बहसमा सम्बन्धविच्छेद : समाचारको विषय कि निजत्वमाथि आक्रमण ? | Khabarhub Khabarhub

बहसमा सम्बन्धविच्छेद : समाचारको विषय कि निजत्वमाथि आक्रमण ?

‘फिरादपत्र छरपस्ट बनाउनु अनुचित’



काठमाडौं – अहिलेहाल चर्चित एक गायिकाको मंगलबार सम्बन्धविच्छेद भयो । उनले केही हप्ता अगाडि जिल्ला अदालत काठमाडौँमा श्रीमान विरुद्ध सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन् ।

छिनभरमै उनको निवेदन अर्थात् फिरादपत्र राखेर मूलधारका मिडियाले समाचार लेखे । आम मानिसले तिनै समाचार थाहा पाएपछि गायिका र उनको पूर्वपतिबारे सञ्जालमा गालीगलौज र आलोचना भइरहेको छ ।

पीडितको फिरादपत्रसहित समाचार प्रकाशन तथा प्रशारण गर्नु कति जायज हो ? विवाह संस्था र व्यक्तिको निजत्वबारे संवेदनशील प्रबुद्ध वर्गबीच यो बहस छेडिएको छ । व्यक्तिको सम्बन्धबारे खोतलेर छरपष्ट पार्ने मिडियालाई ‘करेक्सन’ नै गर्नेगरी नै बहस अघि बढेको छ ।

केही अघि जनमत पार्टीका नेताको पनि सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ । अमेरिकाबाट विद्यावारिधी गरेका उनी विद्वान तथा नासामा काम गरेका वैज्ञानिकसमेत मानिन्छन् ।

मधेश प्रदेशका केही नागरिकले पनि उनलाई मुक्तिदाता नेताको रूपमा मानेका छन् । उनी ढोँगी हुन् भन्नेको जमात पनि छ । श्रीमतीले उनलाई घरेलु हिंसा गरेको आरोप लगाउँदै आएकी छन् । उनको विषयलाई लिएर केही मूलधारका मिडियाले ‘सिरिज’ समाचार नै लेखिरहेका छन् ।

त्यसैगरी, अर्की एक नायिका र निर्माताबीच सम्बन्धविच्छेदको पनि उत्तिकै चर्चा चलिरहेको छ । विगत पाँच वर्षदेखि मुद्दा लड्दै आएका उनीहरूको मानाचामलका नाममा खुर्सानी, तेल र मसलासमेतको समाचार बनाइए । सम्पत्ति बाँडफाडको विषयले लम्बिएको उनीहरूको मुद्दा केही समयअघि टुङ्गो लागेको छ ।

सम्बन्धविच्छेदको विषयलाई नायिका र निर्मातामाथि पनि निकै गालीगलौज भयो । मिडियाले पनि यसरी समाचार लेखे कि त्यो सूचनाबिना सञ्चार जगत अधुरो छ ।

यो पनि –

थरी–थरीका ‘डिभोर्स’ : सम्बन्ध विच्छेदमा अंशको कुरा किन ?

सम्बन्धविच्छेदका घटनामा ‘मिडिया मोह’ का यी केही प्रतिनिधि हुन् । थोरै नाम चलेका व्यक्तिको सम्बन्धविच्छेदका घटना पनि मिडियाले बे्रकिङका रूपमा प्रकाशन/प्रशारण गर्ने गरेका छन् । अधिकांश नेता, कलाकार, लेखक लगायत सेलिब्रेटीका ‘सम्बन्धविच्छेद’ ले सामाजिक सञ्जाल तात्छ । सञ्चार माध्यमलाई त्यस्ता समाचार सार्वजनिक गर्न भ्याइनभ्याइ हुन्छ ।

भनिन्छ – सेलिब्रेटीको निजी जीवन हुन्न । तर कतिसम्म हुन्न ? उनीहरूले के खान्छन् ? के लगाउँछन् ? के पढ्छन् ? कस्तो बोल्छन् ? समसामयिक विषयमा कस्तो धारणा राख्छन् ? सिनेमा हेर्छन् ? घुम्न मन पराउँछन् ? साथीभाइ आफन्तसँगको भाइचारा कस्तो छ ? समाजसेवाको भाव कस्तो छ ? यहाँसम्म ठीकै छ ।

तर, घरभित्र झ्यालको पर्दा कस्तो छ ? ओछ्यानको तन्ना कस्तो छ ? पतिपत्नीमा खराब कुन हो ? धोकेवाज को हो ? कमजोरी कसको हो ? कसले गर्दा सम्बन्ध बिग्रियो ? सँगै बस्न नसक्ने स्थिति कसरी आयो ? पतिपत्नीबीच सम्बन्ध राम्रोउ छ कि छैन ?

यूट्युबर हुँदै मूलधारकै मिडियाले अघिल्ला भन्दा पछिल्ला अनुच्छेदका प्रश्न खोतल्न रुचाउने गरेका छन् । यसबारे खबरहबले सरोकारवालाको धारणा बुझ्ने प्रयास गरेको छ ।

सहमतिको सिद्धान्तअनुसार समाचार लेख्न पाइन्छ : सञ्चारविज्ञ दाहाल

सञ्चारविज्ञ तारानाथ दाहालले सम्बन्धित पक्षको सहमतिमा समाचार लेख्न पाइने बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘मिडियाले सोधेर लेखेको हो भने सेलिब्रेटीको सम्बन्धविच्छेदको समाचार लेख्न पाइन्छ । मिडियाले सार्वजनिक सरोकारका विषयलाई समाचारको विषयवस्तुको रूपमा पस्कनुलाई अस्वाभाविक नै मान्न मिल्दैन ।’

‘तर विषय उठान गर्दा निजत्वमाथि असर पुग्न सक्ने स्थितिबारे सजग रहनुपर्छ । मिडिया संवेदनशील भने रहनुपर्छ । यो अन्तर्राष्ट्रिय अभ्यास भन्दा पनि समाजसापेक्ष बुझ्ने विषय हो’ दाहाल थप्छन्, ‘सामाजिक मान्यता आ–आफ्नै छन् । यसलाई कानुनी रूपबाट हेरिनुपर्छ । कसैको पनि निजत्वको विषय उसको सहमतिबिना प्रवेश गर्नु गलत हो ।’

यो पनि –

सम्बन्ध विच्छेद : समाज बिग्रेको कि सुध्रेको ?

कानुनभन्दा बाहिर गएको छ भने मिडियाले स्वाभाविक रूपमा चासो दिने उनी बताउँछन् । भन्छन्, ‘मिडियाले दर्शक, पाठक र श्रोताले के विषय हेर्छन्, पढ्छन् र सुन्छन् भन्ने कोणबाट पनि विषयवस्तुलाई प्राथमिकता दिन्छन् । रुचि हुने विषयलाई उठाउनै हुन्न भन्न मिलेन । कतिपय सन्दर्भमा व्यक्ति आफैँले पनि सञ्जालमा आएर खुलासा गरिरहेको देखिन्छ । कोही उक्त विषयमा समाजमा र मिडियामा चर्चा परिचर्चा होस् भन्ने चाहन्छन् । त्यो चासोको विषय बन्ने नै भयो । कानुन नतोडेको अवस्था सम्ममा अरूले चासो दिएर चर्चाको विषय बनाउनु गलत हो ।’

समाजमा हरेक व्यक्तिको निजत्व अधिकार समान रहेको औंल्याउँदै दाहाल भन्छन्, ‘सार्वजनिक व्यक्तित्वहरूको बारेमा सार्वजनिक चासो हुन्छ । विभिन्न ढङ्गले समाजले चिनेको व्यक्तिको निजी जीवनबारे आमरुचि हुन्छ । उनीहरूको नकारात्मक र सकारात्मक सबै विषयमा चासो राख्छन् ।’

उनले भने, ‘धेरैहदसम्म व्यक्तिका निजी सम्बन्धका विषय ठूलो समाचारको रूपमा पस्किन आवश्यक छैन । निजी कुराहरू गोपनीयताको हकभित्रै पर्छ । गोपनीयताको हक हरेक नागरिकलाई कानुनले नै सुरक्षित गरेको छ ।’

विवाह र सम्बन्धविच्छेद सामान्य हो : मिडियाकर्मी बस्नेत

महिला अधिकारकर्मी तथा मिडियाकर्मी बबिता बस्नेत विवाह र सम्बन्धविच्छेद सामान्य विषय भएको बताउँछिन् ।

‘विवाह र सम्बन्धविच्छेद एकदमै सामान्य हो । र यसलाई सामान्य बनाउने भूमिका मिडियाकै हो’, उनले भनिन्, ‘तर जुन कुरा बिर्सिएर हिँड्छु भन्यो, त्यही देखाएर र पोस्ट्याएर बारम्बार सम्झाइदिने काम मिडियाले गरिरहेका छन् । उनीहरूलाई पीडा बिर्सने अवस्था दिनुपर्छ ।’

‘जे जस्तो भए पनि सम्बन्ध टुट्नु खुशीको कुरा होइन । मन दुखी भइरहेको बेला, कसरी सम्हाल्ने भइरहेको बेला सँगै अँगालो हालेर खिचेको फोटो र भिडियो राखेर समाचार बनाउँछ । त्यो कति जायज हो ?’ उनी प्रश्न गर्छिन्, ‘त्यसले मानिसलाई ट्रमामा लैजान्छ । व्यक्तिगत कुराहरू खोतलेर समाचार बनाइनु गलत अभ्यास हो । मिडिया र सामाजिक सञ्जाल सचेत नभएको देखिन्छ । युटुबरहरू झनै दखल गरिरहेका छन् ।’

बस्नेत महिला र पुरुष दुवैको गोपनीयतामा मिडिया संवेदनशील हुनुपर्ने कुरामा जोड दिन्छिन् । भन्छिन्, ‘हाम्रो समाजमा वर्षांै लिभिङमा बसेर एकअर्कालाई बुझेर बिहे गर्ने चलन छैन । विदेशमा वर्षौं लिभिङमा बसेर बिहे गरेकाले पनि सम्बन्धविच्छेद गरिरहेका छन्, बिहे गरेपछि भोलि एक अर्काको विचार नमिल्न सक्छ ।’

अबका दिदीबहिनीले विवाहको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दा धेरै ध्यान दिनुपर्ने देखिएको बस्नेतले जनाइन् । ‘फोटो हाल्नकै लागि मात्र विवाह गर्ने हो कि जस्तो देखिन्छ । त्यसैले जिन्दगीभर तनाव दिन सक्छ’ उनले भनिन् ।

अदातलमा पेश गर्ने निवेदनमै पनि पुनरावेदन गर्ने अवस्था भएको बस्नेतले बताएकी छन् । उनी थप्छिन्, ‘श्रीमान्ले खान, लाउन दिएन । पिट्यो वा हिंसा गर्यो नभनुञ्जेलसम्म सम्बन्धविच्छेद नै हुँदैन । तर अहिले सबैको स्थिति खानै लाउनै नदिएको नहुन सक्छ । हिंसा पनि नहुन सक्छ, तर यो अवस्थामा सम्बन्धविच्छेद गर्न पाइँदैन । हिंसा नगरेको मान्छेलाई पनि पिट्यो, कुट्यो भन्नुपरेको बाध्यात्मक परिस्थिति छ ।’

यो पनि –

सम्बन्धविच्छेदको विपक्षमा अदालत, समाजशास्त्री भन्छन् – बन्देज अनुचित

विचार नमिलेको अवस्थामा पनि मानिसहरूको सम्बन्ध टुङ्गिइने हुनाले सहमतिमै छुट्टिने प्रक्रियालाई अदालतले कानूनी मान्यता दिनुपर्ने उनको भनाइ छ ।

उनले थपिन्, ‘मानाचामलको कुरा हुन्छ । सम्पत्तिको कुरा हुन्छ । कसैलाई लिन मन लाग्ला, कसैलाई नलाग्ला । कसैले परिस्थितिले पनि लिनैपर्ने हुनसक्छ । विवाहको कारणले महिलाको जिन्दगी धेरै तहसनहस हुन्छ । भोली दोस्रो विवाह गर्न निकै गाह्रो हुन्छ । समाजले नकरात्कम दृष्टिले हेर्छ ।’

महिलाले पहिलो र दोस्रो बिहे गर्दा धेरै फरक हुने उनको भनाइ छ । ‘उसको सुरक्षाको लागि पनि सम्पत्ति चाहिन्छ । हाम्रो जस्तो समाजमा महिलाको भविष्य पनि जोडिएको हुन्छ’, उनले भनिन् ।

सम्बन्धविच्छेद दुर्घटना हो : नायिका शर्मा

नायिका ऋचा शर्माले सम्बन्धविच्छेद दुर्घटनाजस्तै हुने भएकाले धेरै टिकाटिप्पणी गर्न आवश्यक नभएको बताउँछिन् ।

‘सम्बन्धविच्छेद गर्नकै लागि कसैले बिहे गरेको हुँदैन । त्यो दुर्घटना हो र दुर्घटना कस्को जीवनमा कहाँ कतिखेर हुन्छ भन्ने थाहा हुँदैन । आज हामी अरूका सम्बन्धविच्छेदको बारेमा गसिप गर्दै गर्दा भोलि आफ्नो वैवाहिक सम्बन्ध त्यसरी नै टुङगिए के गर्ने ?’ शर्माले भनिन् ।

‘व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मलाई कुनैपनि अर्को व्यक्तिको नितान्त गोप्य कुरामा जान्नु रुचि छैन । समाचारको रूपमा आउँदा पनि मैले इग्नोर गर्नेगर्छु’, शर्मा थप्छिन्, ‘ओहो ! फलानो त यस्तो र उस्तो भनेर धारणा बनाइहाल्न मन लाग्दैन । कसैप्रति नकारात्मक टिकाटिप्पणी पनि गरिहाल्न मन लाग्दैन । मैले समाचारबाट जति कुरा लिनु आवश्यक छ, लिन्छु । समाचारले दिएका सबैकुरा ग्रहण गर्नैपर्छ भन्ने छैन ।’

तर पछिल्लो समय मिडियाले भ्यूजका लागि जथाभावी कन्टेन्ट बनाएको ऋचाको आरोप छ । ‘कलाकारको व्यक्तिगत जीवनबारे प्रायः सबैलाई चासो हुन्छ । प्रेमसम्बन्ध, विवाह, बच्चासम्मबारे जान्ने इच्छा हुन्छ । मिडियाको काम पनि आम नागरिकलाई रुचि लाग्ने विषय नै सम्प्रेषण गर्नु हो । तर, कुन विषयलाई कति हदसम्म प्राथमिकता दिने भन्नेबारे मिडियाले अब सोच्नुपर्ने बेला भयो कि !’ उनले भनिन् ।

तर कलाकारको नितान्त व्यक्तिगत कुरा बेचेर पैसा कमाउनु अनैतिक भएको उनी टिप्पणी गर्छिन् । शर्माले अगाडि थपिन्, ‘मिडियाको काम पनि आम नागरिकलाई रुचि लाग्ने विषय नै सम्प्रेषण गर्नुपर्ने हुन्छ । केही मानिसहरूलाई अर्काको निजी जीवनको बारेमा जान्ने उत्सुकता हुन्छ । उनीहरूकै लागि पनि त्यस्ता समाचार बनाइनु परेको होला ।’

सम्बन्धविच्छेद खासमा धेरै ठूलो विषय नभएको ऋचाको भनाइ छ । ‘पतिपत्नीमा एकअर्कासँग अब सहकार्य गर्न सकिँदैन भन्ने अवस्था स्वाभाविक हो । यसलाई हाउगुजीसरह पस्किन र ग्रहण गर्न आवश्यक छैन,’ शर्माले भनिन् ।

व्यक्तिको गोपनीयता नराख्नु गलत हो : समाजशास्त्री ढकाल

समाजशास्त्री निर्मला ढकाल सेलिब्रेटीको सम्बन्धविच्छेद ‘समाचार कन्टेन्ट’ भएको बताउँछिन् । तर, मूलधारका मिडियाले समेत फिरादपत्रै राखेर व्यक्तिको गोपनीयता भङ्ग गर्नु भने गलत भएको उनको टिप्पणी छ ।

ढकाल भन्छिन्, ‘सम्बन्धविच्छेद कसको र कुन तहको व्यक्तित्वको हो भन्ने कुराले प्रभाव पार्छ । त्यसमा सेलिब्रेटीको सम्बन्धविच्छेदबारे आम नागरिकको चासो स्वाभाविक हो । सम्बन्धविच्छेद भयो भन्नेसम्मको समाचार ठीकै हो । तर के कारणले गर्दैछन् ? के को लागि गर्दैछन् ? अदालती प्रक्रियामा गएको निवेदनसमेत राख्नु भने गलत हो । मूलधारमा मिडियाले पनि उक्त कुराको गोपनीयता नराखेको देखिन्छ । ’

सेलिब्रेटीहरूले लगाएको पोशाकको पनि समाचार बन्ने हुनाले सम्बन्धविच्छेदको मिडिया कन्टेन्ट नै भएको ढकालको धारणा छ । ‘तर, धेरै निजी कुराहरू बाहिर ल्याइदिनु सही होइन’, ढकाल थप्छिन्, ‘सेलिब्रेटी भन्ने अधिकांशको सपना हुन्छ । आफूलाई सबैले चिनोस् भन्ने स्वार्थ हरेकमा हुन्छ । क्षमतालाई सबैले चिनोस् सम्मान गरोस् भन्ने हुँदै गर्दा कहिले कसो असफता हात लाग्छ ।’

कानुनमा के छ ?

पछिल्ला वर्ष नेपालमा सम्बन्धविच्छेदका घटना बढ्दैछ । व्यक्तिगत घटना दर्ता विवरणको केन्द्रीकृत तथ्याङ्क राख्ने गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार २०८० मा मात्रै ३७ हजारको हाराहारीमा सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् । जब कि दशकअघि अर्थात् २०७० सालमा सम्बन्धविच्छेदका जम्मा ३९४ घटना दर्ता भएको थियो ।

मुलुकी देवानी संहिता, २०७४ दफा ९३ बमोजिम पतिपत्नी दुबैले चाहेमा जुनसुकै बेला सम्बन्धविच्छेद गर्न सकिन्छ । कुनै विवाहित जोडी सँगै बस्न नसक्ने भएपछि सम्बन्धविच्छेद गर्न पाउँछन् ।

सम्बन्धविच्छेदको लागि महिला र पुरूष दुवैले निवदेन दिन पाइन्छ । तर, महिला र पुरुषको लागि छुट्टाछुट्टै आधारहरू भने तोकिदिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ३२ बजे

नेको इन्सुरेन्सको हकप्रद सेयरमा दरखास्त दिने समय थप

काठमाडौं– नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४

राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा १५ अर्ब खर्च

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १०

९ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी

इन्टर मिलान क्वार्टरफाइनलमा

काठमाडौं – फियुनार्ड माथिको जितसहित इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको

तनहुँको बीपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– ३ स्थित बीपी वाटिकामा ९६ लाख