धर्मको नाममा ‘अधर्म’ले तताएको पोखरा | Khabarhub Khabarhub

धर्मको नाममा ‘अधर्म’ले तताएको पोखरा

चौतारी कटानबाट सुरु विवाद अदालतसम्म पुग्यो


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

पोखरा- पहेँलो वस्त्र लगाएका मानिसहरू चौतारी वरिपरि जम्मा भएका छन् । परबाट हेर्दा लाग्छ – उनीहरू कुनै धर्मकर्ममा जुटेका छन् । तर नजिक पुग्दा देखिन्छ – वस्त्रको पिठ्युँतिरको भागमा मानव सेवा फाउन्डेसन लेखिएको छ । उनीहरू मानव सेवाकै लागि खटिने मानिसहरू रहेछन् भन्ने लाग्छ । अझै नजिक पुग्दा उनीहरूको हातमा बडाबडा खुर्पा देखिन्छन् ।

अनि लाग्छ – होइन ! यिनीहरू के गर्दैछन् ? चिटिक्क पारेर सजाइएका वर्षौँ पुराना चौतारी वरिपरि उनीहरू कुनै शुभकामका लागि जम्मा भएका होइन रहेछन् । ती चौतारी फेरि पलाउनै नसक्नेगरी ठुटै बनाएर दाउरा संकलन गरिरहेका उनीहरूको नियतमाथि शंका नगर्नुपर्ने कुनै आधारै छैन ।

अलिक लामा अनि सुकेर झर्न लागेका हाँगाबिगा काँटछाट गरेर चौतारी संरक्षण गरेको त देखेकै हो । तर, यसरी निर्मम बनेर चौतारी मासेको देख्दा जो–कोहीको मन कुँडिनु स्वाभाविक हो ।

लामो समयदेखि संरक्षण अभियानमा लागेका हेमन्त ढकाल पोखरा महानगर–१४ मा बस्छन् । उनले घरनजिकैको चौतारी मुठुर्‍याएको देखेपछि तत्कालै वडा र नगरपालिकाका अधिकारीलाई गुहार्छन् । बिहान घरबाट निस्किँदा सग्ला देखिएका चौतारी फर्किँदा उराठै लाग्ने गरी मुठारिएका हुन्थे । उनले नगरपालिकाका अधिकारीहरूलाई ताकेता गर्न छाडेनन् । १४ नम्बर मात्र होइन, १३, ११ र ६ नम्बर वडाका चौतारी पनि यसैगरी ठुटै पारिएका थिए ।

जसै मुठारिएका चौतारीका उदेकलाग्दा तस्बिर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भए, पोखरा महानगरपालिकाले विज्ञप्ति निकालेर भन्यो, ‘चौतारी मास्न पाइँदैन, यस्तो कर्म गर्नेलाई कारवाही हुन्छ ।’

मानव सेवा फाउन्डेसनका संस्थापक अर्थात् आफूलाई धर्मगुरु बताउने बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) को अगुवाइमा पोखराका ऐतिहासिक चौतारा मुठारिएका हुन् । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि भन्दै चौताराका बर पीपल र समी धमाधम काटिएको हो ।

पोखराको फेवाताल किनारमा २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म उक्त कोटिहोम गर्ने तयारीमा फाउन्डेसन जुटेको छ । यति ठूलो धार्मिक कार्यमा सबै पोखरेलीको साथ पाउनुपर्ने फाउन्डेसन आफैँ विवादमा मात्र परेको छैन, पूरै पोखरालाई अशान्त बनाइदिएको छ ।

एकातिर चौतारी मासिएको विषय र अर्कोतिर विवादित धर्मगुरुको अगुवाइमा हुन लागेको कोटिहोमको विवादले अहिले पोखरालाई जुरुक्कै पारेको छ । विवाद अदालतसम्म पुगिसकेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कुनै पनि हालतमा फेवाताल किनारमा डेढ महिना लामो कोटिहोम गर्न नदिने अडानमा छन् । आफूलाई स्वघोषित धर्मगुरु बताउने भण्डारी भने धर्मका लागि अधर्म गर्नसमेत तयार भएको अभिव्यक्ति दिएर विवादमा छन् ।

वैशाखमा सुरु हुने कोटिहोमको तयारी ४ महिनाअघिदेखि नै थालिएको छ । जसका लागि फाउन्डेसनले नेपाल ट्रस्टका नाममा रहेको वाराहीघाटको जमिन फागुन १५ गतेदेखि नै भाडामा लिइसकेको छ ।

प्रदेश सरकार मातहातको क्याम्पिङ चोकको जग्गासमेत भाडामा लिएपछिमात्रै फाउन्डेसनले चौतारीका रुख मुठार्न थालेको हो । फाउन्डेसनले पोखरा–८ शिवालय चोकमा घरभाडा लिएर कार्यालय चलाउँदै आएको छ । मानव सेवा फाउन्डेसन लेखेको पहेँलो रङको ट्रयाक सुट लगाएका मानिसहरू अहिले पोखरामा जताततै देखिन थालेका छन् ।

शिवालयचोकको त्यो कार्यालयमा आउजाउ बाक्लै देखिन्छ । सुरक्षाका लागि गेटदेखि नै बाउन्सर तैनाथ छन् । फाउन्डेसनसँग जोडिएकाबाहेक अरुलाई नाम दर्ता गरेर मात्रै भित्र प्रवेश दिइन्छ । भित्र गइसकेपछिको आतिथ्यता र मेजमानी बडो व्यवस्थित छ ।

फाउन्डेसनका प्रतिनिधि पोखरा महानगरपालिका–६ को कार्यालयमा अनुमतिका लागि जाँदा सुरुमा वडाध्यक्ष विष्णुबहादुर पहारीले आनकानी गरे । उनले मेयर धनराज आचार्यलाई फोन गरे । मेयर आचार्य अहिले त्यसबारे केही निर्णय नगर्न आग्रह गर्छन् ।

वडाध्यक्ष बिदा बसेका बेला कार्यवाहक वडाध्यक्ष पवित्रा थापाले मंसिर ९ गते अनुमति दिन्छिन् । बहालकरवापत ३३ हजार ८ सय ७६ रुपैयाँसमेत वडाले लिइसकेको छ ।

वडाको अनुमति लिएपछि मात्रै फाउन्डेसनले नेपाल ट्रस्टबाट अनुमति पाएको छ । ट्रस्टले भाडावापत ११ लाख ५९ हजार रुपैयाँ पनि लिइसकेको छ । वडाको सिफारिस लिएकै दिन जिल्ला प्रशासन कार्यालय कास्कीले शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन पठाएको पाइएको छ ।

फाउन्डेसनले दाउरा राख्नसमेत नेपाल ट्रस्टकै मातहतको रत्नमन्दिर परिसरको जमिन भाडामा लिएको थियो । कुन कार्यसम्पादन कसरी गर्ने भन्ने विषयमा महानगरकै संयन्त्रबीच समन्वय नभएको यही सन्दर्भले पुष्टि गरेको छ ।

काटिएका दाउरा जफत

कोटिहोमका लागि जम्मा गरिएको दाउरा (समिदा) पोखरा महानगरपालिकाले माघ २३ मा जफत गरेको छ । पोखराका विभिन्न स्थानबाट चौतारा मुठुर्‍याएर र पुराना रुखहरू अवैध ढंगले काटेर जम्मा गरिएको समिदा महानगरले नियन्त्रणमा लिएको हो ।

मेयर आचार्यले वातावरणीय प्रभावको कारण देखाउँदै कोटिहोम गर्न नदिने बताएका छन् । धार्मिक अनुष्ठानले लामो समयसम्म ध्वनि प्रदूषण गर्न सक्ने भएकाले अनुमति नदिएको उनले बताए । पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ ।

‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम सम्भव छैन,’ उनले भनेका छन् ।

तर लेकसाइड लगायतका ठाउँका काटिएका वरपीपलका दाउरा महानगरनगरकै अनुमतिमा फाउन्डेसनले भण्डारण गरेको पाइएको छ । फाउन्डेसनले महानगरमा निवेदन दिएपछि प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले अधिकृत हर्क गायकका नाममा तोक लगाइदिएका थिए ।

पृथ्वीचोक नजिकै दमकल राख्ने ठाउँमा थुपारिएका ती दायरा महानगरकै अनुमतिमा आफूहरूले लेकसाइडमा लगेर भण्डारण गरिएको फाउन्डेसनका प्रतिनिधि लेखनाथ ढकालले बताए । मेयर आचार्यले धार्मिक कार्यक्रमका लागि अनुरोध आएकाले त्यति बेला दाउरा प्रदान गरिए पनि अहिले त्यो कार्यक्रमको गाम्भिर्यता बुझेपछि जफत गरिएको बताएका छन् ।

पर्यटनसम्बद्ध संस्थाको विरोध

पोखरा पर्यटन परिषद्सहितका संस्थाहरूले बाराही खेल मैदान र क्याम्पिङ साइटको मैदानमा हुने भनिएको कोटिहोमबारे ध्यानाकर्षण गराएका छन् । पर्यटनमैत्री वातावरणका निम्ति उचित स्थान र समयमा मात्र धार्मिक कार्यक्रम आयोजना गर्न ती संस्थाले ध्यानाकर्षण गराएका हुन् ।

ती संस्थाले माघ २३ मा विज्ञप्ति निकालेर पर्यटकहरूको प्रमुख आवास क्षेत्रहरूमा पर्यावरणीय प्रभाव पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । ‘फागुनदेखि जेठ महिनासम्म विदेशी पर्यटकहरूको सिजनमा, पोखराको वातावरण शान्त र सफा राख्नुपर्ने आवश्यकता छ,’ विज्ञप्तिमा लेखिएको छ । लामो समयदेखि संरक्षण गरिएको रुखहरूको कटान र वायु तथा ध्वनि प्रदूषणको समस्याबारे ध्यानाकर्षण गराइएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, रेष्टुरेण्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल र पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले यसबारे बोलेका छन् ।

संरक्षणकर्मीको चासो

त्यसैगरी नेपाल हवाई खेलकुद संस्था पोखराका अध्यक्ष अनिल केसी, ट्रेकिङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराका कोषाध्यक्ष रमेश अधिकारी, इम्ब्रोडरी गार्मेन्ट एसोसियसन (एगा) पोखराका अध्यक्ष गोकर्ण लम्साल, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष दुगार्दत्त दाहाल, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ, गाउँ पर्यटन प्रवर्द्धन मञ्च–नेपाल, गण्डकीका अध्यक्ष लक्ष्मण पहारी र नारा पोखराका अध्यक्ष वीरेन्द्र लामा लगायतले विज्ञप्ति जारी गरेका हुन् ।

पोखराका विभिन्न स्थानका चौतारीका वर, पिपल र समीका रुख काटिएको घटनाप्रति संरक्षणकर्मीले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यस कार्यलाई वातावरणीय तथा सांस्कृतिक दृष्टिले हानिकारक भन्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् ।

विकासका नाममा प्राकृतिक सम्पदामाथि दोहन भइरहेको भन्दै उनीहरूले यस्तो कार्य दोहोरिन नदिन कानुनी कठोरता अपनाउनुपर्ने बताएका छन् । संरक्षकर्मीहरूको फागुन १ गते पोखरामा बसेको भेलाले पोखराका ऐतिहासिक चौतारामा भएका रुख कटानलाई गैरकानुनी भन्दै संलग्न व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ ।

संरक्षण अभियन्ता डा.अनिल सुवेदीले जथाभावी रुख कटानलाई गम्भीर विषय भन्दै दोषीहरूलाई कारबाही हुनुपर्ने बताए । ‘धर्मका नाममा प्रकृतिमाथि हस्तक्षेप गर्नु आपत्तिजनक छ । कानुनबमोजिम कडा कारबाही हुनुपर्छ,’ डा. सुवेदीले भने, ‘यसअघि पनि यस्ता ऐतिहासिक रुखहरू काटिएका छन्, तर कारबाही भने भएको छैन ।’

पोखराका संरक्षण अभियन्ता डा. अनिल सुवेदी, रामबहादुर पौडेल, विकास अधिकारी, हेमन्त ढकाल, रामकाजी श्रेष्ठ, अधिवक्ता भगवती पहारी, कल्याण पन्त लगायत सरोकारवालासहितको भेलाले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्ने साझा धारणा तय गरेको छ । भेलापछि अपीलमा भनिएको छ, ‘पोखराका ६, १३, १४ लगायतका वडामा पछिल्लो समयमा वर, पिपल, समीका रूख नष्ट गर्ने नियतले ठुन्काउने काम भइरहेको छ । यस्तो कार्यले सम्पूर्ण नागरिक समाज र संरक्षणकर्मीलाई मर्माहत बनाएको छ ।

बिनासोचविचार रुख काटिँदा पर्यावरणीय सन्तुलन खल्बलिनुका साथै धार्मिक महत्वसमेत गुम्ने अवस्था आएको अपिलमा भनिएको छ । यस्तो गतिविधिले जैविक विविधतामा समेत प्रतिकूल असर पुर्‍याउने भएकाले दोषीहरूलाई अविलम्ब कानुनी कारबाही हुने पर्ने माग गरिएको नागरिक समाज पोखराका अगुवा रामबहादुर थापाले बताए ।

‘यदि आवश्यक परे कानुन निर्माण र संशोधन गरी यस्ता गतिविधि रोक्न कडा प्रावधान लागू गरिनुपर्छ,’ अपीलमा भनिएको छ । संरक्षणर्की ढकालका अनुसार ऐतिहासिक चौतारा मानिसका लागि त लाभदायक छन् नै चराहरूको विश्राम र आश्रय थलोसमेत हुन् । वरपीपलका दाना चमेरा लगायत चराको आहारासमेत हो ।

अख्तियारले थाल्यो अनुसन्धान

पोखरामा वर र पीपलका रुख मठारेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले अनुसन्धान थालेको छ ।

अख्तियार कार्यालय पोखराका प्रमुख आस्मान तामाङले उजुरी परेपछि वरपीपलका रुख कटानबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘हाम्रो कार्यालयमा उजुरी पर्‍यो । केन्द्रीय कार्यालयले नै यस विषयमा थप अनुसन्धान गर्नु भनेपछि थप बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

प्रमुख तामाङका अनुसार अहिले डिभिजन वन कार्यालय कास्कीसँग रुख गिँडिएको विषयबारे प्रतिवेदन माग भएको छ । ‘खास यो विषय वन कार्यालयसँग सम्बन्धित छ । यहाँबाट प्रारम्भिक प्रतिवेदन माग भएको छ । के भएको हो ? किन, यसरी काटियो ? कसले काट्यो, किन काट्यो ? खुल्दै जाला ! त्यसपछि के भएको हो, हाम्रो कार्यालयले अनुसन्धान गर्छ,’ उनले अगाडि भने ।

अलपत्र संरक्षण ऐन

गण्डकी प्रदेश सरकारले निकै मेहनत र छलफल गरेर २०७५ सालमा वरपीपल, समी तथा चौतारो संरक्षण ऐन जारी गरेको थियो । त्यो कानुन अहिलेसम्म कार्यान्वयनमा आउन सकेकै छैन । जब चौतारी मासिन्छन्, यो ऐन संरक्षणकर्मीले सम्झिन्छन् । तर कार्यान्वयका लागि सरोकारवाला पूरै उदाशीन देखिएका छन् ।

ऐनले वरपीपल, समी र चौतारो संरक्षण गर्ने, तथ्यांक अध्यावधिक गर्ने र ऐनअनुसार कारबाही गर्ने अधिकारसमेत ऐनले स्थानीय तहलाई दिएको छ । योजना निर्माण तथा सम्भाव्यता अध्ययन गर्दा नै वरपिपल, समी र चौतारो नपर्ने गरी गर्नुपर्ने, विकल्प नभएमात्र हटाउनुपर्ने कानुनी प्रावधान छ । ऐनले यस्ता चौतारा संरक्षणका लागि संरक्षण समिति तथा कोषको व्यवस्था गरेको छ । सार्वजनिक स्थापनमा रहेका रुख तथा चौतारा संरक्षण गर्ने र हटाउनै पर्‍यो भने पनि के गर्ने भन्ने ऐनले प्रष्ट्याएको छ ।

डिभिजन वन कार्यालय कास्कीका डिभिजनल अधिकृत कोमलराज काफ्ले व्यवस्थापन र संरक्षणको अधिकार नै स्थानीय तहलाई दिएको भएकाले वन कार्यालयले यसमा मुद्दा चलाउने अवस्था नरहेको बताउँछन् । भन्छन्, ‘प्रदेशको वन ऐनले पनि सार्वजनिक रुख र चौताराको संरक्षण र कारकाही गर्ने अधिकारसमेत स्थानीय तहलाई दिएको छ ।’

कारवाहीका लागि महानगरले आग्रह गरी पठाएकामा थप परामर्शका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लेखेर पठाएको काफ्लेले बताए । मुलुकी देवानीसंहिताले सार्वजनिक ठाउँमा रहेका चौतारी तथा ऐतिहासिक रुखहरू काटिएमा कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय कास्कीलाई दिइएको छ ।

अनुमति रद्ध गर्न सकिँदैन : नेपाल ट्रस्ट

कोटिहोमको विवाद सतहमा आएपछि पोखरा महानगरपालिकाले नेपाल ट्रस्टलाई पत्र लेखेर अनुमति रद्ध गरिदिन आग्रह गरेको थियो । त्यसो त महानगरले वन कार्यालयलाई पनि पत्र लेखेर चौतारी काट्नेलाई वन ऐनअनुसार मुद्दा चलाउन अनुरोध गरेको थियो ।

नेपाल ट्रस्टले फाउन्डेसलाई कोटिहोम विराट ज्ञान महायज्ञका लागि जग्गा भाडामा दिने सम्झौता भइसकेकाले रद्ध गर्न नकिने स्पष्ट पारेको छ । पोखरा महानगरपालिकाले पर्यावरणीय प्रभाव, ट्राफिक व्यवस्थापन र हवाई उडानमा असर पर्ने भन्दै अनुमति खारेज गर्न आग्रह गरेपछि ट्रस्टले कानुनी रूपमा दिइएको अनुमति रद्ध गर्न नमिल्ने जनाएको हो ।

नेपाल ट्रस्ट ऐन, २०६४ तथा कार्यविधि, २०७६ बमोजिम जग्गा भाडामा दिइएको र मानव सेवा फाउन्डेसनले तोकिएको राजस्व बुझाइसकेको हुँदा अनुमति रद्द गर्ने कुनै कानुनी आधार नरहेको जवाफ महानगरलाई जवाफ संस्थाले फर्काएको छ । नेपाल ट्रस्टले मानव सेवा फाउन्डेसनलाई कानुनी प्रावधानअनुसार भाडामा दिने निर्णय गरेको थियो ।

ट्रस्टले पोखरा महानगरलाई जवाफ फर्काउँदै ट्रस्टको सम्पत्ति भाडामा दिने विषय ऐन, नियमावली र कार्यविधि अनुसार हुने र यसका लागि कुनै निकायको पूर्वस्वीकृति आवश्यक नपर्ने स्पष्ट पारेको छ ।

अदालतबाट अन्तरिम आदेश

उच्च अदालत पोखराले फेवाताल किनारा वाराहीघाटमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले मानव सेवा फाउन्डेसन नेपाल, पोखरा शाखाको निवेदनमाथि सुनुवाइ गर्दै बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न पोखरा महानगरपालिकालगायत सम्बन्धित पक्षलाई फागुन १ गते निर्देशन दिएको हो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले फाउन्डेसनले प्राप्त गरेका अनुमति पत्रहरू, नेपाल ट्रस्ट र सम्बन्धित सरकारी निकायहरूको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मान्दै विपक्षी पोखरा महानगरपालिका र मातहतका निकायहरूलाई कानुनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको हो ।

‘निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटिहोम ज्ञान महायज्ञ सञ्चालनमा कानून बमोजिमबाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा लेखिएको छ ।

पोखरा महानगरपालिकाले नेपाल ट्रस्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट अनुमति नदिएको जनाएको थियो । यस निर्णयलाई गैरकानुनी ठहर गर्दै मानव सेवा फाउन्डेसनले उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशसहितको निवेदन माघ ३० गते दर्ता गराएको थियो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा तथा अधिवक्ताहरू ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए । बहसमा निवेदकले महायज्ञ सञ्चालन गर्न कानुनी रूपमा आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको, आयोजनाले कुनै पनि हानी नोक्सानी नपुर्‍याउने तथा कुनै क्षति भएमा त्यसको जिम्मेवारी फाउन्डेसनले व्यहोर्ने प्रतिवद्धता जनाइसकेको तर्क प्रस्तुत गरिएको थियो ।

सधैँ विवादित ‘धर्मगुरु’

विजय भण्डारी, जो हाल ‘स्वामी बालयोगेश्वर महाराज’ को नाममा चिनिन्छन्, धार्मिक आवरणमा ठगी गर्ने व्यक्ति भएको अभिलेखहरूले देखाउँछन् ।

कोटिहोमको आवश्यक र औचित्यमाथि पनि प्रश्न छ । यसअघि काठमाडौंको पशुपतिनाथमा आयोजना गर्दाको कोटिहोम पनि आयोजनाको शैली र त्यहाँ बोलाइएका वाचक तथा धर्मगुरुका कारण विवादित बनेको थियो । पोखरामा पनि त्यस्तै नजरले हेर्न थालिएको छ ।

उनले अचेल आफूलाई विजय कृष्णमूर्ती भनेर चिनाउँछन् । कुनै बेला उनले आफूलाई ‘बालयोगेश्वर महाराज’ भने । दशकअघि त्यही नामले चिनिँदा उनले अमेरिका लैजाने भनेर सयजनाभन्दा बढीलाई ठगेका थिए । उक्त कुरा त्यति बेलाका पत्रपत्रिकामा छ्याप्तीछ्याप्ती समाचार बनेको थियो । कान्तिपुर दैनिकले त शृंखलाबद्ध समाचार नै प्रकाशन गरेको थियो । कतिसम्म भने समाचार आएपछि विजय भण्डारी चितवनमा महायज्ञ गर्दागर्दै भागेका थिए, आयोजकले बिचैमा महायज्ञ रोक्नुपरेको थियो ।

‘वर्ल्ड गीता म्याराथन’ कार्यक्रममा युवालाई अमेरिका लगिदिने भनेर ठगेको मुद्दामा त विजय जेलसमेत परेका हुन् । काठमाडौं जिल्ला अदालतले २०७३ साल मंसिर ६ गते उनलाई २ वर्ष ६ महिना कैदसमेतको सजाय सुनाएको थियो ।

पीडितलाई ८१ लाख रुपैयाँ बिगो फिर्ताको आदेश गरेको थियो । त्यसअघि नै विजय भण्डारी पक्राउ परी थुनामा रहेको हुँदा बाँकी जेल समय भुक्तान गरी उनी रिहा भएका थिए । त्यसो त उनी पक्राउ परेको वा थुनिएको पहिलो र अन्तिम थिएन, पटकपटक पक्राउ पर्दै, छुट्दै गरेका हुन् ।

पक्राउ पर्ने, थुनिने र छुट्ने क्रमपछि पनि विजयले यज्ञ र महायज्ञहरू आयोजना गर्ने, पैसा असुल्ने र आयोजकहरूलाई ठग्ने धन्दा निरन्तर चलाउँदै आए ।

विजयको संलग्नतामा भएका महायज्ञमा आयोजक ठगिएका उदाहरण प्रशस्त छन्, जस्तो चितवनमा ठगिए । उनको गृहजिल्ला गुल्मीको एउटा विद्यालयमा भएको महायज्ञमा पनि उनले ठगी गरेको आयोजकले बताएका छन् ।

त्यो विद्यालय हो – गुल्मीको गुल्मीदरबार गाउँपालिकाको रुन्खादह मावि । त्यहाँ भवन निर्माणार्थ आयोजित महायज्ञबाट संकलितमध्ये आधा रकम उनैले लिएर हिँडेको विद्यालयको भनाइ छ । त्यसो त उनले गुल्मीकै रुरुमा पनि महायज्ञ लगाउँदा ठगी गरेको आयोजकहरू बताउँछन् ।

गुल्मीको धुर्काेटमा जन्मिएका विजय भण्डारी ‘धर्मगुरु’ बन्नुभन्दा पहिला धर्मविरोधी आन्दोलनमा थिए । अर्थात्, उनी स्कुले जीवनमै तत्कालीन विद्रोही माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्य थिए । उनका बुवा पनि माओवादी कार्यकर्ता थिए ।

आर्थिक अपचलनमा मुछिएपछि माओवादीले विजयका बुवालाई कारबाही गरेको थियो । त्यसपछि बुवाले काठमाडौं लगेर विजयलाई पढाए, त्यतैबाट एसएलसी गरे । समयक्रममा भारत पुगेका उनी धार्मिक अभियन्ता र गुरुका रुपमा प्रकट भए ।

कोटिहोमबारे भण्डारीको स्पष्टीकरण

आफ्ना कर्मकाबारे समाचारहरू आउन थालेपछि बालयोगेश्वर विजय कृष्णमूर्तिले मिडियाकर्मीलाई सन्देश पठाएर स्पष्टीकरण दिएका छन् ।

उनका अनुसार गण्डकी कोटिहोम विशुद्ध धार्मिक, सामाजिक तथा पुनित कार्यका लागि आयोजित कार्यक्रम हो । यस महायज्ञमा कसैसँग पनि आर्थिक सहयोगको माग गरिएको छैन । यदि स्वेच्छाले कोही दान गर्न इच्छुक भए प्राप्त रकम पोखराका धार्मिक स्थलहरू– कैलाश धाम शिवमणि मन्दिर र मुक्तेश्वर शिव मन्दिर मुक्तिधामको विकासका लागि खर्च गरिने योजना रहेको उनले बताएका छन् ।

उनले मानव सेवा फाउन्डेसन, मामाघर अनाथालय, छोरीको घर ज्येष्ठ नागरिक आश्रमजस्ता विभिन्न सामाजिक संस्थाहरू सञ्चालनमा रहेकाले तिनको प्रमुख उद्देश्य समाजका बेसहारा बालबालिका, अभिभावकविहीन वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर वर्गलाई आवश्यक सहयोग पुर्‍याउनु रहेको बताएका छन् ।

मामाघर अनाथ आश्रम ललितपुरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न जिल्लाबाट आएका ८३ जना अनाथ तथा बेसहारा बालबालिकाहरू छन् । उनीहरूलाई सुरक्षित वातावरण, पौष्टिक भोजन, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिँदै आएको उनको भनाइ छ । यस्तै, भक्तपुरस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा साहाराविहीन वृद्धवृद्धाहरूलाई गाँस, बास, कपास, स्वास्थ्य सेवा तथा सुरक्षा प्रदान गरिएको उनले बताएका छन् ।

उनका अनुसार, महानगरपालिकाको अनुमति लिई विद्युत् अवरोध गरेका चौतारीमा रहेका रुखका हाँगाहरू काटिएको हो । टोल विकास संस्था, वडा कार्यालय, स्थानीय प्रतिष्ठित व्यक्तिहरू तथा प्रहरी प्रशासनको समन्वयमा यो कार्य सम्पन्न भएको उनको भनाइ छ ।

उनले समाजसेवाका क्रममा केही त्रुटिहरू हुन सक्ने स्वीकार्दै, यदि कुनै कमजोरी भएको छ भने त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले सबैलाई हल्ला, अफवाह तथा आधारहीन आरोपहरूमा नअल्मलिन अनुरोध गर्दै सत्य बुझेर मार्गनिर्देशन गर्न आग्रह गरेका छन् । काटिएका चौतारमा वृक्षारोपण गर्ने भन्दै उनले आलोचकलाई शान्त बनाउने कोशिशसमेत गरिरहेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ४० बजे

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ – रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौं – भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच

सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद

बैतडी – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई ठूला दल