भोजपुर- भोजपुर सदरमुकाममा शुक्रबार नेकपा माओवादी केन्द्रको एउटा औपचारिक कार्यक्रम चलिरहँदा एकजना नेताको खोजी भइरहेको थियो ।
ती नेता अरु कोही नभएर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुदन किराती पार्टीको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन तथा खबरदारी सभामा भइरहँदा गयल भएपछि खोजी भएको हो ।
माओवादी केन्द्र भोजपुर नगर कमिटीको दोश्रो अधिवेशनलाई सम्बोधनका लागि उपमहासचिव वर्षमान पुन अनन्त खोटाङ हुँदै भोजपुर पुगेका थिए ।
भोजपुरमा उपमहासचिव अनन्तको प्रवेश हुँदै गर्दा सुदन किराती भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरसँग रुकुम-रोल्पामा थिए । किराती माओवादीले मनाउने गरेको ‘जनयुद्ध दिवस’ मनाउने क्रममा भोजपुरको रामप्रसाद गाउँपालिकाबाट रुकुम पुगेका थिए ।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा जनार्दनसँगै खिचेको एउटा तस्बिर पनि हाले । जसमा लेखिएको थियो, ‘क्रान्तिको इपिसेन्टर रुकुम-रोल्पाको माटोबाट महान् जनयुद्ध दिवसको सबैलाई हार्दिक शुभकामना !’
उनले जनार्दनसँग उभिएर रुकुमबाट यो फोटो हालिरहँदा अर्का उपमहासचिव पुन भने खोटाङ हुँदै भोजपुरतिर गइरहेका थिए ।
सुदनसँग हालै सम्पन्न अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्षमा पराजित हेमन्त राईसहितका कार्यकर्तासँग तत्कालीन ‘जनयुद्ध’को आधारस्थलतिर पुगेका थिए ।
रोचक त के छ भने सुदनले गत माघ २६ गते नेकपा माओवादी केन्द्र रामप्रसाद गाउँपालिकाको अधिवेशनलाई सम्बोधन पनि गरेका थिए । उनले त्यसक्रममा किरातीले संविधान होइन, हाम्रो दिमाग संशोधन गर्नुपर्ने धारणा राखेका थिए। उनले रामप्रसादको दोस्रो अधिवेशनलाई गत शनिबार सम्बोधनका क्रममा खराब दिमाग बोकेर संविधान कसरी असल हुन्छ भन्दै प्रश्न गरेका थिए ।
उनले यति सम्बोधन गरेपछि त्यहाँबाट सिधै जनार्दनको गृहजिल्ला रुकमतिरको यात्रा तय गरे । उता भोजपुरमा भने भोजपुर नगरपालिका पार्टी कमिटीको अधिवेशनमा फागुन २ र अरुण गाउँपालिकाको अधिवेशनमा फागुन ३ का लागि तय भएको थियो ।
रामप्रसाद गाउँपालिकाका अध्यक्ष अहिले सुदननिकट थामप्रसाद किराती ‘निर्माण’ छन् । रामप्रसाद र आमचोकमा सुदनको बलियो पकड पनि छ ।
तर आफ्नो पकड कमजोर रहेको भोजपुर नगरपालिका र अरुण गाउँपालिका अधिवेशनमा सुदन सहभागी भएनन् । उनी यसपटक ‘जनयुद्ध’ दिवस मनाउने भन्दै रुकमतिर गए ।
आखिर सुदन किन वर्षमान सहभागी हुने आफ्नै जिल्लाको कार्यक्रममा सहभागी भएनन् त । माओवादी भोजपुर नगरपालिकाको अधिवेशनमा सहभागी हुन पुगेकी नेतृ दुर्गाजयन्ती राईको टिप्पणी रोचक थियो । ‘उपमहासचिव कमरेड जिल्लामा आउने कार्यक्रम पहिले नै तय भइसकेको थियो । पूर्वजानकारी हुँदा हुँदै पनि सुदनजी किन पश्चिमतिर जानु भयो ? बुझ्न सकिएन’, उनले भनिन्, ‘अनन्त कमरेड जनयुद्ध दिवसका लागि खोटाङ आउने तालिका पहिलेकै हो । भोजपुरमा पनि उहाँ आउनु भयो । तर सुदन कमरेड यहाँ देखिनु भएन । सायद उहाँ राष्ट्रियस्तरको नेता भइसकेकाले होला अन्य जिल्लाका कार्यक्रम भ्याउन जाँदा भोजपुरमा बस्नु भएन ।’
नेतृ राईका अनुसार भोजपुरमा नगर र गाउँपालिका अधिवेशनमा माघमै गर्नुपर्ने तालिका थियो । तर अझैसम्म हुन नसकेपछि उपमहासचिव अनन्तलाई पनि बोलाएर सक्न लागिएको बताइन् ।
‘यहाँका अधिवेशन माघभित्र गरिसक्नु पर्ने थियो । माघभित्र अधिवेशन गर्नुपर्ने भनेर केन्द्रीय समिति बैठकले नै निर्देश गरेको थियो । यो त संगठनको विधि पनि हो’, उनले भनिन्, ‘फागुन लाग्दा पनि भोजपुरमा अधिवेशन हुन सकेको थिएन। त्यसैले हामीले पहलकदमी लिएर गर्यौँ । भोजपुर नगरपालिकामा आज भयो, अरुणमा अनन्तकै प्रमुख आतिथ्यमा शनिबार हुँदैछ ।’
सुदनको विरोधमा बोलेका थिए विमल
खासमा गत माघ ४ गते माओवादी केन्द्र भोजपुरका सह-इन्चार्जले सुदनमाथि संगीन आरोपसहित सार्वजनिक वक्तव्य नै दिएका थिए ।
उनले माओवादी भोजपुर अहिले संगठनलाई अधिवेशनमार्फत् सक्षम बनाउने काममा लागेको बताउँदै सबै नेता कार्यकर्ताहरूले कर्तव्यबोध गर्नुपर्ने बताएका थिए ।
उनले यति भनेपछि सुदनतिर लक्षित गर्दै पार्टीका केन्द्रीय सदस्य किरातीलाई व्यंग्य गरे । ‘पार्टीका केन्द्रीय सदस्य तथा भाइरल सांसदले आफू र आफ्ना सुन्डमुसुडहरू, नागरिकता बेचुवासमेत प्रयोग गरी गुटबन्दी गर्दै गुट विस्तार गरेकोमा घोर भत्सर्ना गर्दछु’, उनले त्यसबेला भनेका थिए, ‘संगठनविरोधी गतिविधि गर्ने सत्ता र शत्तिको दुरुपयोग गर्ने जनसरोकार र विकास निर्माण काम नगरी स्टन्टबाजी गर्नेलाई संगठनमा बहिष्कार गरौँ ।’
उनले त्यसबेला स्वचालित र चलायमान कमिटी निर्माणमा जोड दिँदै सुदनमाथि धावा बोलेका थिए । विमलको यो आक्रमणले भोजपुरको माओवादीमा दुई लाइन संघर्ष छर्लङ्ग देखाएको थियो ।
त्यही दुई लाइन संघर्षको बाछिटा माओवादी भोजपुर नगरपालिका र अरुण गाउँपालिकाको अधिवेशनमा देखिएको छ । यी दुवै पालिकाको अधिवेशनमा सुदन गयल भएका छन् । अरुण गाउँपालिका सह-इन्चार्ज विमलको गृहपालिका पनि हो ।
माथिबाटै दुई लाइन
खासमा केन्द्रीय सदस्य किराती हाल उपमहासचिव शर्मानिकट छन् । यसअघि पर्यटनमन्त्री हुँदा पनि क्याबिनेट हेरफेरका क्रममा अन्य दुई मन्त्रीलाई निरन्तरता दिएका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई भने निरन्तरता दिएनन् । खासमा त्यही बेलादेखि नै माओवादीमा प्रचण्ड र जनार्दनको दुई लाइन संघर्ष बढिसकेको थियो ।
जनार्दनले दुई लाइन संघर्षलाई यस पटक अखिल क्रान्तिकारीको महाधिवेशनमा राम्रैसँग अभ्यास गरे । अध्यक्षमा सुदन मन्त्री हुँदाका स्वकीय सचिव हेमन्त राई पराजित भए पनि जनार्दनले अखिल क्रान्तिकारीमा बहुमत अर्थात् २० पदाधिकारी जिताए ।
प्रचण्ड, शक्ति बस्नेत र अनन्त समूहलाई झट्का दिने गरी जनार्दन समूहले महासचिव, अधिकांश उपमहासचिव, उपाध्यक्ष र कोषाध्यक्षमा जित निकालेका थिए ।
सुदननिकटसमेत रहेका हेमन्त केही मतले पराजित भए पनि जनार्दन समूहले अखिल क्रान्तिकारीमा बलियो पकड बनाउँदै प्रचण्डलाई बलियो झट्का दिएको थियो । क्रान्तिकारीको महाधिवेशनपछि आफ्नो प्यानलका विजयी र पराजित सबैलाई एक ठाउँमा राखेर त्यसबेला जनार्दनले सम्बोधन पनि गरे ।
महासचिवका बलिया दाबेदार जनार्दन प्रचण्डले उपमहासचिवमा खुम्च्याएदेखि जनार्दनले पार्टीमा संघर्ष चर्काएका थिए । उनले पार्टीमा लिखित दस्तावेज नै पेश गरेर संघर्ष चलाइरहेका बेला सुदनको रुकुम यात्रा र वर्षामानको भोजपुर यात्रालाई माओवादी कार्यकर्ताले रोचक मानेर हेरिरहेका छन् ।
प्रतिक्रिया