धनगढी – शहरमा बस्ने र सुविधा भोग गर्नेलाई पत्याउन गाह्रो पर्छ कि अझै गाउँहरू बिजुली, फोन र इन्टरनेट सेवाबाट बाहिर छन्, भन्दा विश्वास पनि नलाग्न सक्छ । तर सुदूरपश्चिमका पहाडी गाउँहरू अझै बिजुली, फोन र इन्टरनेट सेवाबाट निकै पछाडि छन् ।
गाउँमा फोन सेवा जडान हुँदा, बिजुली बत्ती बल्दा, फोरजी इन्टरनेट सेवा सञ्चालनमा आउँदा होस् की पहिलो पटक बस पुग्दा उत्सव मनाइन्छ । यहाँका स्थानीयहरूका लागि त्यो कुरा नयाँ र नौलो हो । त्यो भन्दा पहिला शहर पुगेर सुविधा लिएका बाहेक स्थानीय अरूलाई थाहा हुँदैन ।
यस्तै खुसीयाली हिमाली गाउँपालिका ६ पाडीका स्थानीय पनि मनाएका छन् । गाउँमा सामान्य फोन सेवा बाहेक थिएन, सोमबार देखि गाउँमा फोनसहितको भरपर्दो फोरजी इन्टरनेट सेवा समेत सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । गाउँमा इन्टरनेट सेवा सञ्चालन पछि उत्सव मनाएका छन् ।
हिमाली गाउँपालिकाले अपवाद बाहेक देशकै सर्वाधिक विकट पालिका हो । बाजुराका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासको सुविधा पुग्न नसकेको पालिका पनि हिमाली नै हो । हिमालीमा पनि साविक बिच्छ्या र रुगीन गाउँ विकास समिति अन्तर्गत पर्ने वडाहरू दुरी र विकास दुवैले टाढा छन् । पछाडि छन् ।
तीनै गाउँहरूमा बिजुली बाल्ने प्रयास, सडक पुग्ने संकेत र फोन सहितको फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीयले विकास गाउँ पुगेको आभास गर्न थालेका छन् । गाउँपालिकाले वडामा फोरजी सेवा विस्तार गर्नुलाई ठूलो सफलता ठानेको छ ।
भूगोल र सडक सञ्जालको समस्याले सामान्य विकासको अनुभूति गराउन समस्या हुने गाउँमा फोरजी सञ्चालन पछि धेरै ठूलो उपलब्धिका रूपमा पालिकाले लिएको भन्छन्, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारी । भण्डारीले नै प्रत्येक वडामा फोरजी सेवा जडान गर्ने र स्थानीयलाई इन्टरनेट सेवाको पहुँचमा पुर्याउने पालिकाको लक्ष्य पुरा भएको बताएका छन् ।
यहाँका स्थानीय मोबाइलमा कुरा गर्न पनि डाँडा, अल्गो रुख खोज्न बाध्य थिए । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छन् । यसले निकै सुविधा दिएको अनुभूति स्थानीयले गरेका छन् । फोटा र भिडियो देखिने सुविधा पुगेकोमा खुसी लागेको स्थानीय रनी रावलले बताए । प्रवासमा बस्ने छोरासँग भिडियो सहित कुरा भएपछि रावलको परिवार झनै खुसी भएको छ ।
कम क्षमताको सोलारबाट नै फोन सेवाका टावर जडान गरिँदा फोन सेवा समेत अनियमित थियो । त्यो पनि घाम लागेका बेला मात्रै फोन गर्नु पर्ने बाध्यता थियो । तर पालिकाले पाडीमा भने ठूलै क्षमताको सोलार पाटा जडान गरेको छ । हप्ता दिन घाम नलागेपछि टावरका लागि धान्न मिल्ने क्षमताको सोलार जडान पछि सहज हुने भन्छन्, गाउँपालिका उपाध्यक्ष राजकला सार्की ।
हिमालीको भौगोलिक अवस्था अन्य स्थानीय तहको भन्दा निकै फरक छ । विकास गर्न सहज छैन । ढुवानीमा समस्या छ । सानो लगानीले केही गर्न सक्ने अवस्था नै पालिकामा छैन । जेनतेन विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चारलगायतका सुविधा विस्तारमा लागि परेको पालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ल बताउँछन् ।
पालिकाले विगत पाँच वर्षदेखि नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरासँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वय गर्दै आएको थियो । त्यसकै निरन्तरता गत वैशाखदेखि पाडीमा टावर निर्माण कार्य सुरु गरिएको हो ।
फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्ने तयारीमा पालिका देखिएको छ ।
हिमालीको धुलाचौरमाथि डाँडामा पालिकाको १५ लाख रुपियाँ लगानी गरेर टावर निर्माण गरेपछि यहाँ फोरजी सेवा सञ्चालन भएको थियो । सो सेवा अहिले पाडीमा पनि सञ्चालन भएको छ । केही समयमै हिमाली गाउँपालिको १, २, ३, ४, ५, ६ र ७ गरेर सबै वडामा टावर र इन्टरनेटसहित टेलिफोन सेवा विस्तार गर्ने योजना पालिकाले अघि सारेको छ ।
गाउँपालिकाले हिमालीका दुर्गम गाउँमा इन्टरनेट सुविधा जडानको विषयलाई ठुलै उपलब्धिका रूपमा हेरेको छ । सुविधा जडानसँगै यहाँका स्थानीयको जीवनशैली केही नयाँ र फरक हुने विश्वास पालिकाको छ । सम्पर्क सम्बन्ध र शिक्षा विकास, स्वास्थ्य सचेतना र सूचना आदान प्रदानमासमेत सहज हुने देखिएको छ । बाजुराका अझै अधिकांश गाउँ बस्तीमा फोन र इन्टरनेट सुविधा विस्तार हुन सकेको छैन ।
प्रतिक्रिया