काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ का घटनापछि देश गम्भीर अन्यौलतामा रहेको बताएका छन् ।
उनले यो अवस्थामा लोकतान्त्रिक प्रणाली, राष्ट्रियता र नागरिक अधिकार जोगाउन सबै राजनीतिक शक्ति, नवपुस्ता, नागरिक समाज र राज्य संस्थाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
शुक्रबार एक वक्तव्य जारी गर्दै पोखरेलले जेनेरेसन–जेट (जेन-जी) आन्दोलन र त्यसपछिका विध्वंसकारी घटनाले मुलुक असामान्य अवस्थामा पुगेको उल्लेख गरेका छन्।
संविधानमाथि अतिक्रमण र प्रतिगमनका संकेत देखिन थालेका परिस्थितिमा राजनीतिक स्थायित्व र राष्ट्रिय एकताको पक्षमा सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नैपर्नेमा उनले जोड दिएका छन् ।
पोखरेलले नव–युवाको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बेवास्ता गर्न नसकिने भन्दै त्यसले दिएको सन्देशलाई आत्मसात् गर्दै राजनीतिक दलहरूले आफ्नो विचार, कार्यशैली र योजनालाई अद्यावधिक गर्नुपर्ने बताएका छन्।
भदौ २४ का हिंसात्मक गतिविधिलाई उनले राष्ट्रिय जीवनमा गम्भीर क्षति भनेका छन्। त्यस विध्वंसमा संलग्नलाई उन्मुक्ति दिने प्रवृत्तिले राष्ट्रिय आत्मविश्वास कमजोर बनाउने पनि उनले बताएका छन् ।
एमालेको भूमिकामा निरन्तरता
पोखरेलले हर कठिन मोडमा एमालेलाई जिम्मेवार शक्ति र सकारात्मक विकल्पका रूपमा स्थापित गर्दै आएको इतिहास स्मरण गरेका छन्।
आफूले विद्यार्थी जीवनदेखि भूमिगत अवस्थासम्म र अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा रहँदा राष्ट्र, जनता र पार्टीका मुद्दामा अहिलेसम्म सम्झौता नगरेको दाबी उनले गरेका छन् ।
उनले अहिलेको चुनौतीपूर्ण अवस्थामा पनि लोकतन्त्र, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा पुनः एकपटक अभूतपूर्व एकताका लागि जनतालाई अपील गर्ने समय आएको बताएका छन् ।
महाधिवेशनबारे यसो भने
एमालेको ११औँ महाधिवेशन (मंसिर २७–२९, काठमाडौं) ले पछिल्ला घटनापछि सबैको ध्यान तानेको उल्लेख गर्दै पोखरेलले राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रस्तावहरू फेरि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
‘भदौ २३–२४ पछि राजनीतिक अवस्था, दल, सरकार र संसद सबै परिवर्तित छन्,’ उनले भने, ‘हिजो बनाइएका कतिपय निष्कर्षले अहिले मार्गदर्शन गर्न सक्दैनन्।’
उनले गत २०–२२ भदौ मा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्तावेजहरू पारित गरिएको स्मरण गराएका छन् ।
‘भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ । भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ ।’
उनले आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको उनले बताएका छन् ।
‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्शमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ’, उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसिर १३ गते देशभर एकै दिन हुँदैछ । जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु ।’ उनले ११ औँ महाधिवेशनमा नयाँ राजनीतिक निष्कर्ष आवश्यक रहेको बताएका छन् ।
पोखरेलको यो भनाई अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने गरी आएको छ। ओलीले गत २४ कात्तिकमा रामकुमारी झाँक्रीलाई पार्टीमा स्वागतका क्रममा११ औँ महाधिवेशनमा कुनै किसिमको छलफल नहुने बताएका थिए ।
‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले आवश्यक छलफल सबै विधान महाधिवेशनमा भइसकेको पनि बताएका थिए ।
‘दोस्रो विधान महाधिवेशनमा दस्तावेज पारित भइसकेको छ। काठमाडौंमा हुने ११ औँ महाधिवेशनमा कुनै दस्तावेज पेश हुँदैन’, उनले भनेका थिए, ‘संगठनात्मक प्रस्ताव र विधान पास भइसकेको छ । तिनै प्रस्ताव पास भइसकेका छन् । मैले उद्घाटन मन्तव्य राख्छु, त्यसपछि महाधिवेशन सोझै नेतृत्व चयनमा जान्छ।’
उनले विधान महाधिवेशनमै बोल्ने काम भइसकेकाले ११ औँ महाधिवेशनमा छलफल नहुने बताएका थिए । ‘बोल्न नदिन पाइन्छ भनिन्छ । जहाँ पनि बोल्नै पर्ने हो र ? नेतृत्व छान्ने महाधिवेशन उद्घाटन भएर प्रक्रियामा जान्छ’, उनले भनेका थिए, ‘हामी अब भोलि पालिका-पालिकामा प्रदर्शन गर्दैछौँ । अब एमालेको शक्ति पनि मानिसले देख्नेछन् ।’
त्ययसअघि बुद्धिजीवि परिषद्को कार्यक्रममा पनि ओलीले ११ औँ महाधिवेशन आफ्नो एकतर्फी रूपमा निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका थिए । ‘महाधिवेशनमा यसपल्ट मैले एकतर्फी रूपमा सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ। त्यसमा पनि छलफल हुँदैन, यतिमै सकिन्छ। मेरो निर्देशनात्मक सम्बोधनपछि छलफल गर्न भ्याइँदैन। छलफल गर्न थाले महाधिवेशन पाँच-सात दिन जान्छ। त्यो हामी धान्न सक्दैनौँ’, उनले भनेका थिए ।
जनपरिचालनबारे
प्रतिगमनको विरोध, संविधान रक्षा र समयमै निर्वाचन सम्पन्न गराउने वातावरण निर्माणका लागि जनदबाब आवश्यक रहेको भन्दै पोखरेलले एमालेद्वारा तय गरिएको जनपरिचालन कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।
यही कात्तिक २९ गते देशभर र मंसिर ६ गते काठमाडौंमा हुने जागरण प्रदर्शनलाई व्यापक बनाउनु अहिलेको आवश्यक कार्य भएको सन्देश पनि उनले कार्यकर्तालाई दिएका छन् ।
पोखरेलले राष्ट्रियता, लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षा गर्न कुनै पनि दबाब वा परिस्थितिले आफ्नो प्रतिवद्धता कमजोर नबनाइने भन्दै दृढता व्यक्त गरेका छन्।













प्रतिक्रिया