यतिबेला नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्चा चुलिएको छ । यति चर्चा त नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को पनि छैन । भन्दा फरक पर्दैन, देश नै ओलीमय छ, एमालेमय छ । हेर्दा ओली र एमालेको प्रचार गर्ने जिम्मा नै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाली कम्यूनिष्ट पार्टीले पाएका हुन् कि जस्तो लाग्छ । जहाँ नेकपाका सन्देश सभा आयोजना हुन्छ, त्यहाँ ओली सुनिन्छन् । ओली र एमाले मात्रै बोलिन्छन् ।
देशका प्रमुख शहर र सदरमुकाममा नेकपाका सन्देश सभाहरु चलिरहेका छन् । १५ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका सन्देश सभामार्फत ओलीको व्यापक प्रचार भइरहेको छ । लाग्छ- गाली गर्नकै लागि भएपनि ओली केन्द्रित अभियान नै थालिएको छ । दृश्य देख्दा सामाजिक सञ्जालमा लेख्ने र प्रचारको जिम्मा नै दलप्रति आक्रोशित भएका र विदेशमा बस्ने केही नेपाली, जेनजी नामका केही युवाहरु र रवि लामिछाने नेतृत्वको रास्वपाको भएजस्तो लाग्छ ।
नेपाली कांग्रेसका नेताहरुले (चन्द्र भण्डारी, सुनिल शर्मा सहीत) पनि ओली र एमालेसँगै महेश बस्नेतबारे बोलेकै सुनिन्छ । कोही गाली गरेर, कोही माया गरेर बोल्छन्, तर यसरी सुनिने स्वर र शब्दमा ओली र एमाले नभेटिएको कतै छैन । एमाले पार्टीभित्र पनि महाधिवेशन केन्द्रित दुवै पक्षका लागि ओली नै केन्द्र भागमा देखिन्छन् । मिडियाको मूल खबर नै ओली र एमाले छन् । युटुबमा त, ‘ओली’ शब्द नओकेली चल्नै मुस्किल जस्तो लाग्छ । अभियान्ता र आन्दोलनकारी भनिएकाहरुको त रोजीरोटीका लागि जस्तै ओली शब्दमै श्री प्राप्त गरेर बसेका छन् । यही कर्मले उनीहरुको दैनिकी चलाउन गुजारा मिलेको छ ।
पश्चिमाहरुले समेत ओली र एमालेविरुद्ध षड्यन्त्र बुन्न होटल बुक गर्न भ्याएको आरोप धेरै टाढा छैन । ओली र एमालेमाथिको प्रहार, आक्रमण, गाली र समर्थन वापत सबैको आ-आफ्नै व्यवसाय राम्रै चलेको देखिन्छ । यी दृश्य बताइरहँदा देश ओली र एमालेमय छैन भनेर कसरी भनिएला त ? ओली यति चर्चामा जो छन् । हर कोहीलाई ओलीको नाम नलिई उनीहरुको दिन बित्दैन, खाना रुच्दैन । सुकुनसँग निद्रा पर्दैन ।
यति भएपछि सहजै भन्न सकिन्छ, माया गर्नेको दिलमा ओली छन् । घृणा गर्नेको दिमागमा छन् । मिडियाहरुको मूलधारमा छन् । विरोधीको बोलीमा छन् । ‘बा’ भन्नेको भावनामा छन् । नायक ठान्नेको भविष्य र भरोसामा छन् । पश्चिमाको प्रहारमा छन् । दूतावासको षड्यन्त्रमा छन् । विदेशीको नजर र निशानामा छन् । जो जहाँ बसेको छ, त्यस्तो सम्झना लिइरहेको छ । त्यो रोजाई सबैका लागि स्वतन्त्र छ ।
यति कुराले पनि धेरै कहानी थाहा भइसक्यो होला । चाण्क्यले भने अनुसार कसैमाथि प्रहार, आक्रमण र विरोध हुन्छ भने त्यो व्यक्ति वा नेतृत्व वा कुनै संस्था संगठन ठिक छ सही दिशामा छ, सत्य काम गरिरहेको छ भन्ने बुझ्नू । एमाले र ओलीको हकमा पनि यही भएको छ । ओली पनि मानव हुन् । त्यो पनि तपाईँ, हामीजस्तै । भावना छ, मन छ, चाहना छन्, रहर छ, माया र घृणा गर्ने मन छ, र पनि सबैको निशानामा ओली नै छन् । ओलीविरुद्ध समर्थन र षड्यन्त्र दुबै छ ।
आफ्नै भित्रको एउटा प्रसंगको कुरा गरौँ, भदौ २० देखि २२ सम्म तीन दिन सनराइज हल गोदावरीमा एमालेको विधान महाधिवेशन भयो । महाधिवेशनले खास गरेर दुई वटा हाइलाइट निर्णय गर्यो र सन्देश दियो । गुटबन्दीरहित पार्टी र ओलीको निरन्तरता । त्यसका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाइयो । हाल ओलीको विकल्प खोज्नेमध्ये कर्णबहादुर थापा बाहेक सबै प्रतिनिधिको एकमतका साथ समर्थन रह्यो र निर्णय पारित पनि भयो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र योगेश भट्टाराईले समेत खुलेरै समर्थन गरे । सचिव योगेश भट्टाराईले त विधान महाधिवेशन चलिरहेको बेला सार्वजनिक अभिव्यक्ति पनि दिए- ओली नै एक कार्यकालका लागि आवश्यक देखिए, त्यसैको निरन्तता गर्ने निर्णय गरिएको हो । जब भदौ २३ र २४ को जेनजी आन्दोलन भयो, ओली सरकार ढल्यो, देश जलाइयो, ७६ जनाले ज्यान गुमाउनु पर्यो, शीर्ष नेता कुटिनु पर्यो । नेताहरुका घरहरु जलाइए । त्यसपछि केही अवस्था फेरियो । त्यो अवस्था फेरिँदा एमालेभित्रका केही नेताहरुको बोली मात्रै फेरिएन, विकल्प अन्तिम माग जस्तै बनिरहेको छ ।

जेनजी आन्दोलन र आन्दोलनपछिको परिस्थितिको सुत्रधार वा सबै कमजोरी गर्ने ओली मात्रै हुन् । पार्टीको संगठित सदस्यदेखि देशका आम असल नागरिकले यसको जिम्मेवारी लिनु पर्ने विषय होइन । देश बिगार्ने, असल पार्ने र आन्दोलन गर्न बाध्य पार्ने एक मात्रै पात्र ओली थिए । ओली सरकारका मन्त्री एमाले थिएनन्, वा अरु कोही थिएनन्, ओली नेतृत्वको एमालेमा अरु पदाधिकारी र नेता छैनन् । उनीहरुको कुनै जिम्मेवारी र नैतिकता हुँदैन । सबै दोषजति ओलीमाथि नै खन्याउने कुकार्य र कुनियतको शिकार ओली भए जस्तै, अरु आक्रमण र प्रहार पनि यस्तै नियत र षड्यन्त्रका उपज हुन् । यो चिर्न जरुरी छ ।
अर्को प्रसंग पनि छ । जेनजी आन्दोलनपछिको परिस्थितिको छानबिन गर्न बनेको आयोगबारे एमालेले आशंका व्यक्त गर्यो । आयोगलाई वैधानिकता नदिने र नमान्ने निर्णय गर्यो । त्यसका वरिष्ठ उपाध्यक्षदेखि सबै नेताहरुले एकमतका साथ हस्ताक्षर गरे । सहमति जनाए । तर, आरिश पोख्ने ठाउँ नभेटाएपछि, आमाले छोराछोरीलाई कुटे झैँ ईश्वर पोखरेल ओलीमाथि खनिएर भ्यूज र भीड बढाउने काममा सक्रिय देखिनुभयो । आफैँले गरेको निर्णय र आफैँ वरिष्ठ उपाध्यक्ष भएको पार्टीको अध्यक्षमाथिको आरोपलाई लिएर सार्वजनिक खपतका लागि शब्द खर्च गरिराख्नुभएको छ । यो प्रकारको षड्यन्त्र र आशंका अर्को के हुन्छ र ? यी देखिनेगरि आफ्नैले प्रहार गरेका श्रृङ्खला भए, यस्ता त कति कति । लाग्छ, ओली जति खराब, भ्रष्ट, बेवकुफ अरु कोही छैन । नेपालका अरु सबै दूधले धोएका छन्, ओली मात्रै अपवित्र हुन्, अछुत नै हुन् र गलत गर्ने पनि उनी मात्रै हुन् भन्नेजस्तो भाष्य निर्माण गरिँदैछ ।
एक कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बुझिनेगरी, सुनिनेगरी ओलीबारे बोल्नु भएको थियो । केपी ओलीबिनाको एमाले बनाउ । म बन्छु, ओलीभन्दा राम्रो चलाउँछु, भन्न पाइन्छ । तर, भन्ने कुरा ठाउँमा भन्नुपर्यो । कु ठाउँमा भन्नु पार्टी हितविपरीत छ । महाधिवेशनमा लड्ने छुट योग्यता पुगेका सबैलाई छ । तर, विधि विधानविपरीत हल्ला गर्दै हिँड्ने कुरा गलत छ । यो नैतिकता विपरीत र गैरजिम्मेवार छ । यतिभन्दा पनि ओलीमाथि के कति कारण प्रहार र आक्रमण छ । विरोध र बद्नाम गरिँदैछ भन्ने विषयबारे थप खोजी जरुरी छैन ।
पार्टी भित्र बहुसङ्ख्यकले ओली चाहिन्छ भन्छन् । बैठकमा ओलीकै नेतृत्वमा एक कार्यकाल पार्टी चलोस्, भनेर निर्णय गरिन्छ । बाहिर देशी विदेशी षड्यन्त्रसँग सहमत हुने कुराले अर्थ राख्दैन । त्यो पार्टी हित विपरित छ । अबको पाँच वर्ष ओली नै अध्यक्ष, एमालेभित्र ओली नेतृत्वकै युग चल्छ । समर्थकहरुले भन्ने भाषा र समर्थन हो । तर, बाहिर संसार बिगार्ने र नै ओली भनेर प्रचार र हल्लाको खेती थालिएको छ । उसोत त्यसले ओलीप्रियता बढिरहेको नै छ ।
पूर्वराष्ट्रपतिको नाम लिएर नै ओली हट्नु पर्ने नारा पनि वर्षदिनसम्म लगातार लगाइयो । सकेजति नेतृत्वलाई सराप्ने काम गरियो । जुन विषयलाई नेकपा एमाले संविधानको रक्षक, देशको अभिभावक र राष्ट्रप्रमुख पार्टी कार्यकर्ता नभएकै राम्रो र स-सम्मान गरिमा बचाइराख्ने निर्णय पछि टुङ्गो लगाइसक्यो । र, पनि केहीले अति नै गरिरहेका छन । तिनीहरुले ओलीको आरिसले होइन्, आन्दोलनको आवश्यकताले विद्या रोजाईमा पार्ने माहोल बनाउनु पर्ने होला नि होइन र ?
जेन-जी आन्दोलनपछि विश्वविख्यात भनिएको अमेरिकन पत्रिका– न्यू योर्कर म्यागजिनले लेख्यो– जेनजी आन्दोलनले नेपालमा नयाँ मोडल दिन सकेन । जेन–जी आन्दोलन शान्तिपूर्ण हुन सकेन । हिंसात्मक भयो । विनाश मात्रै भयो । आयोजकहरूले अरुलाई प्रेरणा दिने खालको कुनै पनि पद्धति र परिणम निकाल्न सकेनन् ! थप उदाहरण समेत दिएर भन्यो– जस्तो यो शताब्दीको सुरुवाती चरणमा मिखाइल साकासभिलीले निकालेका थिए । जस्तो अघिल्लो शताब्दीमा महात्मा गान्धीले निकालेका थिए । त्यसो हुन सकेन ।
फेरि थप प्रष्ट पनि पारेको छ । डिस्कर्डमा भएको छलफल र बहसभन्दा भिन्नै रुपको भयो । यो आन्दोलनको स्मृतिहरूमा जलेका भवन, फुटाइएका सिसा र मरेका मान्छे हुने छन् । नेपाल र नेपालीको मिडिया वा नेताहरुको भनाइलाई नपत्याएपनि अमेरिकी पत्रिकाको निष्कर्षमा नै जेन-जी आन्दोलनको उद्देश्यमाथि आशंका गरिएको छ । यही कुरा ओलीले भन्दा, प्रष्ट पार्दा, ओली हत्यारा भए, देश निकाल्नु पर्ने आरोपित पात्र भए, तर वास्तविकता अर्को धुव्रको मिडियाले लेख्दा मन खिन्न भएको, ओलीमाथि गरिएको गालीले मलाई नै सराप्न सक्छजस्तो लागेन । र लाग्दैन् र ?
यति भएपछि ओली र एमालेमाथिको आक्रोश विरोध होइन, विश्वास गुमाउने डरको आक्रोश हो । यसमा ओली स्वयं र एमाले सिङ्गो पार्टी पङ्क्ति स्पष्ट र प्रष्ट हुनु पर्छ नि । अरुले होइन भन्दा हामीले हो, भन्नु पर्ला नि ! नीति र नेतृत्वविरुद्ध जानेमाथिको बहस हुन्छ । आलोचना हुन्छ । समर्थन हुन्छ । तर त्यो विधीभित्र रहेर हुनु पर्छ । जस्तो एकतिर महाविधेशनको तयारीको खटन पटन अर्को तिर समानन्तर कमिटी र फरक पार्टी जस्तो भेला आयोजना जरुरी हुन्छ होला त ?
कुनै पनि देशको शासन व्यवस्था कस्तो छ भन्दा पनि त्यो शासन व्यवस्थाले देशलाई समृद्ध र जनतालाई सुखी र खुसी राख्न सक्यो कि सकेन भन्ने कुराले ठुलो अर्थ राख्ने रहेछ । अर्थात बिरालोको रङ सेतो वा कालोले फरक पार्दैन, जव सम्म त्यसले मुसा मार्न सक्छ । राजतन्त्रात्मक, गणतन्त्रात्मक र कम्युनिष्ट शासन प्रणाली जे भएपनि नीति र नेतृत्वसहित हुनुपर्छ । नेकपा एमालेका लागि ओली नै हुन् भन्नेमा शंका छैन ।
अर्को आरोपको पनि खण्डन जरुरी छ । उमेरले युवा भएर मात्रै नेतृत्व स्थापित हुँदैन । यो कुराको नमूना प्रमाण हुन्, थाइल्याण्डकी प्रधानमन्त्री पेटोङ्गटर्न सिनावात्रा । उमेरले ३८ वर्ष । संसारकै नजरमा परेको व्यक्तित्व, विश्व राजनीतिमा युवा नेतृत्व संस्थागत गर्न लायक एक उदाहरण । बिडम्वना प्रधानमन्त्री बनेको सात महिनामै, उनीमाथि ’नैतिक आचरण उल्लङ्घन’ को आरोप लाग्यो ।

संवैधानिक अदालतले पदबाट निलम्बन गर्यो । कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग सीमा विवादबारे गरेको गैरजिम्मेवार कुराकानी लिक भयो । यो उनको नियत थिएन, अपरिपक्कता थियो । प्रष्ट छ, नेतृत्व उमेरले निर्धारण गर्दैन, उमेर युवा भएर मात्रै फरक क्षमता र नवीन नेतृत्वको आश राख्नुहुन्न । नेतृत्वको निर्धारण क्षमता र योग्यता, सक्रियता र इच्छाशक्तिले गर्छ । व्यक्तित्व र निर्णय क्षमता प्रभावी र परिपक्व हुनुपर्छ । फेरिपनि भन्छु- नेतृत्वका लागि उमेर कम-बढीले कुनै फरक पर्दैन । युवा नामले कुनै फरकपन नदेखिएको अर्का प्रमाण हुन्, रास्वपाका सोविता र तोसिमाहरु । त्यसैले खारिएको नेतृत्व नै चाहिन्छ । ती ओली हुन् ।
ओली आफैँले मंसिर २५ गते सम्पादसँग संवाद कार्यक्रममा प्रष्ट पारिसके । मेसीले २ वटा मात्रै खेल खेलेर छोडेका छन् र ? खेलिरहेका छन् नि, बुट जितेको जित्यै छन् । राम्रो गर्न सकेसम्म खेल्ने हो । त्यो पनि उत्कृष्ट प्रदर्शन मेसी कै देखिन्छ । छोड्ने समय आउँछ । कुद्न नसक्ने, छोड भन्ने हुन्छ । अनलाइनखबरका सम्पादक बसन्त बस्नेतको प्रश्नको जवाफमा ओलीको भनाइ त्यही थियो ।
अर्को कुरा पनि ओलीले त्यही कार्यक्रममा प्रष्ट पारे आफू पद छोड्दिनँ । गाली गर या घृणा, समर्थन गर या षड्यन्त्र, सब स्वीकार्न तयार छु । हाम्रा युवाहरु सक्षम छन् । योग्य छन् । त्यसैले प्रतिनिधि आएका छन् । ती योग्यहरु पार्टी केन्द्रीय कमिटीमा अटाउँछन् । तर जसरी पत्रकारिता सुरु गरेकै दिन तपाईँहरु काम गर्ने मिडियामा कसैलाई सम्पादक बनाउन सकिन्न, गाह्रो हुन्छ- त्यही अवस्था पार्टीमा पनि हो ।
पहिला नै कसैलाई सम्पादक बनाउन सकिन्न, सकिएपनि, कार्यसम्पादन स्तरीय बनाउन कठिन हुन्छ । त्यसैले मिडियामा रिपोर्टरदेखि जिम्मेवारी दिने चलन छ । एमालेमा पनि त्यही हुन्छ । अहिले नयाँ र अर्को हुन्न, हुने भए स्वस्थ र दबाबरहित प्रतिस्पर्धाबाट जित्नेवाला नै अध्यक्ष हुन्छ, म स्वीकार्न तयार छु ।
५ जनाको पार्टी खोलेर अध्यक्ष र पदाधिकारी बनेजस्तो सहज हुन्न । तर युवा अनुहार अवश्य बाक्लोगरि देखिनेछन् । अहिले खोलिएका १४३ भन्दा बढी पार्टीजस्तो नेकपा एमाले होइन । यति कुराबाट पनि ओली दोहोरिँदैनन्, र उनलाई मन नपराउनेको आक्रमणमा परिरहनेछन् । विदेशी मिडियाले केपी ओलीलाई नेता ठान्ने, विदेशी नेता र देशले ओलीको हाईहाई र वाहवाही गर्ने तर नेपालमा सबैभन्दा आलोचित, र गाली खाने पात्रका रुपमा प्रयोग गरिएको देखियो ।
नेकपा एमाले सचिव लेखराज भट्टले भनेझैँ केपी ओली खराब हुन कि भन्ने मान्छे बरु खराब हुन् । बुझ्न सहज छ । पहिला देवत्वकरण गर्ने पनि त्यहि समूह र तीनै अनुहार थिए । अहिले दानवीकरण गर्ने पनि उनै छन् । उनीहरु नै हुन् । भनेपछि खराब ओली कि विरोध गर्ने मान्छे ? यति भनेपछि ओली चाहिने वा नचाहिने प्रष्ट भएन त ?
ओलीजति खट्ने मान्छे, सपना देख्ने र सक्रिय रहने मान्छे नेपालमा अरु छैन जस्तो लाग्छ । जसले जेसुकै भनुन् । ओलीमाथिको समर्थन देवत्वकरण होइन, यो अहिलेको आवश्यकता हो । वस्तुस्थिति नै यही हो । अरुले लगाउने आरोप अनुसार नै गुण्डुमा गुण्डा नै खडा गरेर भएपनि ओली र महेश बस्नेतहरुको साहसले नै एमाले फेरि जरुक्क भएको हो । दुबै जनालाई सलाम ! यही कर्म र काम, अडान र योग्यता अनुभव र अध्ययन, बोली र व्यवाहार देखेर ‘यु लभ केपी बा’ भन्ने हुन्, भनेका हुन् र भनिरहने छन् ।
केपी ओलीले केही नगरेको र सुशासन कायम गर्न नसकेको आरोप छ । त्यसो भए यी कामहरु कसले गरेको छैन ? कसको पालामा भएका रहेछन् ? तथ्यमा पनि विवाद र बहस गर्नु म”र्खता हो । रिस र आवेग हो । आरिस र प्रतिशोध हो ।
लोकतन्त्रकै लागि १४ वर्ष कठोर जेल सजाय बिताए । त्यही राजतन्त्रसहितको सत्ताले दिएको निर्मम यातना दिएका कारण आफ्ना सन्तान समेत बनाउन योग्य भएनन् । संविधान भारतले जारी नगर, गरे हामी अनुकूल बनाउँ भन्दा मानेनन् । यो अपराध र कुशासन हो । सामाजिक विखण्डन र जातीय राज्य घोषणा गर्न दिएनन्, युद्ध र हिंसालाई कहिल्यै प्रश्रय दिएनन् । आकार र पहिचान नभएको एमालेले पहिलो पार्टी बनाए र देशको विकास र समृद्धिको सपना देखाए । र नाकाबन्दीको डटेरै सामना गरे– यो कमजोरी हो । नगर्नु पर्ने थियो ।
सुरुङमार्ग, रेलमार्ग, पाइपलाईनदेखि घरघरमा ग्यास लाइनको सपना देखाए, केही जडान शुभारम्भ गरे । पानीजहाज चलाउने नियम बनाए, केही साकार गरे । समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य तय गरे । दैलेखमा ग्यास निकाल्ने सपना देखे र साकार पारे । यो अपराध थियो ? ओली र एमाले, देश र राष्ट्रियता सकाउन लाग्ने विरुद्ध उभिरहे, लडिरहे, मृत्यु जितेर पनि देश बनाउने संकल्प गरे । उत्तरी नाका खोले, पारवहान सम्झौता गरे, भारतवेष्टित देशलाई चीनसँग जोडे- के देशका लागि घात गरेको हो ?
लय हराएको अर्थतन्त्र लाइनमा ल्याए, अस्थीरतालाई स्थायित्व दिन खोजे । खेल, पर्यटन, कृषि र उत्पादनमा विशेष लगानीसहित देशको अर्थतन्त्रमा सुधार ल्याए । विश्वसामु नेपालको उपस्थिति दह्रो रुपमा देखाए र नेपालको छवि उँचो राखे । विदेश वा अरु देशसँग आफ्नो अडान प्रष्ट राखेर ओलीले कस्तो अपराध गरे ?
लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर चीनसँग भने, संसदबाट भने, र जिद्दी नै गरिरहे र संविधानमै भूमि दर्ज गराए । चुच्चे नक्सा छापे र एक सयको रुपैयाँमासमेत ल्याए । के ओलीले आफूलाई मात्रै बनाउन यस्तो गरेका हुन् त ?
लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्रसंघमा आधिकारिक दर्ज गराए । भारतसँग कुरा राख्ने अडान लिए । भूगोल र जनसंख्याले देश ठूलो सानो हुदैन, भारत ठूलो र हामी सानो दाइ-भाइ होइन, समान हो । र, समान हैसियत हुनुपर्छ भन्ने अडान लिए । शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर दाबी गरे । त्यो पनि तथ्य सहित । ओलीले यो के नाटक गरेका हुन् त ?
करको दायरामा आउन भन्दै बालेनले सडकपेटीको व्यापार रोके, चिया पसललाई करको दायरामा नआएसम्म बेच्न दिएनन्, ओलीले मेटा सहितका एप्सले नेपालको कानुन मान्दैन भने, अरब बढीको रकम विदेश गएको, सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक सद्भाव विग्रिएको र तत्काल कानुन मान्न र करको दायरामा आउन भने । के यो अडान र निर्णय ओलीको व्यक्तिगत आम्दानीका लागि थियो ?
जो शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने अडानमा रहे । त्यो पनि देशका लागि गरे । ओलीको लोकप्रियता बढिरहेको भारतलाई मन परेको थिएन, उसकै कारण ओली सकाउन सब लागे, सबै सँगै सकिने अवस्था आयो । त्यसको क्षति ओलीले मात्रै बेहोरेका हुन् त ? हारेवापत, पद नपाएवापत, अवसरले नअघाएवापत रिसाएकाहरुले ठूलो षडयन्त्र रचे, ओलीले त्यो हुन दिएनन्, सबै जग्गा जमिन राष्ट्रका नाममा घोषणा गरे । शरीर समेत मरणोपरान्त दान दिने घोषणा गरे । ओलीले यो कस्तो अपराध गरेका रहेछन् त ?

आज नेपालको भूगोलबारे बोल्दा ओलीको जमिन जस्तो भयो । फेसबुक सहितका एप्सलाई कानुनी दायरामा आउ भन्दा ओलीले सम्पति आर्जन गरेजस्तो ठानियो, ओली र ओली नेतृत्वको एमाले इतिहास हो । ढिलो चाँडो लेखिने छ । कांग्रेस एमाले लोकतन्त्र र व्यवस्थाका लागि हिजोपनि आजपनि भोलि पनि उत्तिकै आवश्यक छन् ।
जवाफदेहीताको विषय– आफू पनि सच्चिने कि अरुलाई मात्रै सच्चिन लगाउने ? नैतिकताको विषय–कमजोरी आफूले पनि स्वीकार्ने कि अरुलाई मात्रै गलत देख्ने ? जिम्मेवारीको विषय–संकट समाधानका सारथी सबै हुने कि, राम्रो र अनुकुलतामा मात्रै आफू देखिने ? वा विरोध मात्रै गरेर स्टन्ट मात्रै गर्ने ? यसबारे सरोकार र चासो चिन्ता जरुरी छ ।
सत्य युग पनि विकल्प र विवादरहित थिएन, यो त कलियुग हो, सबै सम्भावना र समस्या जीवित छन् । ओली विकल्प रहित छैनन् । तर देशका लागि अहिलेको आवश्यकता ओली हुन् ।
ओली उदयपछिको एमाले
७० को दशकमा ओली एमालेको नेतृत्व तहमा आइपुगे । २०७० को दोस्रो संविधान सभा निर्वाचनपछि ओली एमालेमा हावी भएका हुन् । तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा हराए र ओलीको उदय भएको थियो । ७० को दशक नै ओलीका लागि स्वर्णीम युग बन्यो । २०७० मा संसदीय दलको चुनाव जिते । २०७१ मा पार्टीको नवौँ महाधिवेशन भयो । अध्यक्ष जिते । पार्टीको १५ वर्ष महासचिव भनिसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हराए । त्यस लगत्तै २०७२ सालमा ओली देशकै पहिलो पटक प्रधानमन्त्री बने ।
संसदको दोस्रो ठूलो दलको हैसियत, पार्टी अध्यक्ष र दलको हैसियतमा ओली तत्कालीन नेकपा माओवादीको समर्थनमा अध्यक्ष बने । जितको यात्राको गति बढीरह्यो । दलहरुले वर्षौ पछि संविधान सभा मार्फत संविधान जारी गरे । २०७२ असोज ३ गते संविधान जारी लगत्तै भारतले नाकाबन्दी लगायो । भारतीय चाहना नसमेटिएको आक्रोश सहित भारतले नाकाबन्दी गर्यो । त्यही बेला ओली प्रधानमन्त्री भए । डटेर सामना गरे । सबै प्रकारको शक्ति र सामर्थ्यले देशको स्वाभिमान जोगिए ।
कांग्रेस माओवादीका नेताहरुले नाकाबन्दी समेत भन्न सकेनन् । ओलीले उल्टै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि नबोल्न खुलेरै चुनौति दिए र नाकाबन्दीको सामना गरे । जुन अडान र नेतृत्वले ओलीको व्यक्तित्व सगरमाथा जस्तै उचाइमा पुग्यो । राजा महेन्द्र र भीमसेन थापाभन्दा उचो कद र गरिमा भएको देशभक्त राजनेताको संज्ञाले हाइहाइ भए ।
सरकार नौ महिना टिक्न नसकेपनि उनले देखाएका सपना र सुरु गरिएका काम र देशप्रतिको ओली अडानले सबैको प्रिय पात्र मात्रै बनेनन् । सबैका ‘बा’ अर्थात राष्ट्रिय बा बने । अपवादबाहेक पार्टीभित्रका सबैले बा भनेर बोलाउन थालेको पनि त्यसपछि मात्रै हो । त्यसपछि ओलीलाई पार्टी राजनीतिमा फर्केर हेर्नु परेन ।
तत्कालिन नेकपा माओवादी केन्द्रपछि एकता गरेपछि शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष बने । २०७४ को निर्वाचनमा शक्तिशाली पार्टी एमाले र दुई तिहाइ नजिकको वाम गठबन्धन गरेर जितेर बनेको पार्टी नेकको अध्यक्षसँगै देशको कार्यकारी प्रधानमन्त्री दोस्रो कार्यकाल बने । त्योक्रम तीन वर्षसम्म जेनतेन चल्यो ।
माधव प्रचण्ड, वामदेव र भीम रावलहरुको आन्तरिक प्रहार र असहयोगले सोचेजस्तो काम गर्न नसकेपनि देशलाई लयमा लिने काम ओली सरकारकै पालामा भयो । विकासका कामहरुको सुरुवात गरियो । भारत निर्भर सम्बन्धलाई तोडेर वैदेशिक सम्बन्ध र पारवहान सम्झौता समेत ओलीले नै गर्न भ्याए ।
यी दुरगामी काम, ओलीको सपना, दृष्टीकोण, सोच, भाषण कला र युवाहरुका लागि प्रदान गर्ने उर्जाले आफू जस्तै बलियो र शक्तिशाली एमाले बनाए । त्यो सफलताको सम्पूर्ण जस नै ओलीलाई जान्छ । माधव झलनाथ हुँदाको एमालेलाई लिंग पहिचान नभएको, अडान र योजना नभएको, एमालेको आरोप थियो । न पोथी न भाले नेकपा एमाले भन्ने उखान नै बनाएको अवस्था थियो ।
२०७४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा एमाले पहिलो बन्यो । २०७९ को चुनावमा एमाले विरुद्ध पाँच दल एक बने । एमाले विभाजनको शिकारमा पर्यो । कांग्रेस, माओवादी र समाजवादी दलले ओली र एमाले सक्नकै लागि सकेजति सबै गरे । अदालतदेखि आन्दोलन, सडकदेखि सदन सबैतिर एक भए । तर ओली नेतृत्वको एमाले झन बलियो र शक्तिशाली हुँदै गयो । पाँचविरुद्धको एक्लो एमाले समानुपातिक तर्फको मत हेर्दा सबैभन्दा ठूलो पार्टी बन्यो । प्रथ्यक्षमा पनि ४४ सिट जित्यो ।
कांग्रेस भन्दा १० सिट मात्रै कम ल्यायो । कांग्रेसले जितेको ५६ सिट मध्ये एक्लै लड्दा एमालेले २० बढीमा जित्ने तथ्याङ्क छ भने माओवादीले प्रत्यक्षमा जितेको १८ सिट मध्ये १४ सिटमा एमाले जित्ने थियो । तर, त्यो महागठबन्धन र पार्टी फुटको असरमा पनि एमाले कमजोर सावित गराउन देशी विदेशी कुनै शक्तिले सकेनन् ।
संसद विघटनमा झट्का खाएका ओलीले तीबाहेक सबै घटनामा जितिरहे । अदालतबाटै एमाले ब्युँतिएपछि सूर्य र एमाले खोज्ने प्रचण्ड माधवहरुको सडक रमिता पनि टुङ्गियो । लड्डु लालहरुले लड्डुको मुख मिठ्याइको स्वाद समेत लामो समय राख्न सकेनन् । उल्टै आफूविरुद्ध लागेको र वैचारिक रुपमा विपरित दिशाको पार्टीसँग मिलेर देशकै तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भए । पेट्रोलिय पदार्थको उत्खलन देखि सैनीक परेडमा देखिएर ओली सफल सावित भए ।
नेतृत्वमा रहेदेखि संगठनात्मक संरचना सुदृढीकरणमा ओली अब्बल देखिए । सदस्यता नवीकरण र डिजिटल अभिलेख राख्नेमा देशकै पहिलो पार्टी एमाले बनाए । पार्टीका २३ वटै जनसंगठनलाई सुव्यवस्थित र संगठित बनाए । अनेरास्ववियु र युवा संघ सहित केही जनसंगठनको महाविधेशन विवाद बाहेक सबैमा सफल सावित गरिदिए ।

गुटबन्दीको पूर्ण रुपमा अन्त्य नै भयो । एमालेभित्र लामो समयदेखि देखिएको गुटगत व्यवस्थालाई एकै केन्द्रमा अनुशासनबद्ध गर्न ओली नेतृत्वले सक्रियता देखायो । विभाजनपछि बचेका संरचना र नेताहरूलाई पुनः संगठित र कार्यान्वयन–उन्मुख बनाउन विषेश पहल गरे । स्थानीय, प्रदेश र संघीय चुनावतिर लक्षित चुनावी तयारी र मेकानिजम बनाउने काम, घर–घर अभियान, स्थानीय नेतृत्व सुदृढ गर्न प्रशिक्षण तथा प्रवक्ता प्रणाली सक्रिय बनाए । पार्टीलाई वैचारिक र नीतिगत स्पष्टता पार्न ओली सफल भए ।
कार्यकर्ता व्यवस्थापन, संवाद र बैठकहरूमा डिजिटल साधनको प्रयोग वृद्धि, आन्तरिक सूचना–प्रविधि युनिट सक्रिय, प्रचार–प्रसारमा डिजिटल प्लेटफर्मको उपयोग गरे, दक्षिण एशियाली तथा चीन–भारत सन्तुलित सम्बन्धमा पार्टीको कूटनीतिक संलग्नता बढाउने प्रयास गरे । विदेशस्थित पार्टी एकाइहरू उनकै पालामा सक्रिय भए । अनुशासन र आन्तरिक नियम कडाइ गर्दै आन्तरिक विवाद, सार्वजनिक अभिव्यक्ति, र पार्टी निर्णय उल्लङ्घनमा अनुशासनात्मक कडाइ गर्न सफल भए ।
७० को दशकपछिको एमाले ओलीकै नीति, ओलीकै नेतृत्वमा चलिरहेको छ । ८० को आधा दशक पनि ओलीकै अगुवाइमा एमाले थप व्यवस्थित, संगठित र एकीकृत हुन खोजिरहेको छ । नेता कार्यकर्ताको माग र रोजाइमा ओली नै पर्ने देखिन्छन् ।
त्यसैले ओली युग हुन्, उचाई हुन्, समकालीन राजनीतिका सगरमाथा हुन् । उनलाई सक्न जति षड्यन्त्र, जालझेल र तथानाम गालीको वर्षा गरेपनि, त्यो उनका लागि आशीर्वाद हो । किनकी विरोधीले ठिक देख्दैनन्, बेठिक मात्रै देख्छन् । त्यो उनीहरुको धर्म हो । नेपालमा भाइरल हुन र भ्यूज बढाउन ओलीलाई गाली गर्नै पर्छ ।
ओलीमाथि षड्यन्त्र नगरी जेन-जी सरकारले नाम समेत सुन्दैन । त्यसैले सकेजति गाली गर्ने काम जारी राख्नुहोस्, । ओलीको उचाई बढ्न र देशको स्वाधिनता रक्षामा त्यो पनि योगदान हुनेछ । त्यसकारण आज होइन, भोलिलाई पाँच वर्ष ओलीलाई, अबको एमाले अध्यक्ष ओली हुन् । चुनाव होस कि सहमति, ओलीवेशनले नै निर्णय गर्नेछ । देशको स्वाभिमान र पार्टी संगठनको उचाईका लागि ओलीको विकल्प ओली हुन् । ईश्वर होईनन् ।
-माथि प्रस्तुत विचार लेखक स्वयंका हुन् ।













प्रतिक्रिया