काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै ठूलो आशंका उब्जिएको छ । आईभीएफ भनेकाे महिलाको शरीरबाहिर, प्रयोगशालामा अण्डा र शुक्राणुलाई निषेचन गराउने प्रक्रिया हो ।
पछिल्लो समय मानिसहरूमा बढ्दो नि:सन्तानपनको समस्यालाई समाधान गरी सन्तान सुख दिन भन्दै खोलिएका आईभीएफ सेन्टरहरू छानबिनको दायरामा परेका छन् ।
आईभीएफमा विज्ञता हासिल गरेकी नामी चिकित्सक डा. स्वति शर्माले सञ्चालन गरेको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक सेन्टर र महाराजगञ्जस्थित एञ्जल फर्टिलिटी क्लिनिकले बालिकाहरूलाई प्रलोभनमा पारेर लिएको डिम्ब महङ्गो शुल्कमा दाताहरूलाई बेच्ने गरेको घटना गत साउनमा सार्वजनिक भएको थियो ।
उक्त घटनाबारे अनुसन्धान गर्न डा. शर्मासहित ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । यससँगै नाबालिकाहरूको डिम्ब बिक्री तथा मेडिकल प्रक्रियामा शोषण भएको गम्भीर आरोप सार्वजनिक हुँदा पनि महान्यायाधिवक्ताको कार्यालयले उक्त घटनामा मुद्दा नचलाउने निर्णय गर्यो ।
त्यसपछि अधिवक्ता अंकिता त्रिपाठीले पीडितको पक्षबाट महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाउँदै मंसिर १४ गते सर्वोच्च अदालतमा रिट दायर गरिन् ।
उक्त रिटमाथि मंसिर १५ गते सुनुवाइ गर्दै नाबालिग किशोरीहरूको डिम्ब निकालेर महङ्गोमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयको बदर माग गरिएको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरको छ ।
किन मुद्दा चलाइएन ? लिखित कारण पेश गर्न अदालतको आदेशमा भनिएको छ । सर्वोच्चले ‘मुद्दा नचलाउने निर्णय किन गरियो ? त्यसका कानुनी आधार के–के हुन् ?’ भनी लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
नाबालिकाहरूको जाली उमेर लेखाएको, अभिभावकको अनुमति नलिइ उपचार गरिएको, बेहोस बनाइ ७ देखि ९ घण्टासम्म खाना–पानी नदिइ डिम्ब निकालिएको, मेडिकल उपकरण योनीमार्गबाट जबरजस्ती प्रवेश गराइएको जस्ता कार्य ‘जबरजस्ती करणी’ तथा मानव तस्करीसँग सम्बन्धित कसुरको दायरामा रहने भएकाले मुद्दा नचाल्नु ‘मनपरी निर्णय’ भएको कानुन व्यवसायीहरूले दायर गरेको रिटमा भनिएको छ ।
यससँगै यो प्रकरण फेरि बहसको केन्द्रमा छ । यसअघि महान्यायाधिवक्ता कार्यालयले ‘अनुसन्धानका आधार पर्याप्त नभएको’ भन्दै क्लिनिकविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, महान्यायाधिवक्ता सविता भण्डारी र क्लिनिकका सञ्चालक तथा लगानीकर्ताबीच प्रत्यक्ष–अप्रत्यक्ष स्वार्थको टकराव रहेको भन्ने समाचार बाहिरिएपछि सरकारी निर्णयमा गम्भीर प्रश्न उठेको छ ।
यससँगै यो प्रकरण फेरि बहसको केन्द्रमा छ । महान्यायाधिवक्ता भण्डारी र क्लिनिकका सञ्चालक तथा लगानीकर्ताबीच प्रत्यक्ष–अप्रत्यक्ष स्वार्थको सम्बन्ध रहेको समाचार बाहिरिएपछि सरकारी निर्णयमाथि गम्भीर प्रश्न उठेको छ । अदालतको आदेशपछि महान्यायाधिवक्तालाई राजीनामाको लागि दबाब आइरहेको छ ।
यता स्वास्थ्यकर्मीहरू भने अण्डा निष्कासनलाई अहिले जुन रुपमा अपराधीकरण गर्न खोजिएको छ, त्यति ठूलो अपराध नभएको दाबी गर्छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी भन्छन्, ‘यो घटनाका दोषीलाई मुद्दा चलाउने भन्दा पनि कानुनमा समेटेर यसलाई वैध बनाउन आवश्यक छ ।’
चिकित्सकको दाबी अनुसार खेर जाने वीर्य र अण्डा दान गरेर नि:सन्तान दम्पतीलाई सन्तान सुख दिनु ठूलो सेवा हो । विश्वका धेरै देशहरूमा यो भइरहेको प्रक्रिया हो । त्यसैले नेपालमा पनि निश्चित नियम कानुन बनाएर निश्चित ठाउँमा गएर इच्छुक व्यक्तिले मापदण्ड पूरा गरी दान गर्न पाउने नियम बनाउन जरुरी रहेको उनीहरूको तर्क छ ।
‘अहिलेको घटनालाई ठूलो अपराध गरेको भनेर जुन किसिमले व्याख्या गरिएको छ, त्यस्तो ठूलो अपराध मान्न आवश्यक छैन । बरु त्यसबाट पाठ सिकेर यो आवश्यक रहेकाले नियमन गर्न जरुरी रहेकोतर्फ लाग्नुपर्छ’ उनले भने ।
अण्ड तथा वीर्यदानबारे अन्तर्राष्ट्रिय नीति के छ ?
डा. अधिकारीका अनुसार अण्डा तथा वीर्य दानको हकमा देश अनुसार फरक फरक नियमहरू छन् । जस्तै महिलाको हकमा कुनै देशमा ५ देखि ६ पटकसम्म अण्डा दान गर्न पाउने नियम रहेको छ भने पुरुषको हकमा १० देखि १५ पटकसम्म वीर्यदान गर्न पाउने कानुन रहेको छ ।
कुनै शल्यक्रियाबिनै निकाल्न सकिने भएकाले अण्डा दानको तुलनामा वीर्यदान सहज पनि छ । नेपालमा पनि स्वास्थ्य मन्त्रालयले दाताका लागि एउटा ‘गाइडलाइन’ बनाएको छ । तर मुख्य समस्या चाहिँ कानुनी पाटोमा रहेको उनले बताए ।
शुक्रकिट दानबारे कानुनमा उल्लेख छ । तर डिम्ब दानबारे कानुनले केही बोलेको छैन । नेपालको मुलुकी ऐनको (८४) मा निसन्तान दम्पतीलाई योग्य पुरुषले चाहेमा शुक्रकिट दान गर्न पाउने भनिएको छ ।
‘त्यस बेलामा अण्डा दान पनि आवश्यक हुनसक्छ भन्नेबारे सोचिएन र बनाइएन । त्यसैले अब महिलाहरूको अण्डा दान प्रक्रियालाई पनि कानुनमै समेट्न जरुरी छ’ उनले भने ।
अण्डा तथा वीर्यदानको प्रक्रिया
शहरी दम्पतीहरूमा निःसन्तानपनको समस्या बढ्दो छ । त्यसैले वीर्यदान र अण्डादानलाई कानुनको दायरामा ल्याएर खेर जाने शुक्रकिट र डिम्बको सदुपयोग गरी कसैलाई सन्तान सुख दिनु गलत कुरा नरहेको डा. अधिकारी बताउँछन् ।
उनका अनुसार अङ्गदान गरेको जस्तो शरीरको भाग नै झिकेर दिनु पर्दैन । वीर्य र अण्डा दान त रक्तदान जस्तै रहेको उनको भनाइ छ । ‘रक्तदान शरीरबाहिरबाट दिन मिल्ने भएकाले अलिकति सहज हुन्छ भने अण्डा पेटबाट झिकेर दिनुपर्ने भएकाले केही गाह्रो प्रक्रिया हो, ‘ उनले भने ।
अण्डा दान गर्दैमा तिनको सङ्ख्यामा ह्रास आउने, महिनावारीमा गडबडी हुने त्यस्तो केही समस्या नहुने डा. अधिकारी बताउँछन् ।
डा. अधिकारीका अनुसार हरेक महिना १० देखि २० को सङ्ख्यामा अण्डाहरू निस्किन्छन् । ‘तीमध्ये एउटा अण्डा वयस्क बन्छ भने अरु खेर जान्छ । ती खेर जाने अण्डाहरुलाई संकलन गरेर बढाएर डोनेशनमा लिने हो’, उनले भने ।
तर यो यो इन्भिट्रो प्रक्रियाहरु जस्तै अण्डाहरू बढाउन सुई लगाउने, लठ्याएर अण्डा निकाल्नुपर्ने लगायत प्रक्रिया गर्नुपर्ने भएकाले कसैकसैको अङ्गमा चोट लाग्नेजस्ता समस्या हुनसक्ने जोखिम छ । त्यही भएकाले सङ्कलन गर्ने संस्थाले नै निज व्यक्तिको जिम्मेवारी लिएर यो काम गर्नुपर्ने उनले बताए । त्यसबाहेक यसले अन्य स्वास्थ्य समस्या केही नहुने उनी बताउँछन् ।
एउटै व्यक्तिले धेरैपटक दान गर्दा हुने जोखिम
एउटै व्यक्तिले धेरैपटक वीर्यदान वा अण्डा दान गर्दा केही स्वास्थ्य, कानुनी, नैतिक, र सामाजिक समस्या देखिन सक्नेतर्फ पनि ध्यान दिनुपर्ने विज्ञले सचेत गराएका छन् ।
नेदरल्याण्ड्समा एक पुरुषले ५ सय ५० भन्दा धेरै सन्तान जन्माउन योगदान गरेको भन्दै अदालतले उनलाई वीर्यदान गर्न रोक लगाएको थियो ।
बीबीसीका अनुसार जोनाथन नाम गरेका ती पुरुषले सन २०१७ मा एक सय भन्दा धेरै बच्चा जन्माउन बुवाको भूमिका निर्वाह गरेपछि नेदरल्याण्ड्सका प्रजनन क्लिनिकहरूमा उनलाई वीर्य दान गर्न प्रतिबन्ध लगाइएको थियो ।
तर त्यसपछि अनलाइनमार्फत् विदेशमा वीर्य दान गरेर पाँच सय ५० भन्दा धेरै बच्चा जन्माएको अदालतको ठहर छ । एउटै व्यक्तिको वीर्यबाट धेरै बच्चा जन्मदा दाजुभाइ र दिदीबहिनीको नाताको सञ्जाल ठूलो हुने र दाजुभाइ–दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना रोक्नको लागि यसो गरिएको अदालतले बताएको छ ।
नेपालमा पनि अण्डा दान तथा वीर्यदानबारे कानुन बनाउँदा यी सबै कुरालाई ध्यानमा राखी कुन ठाउँमा दान गर्ने ? कसरी दान गर्ने ? कति पटक दान गर्ने ? भन्ने नियमहरू बनाउन जरुरी रहेको डा. अधिकारी बताउँछन् ।
यसरी एउटै व्यक्तिको वीर्य वा डिम्बबाट जन्मिएका सन्तानबीच विवाहको सम्बन्ध रहँदा जिनसम्बन्धी जोखिम हुने, जैविक विविधता घट्ने, भविष्यमा वंशाणुगत फैलिन सक्ने, दाताको पहिचान गोप्य राख्न कठिनाइ हुने लगायतका जोखिम हुनसक्नेतर्फ उनले सचेत गराएका छन् ।
‘त्यस्तै दान गर्ने दाताको गोपनीयतामा ख्याल गर्दै रेकर्ड राख्न जरुरी छ । ताकी भोलि कुनै समस्या भयो भने दाताबाट जन्मिएका सन्तानले आफु कस्को सन्तान हो भनेर जानकारी पाउन सकून्’ उनले भने, ‘जस्तै युकेमा के छ भने डोनरबाट जन्मिएको सन्तान १८ वर्ष पुगेपछि तिमी डोनरबाट जन्मिएको हो भनेर जानकारी गराउनुपर्छ ।’
कुनै देशहरूमा सन्तानले चाहेर पनि आफ्नो बायोलोजिकल अभिभावकबारे जानकारी पाउँदैन । यसमा बच्चाको हकको कुरा एकातिर छ भने अर्कोतिर त्यो बच्चाले बायोलोजिकल आमाबुवा र ग्रहण गर्ने आमाबुवा दुवैसँग सम्पत्तिको दाबी गर्नसक्ने सम्भावना रहने भएकाले देश अनुसार नियमहरू बनाइएको छ ।
नेपालमा अहिलेसम्म डोनर बैंकहरुले नै यसको जिम्मेवारी लिइरहेका उनले बताए ।
डोनर आईभीएफ सेण्टर सरकार आफैँले तोक्नुपर्छ
अहिले सयौँको सङ्ख्यामा आईभीएफ सेन्टर खुलेका छन् । ती सबैलाई मनलाग्दी रुपमा वीर्य र अण्डा दान गर्न दिँदा यसको किनबेच हुने, आर्थिक प्रलोभनमा परेर दिन नमिल्ने महिलाहरूले पनि अण्डा दान गर्ने जोखिम रहने सम्भावना हुनाले सरकार आफैँले डोनर संस्था तोक्नुपर्ने डा. अधिकारीको भनाइ छ ।
नेपाल सरकारबाट सूचीकृत सरकारी संस्थाहरूमा पनि इन्भिट्रो फर्टिलाईजेशनको व्यवस्था रहेकाले तिनै संस्थामध्येबाट तोक्न आवश्यक रहेको उनले बताए ।
यस्तो छ नेपालले बनाएको मापदण्ड
डिम्ब दानसम्बन्धी मापदण्ड
-एक दाताले ६ पटक मात्र डोनेसन गर्न मिल्ने ।
-डोनेसनको अवधि कम्तीमा तीन महिनाको फरक हुनुपर्ने ।
-डोनरको परिचय प्रापकलाई सुनाउन नमिल्ने ।
-डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने ।
-डोनरको शारीरिक स्वास्थ्य परीक्षण गर्नुपर्ने ।
– कुनै सरुवा रोग नभएको हुनुपर्ने ।
-परिचयपत्र रेकर्ड राख्नुपर्ने ।
-डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने ।
-डिम्ब दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई मन्जुरीनामा लिनुपर्ने ।
-विवाहितको हकमा श्रीमानको मञ्जुरी हुनुपर्ने ।
-कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न नपाइने ।
वीर्य दानसम्बन्धी मापदण्ड
-एक डोनरले कम्तीमा १५ दिनको फरकमा दश पटकभन्दा बढी डोनेसन दिन नमिल्ने ।
-डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने ।
– डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने ।
-डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गर्ने ।
-कुनै सरुवा रोग नभएको हुनुपर्ने ।
-नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने ।
-डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण रिपोर्ट पेस गर्नुपर्ने ।
-वीर्य दान गर्ने व्यक्तिसँग मन्जुरीनामा लिनुपर्ने ।
-विवाहितको हकमा श्रीमान–श्रीमती दुवैजनाको मन्जुरी हुनुपर्ने ।
-प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न नपाइने ।













प्रतिक्रिया