काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
मतदाता नामावली सङ्कलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेन-जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीविरुद्ध लडेको भन्दै आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन् ।
उनले आफूहरूलाई विभिन्न दलसँग जोडेर टीकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाए । आफू कुनै दलमा आबद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले स्पष्ट पारे ।
उनले जने-जी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित रहनु राम्रो नभएको बताए । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए ।
गृहमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाई न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए ।
गुरुङ बिहीबार बिहान आयोग पुगेर गुरुङले हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन माग गरेका थिए ।
गुरुङनिकट अर्का जेन-जी अभियान्ता अनिल बानियाँका अनुसार आयोगमा गुरुङले आयुक्तहरूसँग छलफल गरे ।
गुरुङले निर्वाचन आयोगको वेबसाइटमा देखिएका समस्या र आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि थप प्रभावकारी बनाउन आग्रह गरे । उनले त्यसलाई सूचनामुखी बनाउनका लागि विभिन्न विकल्पमा छलफल गरेका छन् ।
‘मतदाता नावली सङ्कलनका लागि हिमाली जिल्लामा समस्या भइरहेको बुझेका छौँ । त्यसका लागि घुम्ती शिविर सञ्चालन लगायतको कार्यक्रम गर्न सुझाव दिएका छौँ’, बानियाँले खबरहबलाई भने, ‘आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएका छौँ ।’
बानियाँका अनुसार आयोगले पनि जेन-जीका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। बानिया निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गुरुङ गएको कुरा गलत रहेको बताउँछन् ।
पछिल्लो समय गुरुङले जेन-जीको मागलाई सम्बोधन गर्न सरकारले विभिन्न विकल्पहरूमा कुराकानी गर्नुपर्ने बताइरहेका छन्। उनले बिहीबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालय नेकपा एमालेका नेता जस्तो हुँदै गएको टिप्पणी गरेका थिए ।













प्रतिक्रिया