काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा आ–आफ्नो पक्षमा पार्न गत निर्वाचनका विजेता र उपविजेता दलहरूले रणनीतिक तयारी थालेका छन् ।
रूपन्देही–३ मा रहेको दबदबा कायम राख्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र गत निर्वाचनमा ब्यहोर्नु परेको हारको बदला लिन नेपाली कांग्रेस रणनीतिक तयारीमा जुटेका हुन् ।
आगामी कात्तिक १७ का लागि निर्धारण गरिएको उपनिर्वाचनका लागि साविक विजेता राप्रपा र उपविजेता कांग्रेसमात्रै नभएर अन्य दलहरू पनि आन्तरिक तयारीमा छन् । तर, खबरहबले यहाँ साविक विजेता र उपविजेता दलको तयारी बारे रिपोर्ट तयार गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रूपन्देही–३ मा राप्रपाका नेता दीपक बोहरा, कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी खाँण ३४ हजार ३६ मतमा चित्त बुझाउन बाध्य भएका थिए ।
तत्कालीन समयमा यो क्षेत्रमा नेकपा (एमाले) ले राप्रपालाई सघाएका थियो । कांग्रेसलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को साथ थियो । एमालेको साथ पाएर तत्कालीन समयमा निर्वाचित राप्रपा समानुपातिकतर्फको मत परिणामअनुसार चौँथो स्थानमा आएको थियो । समानुपातिकतर्फको मतअनुसार रूपन्देही–३ मा राप्रपाको मत ९ हजार १८३ छ ।
यहाँ समानुपातिकतर्फ पहिलो भएको कांग्रेसको २० हजार २७९ मत देखिन्छ । राप्रपालाई सघाएको एमालेको समानुपातिकतर्फ १६ हजार ९८६ मत आएको थियो । कांग्रेसलाई सघाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकतर्फ क्रमशः दुई हजार ६३७ र ७८१ मत ल्याएका थिए ।
रूपन्देही–३ मा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले रूपन्देही–३ बाट उम्मेदवारी दिएका थिए ।
नाउपाका तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए । यहाँ समानुपातिकतर्फ १४ हजार १५४ मतसहित रास्वपा तेस्रो हुँदा नाउपाले ६ हजार १० र जनमतले तीन हजार ७३२ मत प्राप्त गरेका थिए ।
कांग्रेसमा प्रभावशाली नेताका रूपमा चिनिएका बहालवाला गृहमन्त्री खाँणलाई चुनावमा नबोली पराजित गरेर नेता बोहरा चर्चामा आएका थिए । पोष्ट कोभिडका कारण घाँटीमा समस्या भएर चुनावी अभियानका दौरान नबोलेका बोहराको ०८१ चैत १९ मा उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो ।
प्रतिनिधिसभा सदस्य बोहराको निधनका कारण रिक्त रहेको पद पूर्तिका लागि निर्वाचन आयोगले आगामी कार्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ ।
क्षेत्र सुरक्षित राख्ने योजनामा राप्रपा
राप्रपाले आफ्नो तर्फबाट यसअघि जितेको क्षेत्र सुरक्षित राख्ने योजनाका साथ चुनावी तयारी भइरहेको जनाएको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ क्षेत्रमा कामहरू भइरहेको राप्रपा रूपन्देहीका अध्यक्ष सागरप्रताप राणाको भनाइ छ ।
चुनावी रणनीतिअनुसार राप्रपाले रूपन्देही–३ मा बुधबारमात्रै क्षेत्रीय भेला सम्पन्न गरेको छ । उक्त भेलालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए । लिङ्देनले उपनिर्वाचनका लागि जिल्लालाई दिएको निर्देशनअनुसार काम भइरहेको जिल्ला अध्यक्ष राणाले बताए ।
‘अहिले प्रचार–प्रसार गर्ने, कार्यकर्तालाई एकजुट गर्ने काम गरिरहेका छौँ । हिजो (मङ्गलबार) मात्रै क्षेत्रीय भेला सम्पन्न गरेका छौँ,’ अध्यक्ष राणाले खबरहबसँग भने, ‘केन्द्रीय अध्यक्षज्यूले सम्बोधन गर्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको छ । हामी निर्देशनअनुसार अगाडि बढ्छौँ ।’
उपनिर्वाचनका लागि राप्रपाले जिल्लाबाट ६ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । गत असार २९ गते सम्पन्न जिल्ला कार्यसम्पादन समिति बैठकले पार्टी केन्द्रीय सदस्यहरू वसन्तविक्रम शाही र स्वाती थापा, जिल्ला अध्यक्ष राणा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र दिलिप मल्लिकको नाम सिफारिस गरेको हो ।
उम्मेदवारका लागि सिफारिस गरिएका गौरव (पाइलट) र प्रज्ज्वल (इन्जिनियर) राप्रपाका स्वर्गीय नेता बोहराका छोराहरू हुन् । यस्तै जिल्लास्तरीय नेता मल्लिक कानुन व्यवसायी हुन् । जिल्ला अध्यक्ष राणाले ६ जना आकांक्षीको नाम सिफारिस गरेर केन्द्रमा बुझाएको बताए ।
केन्द्रले प्रक्रिया पूरा गरेर टुङ्गो लगाएका उम्मेदवारलाई बाँकी आकांक्षीले निर्वाचित गराउन सघाउने प्रतिक्रिया दिए । ‘६ जनाको नाम जिल्लाबाट सिफारिस गरिसकेका छौँ । केन्द्रले प्रक्रिया पूरा गरेर उम्मेदवार टुङ्ग्याएर पठाउँछ,’ उनले भने, ‘जसलाई पठाउँछ हामी उनैको पछि लागेर चुनावमा जान्छौँ । चुनाव जिताउँछौँ ।’
राप्रपाको केन्द्रीय समितिले गत असार १९ गतेदेखि नै उपनिर्वाचनको तयारी सुरू गरिसकेको थियो । केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत् राप्रपाले उपनिर्वाचनको आवश्यक तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको थियो ।
पार्टीले प्रतिनिधिसभा सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समितिसमेत गठन गरिसकेको छ । प्रधान नेतृत्वको समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य छन् ।
हारको बदला लिने दाउमा कांग्रेस
कांग्रेस चुनावी सभामा एक शब्दससम्म नबोलेका राप्रपाका नेता बोहरासँग बहालवाला गृहमन्त्री खाँण पराजित हुँदा अप्रत्यासित रूपमा ब्यहोर्नु परेको चुनावी पीडालाई उपनिर्वाचनमार्फत् भुल्ने प्रयासमा छ ।
आसन्न उपनिर्वाचनलाई लक्षित गरेर कांग्रेस अहिले क्षेत्र नम्बर ३ मा पर्ने विभिन्न पालिकाका ३६ वटै वडाहरूमा वडास्तरीय भेलाहरू गरिरहेको छ । पार्टीका क्षेत्रीय सभापति सुशील गुरूङका अनुसार कांग्रेसले वडास्तरीय भेलाहरूबाट उपनिर्वाचनका लागि ‘फिडब्याक’ (प्रतिक्रिया) लिइरहेको छ ।
‘अहिले हामी क्षेत्र नम्बर ३ का ३६ वटै वडामा वडास्तरीय कार्यक्रमहरू गरिरहेका छौँ,’ क्षेत्रीय सभापति गुरूङले खबरहबसँग भने, ‘वडास्तरीय कार्यक्रमबाट आगामी उपनिर्वाचनका लागि के–कसरी अगाडि जान सकिन्छ भनेर फिडब्याक लिइरहेका छौँ ।’
उपनिर्वाचनको तयारीलगायतका विषयमा बुझन् साउन पहिलो साता कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रूपन्देही गएका थिए । क्षेत्रीय सभापति गुरूङका अनुसार चार दिन रूपन्देही बसेका शर्माले उपनिर्वाचन बारे स्थानीय नेताहरूसँग छलफल गरेका थिए ।
‘साउनको पहिलो सातातिर महामन्त्री विश्वप्रकाश शर्मा आउनुभएको थियो । उहाँ यहाँ चार दिन बस्नुभयो,’ उनले भने, ‘यसबीचमा हामीले सात वटा मिटिङ गरिसकेका छौँ । कसरी अगाडि बढ्ने भन्ने बारे छलफल गर्यौँ ।’
सभापति शेरबहादुर देउवाले साउन ९ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेर रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल गरेका थिए । बैठकमा जिल्ला सभापति रामकृष्ण खाँण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाँणले रूपन्देही–३ को पछिल्लो वस्तुस्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
कांग्रेसले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट प्रक्रिया भने अघि बढाइसकेको छैन । क्षेत्रीय सभापति गुरूङले अहिलेसम्म उम्मेदवारको विषयमा केही कुराकानी नभएको जानकारी दिए ।
‘विधानतः उम्मेदवारका आकांक्षीहरू सिफारिस गर्ने भनेको क्षेत्रले नै हो । सिफारिसबारे हामीलाई अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन,’ उनले भने, ‘यति गते भित्रमा यो–यो गरिसक्नू भनेर कुनै परिपत्र आएको छैन ।’
क्षेत्रीय सभापति गुरूङले केन्द्रीय कार्यसमितिले समयावधि तोकेर आकांक्षीहरूको नाम सिफारिसका लागि पत्राचार गरेपछि क्षेत्रमा सरसल्लाह गरेर सिफारिस गरिने पनि बताए । उनले उम्मेदवारीका लागि नेताहरूबाट अनौपचारिक रूपमा आकांक्षा भने व्यक्त भइरहेको जानकारी दिए ।
‘उम्मेदवार बन्न अनौपचारिक रूपमा साथीहरूले इच्छा राख्नुभएको छ,’ क्षेत्रीय सभापति गुरूङले भने, ‘अहिलेसम्म कसैले पनि औपचारिक रूपमा भने इच्छा राख्नुभएको छैन ।’
प्रतिक्रिया