काठमाडौं– दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा (थ्री जी) भित्र्याएको नेपाल पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा सञ्चालनमा भने निकै पछाडि परेको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
एफएनसीसीआइमात्रै कम्तिमा ३२ वटा नियामकीय निकाय तथा राज्यका महत्वपूर्ण संस्थाहरूमा संलग्न छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आजका आर्थिक समाचार :
नागरिक लगानी कोषका शेयरधनीलाई १३ प्रतिशत लाभांश स्वीकृत
नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।
कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा आइतबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित बोनस शेयर र नगद लाभांश स्वीकृत गरेको हो ।
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो
दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा (थ्री जी) भित्र्याएको नेपाल पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा सञ्चालनमा भने निकै पछाडि परेको छ । दक्षिण एशियाका अधिकांश मुलुकहरूले फाइभ–जी प्रणाली सञ्चालनमा ल्याइसक्दा नेपालले भने सुरसार नै झिकेको छैन ।
नेपालमा फाइभ–जी सेवा सञ्चालनमा ल्याउन सेवा प्रदायकहरू नै अनिच्छुक रहेका सरोकारवालाले बताइरहेका छन्। उनीहरूका अनुसार; सरकारीले नै इच्छाशक्ति नदेखाउँदा नेपालमा फाइभ–जी सेवा विस्तार हुन नसकेको हो ।
राज्यका निकायमै व्यापारीको संलग्नता कति उचित
प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल क्रममा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ को एउटा प्रस्तावलाई लिएर उद्योगी/व्यापारीहरू तरङ्गित भए ।
मौजुदा ऐनको उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था (आइक्यान) र ‘च’ मा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)बाट पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।
बजेट अर्धवार्षिक समीक्षा : सरकारको आम्दानी ३९ र खर्च ३५ प्रतिशत
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।
तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।
आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए। यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटक पटक कुराकानी भएको बताए।
नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।
देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो
बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष तरुलको उत्पादन घटेको छ । गतवर्षको तुलनामा ५० प्रतिशत कम तरुल उत्पादन भएको स्थानीय कृषक र व्यापारीहरुले बताएका छन् ।
उनीहरूका अनुसार तरुल रोपेलगत्तै अधिक झरीबर्षा हुँदा र खुम्लेकिरा लागेका कारण यो कम उत्पादन भएको हो । बराहक्षेत्र नगरपालिकाका वडा–६ देखि वडा ११ सम्म स्थानीय कृषकले एक दशकदेखि व्यवसायिक तरुल खेती गर्दै आएका छन् । नेपालमै सबैभन्दा बढी तरुल बराहक्षेत्रमा उत्पादन हुने गरेको छ ।
कोशीको पूर्वी किनारमा रहे पनि सिँचाइ नहुँदा उक्त जमिनमा धान र अन्य फलफू खेती हुँदैन । कृषकले तरकारी खेतीसमेत नगरी आर्थिक उपार्जनका लागि तरुल खेती गर्दै आएका छन् ।
प्रतिक्रिया