बाजुरा सदरमुकाम मार्तडीभित्रै मानव सभ्यतालाई गिज्याउने छाउगोठ | Khabarhub Khabarhub

बाजुरा सदरमुकाम मार्तडीभित्रै मानव सभ्यतालाई गिज्याउने छाउगोठ

उपप्रमुखको नेतृत्वमा चल्दैछ भत्काउने अभियान


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी – हरेक जिल्लाका सदरमुकाम सुविधा र चेतना दुवै हिसाबले अन्य गाउँभन्दा अब्बल हुनुपर्ने हो, हुन्छन् भन्ने विश्वास पनि गरिन्छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बाटो, बिजुलीसहित विकासका पूर्वाधारमा सदरमुकामबासीको सहज पहुँच हुन्छ । चेतना र शैक्षिकस्तर सदरमुकाम र नजिकको गाउँका नागरिकहरू अरुभन्दा माथि नै हुने गर्दछ ।

तर, तपाईं हामीले माने र सोचेभन्दा ठिक उल्टो अभ्यास बाजुरा सदरमुकाम मार्तडीमै देख्न पाइन्छ । यहाँको विडम्बना सदरमुकाम मार्तडीभित्रै छाउगोठ अझै पनि भेटिन्छन् । महिनावारी र सुत्केरी भएका महिलालाई अझै पनि छाउगोठमा राखिन्छ ।

यो बाजुराबाहेक सुदूरपहाडका अछाम, डोटी, बझाङ, बैतडी र दार्चुलाको पनि वास्तविकता हो । सुदूरपहाडका सदरमुकामसँगै जोडिएका गाउँ बत्तिमुनिको अँध्यरा जस्तै छन् । जातीय विभेद, बालविवाह र छाउ कु-प्रथा अझै घरघरमा कायमै छ ।

त्यसैको उदारण हुन्, बाजुराको बडीमालिका नगरपालिका १, ७ र ८ नम्बर वडा । बडीमालिका बाजुरारा सदरमुकामको पालिका हो । २१ औँ शताब्दीलाई गिज्याउने दृश्य कायमै रहेपछि ती वडामा नगरपालिकाले छाउगोठमुक्त अभियान चलाइरहेको छ ।

छाउगोठ भत्काउँदै घरमा बस्न सचेतना दिने अभियानमा नगर उपप्रमुख नन्दाकुमारी थापासहितको टोली सक्रिय छ । उनीहरूको साथमा प्रहरी र सामाजिक रुपान्तरणमा सक्रिय गैरसरकारी संस्थाका सदस्यहरू पनि छन् ।

नगरपालिकामा २०७२ देखि नै छाउगोठमुक्त अभियान जारी छ । सरकारको लक्ष्यअनुरुप नै पालिकाले अभियान चलाइरहेको छ । २०७४ को निर्वाचनबाट नगर प्रमुख बनेका पदम बडुवाल र उपप्रमुख कविता विष्ट नेतृत्वका जनप्रतिनिधिले पनि कार्यकालभर अभियान चलाइरहे ।

तर, उनीहरूले सिंगै पालिका छाउगोठ मुक्तघोषणा गर्न सकेनन् । ‘धामी-झाँक्रीदेखि ब्रह्माणलाई सचेतना दिने र जागरण फैल्याउने काम गर्‍यौँ’, निवर्तमान उप्रमुख कविता विष्टले भनिन्, ‘अभियान जारी थियो, कार्यकाल सकिएपछि नयाँ नेतृत्वले गरिरहेको छ ।’

हालसम्म नगरपालिकाका नौ वडामध्ये ६ वटा छाउगोठमुक्त भइसकेका छन् । नगरपालिकाभित्र पहिलो छाउगोठमुक्त वडा ३ नम्बर अर्थात् रजाली हो । जुन वडाका स्थानीय अमर खड्का हाल नगर प्रमुख छन् । १, ७ र ८ बाहेक २, ३, ४, ५, ६ र ९ पनि छाउगोठमुक्त घोषणा भइसकेका छन् । बाँकीमध्ये ८ नम्बर वडा सदरमुकाम मार्तडीभित्रै पर्छ । ७ नम्बर पनि सदरमुकामसँग सीमा जोडिएको छ ।

घोषणा हुन बाँकी ८ नम्बर उपप्रमुख नन्दाकुमारी थापाको वडा हो । जिल्ला सदरमुकामको बजार पनि । थापा अहिले त्यही अभियानमा सक्रिय छन् । २०८२ भित्र छाउगोठमुक्त पालिका घोषणा गर्ने लक्ष्य बडीमालिकाको छ । त्यसको अगुवाई थापाले गरिरहेकी छन् ।

उनी अहिले नियमित अनुगमनमा छिन् । प्रहरीसहितको टोली लिएर छाउगोठ भत्काउँदै घरमा बस्ने सचेतनाका लागि महिला तथा बालबालिका शाखाको टोली लिएर उनी हरेक दिन घरघर पुगिरहेकी छन् ।

दिगो विकास लक्ष्यले पनि २०३० सम्म सबैप्रकारका विभेदमुक्त गरिसक्नुपर्ने लक्ष्य लिएको छ । सरकारले २०२५ भित्र छाउगोठमुक्त देश घोषणाको तयारी गरेको छ ।

सरकारी लक्ष्य पूरा गर्नेभन्दा समाजलाई सचेत र जिम्मेवार तथा विभेदरहित बनाउने अभियानमा बडीमालिका लागि परेको नगर प्रमुख खड्का बताउँछन् । सामाजिक कुरीति र अन्धविश्वासले केही समस्या भएपनि विस्तारै सबै ठिक हुने विश्वास खड्काले व्यक्त गरे ।

७ नम्बर वडामा मात्रै ३० बढी छाउगोठ देखिएका छन् । अनुगमनका क्रममा भेटिएका छाउगोठ तत्काल भत्काउन लगाइएको नगरउपप्रमुख नन्दा थापाले बताइन् ।

बडीमालिका ७ र १ नम्बरमा बढी छाउगोठ भेटिनुमा धार्मिक मान्यता, परम्परावादी सोच प्रमुख समस्याका रुपमा देखिएको छ । सांसद मन्त्री भएकै गाउँमा पनि यो समस्या देखिएको छ । सचेत भनिएकाहरूले नै महिलालाई गोठमा राख्ने गरेको भेटिँदा दुख लागेको नगरका महिला तथा बालबालिका शाखाका बिन्दु बडाल बताउँछन् ।

शिक्षक, पत्रकार र जान्नेहरूकै घरमा पनि छाउगोठ देखिनु दु:खद भएको बडालले बताए । फागनुभित्र ती सबै गोठ भत्काएर महिलालाई घरमा राख्ने समझदारी गरिएको छ ।

महिनावारी भएको बेला घरमा बस्दा अनिष्ठ हुने, नि:सन्तान भइदिने, भगवान रिसाउने, कोख रित्तो हुने, गाईवस्तुबाट लाभ नहुने र परिवार नै बिग्रिने जस्ता अन्धविश्वास अझै ब्याप्त छ ।

यसअघि मुक्त घोषणा गरिएका वडामा गोठ भेटिँदैनन् । उनीहरू अलग बसे पनि घरमै बस्ने गरेका छन् । अलग बसे पनि घरमै बसुन्, कुनैप्रकारको जोखिम, असुरक्षा सामना गर्न नपरोस् भन्ने लक्ष्यसहित छाउगोठमुक्त अभियान थालिएको पालिकाले बताएको छ । बाजुरासहितका सुदूरका पहाडी जिल्लामा घरबाट टाढा होचो छाप्रो बनाएर महिनावारी र सुत्केरी भएकी महिलालाई अलग्गै राख्ने चलन छ ।

बाजुराका बडीमालिकापछि बुढीनन्दा, स्वामिकात्तिक, हिमालमा बढी समस्या देखिएको छ । यी पालिकामा गैरसरकारी संस्थाका तर्फबाट दशकदेखि कार्यक्रम जारी छन् । पालिकाको प्रयास पनि चलिरहेको छ ।

तर, अझै सामान्य सुधारबाहेक ठूलो प्रगति हुन सकेको छैन् । सुरुमा स्थानीयले हुन्छ भन्छन् । संस्था र पालिकाको अभियानलाई सहयोग गरेजस्तो गर्छन् । तर उनीहरू पुरानै अवस्थामा फर्किने गरेको आरोप अभियान्ताको छ । छाउ गोठमै बसेका कारण स्वास्थ्य बिग्रिएको, बलात्कृत हुनु परेको र महिलाले ज्यान गुमाएका पनि कयौँ उदाहरण बाजुरामा छन् ।

यिनै जोखिम र चुनौतीविरुद्ध बडीमालिका लडिरहेको छ । एक वर्षभित्र जसरी पनि मुकामको परिचय फेर्ने अभियानमा बडीमालिका देखिन्छ । सामाजिक कु-प्रथाका रुपमा रहेको छाउलाई जरैबाट हटाउने उदेश्यसहित पालिकालाई छाउगोठमुक्त नगर घोषणा गर्न लागिएको हो ।

छाउ कु-प्रथा बाजुराको प्रमुख समस्या बनेको छ । सुरुमा छाउगोठ देखाउनै नमान्ने गरिएको छ । देखार बस्दैनौँ, पुरानो भइसक्यो भने पनि पछि त्यही कु-प्रथा दोहोर्‍याउने गरेको भेटिएको छ । त्यहीकारण रातिसमेत प्रहरी र पालिकाका कर्मचारीले अनुगमन गरिरहेका छन् । दुर्गमका गाउँमाभन्दा सदरमुकामभित्र छाउगोठको कुरीति देखिनु लज्जास्पद भएकाले यसलाई चिर्न पालिका लडिरहेको छ ।

पालिकाको अभियानले धेरैले छाउगोठमा बस्न छोडिसकेका छन् । गोठ पुरानो भएर पनि घरमा बस्ने क्रम बढेको भने छ । तर पनि पालिकाले अभियान चलाएकाले भएका गोठ भत्काएर अभियानलाई निष्कर्षमा ल्याउन लागिएको ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले बताए ।

‘वृद्धवृद्धाहरूको पुस्ताले नमाने पनि नयाँमा समस्या छैन । धेरै सुधार भइसकेको छ । कुरीतिको बाँकी अवशेष पनि जरैबाट फाल्न लागिपरेका छौँ’,उनले भने ।

महिलाको स्वास्थ्य, समाजको अवस्था र असुरक्षालाई ध्यानमा राखेर घरमै सुरक्षित कोठामा बसाउने वातावरण निर्माण गर्नु अभियानको प्रमुख उदेश्य रहेको उनले बताए ।

गाउँमा छाउगोठ बाँकी नराख्ने र महिलालाई घरमा बसाउने गरी अभियान सफल पार्ने योजना नगरपालिकाले बनाएको छ । पालिकाले बजेटसहित जनशक्ति पनि व्यवस्थापन गरेको छ ।

एक वर्षभित्र बडीमालिका छाउगोठ मुक्त हुने विश्वास गरिएको छ । छिमेकी पालिकामा पनि अभियान जारी छ । बूढीगंगा नगरपालिका छाउगोठ मुक्त घोषणा भइसकेको छ । गौमुल गाउँपालिकामा छाउकु-प्रथाको अवशेष भेटिँदैन ।

बाजुरासहित सुदूरका पहाडको समस्यामा चिर्न सचेतना र शिक्षा अभियालनाई व्यापक बनाउनुपर्ने जनप्रतिनिधिहरू बताउँछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ५८ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित