देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो « Khabarhub

देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष तरुलको उत्पादन घटेको छ । गतवर्षको तुलनामा ५० प्रतिशत कम तरुल उत्पादन भएको स्थानीय कृषक र व्यापारीहरुले बताएका छन् ।

उनीहरूका अनुसार तरुल रोपेलगत्तै अधिक झरीबर्षा हुँदा र खुम्लेकिरा लागेका कारण यो कम उत्पादन भएको हो । बराहक्षेत्र नगरपालिकाका वडा–६ देखि वडा ११ सम्म स्थानीय कृषकले एक दशकदेखि व्यवसायिक तरुल खेती गर्दै आएका छन् । नेपालमै सबैभन्दा बढी तरुल बराहक्षेत्रमा उत्पादन हुने गरेको छ ।

कोशीको पूर्वी किनारमा रहे पनि सिँचाइ नहुँदा उक्त जमिनमा धान र अन्य फलफू खेती हुँदैन । कृषकले तरकारी खेतीसमेत नगरी आर्थिक उपार्जनका लागि तरुल खेती गर्दै आएका छन् ।

माघे संक्रान्तिलाई लक्षित गरेर तरुल खेती हुने गरेको छ । तर, यो वर्ष उत्पादन घट्दा आर्थिक घाटा परेको कृषक कृष्ण खड्काले बताए । बराहक्षेत्र–८ चत्रघट्टी महेन्द्रनगरका खड्काले खवरहबसँग भने, ‘मैले यो वर्ष १२ कट्ठामा तरुलको व्यवसायिक खेती गरेको थिएँ । तर यो एक लाख ६० हजार रुपैयाँको मात्रै उत्पादन भयो ।’

उनले तरुल खेती गरेको जमिनमा धान रोपे पनि ४० हजार रुपैयाँको उत्पादन हुन्थ्यो । अरु फलफूल र तरकारी खेती गर्दा पनि त्यति आम्दानी हुन सक्दैन थियो । नदी किनारनजिक भए पनि सिँचाइ नुहँदा स्थानीय बासिन्दाले तरुल खेती रोजेको उनले बताए ।

तरुल खेतीअघि उक्त क्षेका बासिन्दाले आकाशे पानीको भरमा खेती गर्थे । बराहक्षेत्रको राजाबास, प्रकाशपुर र चक्रघट्टीमा तरुल खेती सबैभन्दा पहिले भक्त सापकोटाले सुरु गरेका थिए । उनकै सिको गर्दै अन्य बासिन्दाले पनि तरुल खेती सुरु गरेको खड्काले बताए ।

बराहक्षेत्रको राजाबास, चक्रघट्टी र प्रकाशपुरमा माघे सक्रान्ति आउनु तीन साताअघि नै काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर, बुटवल, धरान, इटहरीलगायतका तरुल व्यापारी ट्रक लिएर पुग्ने गरेका छन् ।

खड्का जस्तै तरुलको व्यवसायिक खेती गर्नेहरू गाउँभरी छन् । अनुमानित तथ्याङ्कअनुसार उनीहरुले थोक मूल्यमा वार्षिक करिब दुई करोड रुपैयाँको तरुल उत्पादन गरेर अन्यत्र निकासी गर्ने गरेका छन् । यो वर्ष तरुल थोक मूल्यमा प्रतिकिलो ४० रुपैयाँदेखि ४५ रुपैयाँसम्म पुगेको छ । बराहक्षेत्रका कृषकले उत्पादन गरेको तरुल धरान, इटहरी हुँदै काठमाडौं र पोखरा पुग्दा दोब्ब मूल्य हुने गरेको छ ।

व्यवसायिक भएका किसानले तरुल मात्रै नबेचेर तरुलको लहरा र जरामा फल्ने साना बीउसमेत बेचेर कमाई गर्न थालेका छन् । गाउँमा प्रतिकिलो एक सय रुपैयाँदेखि दुई सय रुपैयाँका दरले बीउ बिक्री हुने गरेको छ ।

गाउमा पछिल्लो समय एक कठ्ठादेखि १५ कठासम्म तरुल खेती गर्ने कृषक छन् । अरु अन्नबाली जस्तो धेरै स्याहार गर्न नपर्ने भएकाले तरुल खेती गर्नेमध्ये अधिकांशले ५० हजार रुपैयाँदेखि दुई–अढाई लाख रुपैयाँ कमाएका छन् । कम आम्दानी गर्नेले पनि घरनजिकैको करेसाबारीमा एक दुई बोट रोपेर २० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन् ।

बराहक्षेत्र–९ राजाबासका स्थानीय तरुल व्यापारी सुरेश साहका अनुसार यो पर्ष राजाबास र प्रकाशपुरबाट मात्र करिब ५० लाख रुपैयाँको मात्रै उत्पादन भयो ।

एक करोड रुपैयाँको तरुल उत्पादन हुने अनुमान थियो । ‘मैले मात्रै करिब १० टनजतिको कारोबार गरेँ । तरुलको माग अत्यधिक भए पनि उत्पादन भएन’, उनले भने । उनीजस्ता तरुल व्यापारी बराहक्षेत्रमा ८ जनाा छन् ।

राजाबासका तरुल कृषकहरु मोहन नेपाली, राजन नेपाली, कुलबहादुर राय, कर्णबहादुर विष्ट, टेकबहादुर विष्ट, देविका राय, चक्रबहादुर राय लगायतले पाँच कट्ठादेखि १५ कट्ठासमम तरुलको व्यवसायिक खेती गर्दै आएका छन् ।

किसानहरूका अनुसार तरुल रोपेपछि एक वर्षमा मात्रै उत्पादन हुन्छ । चिस्यान पनि नचाहिने र अन्य खेती जस्तो गोडमेल गर्नु नपर्ने भएकोले पछिल्लो समय किसानहरु तरुल खेतीलाई व्यवसायिक बनाउन लागेका छन् । उनीहरूले तरुलमा लाग्ने खुम्ले किरा नियन्त्रण गर्न नसकेको गुनासो गरे ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ३३ बजे

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री