‘छाउपडीलाई कानुनले चिन्दैन, तर रुढीवादले गाँजेको गाउँमा कानुन मात्र पर्याप्त छैन’ « Khabarhub

‘छाउपडीलाई कानुनले चिन्दैन, तर रुढीवादले गाँजेको गाउँमा कानुन मात्र पर्याप्त छैन’



काठमाडौँ– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले छोरीचेली जोगाउनकै लागि पक्की छाउगोठको अनुमति दिनुपर्ने अवस्था रहेको बताएका छन् ।

गएको शनिबार राति कृष्णपुर–१ मा २८ वर्षीया कमला दमाईको सर्पदंशबाट छाउगोठमै ज्यान गएपछि तत्कालका लागि छोरीचेलीलाई मृत्युको मुखबाट जोगाउन पक्की छाउगोठको अनुमति दिनुपर्ने वडाध्यक्ष बस्नेतले बताएका हुन् ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘छाउपडीलाई कानुनले चिन्दैन तर जनप्रतिनिधिले पक्की छाउगोठको कुरा गर्दा विरोध पक्कै होला । तर काठमाडौँमा बसेर छाउपडीको विरोध गरेजस्तो सजिलो छैन । गाउँमा रुढीवादी परम्पराले गाँजेको मानिसलाई सम्झाउन कानुन मात्रै पर्याप्त छैन ।’

शहरबजारका शिक्षित परिवारले समेत महिनावारीलाई सामान्य मानेको अवस्था छैन । छाउगोठमा नबसे पनि शहरमासमेत बार्ने चलन छ । देवीदेवता छुन नहुने, पकाएको नखाने, पूजापाठमा सहभागी नहुने अवस्था छ ।

वडाध्यक्ष बस्नेत भन्छन्, ‘गाउँमा परम्परावादी, गरिबी, अशिक्षा र चेतनाको अभाव छ । स्वभाविक रुपमा उनीहरुलाई देउता रिसाउने कुरा सत्य होइन भनेर सम्झाउन त्यति सजिलो छैन । तर शहरमा यथावत छ भन्दैमा छाउगोठ जगेर्नामा आफू नलागेको उनी बताउँछन् । यसैसन्दर्भमा बस्नेतसँग गरिएको कुराकानीको अंशः

पक्की छाउगोठ भनेको के हो ? आधुनिक छाउगोठको विकल्पले कुप्रथालाई निरन्तर दिँदै जाने हो ?

वडाले बालमैत्री स्थानीय शासन सञ्चालनमार्फत् काम गरिरहेको छ । अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था लागिरहेकै छौँ । यर्समार्फत् ८–१० छाउगोठ हिजै (असार २९) मा भत्काइएको छ । अझै अन्य छाउगोठहरू भत्काउने तयारीमा छौँ ।

स्थानीयहरूसँग सहकार्य गरेर काम गरिरहेका छौँ । अभियान चलाउँदा–चलाउँदै पनि मानिसहरूले अटेर गरेका छन् । देउता बिग्रन्छ भनेर अनुनय–विनय गर्छन् । हामीलाई निमिट्यान्न हुने गरी हटाउन मुस्किल परिरहेको छ ।

बिजुलीबत्ती, पङ्खा लगाएर सुत्ने व्यवस्था गर्ने, घाट लगाएर र झुल लगाएर सुत्ने व्यवस्था गर्नेजस्ता कुरा कानुनले मान्दैन तर गाउँमा बसेर आम मानिससँग काम गर्न त्यति सजिलो छैन । प्रथाको कुरा छ । उनीहरुको देउताको कुरा छ ।

गाउँमा सबै मान्छे आर्थिक रुपले बलिया छैनन् । घरै पक्की छैन । छाउगोठ कसरी पक्की बनाउने हो ? रुढीवादीले गाँजेको समाजलाई छिट्टै परिवर्तन गर्न गाह्रो छ ।

सरकारले वर्षौंदेखि छाउपडी हटाउने कार्यक्रम गरिरहेको छ । तर तपाईंकै वडामा हालै युवतीले छाउगोठमा ज्यान गुमाइन् ?

तीन वर्षदेखि हामीले अभियान चलाएर रोक्ने प्रयास गरिरहेका छौँ । छाउगोठ पटकपटक भत्काएका छौँ तर फेरि बनाइहाल्छन् । विशेषगरी यस क्षेत्रमा अछाम जिल्लाबाट बसाइँ आएकाहरूले छाउगोठलाई निरन्तरता दिइरहेका छन् । उनीहरूले धेरै अटेर गरिरहेका छन् । भत्काइदिए पनि तुरुन्तै बनाइहाल्छन् ।

मृत्यु हुने युवती बसाइँ आएकी हुन् ?

हाल ज्यान गुमाउने युवती लामो समय भारतमा बसेकी हुन् । केटाकेटीलाई पढाउने भनेर केही महिनाअघि नेपाल आएकी हुन् । कमाएर राम्रो पक्की घर भएकी उनलाई महिनावारीमा छाउगोठ बस्नुपर्छ भनेर छिमेकीले सिकाइदिएछन् ।

पहिले छाउगोठ बारेकी युवती होइनन् । छिमेकीले भनिदिएर, देउताको डर मानेर टाउको पनि राम्रोसँग छिराउन नमिल्ने छाउगोठमा सुत्न गइछन् । नेपालमा आएर देखासिकी गरेको देखिन्छ । देखासिकी गर्दा २८ वर्षकी युवतीले ज्यानै गुमाउनुप¥यो ।
छाउगोठविरुद्ध कार्यक्रम भइरहेको छ । भत्काइरहेका छौँ । तर बसाइँसराइ आउनेले भनेको मानिरहेका छैनन् । यदि देउता रिसाउने हो भने पनि पूजाकोठामा र भान्साकोठामा रोक्नु तर घरबाहिर नपठाउनु भनेका छौँ । घरभित्रैको एक सुरक्षित कोठालाई नै महिनावारी हुँदा सुत्ने बस्ने गराउन भनेका छौँ ।

जनचेतनाको कार्यक्रम गर्दा पनि सुधार नआएपछि, अब कसरी काम गर्न सकिन्छ ?

१० दिनभित्र छाउगोठ भत्काउने भनेर सूचना जारी गरेका छौँ । कच्ची घरमा पनि पाली हुन्छ । त्यही पालीलाई व्यवस्थित छाउगोठ बनाउने विकल्प दिनुपरेको छ । यदि भनेको कुरामा अटेर गरेमा वडाले दिने १० हजार जरिवाना गर्छौँ, भनेका छौँ ।

स्थानीय सरकारले दिने सेवासुविधाबाट वञ्चित गर्छौँ भनेर चेतावनी दिएका छौँ । बालमैत्री स्थानीय शासन कञ्चनपुर वडा नम्बर १ मा सुरु गरेका छौँ । जसको पहिलो काम छाउपडी हटाउने नै छ । टोलटोलमा सहभागी भएर धामीझाँक्रीलगायत सबैलाई आमन्त्रित गरेर परामर्श गर्ने गरेका छौँ ।

महिनावारीमा घरभित्रै बस्ने वातावरण बनाउन, धामीझाँक्रीले पनि रुढीवादी कुरा नअँगानुस् । सबैले आ–आफ्नो तर्फबाट सकरात्मक पहलको लागि हातेमालो गर्नुस् भनेर आग्रह गरेका छौँ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : १८ बजे

यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी