काठमाडौं– शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए ।
यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । उनी पनि रास्वपामा वैचारिक एवम् सक्रिय भूमिका निर्वाह गर्नेमध्येकी नेतृको रूपमा स्थापित थिइन् । अध्ययनशील उनले संसद् र संसदीय समितिमा गर्ने तर्कहरूले नीतिगत तहमै अर्थ राख्थे ।
सोमबार पार्टी छाडेका सन्तोष परियारले पार्टीमा कसैप्रति लक्षित लाञ्छना लगाएनन् । उनले पार्टीमा वैकल्पिक राजनीति स्थापनाका लागि निरन्तर वैचारिक बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको बताएका छन् ।
सुमना श्रेष्ठले पार्टी छाडेपछि सामाजिक सञ्जाल फेसबुकमा ‘तीन ठूला दलका टाउकेहरूलाई चोर औँला देखाउँदै व्यक्तिवाद हावी भयो भनिरहँदा बाँकी चारवटा औँला आफैँतिर फर्किन्छ कि फर्किँदैन ?’ भनेर प्रश्न गरेकी थिइन् । उनले त्यही प्रवृत्तिलाई मलजल गरेर पार्टीमा नयाँ केपी, नयाँ शेरबहादुर र नयाँ प्रचण्ड बनाउन उद्यत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन भनेर प्रश्न गरेकी थिइन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक भरतमणि देवकोटाले पनि १८ कात्तिकमा पार्टी सदस्यता त्यागे । उनी रास्वपा घरभेटी मात्रै थिएनन्, रास्वपा अनुशासन आयोगका पूर्वप्रमुखसमेत थिए।
उनले आफू वृद्ध पनि भएकाले अब पार्टीमा सक्रिय भएर काम गर्ने अवस्था नरहेको जनाएका छन् । ‘मेरो उमेर पनि धेरै भयो । अब पार्टीमा योगदान दिइरहन सक्ने अवस्था नलागेकाले सदस्यता त्यागेँ’, उनले कसैलाई आरोपित नगरी भनेका थिए, ‘मैले रास्वपाको वेबसाइटबाट सदस्यता झिकिसकेको छु।’
सन्तोष परियार, सुमना श्रेष्ठ र भरतमणिले पार्टी छाड्दै गर्दा राखेका दृष्टिकोणले पार्टीलाई वैकल्पिक धारमा स्थापित गर्न प्रयत्न गरे पनि सम्भावना नरहेको देखाएको छ । जसका कारणले निस्कलंक व्यक्तिहरूलाई पार्टीमा स्वतन्त्रतापूर्वक वैचारिक बहस गर्दै राजनीति गर्न अप्ठ्यारो हुँदा छाड्ने स्थिति बनेको अनुमान गर्न सकिन्छ ।
नैतिकताको मूल प्रश्न रवितिरै
२०७९ सालको निर्वाचनबाट रवि लामिछानेको नेतृत्वमा एकाएक उदाएको थियो रास्वपा । रास्वपा परम्परागत ठूला दललाई चुनौती दिँदै वैकल्पिक राजनीतिक धार स्थापना गर्नेगरी उदाएको थियो ।
तर, निर्वाचनपश्चात पार्टी नेतृत्व लामिछाने जोडिएका नागरिकता, राहदानीदेखि सहकारी ठगीसम्मको श्रृंखलाबद्ध प्रकरण बाहिर आए । पार्टी नेतृत्वमा श्रृंखलाबद्ध रूपमा राष्ट्रियतादेखि ठगीसम्मको प्रकरण जोडिएपछि भने त्यसले पूरै पार्टीलाई गह्रौं नैतिक संकटमा पार्यो ।
पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइरहेकै बेलामा लामिछाने पार्टी सभापति, मन्त्री र सांसद पदबाट मुक्त भएका थिए । ०७९ माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको पुनः नेपालको नागरिकता प्राप्ति वैध नभएको फैसला सुनायो । जसका कारण उनले सबै पदीय जिम्मेवारी गुमाए ।
त्यसलगत्तै कानुनी प्रक्रिया पूरा गरेर उनले नेपाली नागरिकता लिए । त्यसपछि पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किए भने चितवनमा उपनिर्वाचनमार्फत् पुनः विजयी भएर सांसद पदमा फर्किए । विपक्षी राजनीतिक वृत्तबाट प्रहार भएपनि नागरिकता प्राप्ति र पुनः विजयले उनीमाथि उठेको राष्ट्रियता र कानुनी प्रश्नको जवाफ सहज बनाइदियो ।
तर, राजनीतिक जीवन अगाडि जोडिएको सहकारी ठगी प्रकरणले लामिछानेलाई छाडेन । गोर्खा मिडिया नेटवर्कको सेयर सदस्य र प्रबन्ध निर्देशकको रूपमा रहँदा विभिन्न ५ वटा सहकारीबाट अवैध ढंगले ल्याएको रकमको विषयलाई लिएर गतवर्षको कात्तिक लामिछानेलाई प्रहरीले पक्राउ गर्यो ।
त्यसपश्चात् लामिछाने सांसद पदबाट निलम्बन अवस्थामा छन् भने पार्टी नेतृत्व अझै छाडेका छैनन् । भदौ २३ र २४ गते मुलकमा जेन-जी पुस्ताका युवाहरूको ‘विद्रोह’ले परम्परागत राजनीतिक दलका नेतृत्व र प्रवृत्तिविरुद्ध निर्मम प्रहार गर्यो । जसले केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन दुई तिहाइको शक्तिशाली सरकारलाई ढालेर पूरै राज्यसत्तालाई कमजोर बनाइदियो ।
जेन-जी ‘विद्रोह’ले यतिबेला मुलकमा नयाँ राजनीतिक नेतृत्व र विचारकै जर्बजस्त माग गरेको अवस्था छ । खासगरी जेन-जी ‘विद्रोह’ले सदाचार र पारदर्शिता सहितको नयाँ राज्यव्यवस्थाको माग गरेको छ ।
जेनजी विद्रोह पश्चात तत्कालीन कतिपय कम्युनिष्ट पार्टीले ध्रवीकृत भएका छन् भने कतिपय विभाजित पनि भएका छन् । जेन-जी विद्रोहले मुलुकमा एक प्रकारको राजनीतिक संक्रमण पैदा गरेको देखिएको छ ।
मुलुकमा पैदा भएको नयाँ राजनीतिक शक्ति सन्तुलनमा रास्वपा नेतृत्व लामिछाने भने जेलमा छन् । उनी कुनै हालतमा पार्टी नेतृत्व छाड्न र हस्तान्तरण गर्न तयार देखिएका छैनन् । कानुनी दृष्टिले उनीमाथि सोझिएका प्रश्न भोलि कानुनी प्रक्रियाबाटै टुंगिएलान् तर, आजका दिनमा त्यही कानुनको नजरमा उनी मुख्य अभियुक्त हुन् ।
मुलुकले सदाचारी राजनीतिक शक्ति खोजेको अवस्थामा विवादित व्यक्तिले पार्टी नेतृत्व गर्दा त्यो पार्टी कसरी जनतामा जान सक्छ ? घोषित मितिमा निर्वाचन भयो वा केही समय धकेलिए पनि त्यो पार्टीले कसरी जनतासँग मत माग्न सक्छ ?
सभापति जेलमा राखेर रास्वपा हाँक्नेहरूलाई यो निकै ठूलो नैतिक प्रश्न बनेको छ ।

कार्की भन्छन् : कारण खोजौं
निरन्तर नेतृत्व तहबाट पार्टी छाड्नेहरूो संख्या बढ्दा रास्वपामा निरन्तर विद्राही पहिचान बनाएका केन्द्रीय सदस्य गणेश कार्कीले छोड्नुको कारण खोज्नुपर्ने र सामूहिक निर्णयको अभ्यास गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।
‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमना ले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ?’, कार्कीले फेसबुकमा लेखेका छन्, ‘सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ? समस्या छन्, समाधान खोजौं । छाड्नेलाई लगाउने आरोप होइन, उनीहरूले बिदा हुनुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ ।’
कार्कीको भनाइले पनि रास्वपाभित्र निर्णयको प्रक्रियामा ठूलो दबदबा रहेको र सामूहिकताको अभाव रहेको संकेत गरेको छ । यसअघि पनि रास्वपामा नेता कार्की र अर्की नेतृ तोसिमा कार्कीको असन्तुष्टि सार्वजनिक भइसकेको छ । चितवनमा भएको विशेष केन्द्री कमिटी बैठकमा उनीहरूले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए । रास्वपाभित्रको यो असन्तुष्टिको व्यवस्थापन गर्न नसके वैकल्पिक धार बलियो हुने प्रतिक्षामा रहेका समर्थक भने निराश हुने चिन्ता बढेको छ।













प्रतिक्रिया