जनकपुरमा पाक्दैछ राजनीतिक खिचडी | Khabarhub Khabarhub

जनकपुरमा पाक्दैछ राजनीतिक खिचडी



काठमाडौं– २९ पुससम्म टकाटक रापिलो घाम थियो । ठिहीको पत्तो थिएन । कठ्याङ्ग्रिँदो जाडोको आभास नै भएन । १ माघमा एकाएक उज्यालो हुनुअघि चिसो सिरेटो चल्यो । तुवाँलो, हुस्सु र कुहिरोले ढकमक्क ढाक्यो जनकपुरलाई ।

माघे सङ्क्रान्तिका दिन जनकपुर जानकी चोकमा सामाजिक–राजनीतिक अभियन्ता सुशील कर्णको नेतृत्वमा स्थानीय युवाले चिउरा, भुजा, तीलका लाइ (लड्डु) खाने–खुवाउने काम गरे ।

यस सहरलाई सिटी आँफ पोन्ड पनि भनिन्छ । तालतलैया, सरोबर, पोखरी नै पोखरी भएको सहरमा जानकी मन्दिरको उत्तरी कुना सडक छेउमै छ, अरगज्जा पोखरी । हो, त्यही पोखरीको पूर्वतर्फको घाटमा लुग्लुग् काम्दै मज्जाले निम्तो पाएकाहरुले खाए खिचडी । 

पोखरीको पानीको छालसँगै जीवन र जगतका बात मारेर एक अर्काले मेल गरे । भेट गरे । पानीको तरङ्गसँगै सांस्कृतिक तरङ्गमा उत्रिए । यहाँ नगरका हरेक राजनीतिक दलका अगुवा, मन्त्री, सांसद, नगरप्रमुख, सामाजिक–सांस्कृतिक संघ, संस्थाका तथा यसक्षेत्रका नेतृत्वलाई निम्त्याइन्छ, प्रत्येक वर्ष । सबै सहजै भोजमा सरिक हुन्छ । यो नगर चुनावी सहर पनि हो । बर्षमा ४–५वटा सानातिना चुनाव भई नै रहन्छ । त्यसैले आपसमा तिक्ता, रिक्ता र अमिलोपना हुनु अस्वाभाविक होइन । तर, यसले दुरी घटाउँछ । साइनो जोड्छन् । फाटेका मनलाई टाल्छन् । 

५२ कुट्टि,बहत्तर कुण्डा । फिरहि सन्तजन,झुण्डहि झुण्डा । (५२ कुटी, ४२ कुण्ड, झण्डझुण्डमा सन्तले साधना गर्ने नगर)  भन्ने आहानलाई राजनीतिक विश्लेषक चन्द्रकिशोरले वर्तमानसँग जोड्दै भन्छन्, ‘यहाँ विभिन्न मठहरू छन्,सबै मठाधिशका आफ्नै रागतान हुन्छ, सबैको आ–आफ्नै पाग–पगरी हुन्छन् । कसैले कसैको अस्तित्व स्वीकार गर्दैन ।’   

त्यसैपनि प्रतिरोध शक्तिकालागि कहलिएका सहर हो यो । यो दुनियाँलाई नै सबैभन्दा पहिले जानकी अथार्त् मिथिलाले नै गणतन्त्र सिकाएको दाबी गर्छन्, मुर्धन्य विद्वान डा.राजेन्द्र प्रसाद विमल । उनी स्पष्ट गर्छन्,   बज्जीसंघमा मिथिला पनि सदस्य थिए । त्यहीबाट नै गणराज्यको विकास भएको हो ।

२०१७सालमा राजा महेन्द्रमाथि बम फाल्ने यहीँका दुर्गानन्द झा र अरविन्द ठाकुर अमर सहिद हुन् । झालाई यही माघ महिनामै फाँसी दिइयो । उसो त यो महिना नै सहादतको महिना हो, मधेश विद्रोहका बेला माघ ५ मा रमेश महतोले सहादत दिए । त्यसैले सहरको राजनीतिक र सांस्कृतिक विरासतको महत्त्व नै बेग्लै छ । अहिले नगरको परिचय नै फेरिएको छ ।

संघीयताआएपछि नगर फेरि मधेश प्रदेशको राजधानी भएको छ ।  सभ्यता–आधारित मिथिला होस् वा अस्मिता–अभिप्रेरित मधेस, प्रादेशिक राजधानीका रूपमा जनकपुरको सपनाले सहरका बासिन्दामा ऊर्जाको प्रवाहित भएको छ ।

मधेस विद्रोहताका जनकपुर सम्भवतः सबभन्दा संयमित थियो। विरोध प्रदर्शन अपेक्षाकृत सौम्य हुने गर्दथ्यो । अस्मिताको जागरणले जनकपुरका धरतीपुत्र गणतन्त्रका प्रथम नागरिक हुन पाए पनि सहरको सामान्य अवस्था बदलिएको छैन । 

मधेश सहादतका दिन नजिकिँदा मधेशवादी दलले पनि मोर्चाबन्दी गर्दैछन् । देश दुई पार्टी सिस्टममा जाने प्रसङ्ग छ । थ्रेसहोल्ड लगाउने बहानामा सानापार्टीलाई निल्ने, गलाउने, २०८४को मिसन आदि । आखिर राजनीतिमा पनि के खिचडी पाक्दै छ भनेर जनकपुर ताकेर बसेका छन्

राजनीतिक विरासत र किचलोका बाबजुद एउटै साझा प्लेटफार्ममा खिचडी भोजको आयोजन विगत १३ वर्षदेखि हुँदै आएको आयोजक सुशिल कर्ण सम्झिन् पुग्छन्,‘२०६७सालमा रतन भन्ने व्यक्तिले एक हाँडी खिचडी पकाएर ल्याए अनि हामी सबै खायौँ । बडा मज्जा आयो । अनि यसलाई उत्सवकै रुपमा निरन्तरता दिऔं भने उद्देश्यले २०६८सालदेखि आजसम्म आयोजन हुँदै आएको छ, हामी निकै नै हौस्सिएका छौं । 

उसो त सामाजिक सञ्जालमा उनका खरो अभिव्यक्तिले कसै कसैलाई पिरोल्छ पनि तर न्याय र सच्चाइकालागि लड्दै आएको उनी अगाडि थप्छन्, ‘हाम्रो जस्तो विविधता पूर्ण समाजमा समन्वय, सद्भाव, परस्पर प्रेम र सहिष्णुताको धेरै आवश्यकता छ । झगडा, असहिष्णुता र घृणाबाट समाज न त सुन्दर हुनेछ न सुरक्षित रहन्छ ।’

‘आज राजनीतिको थोरै, खिचडीको बढि कुरा गरौं । खिचडीको अर्थ सबै मिलेर बनाउने, अर्थात् एकता वा संगठनको भावना भएको खाना हो । मकर संक्रान्तिको अवसरमा हाम्रो यहाँ लगभग सबै घरहरूमा खिचडी बनाउने परम्परा छ । खिचडीको अर्थ सबैको घुलमिल हुनु वा एक हुनु हो ।’ उनी भन्छन्, ‘जसरी खिचडीमा तरकारी, दाल, चामल, मसला आदिका विभिन्न अवयवहरू एक भएर अद्वितीय स्वाद उत्पन्न गर्छन्, त्यसैगरी हामी विभिन्न भेशभूषा, खानपान, रङ्ग–संस्कृतियुक्त जनकपुरियाहरू पनि एकआपसमा मिलेर सनातन खिचडी बन्छौं, एक भएर मात्र सनातनी मिथिलावासी भनेर चिनिन्छौं ।’

उनी बताउँछन्, ‘विधिको लागि तपाईंले जस्तै चाहनुहुन्छ सबैलाई मिलाएर जस्तै चाहनुहुन्छ पकाउनुहोस्, खिचडी नै बन्नेछ । जस्तै संसारमा एकमात्र भाषा संस्कृत हो जसका शब्दहरूलाई जहाँसुकै, कुनै पनि क्रममा राख्दा वाक्यको अर्थ परिवर्तन हुँदैन, त्यसैगरी हाम्रो खिचडी पनि हो, जसरी पकाउनुहोस्, कुनै पनि चीज अघि पछाडि भए पनि न नाम बदलिन्छ, न गुण, न स्वादमा कमी आउँछ ।’

‘हो नि यो कमालको कुरा । र एउटा विशेष कुरा भनौँ यदि यसलाई तेल र घिउ बिना पकाए पनि स्वादमा कुनै विशेष गिरावट आउने छैन ।’ विज्ञान शिक्षक सुनिल मल्लिक भन्छन्, ‘विज्ञानको भाषामा एउटा शब्द आउँछ ’सिंक’ – यसको अर्थ यसको अवयवलाई जति हटाए वा जति थपे पनि यसमा कुनै परिवर्तन हुँदैन । स्वादको मामलामा हामी खिचडीलाई स्वादहरूको ’सिंक’ भन्न सक्छौँ ।’ 

अब मूल कुरा गरौं, हामी कहाँ थियौं. त .. हो, मकर संक्रान्तिमा । ‘संक्रान्तिको अर्थ हुन्छ सही दिशामा क्रान्ति जसले सामाजिक जीवनको उन्नति गर्ने र कल्याणकारी हुन्छ । मकर संक्रान्तिमा सूर्यनारायण दक्षिणायनबाट उत्तरायणमा प्रवेश गर्छन् । हिन्दू समाजमा सबै शुभ कार्यको प्रारम्भ सूर्यको उत्तरायण हुनुबाट हुन्छ ।

सामान्य भाषामा हामी भन्छौं कि मकर संक्रान्तिपछि दिनहरू ठूला र रातहरू साना हुन्छन् । यसलाई नकारात्मकताभन्दा बढी सकारात्मकताको प्रभावको रूपमा पनि हेर्न सकिन्छ । मकर संक्रान्तिको विशेष धार्मिक र पौराणिक महत्त्व पनि छ ।’ 

प्रजातान्त्रिक आन्दोलन र मधेश आन्दोलनका सक्रिय सिपाही हुन्, पूर्व नगर प्रमुख लालकिशोर साह । खिचडी खाँदै उनले भने, ‘आजको दिन बिहान सबेरै स्नान गरेर सूर्य उपासना गरें । हुन त म प्रत्येक आइतबार सूर्यलाई जल अर्पण गर्छु तर निरंकारी गीतबाट आज गर्नु महत्त्वपूर्ण हुने सिके । उनी झुल्किएपछि त राजनीतिक कुरा गर्न पनि मन लागि नै हाल्यो । प्रश्न तेर्स्याइ नै हालें, मिसन २०८४ मा जनकपुरमा के खिचडी पाक्दै छ ?

उनले बडो गम्भीर भएर जबाब फर्काए, ‘जनताले बडो सोचविचार गरेर परिपक्व नेतृत्वलाई मतदान गर्ने, परिपक्व निर्णय लिने छन् । जनकपुरमा भएको जनकपुर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, महावीर र राम यूवा कमिटीको चुनावले पनि भावी रणनीति तय गर्नेछ ।’ 

थोरै तिलका कुरा पनि । तिलको विशेष महत्त्व छ, त्यसैले स्नानको पानीमा पनि तिलका दाना हालिन्छ । तिलका परिकार लड्डू आदि बनाइन्छन् र तिलकै प्रसाद चढाइन्छ । आजकै दिन भीष्म पितामहले पृथ्वीमा देह त्याग गरेर महाप्रयाण गरेका थिए । मकर संक्रान्तिको १८६३ मा स्वामी विवेकानन्दको जन्म भएको दिन हो । 

“सङ्क्रान्ति या सही दिशामा क्रान्तिलाई हामी भगवान् श्री रामचन्द्रको जीवनबाट राम्ररी बुझ्न सक्छौँ । भगवान् श्री रामले वन–वन भतारिँदै माता सबरीको जुठो बयर खानुभयो । निषाद राजको मित्रताको सम्मान गर्नुभयो, वनमा बस्ने जीवहरू जस्तै जनावर, चराचुरुंगी, वाँदर, भालु सबैलाई एकताबद्ध गर्दै सेना तयार गर्नुभयो र अधर्म विरुद्ध युद्ध गर्नुभयो । यही हो संक्रान्तिको उत्तम उदाहरण । शरीरलाई रोगमुक्त र शक्तिशाली बनाउनेमा तिलको आफ्नो वैज्ञानिक गणना छ ।“, अभियन्ता सुशीलले अर्थ्याए । 

यो खाना हाम्रो शरीरका लागि आवश्यक छ, यत्ति बुझ्नुहोस् । अब अवसर मकर संक्रान्तिको हो र खिचडीको कुरा नभएको कसरी सम्भव छ । यसैले कथा घुमिफिरी खिचडीमै आइपुग्छ । खिचडी नामको शाब्दिक अर्थ नै हो – जे उपलब्ध छ, त्यसलाई मिसाएर बनाइएको परिकार । त्यसैले कुनै अवाञ्छित वस्तु विशेष चीजमा मिसाउँदा हामी अचानक भनिदिन्छौ, ’यो के गर्‍यौ साथी, सबै खिचडी बनाइदियौ ।’ मेरो विचारमा खिचडी सबैभन्दा सामान्य परिकार हो, जुन हरेक ठाउँमा बनाइन्छ, पस्किन्छ र मन पराइन्छ ।’

‘यसलाई खाजादेखि लिएर भोजन र भोजनदेखि लिएर प्रसादको रूपमा सबै प्रकारमा स्वीकार गरिन्छ । बिरामीलाई खुवाउनु पर्‍ यो भने पातलो मुङ्गदालको खिचडी, पेटभर पोषणयुक्त खाना चाहियो भने सबै तरकारी, दाल, चामल, घिउ, विविध मसाला आदि मिसाएर तयार गरिन्छ । प्रसादको रूपमा पस्किनुपरेमा उच्च गुणस्तरीय तर कम मसालेदार अर्थात् सात्विक तरिकाले बनाइन्छ ।

यो एउटा यस्तो स्वादिष्ट परिकार-भोजन प्रसाद हो, जसलाई बनाउनु कहिल्यै सिक्नुपर्दैन, यसको अर्थ यो हो कि जसरी पनि झोल-भातमा लगाउनुहोस्, अनि जति पनि काटिएका–फुटेका सामग्रीहरू जस्तै प्याज, खुर्सानी, लसुनको पात, जे मन लाग्छ सबै हाल्नुहोस् । अलिकति फ्राई गरेपछि तरकारी मटर, सागसब्जी जो उपलब्ध छ, सबै हाल्नुहोस् । मन लागेसम्म पकाउनुहोस् ।’ 

त्यसबीच यहाँ र त्यहाँ भान्सावरिपरि डुलफिर गर्न मन लाग्छ भने डुल्नुहोस् । फर्किएपछि चामल र दाल धोएर हाल्नुहोस् । चम्चा चलाउनुहोस् । रुचि र स्वादअनुसार नुन हाल्नुहोस् । केही कम बढाउनु परे अझै पनि विकल्प छ । सबै कुरा हालिसकियो, केही पनि बाँकी छैन भने ढक्कनले छोपेर पाक्ने प्रतीक्षा गर्नुहोस् । बीचबीचमा २–३ पटक चम्चा चलाइरहनुहोस्, नत्र कहिलेकाहीँ तलबाट अलिकति जल्न सक्छ । अलिकति जलिहाले पनि चिन्ता नगर्नुहोस्, स्वादमा अझ वृद्धि हुनेछ ।’

‘अन्त्यमा, स्लो फ्लेममा पकाउनुहोस् र पाकिसकेपछि ढिलो नगरी पेट पूजा गर्नुहोस् । सजिलो विधि, उत्कृष्ट स्वाद, उच्च पोषण गुणस्तर, पाचक, हल्का र झन्झट मुक्त भएकाले यो अविवाहिता तथा विद्यार्थीकालागि प्रिय त छँदैछ, साथै समस्यामा परेका विवाहितहरूकालागि पनि राहत पनि हो ।

पत्नी माइत गएको बेला यही कुरा मनमा आउँछ । कतै नौकरी पेशामा लागेका मान्छेको समय बचाउने खाना हो भने कतै वृद्धहरूको सहारा, कतै पिकनिकको रोजाइ हो भने कतै पैसाको बचत । कतै यो पोषण हो भने कतै हल्का भोजन । जसले जसरी चाह्यो उसरी अपनायो यसलाई ।’

‘नामको कुरा गर्दा, अवयवहरू र भाषाको आधारमा केही परिवर्तनको साथ खिचडी शब्द सबैले चिनेको छ । तर वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यसमा कार्बोहाइड्रेट, बोसो, प्रोटिन, मिनरल्स र भिटामिन्स सबै हुन्छन् । अनि खिचडीका चार साथीहरू – दही, पापड, घिउ, अचारसँग यो सन्तुलित आहारको सूत्र बन्छ ।

मधेश सहादतका दिन नजिकिँदा मधेशवादी दलले पनि मोर्चाबन्दी गर्दैछन् । देश दुई पार्टी सिस्टममा जाने प्रसङ्ग छ । थ्रेसहोल्ड लगाउने बहानामा सानापार्टीलाई निल्ने, गलाउने, २०८४को मिसन आदि । आखिर राजनीतिमा पनि के खिचडी पाक्दै छ भनेर जनकपुर ताकेर बसेका छन् ।

तर, साँचो कुरा के हो भने, म जस्तो पेटूका लागि यो न त खाजा हो, न खाना, न प्रसाद र न औषधि । मेरो लागि यो अवसर हो, राम्रोसँग खाएर खानाको समय बचाउने, पेटदेखि मनसम्म सन्तुष्ट पार्ने, परिवार र प्रियजनहरूसँग अमूल्य क्षणहरूमा रमाउने ।’

 ढिलै भएपनि यहाँहरू सबैलाई मकर सङ्क्रान्ति र खिचडी भोजको हार्दिक शुभकामना ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ०१ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली