झापाको बाहुनडाँगीमा तरुल महोत्सव | Khabarhub Khabarhub

झापाको बाहुनडाँगीमा तरुल महोत्सव


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– माघे सङ्क्रान्तिका अवसरमा झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ ।

मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने तीन दिनमा ५० लाख रुपैयाँबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ ।

भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुवै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए ।

महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन्भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ । सिमल तरुल, घर तरुल, वन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ । त्यस्ता प्रदर्शनी कक्षमा ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय ग्रिन जेनेरेसनका महासचिव मञ्जिल देवानले बताए ।

बाहुनडाँगीको हात्तीमैत्री किसान समूहले उत्पादन गरेको बेल्चनाको चाना, कोदोको पिठो, तामाको मेसु, मोरिङ्गाको पिठो, किम्बुको वाइन, रातो केराको बिरुवा, मरिच, सुपारी र तेजपत्ताको बिरुवा महोत्सवमा छुट्टै स्टलमा राखिएको समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

ओखलढुङ्गाको कुसुम राडीपाखी उद्योगले भेडाको ऊनबाट बनेका तीन हजार पाँच सयदेखि नौ हजार पाँच सयसम्म मूल्य पर्ने विभिन्न आकारका राडी बिक्रीका लागि महोत्सवमा ल्याएको उद्योगका सञ्चालक भक्तबहादुर गुरुङले जानकारी दिए । उनले विगतको पहिलो र दोस्रो तरुल महोत्सवमा समेत सामान ल्याएर उल्लेख्य व्यापार गरेको बताए ।

मेचीनगरको साँवा भेराइटिजले आदिवासी जनजातिको सांस्कृतिक पहिचानसँग जोडिएका दुर्लभ बिनायो, चिन्डोलगायत सामान महोत्सवमा राखेको छ । राई जातिको लोगो, चिन्डो र बाँसको बिनायो एक हजार मूल्यमा बिक्री भइरहेको प्रोपाइटर नन्दमाया लिम्बूले बताए । हिमालयन महिला साझेदारी अचार तथा खाद्यान्न उद्योगले मेचीनगर–२ मा उत्पादित १३ प्रकारका अचार स्टलमा राखेको सञ्चालक लीला रिजाल खड्काको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : २६ बजे

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको