काठमाडौं– नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका विकट क्षेत्रमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो ।
दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।
हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नं ७ मा नयाँ फोरजी एलटीइ टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतका अनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नं ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यता डोल्पाको ठूलीभेरी नगरपालिका र से–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्ती सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिए ।
योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्ती सञ्चारको पहुँचमा जोडिएका उहाँले उल्लेख गरे । रासस













प्रतिक्रिया