म्याग्दी- टिप्ने बेला भएको सुन्तला हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसान चिन्तित भएका छन् । मंगलबार आएको हावाहुरीले गाउँपालिकाका वडा नं. २, ३ र ४ अन्तर्गत भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका बगैँचामा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीले सुन्तलाका दाना झार्नुका साथै बोटका हाँगासमेत भाँचिदिएको छ । भुइँमा झरेका अधिकांश दाना फुटेर बिक्री गर्न नमिल्ने भएपछि किसानको वर्षभरको मेहनत खेर गएको छ ।
फगामका किसान दुर्गादत्त सुवेदीका अनुसार गत वर्ष आफ्नो टोलबाट २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो । तर, यस वर्ष हावाहुरीका कारण एक लाख रुपैयाँको सुन्तला पनि बिक्री गर्न नसकिने अवस्था आएको छ ।
यस वर्ष सुन्तलाको दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अपेक्षा गरेका किसान हावाहुरीले निराश बनेको उहाँले बताए ।
अन्नपूर्ण गाउँपालिकाका कृषि शाखा अधिकृत योजना अधिकारीका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको छ । गत वर्ष गाउँपालिकामा करिब चार करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । यस वर्ष तीनवटा वडामा भएको क्षतिले उत्पादनमा गिरावट आउने देखिएको छ ।
हावाहुरीले सुन्तला खेतीमा मात्र नभई स्थानीय बस्तीको भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाका अनुसार काभ्रे, दाना र फगाममा करिब २० घरका छाना उडेका छन् । दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयका झ्याल र स्वास्थ्य चौकीको छानासमेत क्षतिग्रस्त भएका छन् ।
त्यस्तै, नारच्याङ र भालेबास क्षेत्रमा घर, विद्यालय तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचनामा क्षति पुगेको छ। अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकका लागि राखिएका १२ वटा टेन्टसमेत हावाहुरीले उडाएको छ ।
हावाहुरीले रुख ढाल्दा अवरुद्ध सडक र विद्युत् सेवा मर्मतपछि बुधबार साँझदेखि सञ्चालनमा आएको भुरुङ्ग–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधि, कर्मचारी र प्राविधिकको टोली परिचालन गरी क्षतिको विवरण सङ्कलन भइरहेको बताए।
घरबारविहीन भएका परिवारको आवास व्यवस्थापन, पुनर्निर्माण तथा प्रभावित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने उनले बताए।














प्रतिक्रिया