धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी (तस्बिरहरू) « Khabarhub

धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी (तस्बिरहरू)


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पा क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ ।

११औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हुन् । त्यस्तै झण्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् ।

विभिन्न जातजाति, धार्मिक र सांस्कृतिक मान्यता, प्रचलन, व्यवहार, स्थानविशेषका कृषि उत्पादन, जडीबुटी, प्राकृतिक छटा, टलक्क टल्किरहने हिमाल, हरियो जङ्गल र अटुट रूपमा कलकल बगिरहने खोलानाला यहाँका अनुपम गहना हुन् ।

धार्मिक मान्यता, सांस्कृतिक धरोहर र परम्पराले गर्दा डोल्पाले नेपालको गौरव मात्रै बढाएको छैन, अनगन्ती प्राकृतिक दृश्य र मौलिक परम्पराले गर्दा पर्यटक वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेमा दुई मत छैन ।

हाम्रो धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा वर्णन भए अनुसार त्यहाँ त्रिपुरा नामको राक्षसलाई मारिएको हुँदा त्यस ठाउँको नाम त्रिपुराकोट रहन गएको भन्ने किंवदन्ती छ । अर्को, सोही ग्रन्थमा उल्लेख भए अनुसार सतीदेवीको अङ्ग ढाड पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पत्ति भएको भनिएको छ ।

त्रिपुराकोट गढीमा सातौँ शताब्दीका राजा विक्रम शाहीको दरबार थियो । शाहीले यसै कोटगढीका विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । त्यतिखेर मन्त्रीलाई काजी भन्ने चलन थियो । अहिले मन्दिर भएको ठाउँमा त्यो बेला राजाको दरबार थियो । त्यहीँ क्षेत्रभित्र धान कुट्ने ढुङ्गाको ओखल पनि थियो । धान कुट्दै जाँदा त्यो ओखलमा अनेक चमत्कार भयो । कहिले चार माना धान कुट्दा आठ माना चामल हुने, कहिले आठ माना धान कुट्दा दुई माना चामल बस्ने । धान कुटेर फ्याँकेको ढुटोबाट कसरी चामल भयो ?

ओखलको अनौठो पक्षबारे कजिनीहरूले आफ्ना काजीहरूलाई बताए । त्यो सूचना काजी विष्टहरूले राजा विक्रम शाहीसमक्ष जाहेर गरे । जब राजाले यस्तो अचम्मको सूचना पाए, तत्काल प्रजाहरू भेला गरेर ओखल उत्खनन गर्न लगाए भन्ने किंवदन्ती छ ।

त्यो ओखलको ढुङ्गोलाई उल्टाउन निकै हम्मे भयो । किंवदन्ती अनुसार ओखल तलपट्टि तामाको ओदान, ओदानमाथि घिउको कराही, कराहीमाथि तामाको थाली, त्यो थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कुँडे र त्यो कुँडेभित्र नवदुर्गा भवानीका नौ वाहनका स्वरूप पुतली देखिए । ओखल उत्खननका अगुवा काजी बेहोस भए र देवी शक्तिबाट बोल्न थाले । ‘हामी नौ बहिनी भगवती हौँ । पुतलीरूपी देवीहरू उडेर विभिन्न ठाउँ गइबसेका छन् । बाँकेकी बागेश्वरी, जुम्लाकी कनिका सुन्दरी, सल्यानकी खैरबाङ देवी, बैतडीकी गणसैनी त्रिपुरेश्वरी र बाजुराकी बडीमालिका । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छौँ । यहाँ विराजमान चार देवी महाकाली, महालक्ष्मी र महासरस्वतीका नामले प्रसिद्ध सबैको चोखोनितो गरी पूजाआजा गर्नू । न्यौपाने थरका पूजारीलाई नृत्य पूजापाठको जिम्मा सुम्पिनू र यस स्थानलाई विशेष किसिमले सुरक्षा गर्नू ।’

सन् १११४ मा त्रिपुरासुन्दरी मन्दिरको स्थापना भएको हो । प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल रहेका छन् ।

धार्मिक विशेषता नै विशेषता भएको त्रिपुरा सुन्दरीमा पूर्वराजारानीदेखि राष्ट्र प्रमुखहरू पुग्नु परापूर्वकालदेखि नै माता भगवतीले इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ विजयादशमी, चैते दसैँ, श्रीपञ्चमी तथा महाशिवरात्रिमा हरेक वर्ष ठुलो मेला लाग्दछ । त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : ४४ बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ