खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिगलाई अर्को वर्ष सारेर पुस ९ देखि राष्ट्रिय लिग सञ्चालन गर्ने घोषणा गरिदियो। उक्त घोषणापछि खेलाडीले विरोधस्वरुप कार्तिक २१ मा सातदोबाटोस्थित एन्फा गेटमै पुगेर विरोधमा उत्रिए।
उनीहरुको विरोधमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले समेत ऐक्यवद्धता जनायो। सो दबाबपछि २३ गते एन्फाले उनीहरुलाई वार्तामा बोलाएको थियो। वार्ताका लागि एन्फाको कार्यालय पुगेका खेलाडीले प्रत्यक्ष प्रसारणको माग राखेपछि भने वार्ता असफल भयो। अन्तत मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफलपछि नेपाल फुटबल संघ (एन्फा) र खेलाडीबीचको द्वन्द्व तत्कालका लागि रोकिएको छ।
छलफलपछि सहिद स्मारक ए डिभिजन लिग ४ महिनाभित्र गराउनेमा दुबै पक्ष सहमत भएका छन्। मन्त्री बब्लु गुप्तासहितको उक्त सहमति अनुसार एन्फाले फागुनसम्म लिग गराउला नगराउला, त्यो त समयले देखाउनेछ। सो बारे खेलाडी के भन्छन् ? खेलाडीले आफ्नो खेल्न पाउने हकका लागि पटक–पटक विरोध र धर्ना बस्नुपर्ने अवस्था किन आउँछ ? र यसले उनीहरुमा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्नेबारे चर्चित खेलाडी तथा गोलरक्षक विकेस कुथुसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :
खेलाडीले आफ्नो खेल्न पाउने हकका लागि गर्नुपरेको विरोधले सार्थकता पाइसकेको छ, सरकार र एन्फासँग भएको छलफलमा के कस्ता कुरा भए ?
खेलाडीले खेल्न पाउने हक नखोसियोस् अब भावी पुस्ताले पनि दीर्घकालसम्म ढुक्कले खेल्न पाउने व्यवस्था गर्नका लागि हामीले विरोध जनाएका थियौं। हाम्रो एउटै माग थियो। विगत तीन वर्षदेखि ए डिभिजिन लिग भइरहेको छैन् , त्यो समयमै होस्। खेलाडीले तोकिएको समयमा सबै खेल खेल्न पाउनुपर्छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजनका क्लबबीच सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा अबको ४ महिनापछि ‘ए’ डिभिजन लिग गर्ने गरी सहमति भयो।

मन्त्री बब्लु गुप्ताको पहलकदमीले खेलाडीको मागलाई एउटा निचोड दिन सक्यो, त्यसमा हामी सकारात्मक छौं। एन्फाले यसअघि ‘ए’ डिभिजन लिगलाई अर्को वर्ष सारेर पुस ९ देखि राष्ट्रिय लिग सञ्चालन गर्ने घोषणा गरेपछि हामीले त्यसविरुद्ध सातदोबाटोस्थित एन्फा मुख्यालयमै गएर विरोधका कार्यक्रम गर्नुपरेको थियो। अब सहमति अनुसार ४ महिनापछि एन्फाले कुनै नयाँ वहाना नबनाई खेल गराओस्।
माग सम्बोधनका लागि मन्त्रीले खेल्नुभएको भूमिका कस्तो पाउनुभयो ?
मन्त्रीसँग भेटेको पहिलो दिनदेखिनै उहाँको आश्वासन एकदम सकारात्मक र खेलाडीको पक्षमा थियो। मन्त्रीहरु जो आए पनि हाम्रो प्रस्तावमा नाईं भन्नुहुन्न, तर काम कति गर्नुहुन्छ भन्ने कुरा अर्थपूर्ण हुन्छ।
नवनियुक्त मन्त्रीको हकमा उहाँले सुरुका दिनमा भेट्दा दिएको आश्वासनलाई कार्यान्वयनमा लैजानुभएको छ। उहाँको कार्यशैलीले आशा जगाएको छ। फुटबल लगायतका खेल क्षेत्रलाई बलियो र सफल बनाउन सरकार एन्फा र क्लबले सहकार्य गरेर अघि बढ्नुपर्छ। सबै सरोकारवालाहरु देशको खेलाडी र फुटबल बचाउँ भनेर लाग्नुपर्छ।
एन्फाको विरोध गर्नैपर्ने अवस्था कसरी आयो ?
ए डिभिजनको लागि हामीले पछिल्लो नेतृत्वसँग बारम्बार प्रस्ताव राखेका थियौं। उहाँहरुले पनि ए डिभिजन गराउनेबारे सकारात्मक आश्वासन दिइरहनुभएको थियो। त्यो हुँदाहुँदै पनि उहाँहरुले झ्वाट्ट नेशनल लिग हाल्दिनुभयो। खेलाडीको लागि १÷२ महिनासम्म मात्रै चल्ने नेशनल लिग पर्याप्त छैन्। यो भनेको थोरै खेलाडीले थोरै दिन खेल्ने खेल हो।
हाम्रो कन्सर्न भनेको खेलाडीले धेरै दिन खेलोेस्, जसले गर्दा हाम्रो क्षमता अभिवृद्धिसँगै पारिश्रमिक पनि कम्तिमा आफू पालिन सक्ने त होस् भनेर हामीले ए डिभिजन नै माग गरेका थियौं। जे होस् लडेरै भए पनि खेल्न पाउने भएका छौं। यस्तो नियति दोहो¥याउन नपरोस् एन्फासँग यत्ति माग छ।

क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा हाइप लिइरहँदा फुटबलले किन यो दुर्दशा भोग्नुपरेको होला ?
लगातार छलाङ् मारेर विश्वकै ध्यान खिच्न सफल भएको नेपाली क्रिकेट हेर्ने हो भने सही ठाउँमा सही मान्छे पुग्दा सफलता सम्भव हुँदोरहेछ भन्ने लाग्छ। त्यो कुरा क्रिकेटले प्रमाणित गर्यो। नघुमाइकन भन्ने हो भने फिल्डबाट खेलाडीको समस्या भोग्दै बुझ्दै पारस खड्का दाइ नेतृत्वमा जानुभयो।
उहाँलाई कहाँ–कहाँ कमजोरी छ भन्ने थाहा भएकाले भिजनका साथ काम गर्न सहज भयो। एन्फामा पनि त्यस्तै नेतृत्व आइदिए नेपाली फुटबल र खेलाडीले पनि पक्कै फड्को मार्न सक्छन्।
बिमल घर्ती लगायतका चर्चित खेलाडी विदेश पलायन भएका छन्, किन यस्तो अवस्था आयो ?
देशमा खेल्ने वातावरण नै छैन। प्रतियोगिता नहुँदा खेलाडीको जीविकोपार्जनमै समस्या परेको छ। त्यसले गर्दा खेलाडीहरु पलायन हुनुभएको छ। फुटबलका धेरै खेलाडी यतिबेला अष्ट्रेलियमा सङ्घर्षरत हुनुहुन्छ।
नयाँ खेलाडी उत्पादन तथा राष्ट्रिय टिमका खेलाडीलाई पलायन हुन नदिन जतिसक्दो बढी प्रतियोगिता गर्नुपर्ने हुन्छ। त्यसले खेलाडीको क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्याउँछ।
छिटफुट टुर्नामेन्टहरु चलिराखेको छ। त्यसले दिनमा एक छाक खान त पुग्ला तर एक छाक मात्रै खाएर त हुँदैन। साँझ बिहान दुबै छाक खान पर्यो। घरपरिवार खेलाडीको पनि हुन्छन्। परिवार पाल्नुर्यो। महङ्गी बढ्दो छ।
अधिकांस खेलाडी भाडामा बस्ने हुनुहुन्छ। खेलेर आयआर्जन गर्नै नसकेपछि भाडा कसरी तिर्ने ? दैनिकी कसरी चलाउने ? यही कारणले पनि खेलाडी विदेशिन बाध्य भएका छन्। हामीमध्ये केही खेलाडीलाई मैले कस्तो जीर्ण अवस्थामा भेटेको छु भने २÷३ जना भाइहरु त रेष्टुरेन्टमा काम गरिरहेको, पठाओ चलाइरहेको अवस्थामा भेटाएको छु। यसको मतलब मैले काम ठूलो सानो भनेर छुट्याउन खोजेको होइन। तर पनि, खेलेर आर्जन गर्नुपर्ने खेलाडी यसरी खुम्चिनु परेपछि मन त सबैको पक्कै दुख्छ होला नि हैन र ?
एन्फाले फुटबलमा नयाँ खेलाडी उत्पादन गर्न ग्रासरुट अभियान चलाइरहेको छैन ?
हास्यास्पद विषय नै यहीँ छ। ग्रासरुट कार्यक्रममा उहाँहरुले विद्यालयमा गएर बल त बाँडी राख्नुभाछ। के बल बाँड्दैमा खेल्ने वातावरण तयार हुन्छ ? विद्यार्थीहरुलाई फुटबलमा आकर्षित गर्न फुटबलमा उनीहरुको भविष्य छ भन्ने तथ्य लिएर जानुपर्दैन ?
बल बाँड्दै गर्दा भोलि तिमीहरु ए डिभिजन खेल्नुपर्छ भनेर एउटा आश्वासन त दिने होला नि। हालको हाम्रो अवस्था देखेर उहाँहरुको मनमा के बित्ला ? यसरी पछि खेल्न पाउने वातावरण नदेखेपछि बल बाँडेको अस्तित्व छ त ? यो अवस्थामा भोलिका लागि माहोल बन्छ जस्तो लाग्दैन। पुराना खेलाडी पलायन हुने नयाँ खेलाडी उत्पादन गर्न नसक्ने अवस्थामा नेपाली फुटबल कहाँ पुग्ला ?

फुटबललाई सफल बनाउन सरकारलाई के सुझाव दिनुहुन्छ ?
नेपाल जस्तो गरिब देशमा हरेक कुराको समस्या छ। यद्यपि असान्दर्भिक चाहाना र माग हाम्रो छैन्। सबै सरोकारवाला निकायको सहकार्यमा तालिकाअनुसार प्रतियोगिता गरिदिनुहोस् भन्ने हाम्रो माग सधैंको हो। खेल्नका लागि हामीसँग मैदान पनि पर्याप्त छन्। हिजो हामीसँग भएको दशरथ रगंशालामा मात्रै पनि त लिग खेल्न सम्भव थियो। आज त च्यासल, एन्फाको ग्राउण्ड, आर्मीको एपीएफको मैदान छ। एन्फाको इच्छाशक्ति मात्रै खड्किएको हो। अब आलटाल नगरे हामी खेलाडी र फुटबललाई माया गर्नेहरुका लागि त्यही ठूलो कुरा हुनेछ।













प्रतिक्रिया