विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट | Khabarhub Khabarhub

टिप्पणी

विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट

सुमना र सन्तोषले छाडे, अरू नेता पनि असन्तुष्ट



काठमाडौं– शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए ।

यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । उनी पनि रास्वपामा वैचारिक एवम् सक्रिय भूमिका निर्वाह गर्नेमध्येकी नेतृको रूपमा स्थापित थिइन् । अध्ययनशील उनले संसद् र संसदीय समितिमा गर्ने तर्कहरूले नीतिगत तहमै अर्थ राख्थे ।

सोमबार पार्टी छाडेका सन्तोष परियारले पार्टीमा कसैप्रति लक्षित लाञ्छना लगाएनन् । उनले पार्टीमा वैकल्पिक राजनीति स्थापनाका लागि निरन्तर वैचारिक बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको बताएका छन् ।

सुमना श्रेष्ठले पार्टी छाडेपछि सामाजिक सञ्जाल फेसबुकमा ‘तीन ठूला दलका टाउकेहरूलाई चोर औँला देखाउँदै व्यक्तिवाद हावी भयो भनिरहँदा बाँकी चारवटा औँला आफैँतिर फर्किन्छ कि फर्किँदैन ?’ भनेर प्रश्न गरेकी थिइन् । उनले त्यही प्रवृत्तिलाई मलजल गरेर पार्टीमा नयाँ केपी, नयाँ शेरबहादुर र नयाँ प्रचण्ड बनाउन उद्यत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन भनेर प्रश्न गरेकी थिइन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक भरतमणि देवकोटाले पनि १८ कात्तिकमा पार्टी सदस्यता त्यागे । उनी रास्वपा घरभेटी मात्रै थिएनन्, रास्वपा अनुशासन आयोगका पूर्वप्रमुखसमेत थिए।

उनले आफू वृद्ध पनि भएकाले अब पार्टीमा सक्रिय भएर काम गर्ने अवस्था नरहेको जनाएका छन् । ‘मेरो उमेर पनि धेरै भयो । अब पार्टीमा योगदान दिइरहन सक्ने अवस्था नलागेकाले सदस्यता त्यागेँ’, उनले कसैलाई आरोपित नगरी भनेका थिए, ‘मैले रास्वपाको वेबसाइटबाट सदस्यता झिकिसकेको छु।’

सन्तोष परियार, सुमना श्रेष्ठ र भरतमणिले पार्टी छाड्दै गर्दा राखेका दृष्टिकोणले पार्टीलाई वैकल्पिक धारमा स्थापित गर्न प्रयत्न गरे पनि सम्भावना नरहेको देखाएको छ । जसका कारणले निस्कलंक व्यक्तिहरूलाई पार्टीमा स्वतन्त्रतापूर्वक वैचारिक बहस गर्दै राजनीति गर्न अप्ठ्यारो हुँदा छाड्ने स्थिति बनेको अनुमान गर्न सकिन्छ ।

नैतिकताको मूल प्रश्न रवितिरै

२०७९ सालको निर्वाचनबाट रवि लामिछानेको नेतृत्वमा एकाएक उदाएको थियो रास्वपा । रास्वपा परम्परागत ठूला दललाई चुनौती दिँदै वैकल्पिक राजनीतिक धार स्थापना गर्नेगरी उदाएको थियो ।

तर, निर्वाचनपश्चात पार्टी नेतृत्व लामिछाने जोडिएका नागरिकता, राहदानीदेखि सहकारी ठगीसम्मको श्रृंखलाबद्ध प्रकरण बाहिर आए । पार्टी नेतृत्वमा श्रृंखलाबद्ध रूपमा राष्ट्रियतादेखि ठगीसम्मको प्रकरण जोडिएपछि भने त्यसले पूरै पार्टीलाई गह्रौं नैतिक संकटमा पार्‍यो ।

पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइरहेकै बेलामा लामिछाने पार्टी सभापति, मन्त्री र सांसद पदबाट मुक्त भएका थिए । ०७९ माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको पुनः नेपालको नागरिकता प्राप्ति वैध नभएको फैसला सुनायो । जसका कारण उनले सबै पदीय जिम्मेवारी गुमाए ।

त्यसलगत्तै कानुनी प्रक्रिया पूरा गरेर उनले नेपाली नागरिकता लिए । त्यसपछि पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किए भने चितवनमा उपनिर्वाचनमार्फत् पुनः विजयी भएर सांसद पदमा फर्किए । विपक्षी राजनीतिक वृत्तबाट प्रहार भएपनि नागरिकता प्राप्ति र पुनः विजयले उनीमाथि उठेको राष्ट्रियता र कानुनी प्रश्नको जवाफ सहज बनाइदियो ।

तर, राजनीतिक जीवन अगाडि जोडिएको सहकारी ठगी प्रकरणले लामिछानेलाई छाडेन । गोर्खा मिडिया नेटवर्कको सेयर सदस्य र प्रबन्ध निर्देशकको रूपमा रहँदा विभिन्न ५ वटा सहकारीबाट अवैध ढंगले ल्याएको रकमको विषयलाई लिएर गतवर्षको कात्तिक लामिछानेलाई प्रहरीले पक्राउ गर्‍यो ।

त्यसपश्चात् लामिछाने सांसद पदबाट निलम्बन अवस्थामा छन् भने पार्टी नेतृत्व अझै छाडेका छैनन् । भदौ २३ र २४ गते मुलकमा जेन-जी पुस्ताका युवाहरूको ‘विद्रोह’ले परम्परागत राजनीतिक दलका नेतृत्व र प्रवृत्तिविरुद्ध निर्मम प्रहार गर्यो । जसले केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन दुई तिहाइको शक्तिशाली सरकारलाई ढालेर पूरै राज्यसत्तालाई कमजोर बनाइदियो ।

जेन-जी ‘विद्रोह’ले यतिबेला मुलकमा नयाँ राजनीतिक नेतृत्व र विचारकै जर्बजस्त माग गरेको अवस्था छ । खासगरी जेन-जी ‘विद्रोह’ले सदाचार र पारदर्शिता सहितको नयाँ राज्यव्यवस्थाको माग गरेको छ ।

जेनजी विद्रोह पश्चात तत्कालीन कतिपय कम्युनिष्ट पार्टीले ध्रवीकृत भएका छन् भने कतिपय विभाजित पनि भएका छन् । जेन-जी विद्रोहले मुलुकमा एक प्रकारको राजनीतिक संक्रमण पैदा गरेको देखिएको छ ।

मुलुकमा पैदा भएको नयाँ राजनीतिक शक्ति सन्तुलनमा रास्वपा नेतृत्व लामिछाने भने जेलमा छन् । उनी कुनै हालतमा पार्टी नेतृत्व छाड्न र हस्तान्तरण गर्न तयार देखिएका छैनन् । कानुनी दृष्टिले उनीमाथि सोझिएका प्रश्न भोलि कानुनी प्रक्रियाबाटै टुंगिएलान् तर, आजका दिनमा त्यही कानुनको नजरमा उनी मुख्य अभियुक्त हुन् ।

मुलुकले सदाचारी राजनीतिक शक्ति खोजेको अवस्थामा विवादित व्यक्तिले पार्टी नेतृत्व गर्दा त्यो पार्टी कसरी जनतामा जान सक्छ ? घोषित मितिमा निर्वाचन भयो वा केही समय धकेलिए पनि त्यो पार्टीले कसरी जनतासँग मत माग्न सक्छ ?
सभापति जेलमा राखेर रास्वपा हाँक्नेहरूलाई यो निकै ठूलो नैतिक प्रश्न बनेको छ ।

कार्की भन्छन् : कारण खोजौं

निरन्तर नेतृत्व तहबाट पार्टी छाड्नेहरूो संख्या बढ्दा रास्वपामा निरन्तर विद्राही पहिचान बनाएका केन्द्रीय सदस्य गणेश कार्कीले छोड्नुको कारण खोज्नुपर्ने र सामूहिक निर्णयको अभ्यास गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।

‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमना ले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ?’, कार्कीले फेसबुकमा लेखेका छन्, ‘सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ? समस्या छन्, समाधान खोजौं । छाड्नेलाई लगाउने आरोप होइन, उनीहरूले बिदा हुनुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ ।’

कार्कीको भनाइले पनि रास्वपाभित्र निर्णयको प्रक्रियामा ठूलो दबदबा रहेको र सामूहिकताको अभाव रहेको संकेत गरेको छ । यसअघि पनि रास्वपामा नेता कार्की र अर्की नेतृ तोसिमा कार्कीको असन्तुष्टि सार्वजनिक भइसकेको छ । चितवनमा भएको विशेष केन्द्री कमिटी बैठकमा उनीहरूले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए । रास्वपाभित्रको यो असन्तुष्टिको व्यवस्थापन गर्न नसके वैकल्पिक धार बलियो हुने प्रतिक्षामा रहेका समर्थक भने निराश हुने चिन्ता बढेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०९ बजे

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्