यापार र पशुपालनबारे पनि प्रश्न उठाएको डेली मेलले लेखेको छ ।
घटना
मृतक ५० वर्षीय अकिल फखर अल-दिनले केही वर्षदेखि सिंह लगायत वन्यजन्तुलाई आफ्नै बगैंचामा राख्दै आएका थिए। तर, बिहीबार उनले हालसालै किनेको सिंहले अप्रत्याशित रूपमा आक्रमण गर्दा मृत्युवरण गर्न बाध्य भए ।
इराकी सहर नजाफ प्रहरीका प्रवक्ता मुफिद ताहिरले स्थानीय सञ्चारमाध्यम रुदावसँग भने, ‘कुफाको एक बगैचामा सिंहले नागरिकमाथि आक्रमण गर्दा उनको तुरुन्तै मृत्यु भएको छ ।’
सिंहले ती इराकी नागरिकको शरीरको धेरै भाग खाइदिएको अवस्थामा भेटिएको उनले बताए । सिंहले उनलाई छोड्न इन्कार गरेकाले मार्नु परेको उनले बताए।
छिमेकीले सिंहलाई मारे
स्थानीय टेलिभिजन रिपोर्टअनुसार एकजना छिमेकीले कालाश्निकोभ राइफल प्रयोग गरेर सिंहलाई सात गोली हानेका थिए । तर त्यसबेलासम्म अकिल चिन्ताजनक अवस्थामा पुगिसकेका थिए । उनलाई तुरुन्तै अल-सद्र मेडिकल सिटी अस्पताल लगियो । तर गम्भीर चोटका कारण उनको ज्यान गयो, डाक्टरले बचाउन सकेनन् ।
सामाजिक सञ्जालमा भाइरल भएका तस्वीरहरूमा अकिल रगतले लतपत भएर अस्पतालको बेडमा देखिन्छन्। यस घटनाको औपचारिक अनुसन्धान सुरू गरिएको स्थानीय प्रहरीले जनाएको छ । आवासीय क्षेत्रमा यस्तो खतरनाक जनावर कसरी राख्न दिइयो भन्ने प्रश्न उठिरहेको छ।
सिंहको मृत शरीरको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । स्थानीय रिपोर्टअनुसार अकिलले उक्त सिंहलाई घरमै पाल्ने उद्देश्यले किनेका थिए। इराकमा यस्तो खतरनाक प्रवृत्ति बढ्दै गएको छ, जसमा मानिसहरूले सिंह, चितुवासहित अन्य जनावरहरू पालिरहेका छन्।
सन् २०१४ मा इराकले अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण सन्धि (साइटिस) मा हस्ताक्षर गरेका थिए । वर्षौँको द्वन्द्व, कमजोर कानुनी कार्यान्वयन र दुर्लभ प्रजातिप्रति बढ्दो मागले इराकलाई वन्यजन्तु तस्करीको हब बनाइरहेको छ ।
दोहोरिँदो घटना
यो घटना इराकमा पहिलो होइन। केही महिनाअघि एक चिडियाखानाका कर्मचारी सिंहको पिजडामा छिरेका थिए । आफ्नी प्रेमिकालाई प्रभावित पार्न खोज्दा सिंहले उनलाई मारिदिएको घटना चर्चामा आएको थियो।
नजाफमा भएको यो दुःखद घटनाले वन्यजन्तुलाई घरपालुवा जनावरको रूपमा पाल्नु कति खतरनाक हुन सक्छ भन्ने कुरा दर्शाएको छ । इराकमा जनावरको अवैध व्यापार र पालनपोषण रोक्न तत्काल कडा कदम चाल्न आवश्यक रहेको सन्देश दिएको छ ।
प्रतिक्रिया