कृष्णपुरमा वैकल्पिक ऊर्जाको प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा « Khabarhub

कृष्णपुरमा वैकल्पिक ऊर्जाको प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

 वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्य, नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा खाना पकाउने विभिन्न स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र घरायसी बायोग्यास प्लान्ट जडान) गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार यस कार्यक्रमको उद्देश्य स्थानीय तहमा स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गर्दै दिगो विकास, वातावरणीय प्रदूषण नियन्त्रण र वन विनाश न्यूनीकरणमा योगदान पुर्‍याउनु रहेको छ । 

‘स्वच्छ ऊर्जा प्रयोग बढे वातावरण र स्वास्थ्यमा सुधार आउँछ, दाउरा र पेट्रोलियम पदार्थको निर्भरता घट्छ,’ उनले भने, ‘यही कारणले कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।’

कार्यक्रमअन्तर्गत प्रत्येक प्रविधिमा लागत साझेदारीको स्पष्ट संरचना तय गरिएको छ । विद्युतीय चुल्होमा कुल लागतको १० प्रतिशत हरित जलवायु कोषले, ४८ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले, १९ प्रतिशत नगरपालिकाले र बाँकी २३ प्रतिशत उपभोक्ताले व्यहोर्ने व्यवस्था छ ।

त्यस्तै सुधारिएको चुल्होका लागि हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४०-४० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र उपभोक्ताले पाँच प्रतिशत लागत साझेदारी गर्नेछन् ।

त्यसैगरी घरायसी बायोग्यास प्लान्ट निर्माणमा हरित जलवायु कोषले २८ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, नगरपालिकाले १० प्रतिशत र उपभोक्ताले १४ प्रतिशत खर्च व्यहोर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले स्थानीय बासिन्दालाई आफ्नो वडा कार्यालयमार्फत आवेदन दिन आह्वान गरेको छ । आवेदन दिनका लागि नागरिकताको प्रतिलिपि, माग संकलन फाराम र लक्षित वर्ग (अपाङ्गता, एकल महिला, मुक्त कमैया, कमलहरी आदि)को प्रमाणपत्र पेश गर्नुपर्नेछ । उपभोक्ताको माग र आवश्यकताका आधारमा स्वच्छ ऊर्जाका साधन अनुदानमा उपलब्ध गराइने बताइएको छ ।

वैकल्पिक ऊर्जाको प्रयोगले वन संरक्षण, वायु प्रदूषण घटाउने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने भएकाले कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख हेमराज ओझाले बताए । सुधारिएको चुल्हो र बायोग्यास प्रविधिले दाउरा खपत घटाउने, धुवाँ–धुलो कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउने उनले उल्लेख गरे।

यस्तै विद्युतीय चुल्हो प्रयोगले एलपिजि ग्यासको आयात घटाउन सहयोग पुग्नेछ । यसले घरेलु विद्युतीय ऊर्जाको प्रयोगमा वृद्धि ल्याई राष्ट्रिय ऊर्जा आत्मनिर्भरता नीति कार्यान्वयनसमेतमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले यो कार्यक्रमलाई वातावरणमैत्री र सामाजिक रूपान्तरणको मोडेलका रूपमा अघि बढाउने तयारी गरेको छ । 

‘कार्यक्रममार्फत दिगो ऊर्जा, हरित वातावरण र स्वच्छ जीवनशैलीतर्फ अघि बढ्दैछौँ,’ नगर प्रमुख ओझाले भने,’यो अभियानले न केवल वातावरणको संरक्षण गर्नेछ, स्थानीयको आर्थिक बोझ पनि घटाउनेछ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ४० बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान