नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न | Khabarhub Khabarhub

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले २०८१ चैत ४ गते डिल्लीबजारस्थित भोजनगृहमा आयोजित जनआन्दोलन परिचालन समिति घोषणा सभामा भनेका थिए, ‘म आजैका मितिदेखि राप्रपाको साधारण सदस्य रहन्न, राजा ल्याउन लाग्छु ।’

सुवेदीले त्यसबेला एक कदम अघि बढेर राप्रपा परित्याग गरेसँगै अब आफ्नो जोडबल र सबै शक्ति राजा फर्काउन लगाउने बताएका थिए । त्यही दिन उनले निकालेको वक्तव्यमा पनि राजसंस्थाका लागि नवीन समझदारी चाहिने बताएका थिए ।

‘नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म–संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतीकका रूपमा राजसंस्था अनि नियमित शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन नगरेको नेपालका हरेक परिवर्तन आन्दोलनको बलमा हुँदै आएको पृष्ठभूमिमा सकेसम्म निश्चित एजेन्डाका साथ प्रस्तुत भएका छौं,’ उनले त्यसबेला बनेका थिए ।

उनले यसरी राप्रपा छाडेको घोषणा गर्दा उक्त पार्टीका महामन्त्री धवल शमशेर जबरा पनि साथमा थिए । आइतबार सुवेदी निर्वाचन आयोग पुग्दा पनि धवल शमशेर र डा. प्रकाशचन्द्र लोहनी साथमा थिए ।

गत बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनै सुवेदी र प्रवक्ता सगुन सुन्दर लावतीलाई पदबाट हटाइदिए । अध्यक्ष लिङ्देनले केन्द्रीय अनुशासन समितिबाट सुवेदीलाई हटापएपछि सांसद रोशन कार्कीलाई मनोनीत गरिसेकका छन् । लिङ्देनको कदमविरुद्ध लावती पनि निर्वाचन आयोग पुगे ।

चैत ४ गते राप्रपा परित्याग गरेर स्वतन्त्र बनेको घोषणा गरेका सुवेदी नेतृत्वको आन्दोलन समितिले राजतन्त्र फर्काउनु त के लामो समय कार्यकर्तालाई सडकमा टिकाउनसमेत सकेन । उक्त आन्दोलन तितरबितर भएर सुवेदीले नै अब जिल्लाकेन्द्रित गर्ने भनेदेखि राजावादीहरू निराश भइसकेका छन् ।

त्यसबेला आफूलाई पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनको नेतृत्व गर्न भनेकाले राप्रपा छाडेर स्वतन्त्र बनेको बताएका सुवेदीले पार्टीमा लिखित निवेदन भने बुझाएका थिएनन् । मौखिक घोषणा गरे पनि लिखित राजीनामा नबुझाएका उनले बुधबार अध्यक्ष लिङ्देनले अनुशासन आयोगबाट हटाएको विरोधमा निर्वाचन आयोग गुहारेका हुन् ।

चैत ४ मा राप्रपा परित्यागसँगै सुवेदीले आफ्नै नेतृत्वमा मेडिकल व्यवसाय एवम् भाइरल अभियन्ता दुर्गा प्रसाई (हाल कारागारमा) लाई समेत समेटेर ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ समेत घोषणा गरेका थिए ।

डिल्लीबजारस्थित भोजन गृहमा आयोजित भेलाले सुवेदीको नेतृत्वमा गठित समितिमा दुर्गा प्रसाई, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, अस्मिता भण्डारी, पशुपतिसमशेर जबरा, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, राजेन्द्र लिङदेन र कमल थापालाई समेत सदस्यका रुपमा राखिएको थियो ।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्टले उक्त समितिमा बसेका थिएनन् । त्यहीबेलादेखि नै लिङ्देन र सुवेदीबीच पूर्वराजाको नजिकको खाँटी मान्छे को हुने भन्ने विवाद थियो । सुवेदी र प्रसाईंले राजतन्त्र माग्दै गरिरहेको आन्दोलनको नेतृत्व लिएपछि लिङ्देन सन्तुष्ट थिएनन् ।

त्यसबेला लिङ्देनले राजतन्त्र फर्काउने समितिमा नबस्ने बताएका थिए। ‘हामीलाई थाहै नदिई बनाइएको समितिमा बस्ने कुरै भएन, राप्रपाका अध्यक्ष लिङदेनले खबरहबसँग भनेका थिए, ‘नवराजजी आफैंले पार्टी परित्याग गरेर स्वतन्त्र अभियान चलाउँछु भन्नुभएको छ, त्यस्तो स्वतन्त्र अभियानमा पार्टीको प्रतिनिधि रहने कुरै भएन ।’

तर, राजसंस्था पुनःस्थापना गर्ने आन्दोलन जोसुकैले चलाए पनि त्यसमा राप्रपाको सकमर्थन रहने लिङदेनले बताएका थिए । उनले भनेका थिए,‘राजसंस्था पुनःस्थापनाका लागि यस्ता स्वतन्त्र अभियान धेरै चल्नुपर्छ । साथीहरूले गरेको यो प्रयासले आन्दोलनलाई राम्रै हुन्छ भन्ने लाग्छ, त्यसैले उहाँहरूको अभियानलाई राप्रपाको समर्थन छ । तर, त्यसमा पार्टी अध्यक्षले सदस्यका रुपमा रहने कुरै भएन ।’

उता राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि सुवेदीले चलाउने अभियानलाई समर्थन रहने बताएका थिए । उनले भनेका थिए, ‘उहाँहरूको अभियानमा हाम्रो समर्थन रहन्छ तर अध्यक्षलाई जानकारी नै नदिई नाम राखिएको हुनाले समितिमा बस्ने कुरा भएन।’

भोजन गृहमा भेला गर्नुअघि ८६ वर्षीय सुवेदी त्यसबेला राप्रपाको केन्द्रीय बैठकमा सहभागी भएका थिए । उनले ज्ञानेन्द्रबाट आफूलाई निगाह बक्स भएकाले भोजन गृहमा भेला गर्न लागेको भन्दै लिङदेनलाई निम्तो दिएका थिए । तर, लिङदेनले आफू नआउने बरू पार्टी प्रतिनिधि पठाउने बताएका थिए ।

भोजन गृहको भेलामा राप्रपाले उपाध्यक्ष हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशका नेता प्रदीप उदयलाई पठाएको थियो । तर, भेलामा सुवेदीले उल्टै पार्टी परित्यागको घोषणा गरेपछि राप्रपा नेताहरू त्यहाँबाट फर्किएका थिए ।

त्यसबेला राप्रपा सांसद ज्ञानेन्द्र शाहीले राप्रपा छाडेका नवराज सुवेदीलाई ‘नयाँ तुल्सी गिरी’को संज्ञा दिएका थिए। शाहीले आन्दोलनको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने बताएका थिए ।

अब फेरियो बोली

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले अहिले आएर बोली फेरेका छन् । चैतमै राप्रपाको साधारण सदस्यसमेत नहरने बताएका उनले लिङ्देनले आफूलाई प्राकृतिक न्यायविरुद्ध हुने गरी पार्टीबाट निष्कासन गरेको जिकिर गरेका छन् ।

राप्रपाले पार्टी अनुशासन आयोगको अध्यक्षबाट गत बुधबा हटाएपछि आइतबार उनी निर्वाचन आयोगमा उजुरी लिएर पुगे ।

लिङ्देनले अनुशासन आयोगको अध्यक्षबाट सुवेदीलाई हटाएका थिए । उनको स्थानमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारीमा ल्याइएको थियो । लिङ्देनको उक्त कार्यलाई सुवेदीले स्वेच्छाचारी कदम भनेका छन् ।

‘त्यो अध्यक्षको स्वेच्छाचारी कदम हो । केन्द्रीय समितिबाट निर्णय नै भएको छैन । प्राकृतिक न्यायको सिद्धान्तविरुद्ध उहाँहरूले निर्णय गर्नुभयो । निर्णयअगाडि मलाई सोध्नु पनि पर्थ्यो, सोधिएको पनि छैन’,उनले पत्रकारसँग भनेका छन्, ‘मलाई चिठी लेखेर दिएको पनि छैन । मैले त मिडियाबाट उहाँले मलाई निकाल्नु भएको थाहा पाएँ । त्यसकारण म आयोगमा उजुरी गर्न आएको हुँ ।’

सुवेदीले राप्रपा छाड्ने कुरा कहिल्यै नगरेको दाबी पनि गरेका छन् । आफूले एक सार्वजनिक कार्यक्रममा बोलेको भिडियोबाट अगाडी र पछाडिको सन्दर्भ काटेर भाइरल बनाइएको उनले बताए ।

‘मेरो आशय के थियो भने संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रका निम्ति म जुनसुकै योगदान गर्न पनि तयार छु । मेरो पार्टीबाट राजीनामा दिनुपर्यो, छोड्नुपर्यो भने पनि म छोड्न तयार छु’, उनले भने, ‘तर उक्त भिडियोको अगाडि र पछाडिको सबै सन्दर्भ काटेर हटाएपछि उहाँहरूलाई सुविधा मिल्ने मात्रै अंश राखेर भाइरल बनाइएको छ ।’

राप्रपाको अनुशासन समितिबाट हटाइएका सुवेदी निर्वाचन आयोगमा उजुरी दिन पुग्दा डा. धवलशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरू पनि पुगेका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : ५१ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको