जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार | Khabarhub Khabarhub

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार



काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीमाथि सुशासनको नाममा आतंकित बनाउने काम भइरहेको छ ।

जेनजी नामको एउटा समूहले विभिन्न सरकारी कार्यालयमा युट्युबर सहितको टोली लिएर गैरकानुनी रूपमा सोधपुछ तथा हैरानी पार्दा सरकार भने मूकदर्शक बनेको देखिन्छ ।

जेनजी आन्दोलनका नेता भनिएका व्यक्ति सुधन गुरुङ आन्दोलनपश्चात बनेको सरकारमा कुनै हिसाबले सहभागी भएका छैनन् । तर, उनले केही दिन अगाडि कृषि तथा पशुपङ्क्षी मन्त्रालयमा गएर कर्मचारीहरूलाई कृषि क्षेत्रको विकासका बारेमा छलफल गर्दै एक ढङ्गले निर्देशन नै दिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यस्तै, जेनजी आन्दोलनपश्चात शुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त हुने बेलामा सामुहिक रूपमा हात ठड्याउन पुगेका अर्जुन शाहीको एउटा समूहले केही दिन यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि विभिन्न कार्यालयमा पुगेर कार्यालय प्रमुखहरूलाई थर्काउने काम गर्दै हिँडेको छ ।

शाही नेतृत्वकै समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । अख्तियारमा ज्ञापनपत्र बुझाउन जाँदा अख्तियारका प्रमुख प्रेमकुमार राई नभेटिएपछि उनीहरूले कर्मचारीहरूलाई थर्काउने काम गरेका थिए ।

त्यस्तै, सोही समूहले नेपाल बायु सेवा निगमको कार्यालय पुगेर कर्मचारी कर्मचारी संगठनको खारेजी सहित विभिन्न माग गरेका थियो । साथै, उनीहरूले निगमको मूल ढोकामा निगममा कार्यरत रहेका कर्मचारी युनियनले दिपावलीलाई लक्षित गरेर राखेका स्वागत ब्यानर पनि च्यात्ने काम गरेका थिए ।

सोमबार सोही शाही नेतृत्वकै नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेर प्राधिकरणका प्रमुख प्रदीपराज अधिकारी राजीनामा माग्यो । प्राधिकरणको भूमिका नै नबुझी शाहीले अधिकारीलाई विभिन्न आरोपसमेत लगाएका थिए ।

सार्वजनिक क्षेत्रको ‘मोरल डाउन’, सरकार मुकदर्शक

संविधान कानुनअनुसार सञ्चालनमा रहेका निकायहरूमा भएका अनियमिततामाथि अनुसन्धान गर्ने, कारबाही गर्ने लगायतका कामको लागि संवैधानिक तथा कानुनी व्यवस्था छ । तर, जेनजी आन्दोलनको आधारमा बनेको सरकार निर्माण भएको एक महिना समय बित्दासमेत आवश्यक मन्त्रिमण्डल विस्तार समेत गर्न सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री शुशिला कार्कीले नै सञ्चालन गर्दै आएकी छन् । तर, सोही मन्त्रालय मातहका निकायमा जेनजी नामका केही समूह गएर कानुन विरोधी गतिविधि गर्दा उनले नजरअन्दाज गर्दै आएको देखिन्छ ।

पूर्व सचिव सारदाप्रसाद त्रितालले लोकतान्त्रिक मुलुकमा भ्रष्टाचारीलाई विधिबाट कारबाही गर्न सकिने भन्दै विभिन्न कार्यालयका कोठा–कोठामा पुगेर थर्काउने काम राम्रो नभएको बताएका छन् ।

‘संविधान, कानुनअनुसार गठन भएका संस्थाहरूलाई कानुनी प्रक्रिया पूरा गरेर गर्नुपर्छ, कोठा–कोठामा गएर तैँले राजीनामा गर भन्ने कुरा लोकतान्त्रिक मुलुकमा सुहाउने कुरा होइन’, उनले भने, ‘कसैले भ्रष्टाचार गरेको छ भने यसले यति–यति भ्रष्टाचार गरेको छ भनेर सम्बन्धित ठाउँमा निवेदन दिनुपर्‍यो, अदालतमा गएर दिन सकिन्छ, उहाँहरूको सिफारिसको सरकार छ सरकारलाई फलानो–फलानो मान्छेले भ्रष्टाचार गर्‍यो भन्नपर्यो र सरकारले प्रक्रिया पुर्यानेतिर लाग्नुपर्यो, यो किसिमले गर्यो भने अराजकता बढ्छ ।’

उनले जेनजीले यस्तो काम गरेको हो वा जेनजीमा अरु मान्छे घुसेर त्यस्तो गरिरहेका भन्दै सुशासनको दृष्टिले देखिएको क्रियाकलाप उपयुक्त नभएको बताए । साथै, उनले सरकारलाई भ्रष्टाचार भएको छ भन्ने लागेको अवस्थामा सरकारले नै पहलकदमी लिएर अख्तियारमार्फत अनुसन्धान गराउन सक्ने बताए ।

‘सरकारलाई शंका लाग्छ भने त उसले फलानो व्यक्तिको बारेमा विवाद आएको छ के हो छानबिन गर्ने व्यवस्था गर्न भनेर अख्तियारलाई लेखेर पठाइदियो भने अख्तियारले प्राथमिकतामा राखेर गरिहल्छ नि’, उनले भने ।

तर, सरकारले आफूले पहलकदमी पनि नलिने र भइरहेका गतिविधि पनि नियन्त्रण गर्ने तर्फ उद्दत नहुनुलाई उनले सरकार बिहीन जस्तो अवस्था देखिएको भन्दै यस्तो हुन नहुने बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ०६ बजे

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौं – विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५