मेलम्चीबासीले मुहानमा किन लगाए ताला ? जनप्रतिनिधि भन्छन्- पानी रोक्नुको विकल्प थिएन « Khabarhub

मेलम्चीबासीले मुहानमा किन लगाए ताला ? जनप्रतिनिधि भन्छन्- पानी रोक्नुको विकल्प थिएन



काठमाडौं – उपत्यकामा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यसहित २०५५ सालमा मेलम्ची खानेपानी आयोजना निर्माण सुरु गरियो । करिब तीन दशक लगाएर सरकारले २०७८ मा २६ किलोमिटर लामो सुरुङमार्फत उपत्यकामा पानी झार्यो । तर सरकारै पिच्छे उद्घाटन गरिएको यो आयोजनाले हालसम्म पनि उपत्यकावासीको तिर्खा मेटाउन सकेको छैन् । बरु उल्टै विभिन्न चुनौती थपेको छ ।

एशियाली विकास बैंक (एडीबी) र विभिन्न दातृ निकायको ३१ अर्ब ७३ करोड रुपैयाँ बराबर आर्थिक सहयोगमा बनेको आयोजनाको मुहान मेलम्ची क्षेत्रका स्थानीयलाई समेत पिरोलेको छ । मनसुनमा बाढीपहिरोका कारण मुहान नै बन्द गर्नुपर्ने अवस्था छ । हिउँद लागेपछि पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै मेलम्चीवासीले पटक-पटक पानी ठप्प पार्दै आएका छन् ।

यसपटक पनि मेलम्ची र उपत्यकाका नागरिकले यस्तै नियति भोग्नुपर्‍यो । वित्तीय अपचलनको प्रश्नबाट समेत अछुतो नरहेको यस आयोजनाले मेलम्चीवासीको माग सम्बोधनमा समेत आलटाल गर्दै आएको छ । जसकारण उनीहरुले कार्तिक २० गते हेलम्बु गाउँपालिका-१, अम्बाथानस्थित मुहानमै ताला लगाएर विरोध जनाए।

उनीहरुको माग सम्बोधनका लागि मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुनः सम्झौता भएको छ । उक्त सम्झौतामा के-के विषय समेटिएको छ ? मेलम्चीका पालिकाको संघ सरकारसँगको सहकार्य कस्तो छ ? बारम्बार धर्नामा उत्रिनुपर्ने अवस्था किन सिर्जना भइरहेको छ ? वर्तमान सरकारले समाधान गर्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ भन्नेबारे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोसँग गरिएको कुराकानीको सम्पादित अश :

मेलम्चीवासीको मागमा वर्तमान सरकारबाट के-कस्ता आश्वासन पाउनुभयो ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार राति सहमति भयो। त्यसमा म प्रत्क्षय सहभागी हुन त सकिन तर उहाँहरुले उठाएको सबै माग हाम्रा पनि हुन् । ती माग सरकारले सम्बोधन गर्नुपर्छ । उक्त सहमतिपछि पानी पठाइएको छ ।

मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ अनुसार संसोधन गर्नुपर्ने कुरामा संसोधन गरेर क्षतिपूर्तिका लागि स्थानीयको समेत सहभागिता रहनेगरी तीन महिनाभित्र गृह मन्त्रालयमा रिपोर्ट पठाइनेछ । अर्थ मन्त्रालयबाट हालसम्म निकासा हुन नसकेको रकम १५ दिनभित्र निकासा गरिने जनाइएको छ । खानेपानी परिपुरण (लेवी) दिनेबारे ४५ दिनभित्र सम्बन्धित मन्त्रालयको सहकार्यमा मन्त्रिपरिषदमा प्रतिवेदन पेश गरिनेछ ।

यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये २५ करोड रुपैयाँ सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त सडक बनाउने लगायतका कुरा उल्लेख गरिएको छ । आयोजनाले ४५ करोड दिने पहिले नै मेलम्चीबासीसँग सम्झौता गरेको थियो । सो अन्तर्गत मेलम्ची आयोजनाको मुख्य मुहानसम्म जान सडक अवरोध नहोस् भनेर मुख्य सडक र त्यसको वैकल्पिक सडक आयोजनाले नै बनाउनुपर्ने हो । सोही अनुसार २५ अर्ब मुख्य सडक र २० अर्ब वैकल्पिक सडकका लागि भनिएको थियो । त्यसैले मुख्य सडक तत्काल बनाउन हामीले दबाब दिएका हौं ।

मुहान थुन्दा काठमाडौंवासी हामीसँग रिसाएका होलान् , तर के गर्नु हामीले गरेको यो विरोध भोलिको दिनमा मुहानमा समस्या पर्दा त्यहाँसम्म पुग्न कुनै अवरोध नहोस् भनेर हो । खासमा यसरी विरोध गर्नुपर्ने विषय नै होइन । के गर्नु हाम्रो सरकारले गरेको वाचा पूरा गर्न कहिले ध्यान दिँदैन् । त्यसको पीडा काठमाडौं र मेलम्चीबासीले भोग्नुपरेको छ । आयोजनासम्म जाने बाटो त आफैँले बनाउनुपर्छ नि हैन र ? हामीले त सरकारलाई तिम्रो आयोजनासम्म आउने बाटो बनाइदेउ भन्नुपरेको छ । आफ्नो काम छोडेर बारम्बार धर्ना र विरोध गर्नुपरेको छ ।

मंगलबार सरकारसँग सम्झौता भयो । राति नै टेन्डर खोलिएको हो ?

यो मित्थ्या सूचना प्रवाह गराइयो । टेन्डरको लामो प्रकृया छ । त्यसरी रातिराति औपचारिक काम गर्न सकिन्छ र ? त्यसमा त हामीले गत साल सरकार र आयोजनासँग सम्झौता गरेअनुरुप मंगलबार ४ बजेअघि नै टेण्डर आह्वान गरिएको बारे पत्रिकामा सूचना निकालिएको थियो । स्थानीय पालिकाले सडक विभागलाई बजेट कार्यान्वयनका लागि सिफारिस मात्रै गरेका हौं ।

मेलम्चीवासीलाई गरेको आफ्नो वाचा पूरा गर्न सरकार कहाँनेर चुक्यो ?

२०७२ अगाडि संघीयता लागू नहुँदै आयोजनाले गैर सरकारी संस्थामार्फत प्रभावित क्षेत्रलाई दिइने सामाजिक उत्थान कार्यक्रममार्फत काम गरेको थियो । उक्त कार्यक्रममाथि पारदर्शिताको प्रश्न उठेपछि हामीले त्यो कार्यक्रम स्थानीय सरकारमा ल्याएका थियौं।

लेबीको कुरा कसरी दिने र हामी लिनेले पनि कसरी लिने भन्ने हामीले पनि लामो समयसम्म बुझ्न सकेनौं । त्यो अहिले हाम्रो मुख्य माग हो । कि त सरकारले उपत्यकावासीलाई निःशुल्क पानी खुवाउन पर्‍यो तर त्यसो त भाको छैन । नभएको हकमा उपत्यकावासीले तिरेको पैसाको २५ प्रतिशत रकम मुहान संरक्षण लगायत व्यवस्थापन र विकासका लागि दिनेबारे गत साल सरकारले सम्झौता गरिसकेको छ ।

सानो आयोजना कार्यान्वयन गर्दा पनि अध्ययन गरेर गरिन्छ । यो त अझै संघीय राजधानीलाई पानी खुवाउने राष्ट्रको गौरवको आयोजना हो । तर आयोजना निर्माणको क्रममा मुहानमा ९ किलोमिटर टनेल खन्दा त्यहाँबाट ठूलो मात्रामा निस्किएको ढुङ्गामाटो व्यवस्थापन गरिएन । ठेकेदारले त्यही खोलामा फाल्यो । जसकारण २०७९ असारमा खोलामा बाढी आउँदा त्यो सबै बगाएर बस्ती पुर्‍यो ।

यति ठूलो समस्या निम्त्याएका ठेकेदारले हामीले त्यहाँ फालेको होइन् भन्नुभयो । त्यसो भए कहाँ व्यवस्थापन गर्नुभयो भनेर प्रश्न गर्दा देखाउनु भन्दा सक्ने कुरै भएन । यसमा सरकार चुकेको हो । क्षतिको परिपुरणको जिम्मा सरकारले लिनुपर्छ । सहमति गरे पनि सरकारले सुन्दैन ।

धर्ना र विरोधका कार्यक्रम गरिरहँदा सम्बोधनको प्रयास किन भएका छैनन् ?

धर्ना बसेर पनि हाम्रो सुनुवाइ कहाँ भयो ? दुर्भाग्य हेर्नु न हामीले पानी नै बन्द गर्नुपर्‍यो । उदाहरणका लागि यहाँसँग बोलेको कुराको जवाफ त भोलि प्रश्न उठे मैले दिनुपर्छ । सरकारले पनि सम्झौता गरिसकेपछि त पुरा गर्नुपर्‍यो । कि हामीले सक्दैनौं भन्नुपर्‍यो । सानो सानो जिम्मेवारी त पूरा गर्दै गए हल्का हुन्छ ।सरकार दुरदर्शी बनेन । मैले गरेको वाचा मैले पूरा गर्नुपर्छ भन्ने जिम्मेवारीविहीन भएकाले समस्या भएको हो ।

जेन-जी आन्दोलनले हेलम्बु लगायत मेलम्चीका पालिकामा कस्तो प्रभाव पार्‍यो ?

जेन-जी आन्दोलनले मेलम्चीका पालिकामा कुनै समस्या पुगेको छैन् । अहिलेको अवस्थामा धेरै सुख सुविधाको परिकल्पना भन्दा हामी नेपाली भएर बाँच्न पाए हुन्थ्यो भन्ने चिन्ता गर्नुपर्ने अवस्था बनेको छ । जेन-जी आन्दोलनको मर्मलाई सरकारले सम्बोधन गर्न सक्नुपर्छ ।

यहाँलाई जेन-जी आन्दोलन किन भयो होला जस्तो लाग्छ ?

हामीले दिएको डेलिभरीमा नागरिक सन्तुष्ट छैनन् । नागरिकको माग सम्बोधन नगर्ने हो भने असामान्य अवस्था आउन सक्छ भनेर मैले विगतमा पनि आवाज उठाउँदै आएको थिएँ । अब समस्या औंल्याउने मात्रै होइन कि समाधानको बाटो पनि खोजिनुपर्छ ।

नागरिकले सहज गरी स्वास्थ्य उपचार पाउन सकेका छैनन् । छोराछोरीलाई पढाउन सकेका छैनन् । तपाईंका छोराछोरीले डाक्टर पढ्छु भन्दा सहजै पढाउन सक्ने अवस्था छैन । बिरामी पर्दा उपचार गर्न सक्ने अवस्था छैन । सरकारले यी लगायतका नागरिकका आधारभूत आवश्यकताको स्वामित्व लिने हो भने जेन-जी पुस्ताले मागेको सुशासनको ५० प्रतिशत हिस्सा यसै कायम हुन्छ जस्तो लाग्छ । उनीहरु राज्य भएको अनुभूत गर्न सक्छन् ।

जस्तै मेरो गाउँपालिकामा मैले दिर्घरोगीलाई निःशुल्क औषधी वितरण गरेको छु । एउटा दीर्घरोगीले महिनामा करिब ५० हजार रुपियाँ बराबरको औषधी खान्छ । जसअनुसार वर्षमा ६ लाख एक जना बिरामीको औषधीका लागि जुटाउनुपर्‍यो । कुनै आम्दानीको स्रोत नभएको बिरामीले औषधी कसरी खान्छ ।

मर्न भन्दा अरु विकल्प देखियो त ? बाँच्न पाउने अधिकार त उस्को पनि हुन्छ । त्यहाँ राज्य जोडिएको छ ? राज्यले सम्बोधन नगरिदिएपछि युवा विदेश पलायन हुनुको विकल्प छैन । हामीले राणा फाल्ने २००७ सालदेखि प्रजातन्त्र, गणतन्त्र ल्याउँदा र अहिलेको जेन-जी आन्दोलनसम्म देख्यौं । तर त्यसबाट सर्वसाधारण र देशले के पायो त ? वर्तमान अवस्था हामीले नेपाली भएर बाँच्न पाउनुपर्छ भन्ने चिन्ता छ । त्यसका लागि राज्य कमजोर भएको यो अवस्थामा जे गरे पनि हुन्छ भन्ने भन्दा संयम भएर लाग्नुपर्छ ।

यस्तो छ पुरानो सम्झौता :

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ०१ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्

ओली-देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

काठमाडौं- देशको ठूलो दल नेपाली कांग्रेस पनि भदौ २७ गते

केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले आफू

पोखरा विमानस्थल भ्रष्टाचार : ४ खर्ब ५१ अर्ब बढी बिगो माग गर्दै अख्तियारले दायर गर्‍यो मुद्दा (विज्ञप्तिसहित)

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष

चिनियाँ कम्पनी सीएएमसीको निर्णायक भूमिका, ‘मतियार’का रुपमा भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा