पश्चिम सेती प्रसारणलाइन अनिश्चित, ७ सय मेगावाटका आयोजना रोकिँदा राज्यलाई अर्बौँ घाटा | Khabarhub Khabarhub

पश्चिम सेती प्रसारणलाइन अनिश्चित, ७ सय मेगावाटका आयोजना रोकिँदा राज्यलाई अर्बौँ घाटा

लगानी जुटाउन सरकारलाई सकस


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

धनगढी– भारत सरकारको सहुलियतपूर्ण ऋणबाट निर्माण गर्न लागिएको पश्चिम सेती प्रसारणलाइन निर्माण अनिश्चित बनेको छ । सरकारले आवश्यक लगानी जुटाउन नसक्दा आयोजना अनिश्चितसँगै अलपत्र पर्ने अवस्थामा पुगेको हो । आयोजना बनाउन २० अर्ब ९० करोड ८३ लाख बजेट अनुमान गरिएको छ । 

पश्चिम सेती र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनसम्म पुर्‍याउन यो आयोजना निर्माण अवधारणा अघि सारिएको हो । लगानी जुटाउन नसक्दा ४ सय केभी क्षमताको प्रसारणलाइन आयोजना निर्माण अनिश्चित बनेको हो । चालु आर्थिक वर्षबाटै निर्माण थाल्ने तयारी थियो ।

तर पश्चिम सेती करिडोरको प्रसारणलाइनका लागि सरकारले लगानी जुटाउन सकिरहेको छैन । सरकारले १५०.४२ मिलियन अमेरिकी डलर (करिब २० अर्ब ९० करोड ८३ लाख) लागतमा आयोजना निर्माण गर्न खोजेको थियो । जसमा भारत सरकारको सहुलियतपूर्ण ऋण प्रयोग गर्ने खोजिएको छ । 

२०८० साउनमै आयोजना निर्माणको प्रस्ताव गरेको नेपाल सरकारले भारतको सकारात्मक जवाफ पाएको छैन । लगानीदाताले हालसम्म जवाफ र प्रतिक्रिया दिएको छैन । गएको पुस ११ मा अर्थ मन्त्रालयले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै भारत सरकारबाट सहुलियत ऋण प्रयोग गर्ने सन्दर्भमा कुनै जवाफ नआएको उल्लेख गरेको छ । 

भारत सरकारसँग भएको सहुलियतपूर्ण ऋण सम्झौता (लाइन अफ क्रेडीट—एलओसी) तीन र चारबाट बचेको ९ सय मिलियन अमेरिकी डलरको रकम उपयोग गरेर उक्त प्रसारण लाइन निर्माणको प्रस्ताव अर्थ मन्त्रालयले गरेको थियो  । 

उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयले भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाएकामा जवाफ नआएको र भविष्यमा सम्झौता भए पश्चिम सेती–दोदोधारा प्रसारण लाइन निर्माण रकम व्यवस्थापनका लागि प्रस्ताव गर्न सकिने अर्थ मन्त्रालयले पत्रमा लेखेको  । 
  
भारत सरकारबाट एक वर्षसम्म जवाफ नआएपछि सहुलियतपूर्ण ऋण सम्झौता (लाइन अफ क्रेडिट–एलओसी) तीन र चारबाट बचेको ९ सय मिलियन अमेरिकी डलर ऋण रद्द गर्ने २०८१ कात्तिक १३ को मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । प्रसारणलाइन निर्माण आयोजना अनिश्चित हुँदा यसबाट पश्चिम सेती र यसका सहायक नदीमा निर्माणाधीन आयोजनामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । 

लगानी अनिश्चित बनेपछि पश्चिम सेती जस्तै प्रसारणलाइन निर्माण पनि अलपत्र अवस्थामा पुग्ने देखिन्छ । २०८७/०८८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरूप एलओसी ४ अन्तर्गतको सहुलियत ऋणमा आवेदन दिए पनि स्वीकृत नभएको जानकारी पाएको पश्चिम सेती प्रसारण लाइन निर्माणको जिम्मा लिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल) को ४ सय केभी पश्चिम सेती प्रसारणलाइन आयोजना प्रमुख राजकीरण वासुकलाले बताए ।

‘सरकारले लगानी नै नभएको देखाएर काम अघि बढाउन नसकिएको हो । तर चारबाट नभए एलओसी पाँचमार्फत रकम आउँछ भन्ने जानकारीसम्म प्राप्त भएको छ’, उनले भने, ‘ढिलोचाँडो केही होला, तत्काललाई त्यो निश्चित हो–होइन, कहिलेसम्म प्राप्त हुन्छ, अहिले भन्न सकिन्न‘, वासुकलाले भने ।

४ सय केभी पश्चिम सेती प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा रहेको र इन्जिनियरिङ डिजाइन सकिइसकेको उनले जानकारी दिए ।

बझाङदेखि पश्चिम सेतीसम्म ६० किलोमिटर, पश्चिम सेतीदेखि दोदोधारासम्म ८५ किलोमिटर र पश्चिम सेतीदेखि न्यु अत्तरियासम्म ६८ किलोमिटर गरी पश्चिम सेती करिडोरमा कुल २ सय १३ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्नेछ ।

बझाङको चैनपुर र डोटीको वनलेकमा सब-स्टेशन निर्माण गर्नुपर्नेछ । सबस्टेशन निर्माणका लागि चैनपुरमा २ सय ८२ रोपनी र वनलेकमा १ सय ४० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । 

निर्माणमा लगानी समस्या देखिए पनि आयोजना कार्यालयका तर्फबाट गरिनु पर्ने सबस्टेशनको इन्जिनियरिङ डिजाइन सकिएको वासुकलाले बताए । ‘यही वर्षबाट काम सुरु गर्ने भनेर भारत सरकारलाई एप्लिकेसन दिएका थियौँ । त्यहाँबाट सकारात्मक जवाफ नआएका कारण आयोजना निर्माण ढिला हुने देखियो’, उनले भने । 

उसो त पश्चिम सेती–दोदोधारा र पश्चिम सेती–न्यु अत्तरियाको प्रारम्भिक वातावरणीय परीक्षण वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ। बझाङदेखि पश्चिम सेती स्वीकृतिको प्रक्रियामा छ । प्रसारणलाइन निर्माणका लागि विद्युत् विकास विभागबाट अनुमतिपत्र पर्खिरहेको बताउँदै स्रोत सुनिश्चित हुनासाथ ठेक्का प्रक्रियामा जाने वासुकलाले जानकारी दिए ।

पश्चिम सेती क्षेत्रमा ५ सय मेगावाट विद्युतको खरिदबिक्री सम्झौता (पीपीए) भएर निर्माण सुरु भइसकेको छ । विद्युत् आयोजना निर्माण सकिनुअघि नै प्रसारण बनेन भने राज्यलाई ठूलो घाटा हुने देखिन्छ । निर्माण कम्पनी र निर्माण सामग्री भारतकै प्रयोग हुने सर्तमा ऋण लिने प्रक्रिया अगाडि बढाए पनि स्वीकृत नभएका कारण आयोजना निर्माण अनिश्चिततातर्फ धकेलिएको देखिन्छ । 

सेती र यसका सहायक नदीमा अहिले चैनपुर सेती २१० मेगावाट, बझाङ अपर सेती २१६ मेगावाट, सेती नदी–३, ८७ मेगावाट र सुनिगाड २५ मेगावाट गरी ५३८ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणाधीन छन् । यस्तै सनस्टार ४६ मेगावाट, बडीमालिका ६० मेगावाट, न्यादी ६० मेगावाट र मालुमेला सेती ६४ मेगावाट गरी थप २३० मेगावाट क्षमताका चार आयोजना निर्माण अनुमति पर्खिरहेका छन् ।

समयमा प्रसारणलाइन निर्माण नभए यस क्षेत्रमा उत्पादन हुने ७६८ मेगावाटका ८ वटा आयोजना प्रभावित हुनेछन् । यी सबै आयोजना बझाङभित्र निर्माणाधीन रहेको र प्रसारण लाइन निर्माण ढिला हुँदा स्थानीयलाई प्राप्त अवसरमा पनि प्रत्यक्ष असर पर्नेछ । प्रसारण लाइनको प्रमुख हब क्षेत्र बझाङ नै हो । प्रसारण लाइन समयमा निर्माण नभए यहाँ निर्माणाधीन विद्युत् आयोजनाको काम पनि ढिला हुने निश्चित छ । 

सिंगो सुदूरपश्चिम प्रदेशकै आर्थिक गतिविधि चलायमान बनाउन सक्ने आयोजनाको काम नहुँदा रोजगारी, व्यापार, व्यवसाय सबै क्षेत्रमा असर पर्न चिन्ता स्थानीय अगुवा समेत रहेका एमाले नेता नयन बोहराले बताए ।

बझाङ एमाले जिल्ला सचिवसमेत रहेका बोहराले राज्यले जनताको रोजगारी र उत्पादनसँग जोडिएका र आर्थिक श्रोत जुट्ने आयोजनालाई आन्तरिक लगानी लगाएरै भए पनि निर्माण गरिनु पर्नेमा जोड दिए । 

सरकारले विदेशी दाताको मात्रै मुख नताकेर वैकल्पिक स्रोत जुटाई प्रसारणलाइन निर्माणको काम अघि बढाउनुपर्ने सुझाव स्थानीय रमेश सिंहको छ । प्रसारणलाइन निर्माणमा ढिलाइ हुँदा यसले निर्माणाधीन र निर्माणको प्रक्रियामा रहेका सबै आयोजना प्रभावित पारेको छ । जलविद्युत् विज्ञहरूले प्रसारण लाइनको सुनिश्चितता भएन भने निर्माणको प्रक्रियामा रहेका आयोजनालाई बैंकबाट स्रोत जुटाउन समस्या भएर काम ढिला हुने चिन्ता व्यक्त गरेका छन् । 

पश्चिम सेती क्षेत्रमा एकपछि अर्को विद्युत् आयोजना निर्माण भइरहेको र त्यहँबाट उत्पादन गरिएको विद्युतीय श्रोतसँग स्थानीयलाई जोड्न सके जनताको आर्थिक जीवनशैली सुधारमा धेरै सहज हुने आश बझाङबासीको छ । तर प्रसारणलाइन निर्माणले गति नलिएको अवस्थामा लगानीकर्तामासमेत निराशा देखिन्छ । बैंकको व्याज तिर्न नसक्ने अवस्था आउने चिन्ता उनीहरूको छ ।

समयमै प्रसारण लाइन निर्माण नभए स्थानीयले पाउने सेयर, बोनसलगायत सबै कुरामा असर पर्नेछ । राज्यलाई समेत ठूलो घाटा हुने देखिन्छ । करिब ७ सय मेगावाट विद्युत् स्थानीयस्तरमै उत्पादन गर‍ेर प्रसरणलाइन निर्माणपछि विक्री गर्न सके, लगानीदाता र स्थानीय सबैलाई आर्थिक फाइदा हुने विश्वास छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : ४१ बजे

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर