काठमाडौं– आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा मधुमेह भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाईँदै छ ।
यस दिवसले मधुमेह अझै पनि प्रमुख जनस्वास्थ्य चुनौतीको रूपमा रहेको सहज परीक्षण, उपचार र सहयोगी वातावरणको आवश्यकताको स्मरण गराएको छ । बालबालिकादेखि गर्भवती महिला र ज्येष्ठ नागरिकसम्म सबैका लागि उमेरअनुसारको रोकथाम, समयमै मधुमेहको पहिचान र नियमित उपचार अनिवार्य छ ।
नियमित शारीरिक गतिविधि, स्वस्थ आहार, धूम्रपान र मदिराबाट टाढा रहने जस्ता सरल जीवनशैली परिवर्तनले प्रकार–२ मधुमेहको जोखिम घटाउन मद्दत गर्छ । विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायलाई मधुमेहको बोझ कम गर्न अझ सशक्त रूपमा एकजुट हुन आह्वान गरेको छ ।
इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रूपमा मनाउन थालिएको हो ।
सन २००६ मा यो दिवसले आधिकारिक रूपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थियो । यो दिन मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो ।
फ्रेड्रिक ग्रान्टले चाल्र्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गरेका थिए । उनैको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ ।
रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रूपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिन्छ । यो अवस्थालाई नै मधुमेह भनिन्छ ।
आफूलाई मधुमेह भएको छ वा छैन भनेर परीक्षण पूर्व नै जानकारी हुन सक्छ। मधुमेह भएमा मुख सुख्खा हुने, पटक पटक पिसाब आउने, बढी तिर्खा लाग्ने, भोक धेरै लाग्ने, हातगोडा झम्झमाउने जस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षण देखापर्ने बित्तिकै परीक्षण गरेर चिकित्सकको सल्लाह लिनु पर्छ ।
मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अंग जस्तै: आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्याउन सक्छ । शरीरको तौल बढ्दै गएमा मधुमेहको जोखिम पनि उत्तिकै बढ्दै जाने सम्भावना रहन्छ । तर, खानपानले पनि मधुमेहको निर्धारण गर्छ । यो सरुवा रोग होइन तर यसलाई जेनेटिक रोगको रूपमा लिइन्छ । परिवारका कुनै सदस्यलाई मधुमेह छ भने उसको सन्तानमा पनि यो रोग देखिने सम्भावना उत्तिकै रहन्छ ।
मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरूलाई मधुमेहको समस्या देखा पर्न सक्छ । अहिले विश्वभर ४५ करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विलासी जीवनशैली र अस्वस्थकर खाना नै मधुमेहको मूल कारण हो ।
मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । साथै दैनिक रूपमा व्यायाम गर्नु र तनावमुक्त हुनु पनि यसबाट बच्ने उत्तम उपाय भएको चिकित्सकहरू बताउँछन् ।













प्रतिक्रिया