पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो « Khabarhub

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लामो समयको प्रतीक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकलाई सहजता पुगेको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी भेगको छल्दीदेखि फूलबारीसम्म चार वटा पक्की पुल निर्माण भएका छन् । 
   
पक्की पुल बनेपछि त्यस क्षेत्रका हजारौँ मानिस र सयौँ सवारीसाधनलाई खोला तरेर जोखिम पूर्ण यात्रा गर्ने बाध्यता टरेको छ । 

पक्की पुल निर्माणका लागि राजनीतिक दलका नेताहरूको लामो प्रयासपछि पुल निर्माणको कामले सार्थकता पाएको स्थानीय सुरेन्द्र पाण्डेयले बताए । 
     
जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने खोलामा चार वटा पक्की पुल एकैपटक निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक यतिबेला निकै खुसी बनेका छन् । 

चाडबाडका समयमा घरमा आउँदा सधैँ खोला तरेर यात्रा गर्नुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकलाई पुल बनेपछि निकै सहज भएको स्थानीय मनबहादुर मुखियाले बताए ।
     
उक्त क्षेत्रमा लामो समयको प्रयासपछि एकैपटक चार वटा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन् । 

सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चार वटा रहेका छन् । निर्माण सम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल तीन करोड १३ लाख ८४ हजार रुपैयाँमा निर्माण सम्पन्न मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाले गरेको थियो । 
     
त्यसैगरी, सुनील समीर निर्माण सेवाद्वारा हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार रुपैयाँ र धनार्जी खोला पुल सात करोड ४८ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको इन्जिनियर पौडेलले बताए । 

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षाको समयमा त्यस क्षेत्रका मानिसले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । 
   
पुल नहुँदा वर्षौँदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षाको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचमा अड्किने र कतिपय सवारीसाधन बाढीले बगाउनेजस्ता समस्या थियो । त्यसका कारण यात्रुलाई वर्षौँदेखि खोला वारिपारि गर्न कठिनाइ हुने गरेको थियो ।  

अहिले त्यस क्षेत्रमा चार वटा पक्की पुल एकैचोटी निर्माण सम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा‐१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । 

उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार वटा स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 

‘पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो । अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ’, गिरीले भने । 

तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारीलगायत स्थानमा व्यापारिक चहलपहलसमेत बढ्न थालेको छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ४० बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य