खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो « Khabarhub

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । 

पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किवी, सुन्तला, कागतीलगायत फलफूल खेती गरेका छन् भने कतिपय जमिन बाँझै छन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको थियो । 

यस वर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटन भएको केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिए । 

उनका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएको थियो भने यस वर्ष आठ हजार ४५० हेक्टरमा खेती लगाइएको थियो । 

बर्सेनि जिल्लामा कोदो उत्पादनमा कमी आइरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताए । कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादन पनि घटेको उनको भनाइ छ । पछिल्लो समय किसान कोदोखेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीय खेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पुनमगरले जानकारी दिए । अहिले कोदोको माग अत्यधिक बढेपछि बाहिरबाट आयात गर्नुपरेको उनको भनाइ छ ।

‘पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ, किसानले परम्परागत खेती गर्न बिस्तारै छोड्दै छन् । खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ’, पुनमगरले भने, ‘अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन् ।’

ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन् । 

कुनैबेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहरबजारका ठूलाठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ । 

ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन् । मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए । जाडोका बेला ढिँडोका र अन्यबेला कोदोकै सेलरोटीको माग बढी आउने गरेको उनको भनाइ छ ।

थापाले भने, ‘सहरबजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्, गाउँमा कोदो पाउन छोड्यो, पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे । अहिले त्यही ढिँडो महत्वपूर्ण बनेको छ । गाउँका बारी जति सबै बाँझो हुँदै गएका छन्, सहरबजारमा बस्नेले ढिँडो खोज्छन् ।’

गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका–८ श्यामबहादुर थापाले बताए । 

एकदशक अगाडिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उनले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गरे । उनका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : २० बजे

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।