म मेरो पुर्खाको सन्दर्भमा आफ्ना केही कुरा तपाईंहरुलाई सुनाउँछु ।
हालै प्रकाशित किताब याक्थुङ पेभाक्कुम याङ्देम्बा नेम्बाङ बंशावली अनुसार म झन्डै–झन्डै ४५ पुस्ताको पर्ने रहेछु ।
एउटा सानो टिप्पन कसरी गरियो ? कहाँबाट खोजी गरियो ? त्यो थाहा भएन । तर, लिम्बू भाषा साहित्यका अत्यन्तै विद्वान एकजना मान्छे रणध्वज नेम्बाङ हुनुहुन्थ्यो । उहाँले गरेको टिप्पनपछिबाट काजिमान कन्दङ्वाज्यूले प्रकाशित गरेअनुसार सिद्धिइङ भन्ने नामका पुर्खाबाट हाम्रो वंशको सुरूआत भएको देखिन्छ ।
सिद्धिइङबाट सुरू भएको वंशको पुस्ता झन्डै २८ पुस्तामा आउँदा एकजना तुम्याङ्से भन्ने हाम्रो पुर्खाको बडो नाम चलेछ । हिजोआज सबैले हाङ जोड्छन् र तुम्याङ्से हाङ पनि भन्छन् । उनैका पछाडि उनका नातिहरुका रुपमा दुई भाइ एकदम प्रतापी लडाकूहरु जन्मिएछन्– चुक्निबा र लातिबा ।
यी दुई भाइ अत्यन्तै वीर र लडाकू थिएछन् । यिनीमध्ये एकजनाका सन्तानबारे थाहा भएन । तर, कतिले चुक्निबाको सन्तान भन्छन्, कतिले होइन, लातिबाको पो भन्छन् । यसमा विवाद छ । याक्थुङ पेभाक्कुम याङ्देम्बा नेम्बाङ वंशावलीले चाहिँ चुक्निबाको सन्तान भन्छ ।
चुक्निबाका छोराहरुमध्ये एकजना मेखेक्पा भन्ने रहेछन् । त्यही मेखेक्पाको सन्तान नै अहिलेका याङदेम्बा भएछन् । चुक्निबा, लातिबाहरु नेम्बाङ भैसकेका र एउटा कुल (नेम्बाङ कुल) को स्थापना भैसकेको रहेछ । त्यो नेम्बाङ कुलमध्येमा चुक्निबाका एकजना छोरा, दुईजना श्रीमतीमा एकपट्टि चार भाइ र अर्कापट्टि एक भाइ । ती एक भाइको नामचाहिँ मेखेक्पा भन्थ्यो रे ।
खेक्पा भनेको आँखा बाबुको जस्तै । तर जन्मिँदाखेरि पैसा देखाउँदा समात्यो अरे भनेर याङदेम्बा भनेर भन्न थालेछ । त्यही नामबाट हाम्रो पारिवारिक थर स्थापना भयो– याङ्देम्बा । नेम्बाङभित्र याङ्देम्बा उपथरको स्थापना भयो ।
लिम्बूमा त्यस्तै छ । फागोमा १४/१५ वटा उपथर छन् । त्यस्तै लिम्बू धेरै छन् । जम्मा नेम्बाङमा ५ वटा उपथर होलान् । त्यसमध्येमा याङदेम्बा एउटा उपथर ।
यसरी मेरा पुर्खाहरुका नाममा नामकरण सिद्धिइङदेखि आएर ३१ औँ पुस्तामा आएर याङ्देम्बा नामकरण भयो । कहाँबाट आए ? यो बताउन सक्ने कुरा त भएन तर लिम्बूहरुको आगमन सावा येत्हाङका रुपमा उत्तरबाट हिमाल क्रस गरेर दक्षिण आवागमन भएको छ । हो कि होइन, त्यो पछि मानवशास्त्रीहरुले खोज्लान् । अहिलेका थिबोङ याक्थुङ १० लिम्बू यसरी आएका सावा येत्हाङकै सन्तानहरु हुनुपर्छ ।
दश लिम्बू भैसकेपछि मेरो यो सिद्धिइङबाट सुरू भएको ३१ औँ पुस्तामा याङ्देम्बा भन्ने एउटा पुर्खा स्थापना भयो । र, उसैका नामबाट हाम्रो उपथर चाहिँ याङ्देम्बा भयो । म नेम्बाङ हुँ तर याङ्देम्बा नेम्बाङ हुँ । ३१ औँ पुस्ताबाट याङदेम्बा भएको । म ४५ औँ पुस्तामा पुगेपछि जन्मेँछु ।
मेरा आफ्ना बाजेका जेठा दाजु जन्मेको वि.सं. १९११ तिर रहेछ । मेरो बाजे जन्मेको चाहिँ १९३२ सालतिर रहेछ । गर्दै जाँदा निकै धन पनि कमाएछन् । जग्गा जोडेछन् । धेरै वस्तुभाउ जोडेछन् । गोठ, घोडा, भेडागोठ आदि–आदि अनेकौं जोडेछन् । अनि महाजनको रुपमा परिणत भएछन् ।
उनका श्रीमती निकैजना थिए होला जस्तो लाग्छ । सबैभन्दा कान्छी त होइन, कान्छीदेखि माथिकी श्रीमती वनेम फागुुबाट जन्मेका मध्ये मेरा बुबा माइला । अरु दुई भाइ जन्मे ।
जेठो बाबुचाहिँ १५/१६ वर्षको उमेर नभैकन मरेछन् । उनका शाखासन्तान छैन । जीवित तीनजना बाबुहरु कान्छा अर्कै लोक्ताम भन्ने थरका आमापट्टिबाट जन्मे । यसरी हाम्रा पुर्खाहरुको वंशानुगत क्रमहरु चल्यो ।
त्यसो त उहिले चुक्निबा र लातिबा यी दुईजना दाजुभाइ कतिले काका–भतिज पनि भन्छन् । यसमा अनुसन्धान हुन बाँकी नै छ । यिनीहरुका पालामा अत्यन्तै वीर भएकै हुनाले यिनीहरुको सर्वत्र ख्याति पनि भयो । सिक्किमका राजाहरु भनौं, त्यतिबेला कबिलाका प्रमुखहरुले आपत विपत हुँदाखेरि यिनीहरुको मद्दत मागेका पनि रहेछन् । त्यो मद्दत शत्रुसँग सङ्घर्षका लागि थियो होला । तर, अहिले दन्त्यकथामा भालु मार्नका लागि मद्दत मागेको भनेर अर्को लोककथा बन्यो । पछि खुसी भएर छोरी दिएछन् । छोरीका साथमा भदैनी पनि साथी दिएछन् ।
अघि मैले भनेँ नि, दुईजना आमा । छोरीपट्टिबाट चार भाइ, भदैनीपट्टिबाट एक भाइ । हामी भदैनीपट्टिका रहेछौँ । याङदेम्बा, याङ्सोबा सारतप्पा, फेजङ र नाङ्लाक्पा नेम्बाङका उपथरहरुमध्ये हामी कान्छीपट्टिबाट जन्मेका चाहिँ याङदेम्बा ।
हाम्रो त्यतिबेलाको भूमि अहिले तपाईंहरु फिदिम जाँदा पौवा भञ्ज्याङ पुग्नुभएको होला, त्यहाँबाट पूर्वपट्टि तल हेर्दा इथुङ भन्छ अहिले । उहिले लिम्बू उच्चारणमा इधुङ भन्थ्यो । नेपालीमा सिलौटी भन्न थालियो । अलिकति दक्षिणमा उठेको डाँडो छ । अनि त्योदेखि पल्लोपट्टि अहिले तामाखे भन्छ । नेपालीमा सजिलोका लागि उहिले तुम्पाङ्देन भनिन्थ्यो ।
यो ठाउँमा हाम्रो एउटा यकजस्तो सुरू भएछ । मूल बहसचाहिँ सुरू भयो । यही ठाउँमा हुँदाखेरि देउताले नेम्बाङको आङमा चढेर अवतरण गर्यो, जसलाई थेबासाम भनिन्छ । त्यो अवतरण गरेका व्यक्तिहरु चुक्मिभा र लातिबा भन्छौं । यिनीहरुका सन्तान हामी आज म ४५ औँ पुस्तामा छु ।

हाम्रो मूल तमाखेमा हो । त्यहाँको खोला छ–आफताँवा । त्यहीँ सानो अर्को खोला छ–पिधाँवा । हामीहरु शीर उठाउँदा, पूजा गर्दा आफताँवा– पिधाँवाका सन्तान तिमेरू, इधुङ्यक र नामफुङ्यक डाँडाको सन्तान तिमेरू, भनेर हामीलाई हाम्रो बखान गर्छ । हाम्रा पुर्खाले त्यसलाई देवताका रुपमा स्थापना गरेर बसेका रैछन् ।
बस्ती बढ्दै जाँदाखेरि नेम्बाङहरु त्यहाँ मात्र होइन, दक्षिण–पूर्वतिर धेरै तलसम्म आए । त्यहाँ हेलाङ भन्ने ठाउँसम्म आइपुगे ।
अहिलेको फिदिम यो सबै नेम्बाङहरुको जमिन थियो । तर, पछिबाट तमोर नाघेर पश्चिम आउँदाखेरि पापो लिम्बूहरुले जितेर आधाभन्दा बढी हाम्रो भूमि लगेछन् ।
त्यतिबेलाको लडाइँमा यासोक, रानीगाउँ, आङ्सराङ, अम्लाबुङ, शिवाखोला, चोकमागु भन्ने ठाउँहरु सबै उनीहरुले कब्जा गरेर लगेछन् । आपसमा लडाइँ हुन्थ्यो । अरु दुस्मन त टाढा थिए, कहाँ थिए ।
हाम्रो पुर्खा पछि हेलाङमा पनि पुगेछ । हेलाङबाट उत्तरतिर एक भाइ फेरि निभु खोला तरेर सारतप्पा आयो । लिम्बूमा नेम्बाङको पाँच उपथरमध्ये सारतप्पा भन्ने थर हुन्छ । उनीहरु बसेको गाउँ उनीहरुले साटेछन् । हामी दक्षिण आउँछौं, तिमीहरु उत्तर आऊ भनेर महाभारत श्रृङ्खलाको छेउमा उनीहरु गए ।
हेलाङतिर हामी सारतप्पा बसेको गाउँमा आयौँ । जसलाई अहिले सारताप भन्छ । त्यसरी आउनेमध्ये हाम्रो पुर्खाहरु लिम्बुमध्ये मलाई पुस्ता नम्बर थाहा भएन, त्यसका सन्तान हामी सारतप्पामा आयौँ ।
सारतप्पा एउटा सानो खोलाले छुट्याएको छ । हाम्रा बाजेका पालामा पौवा भन्ने ठाउँमा सरेछन् । मेरा बुबाका पालामा चाहिँ हामी २०१२ सालमा सारतप्पामा घर बनाएर सरेछौँ । यसरी हाम्रो यताउता गाउँमा बसाइँसराइ भयो । यसरी हाम्रो पुर्खाहरु भए ।
लिम्बू जातिमा व्यापक रुपमा छरिएर बसेको र निकै ठूलो जनसङ्ख्या भएको नेम्बाङ वंश निकै धेरै छ । मेरा बाजेका बाबु शेरप्रताप नामी सुब्बा, बहादुर रहेछन् । मेरा बाजे त सुब्बा होइनन् । पृथ्वीनारायण शाहपछि त भैयादहरु मध्येमा सुभाङ्गी प्रथा सुरू भैसकेको थियो । तर, अलिकति धन कमाएको हुनाले नामी भए ।
बाजेका छोराहरु चार भाइमध्ये जेठा केटाकेटीमै मरेका । माइला सुब्बा नरबहादुर भए । मेरा बाबु सुब्बा खड्गबहादुर भए । कान्छा काका नरेन्द्रराज भए । तिरो बुझाउनु नसक्दा सुब्बा पद चैट हुँदो रहेछ । तेह्रथुम, धनकुटामा नगरले त्यस्ता सुब्बाहरु लिलाम गर्दोरहेछ । त्यस्तो पनि उकास गरेर सुब्बा हुन पाउँदो रहेछ । त्यसै गरेर मेरो ठूलोबुबा सुब्बा भए । बाबु पनि सुब्बा भए ।
गाउँठाउँमा सुब्बाको धाक धमास हुने नै भो । त्यसमाथि स्वभाव कडा छ भने त झन् कडा नै भो । मलाई थाहा छैन, अरुतिरका सुब्बाहरु कस्ता थिए ? काजीमान सुब्बाको खुब नाम सुनिन्छ । उनी तेह्रथुमका सुब्बा नै हुन् । खुब नाम सुनिन्छ । यासोकका शेरबहादुर लावतीको पनि नाउँ सुनिन्छ । अरुको पनि नाउँहरु सुनिन्छ ।
मेरा माइला बाबु चाहिँ कडा सुब्बा थिए । अर्काको क्षेत्रमा पनि गएर मुद्दा हातमा लिएर पैmसला गरिदिन्थे । अर्काको क्षेत्रमा त जानु नहुने हो….. ! भन्ने गर्थे । धाक, धमास भनेको त्यो रहेछ ।
यसरी हाम्रो सेटलमेन्ट हेलाङचिलिङदेनबाट माथि तमाखे, तुम्बाहाङ्फे, पाङ्देनबाट हेलाङ, हेलाङबाट फेरि सारताप पौवा हुँदै हामी हुर्कियौँ । अहिले हाम्रो बसोबास सारताप मूलघर हो ।
मेरा बुबा १९९० सालदेखि मधेसतिर आउन थालेको हुनाले जग्गा जमिन यतै जोड्दाखेरि हाम्रो धेरै रासोबासो चाहिँ मधेसतिर हुन थाल्यो । यसरी हाम्रो परिवारको विकास भयो भनौं न ।
अचम्मको कुरा छ । मेरा बुबा १९७१ फागुनमा जन्मिनुभयो होला । त्यतिबेला इलाममा शायद महावीर शमसेर वा राज शमसेर बडाहाकिम थिए । बडाहाकिमलाई दाम राखेर दर्शन गर्न जाँदा तँ बिचारी भइस् भनेर थोपरिदिएछन् । लेख्न राम्रो जानेको छैन, अमिनीको विचारी ।
बुबाले इलामको एकजना नेवारसँग सिकेर लेखपढ गर्न थाल्नुभयो । विचारी हुनुभयो । न्यायिक क्षेत्रमा प्रवेश गर्नुभयो । मलाई लाग्छ, २/३ वर्ष काम गर्नुभो ।
उहाँको बिहे फिदिममा भएको थियो । हाम्रो गाउँबाट कस्सिएर हिँड्दा अढाइ–तीन घण्टामा पुगिन्छ । बिस्तारै हिँड्नेलाई एक दिन नै लाग्छ । फिदिमकी आमाबाट जायजन्म भएको रहेनछ । इलाममा विचारी हुँदा एकजना लावतीसँग बिहे गर्नुभयो ।
अघि मैले कुरा गरेँ, पान्थर (पाँचथर) का प्रसिद्ध सुब्बाहरुमा गनिने एकजना शेरबहादुर लावती हुन् । तिनका दाजुभाइ इलाममा बस्दा रहेछन् । नाउँ चाहिँ रत्नप्रसाद कि के हो । एउटाले याक्खासँग बिहा गरेका रहेछन् । उनबाट जन्मेकी जेठी, माइली, साइली, कान्छी चार बहिनी छोरीमध्ये जेठीलाई मेरा बाउ विचारी हुँदा बिहा गर्नुभयो । ती आमाबाट मेरा जेठा दाजु जन्मिए । माइला दाजु पनि जन्मिए ।
त्यहीबीचमा इलाममा सबभन्दा पहिले आधुनिक शिक्षाको प्रारम्भ गर्ने तपाईंहरुले सुन्नुभो होला नि, ‘सम्माननीय सदस्य’ भन्थे । राजाको एउटा समिति थियो– राजसभाको सदस्य ।
राजसभा सदस्य पदमबहादुर देवान हुनुहन्थ्यो । उनकी माइली बहिनी मेरा बाउले बिहा गर्नुभएछ । हा..हा..हा..। उनीबाट जन्मेका माइली र साँहिली बहिनी । लावतीबाट जन्मेका चाहिँ जेठा, माइला, साइँला र म (काइँला) अनि जेठी छोरी । देवान आमाबाट माइली र साँहिली बहिनी ।
मलाई अलिअलि सम्झना छ, साँहिली बैनी ३/४ वर्ष उमेर हुँदा कुदिहिँडेको । उसको बालखैमा मृत्यु भयो ।
त्यति हुँदाहुँदै बुबाको जागिरै थियो होला । फेरि अर्को पनि नाम्सालिङकी याक्खा बिहा गर्नुभो । इलाम बस्दा २ वटा बिहा गरेका, चारजना श्रीमती भए है मेरा बाबुका । मेरी आमा र दुईजना याक्खासमेत गरेर । मागी बिहाचाहिँ फिदिमकी नाङ्लाक्पा थरकी लिम्बुनीसँग गरेका ।
पछिबाट मेरा बाबुका ससुरा जो बडाहाकिम थिए, उनको जग्गाको रेखदेख गर्ने कारोबारीजस्तो बनाएका रहेछन् अहिले हामी झापाको धुलाबारीमा यो जग्गामा छौँ ।
(हातले देखाउँदै) ऊ त्यहाँ तपाईंहरु बसेको होटेलदेखि एउटा पुल छ, त्यो पुलदेखि पारिलाई ऐयाबारी भन्छ । त्यो ऐयाबारीमा २५० हो कि २२५ बिघा जग्गा, त्यो बडाहाकिमको थियो । त्यसमा मेरा बाबुका ससुरा काम गर्दा रहेछन् ।
त्यही निहुँमा मेरा बाबुले पनि मधेस (झापा) बस्दा इलाम जाने दोबाटोमा पर्ने बुधबारे हडियाखोलामा जग्गा जोड्नुभएको रहेछ । पछिबाट अलि पश्चिमतिर मदनपुर भन्ने ठाउँमा पनि जग्गा जोड्नुभयो । शनिश्चरे, सुखानीतिर पनि जग्गा जोड्नु भो ।
यसरी मेरा बाउले बिहे गर्दै जग्गा जोड्नुभयो ।
विसं. २००८ सालमा क्रान्ति सिद्धियो । बुबा मधेस पहाड आउनुभयो । हामी फुच्चे थियौँ । मावलीमा बस्थ्यौँ । अलि पछि पदमबहादुर देवानको घरमा बसेर पढ्न थाल्यौँ ।
बुबाले दुईवटी आमा लिएर आउनुभयो । एउटी त पहिल्यै चिनेको, अर्की आमा पनि लिएर आउनुभयो । माथि तमोरखोलाकी आमालाई लिएर आउनुभयो ।
पहाड आउँदा यत्रो ठूलो बाकसजत्रो रेडियो पनि लिएर आउनुभएको थियो । ब्याट्री त झन् ठूलो । त्यो ब्याट्रीमा जोडेर रेडियो बजाउनुपर्ने ।
बुबाले जम्मा कति जना बिहा गर्नुभयो त भन्दा जेठीआमा लिम्बुनी । माइली आमा लिम्बुनी । साँहिली आमा याक्खा । काइँली आमा याक्खा । कान्छी आमाभन्दा माथिल्ली याक्खा । सबभन्दा कान्छी आमा २०२० मा बिहे गरेको– धिमाल । जम्मा ६ जना भए । मेरा आमाहरुको एउटा भलिबल टिम नै छ ।
जेठीआमाबाट ठूलीकान्छी बैनीमात्रै जन्मिई । माइली लावतीबाट हामी ६ भाइ अनि जेठी र काइँली बैनी जन्मियौं । साइली आमाबाट जन्मेकी साँहिली बैनी केटाकेटीमै बितिन् । माइली बैनी चाहिँ भर्खरै बितिन् । काइँली आमाबाट एउटी छोरी जन्मिई । त्योभन्दा मुनिकी आमाबाट एउटा छोरा जन्मिए । सबभन्दा कान्छी आमाबाट एउटा छोरा र छोरी जन्मिए । यसरी हामी ८ भाइ छोरा र ६ बैनी छोरीहरु जन्मियौँ । ठूलै टिम छ हाम्रो ।
मेरा बाबु निकै धडाक् मान्छे थिए, डबल आङ्को । चानचुने घोडाले बोक्न नसक्ने । उनी चढ्ने भोटे घोडा निकै दह्रो हुनुपथ्र्यो । विचारी जागिर–सागिर त छोडिहाल्नुभयो । त्यतिबेला विचारी पनि ठूलै जागिर हो । ठूलै पद रहेछ नि त्यो । विचारीदेखि सुब्बा हुँदा त माथिल्लो तह नै पो सिद्धिन्थ्यो कि क्या हो । त्यहाँदेखि माथि त राणाहरुले पाउने । उनीहरुका भित्रीहरुले मात्र पाउने पदहरु थिए होला । जनसाधारणमा त सुब्बादेखि तलमात्र थियो होला ।
विसं. २००७ सालमा क्रान्तिमा सघाए बुबाहरुले । बुबासँग धेरै बन्दुकहरु थिए । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धबाट फर्किनेहरुबाट किनेका राइफलहरु र टोटा बन्दुक थिए । जोर नाले भन्छौँ नि, टोयल बोर्डहरु थुप्रै थिए । पेस्तोल, रिभल्बर ती सबै २००७ सालको क्रान्तिमा दिएका रहेछन् । पछि वीपी कोइराला गृहमन्त्री भएर इलाममा आउँदा बन्दूकहरु धन्यवादको पत्रसहित फर्काइदिए ।
त्यतिञ्जेलसम्म ‘क्रान्तिकारी सरकार’, स्थानीय सामूहिक सरकार, के भन्थ्यो, त्यो गठन गरेर बसेका थियो । रक्षा दल बिस्तारै प्रहरीमा परिवर्तन गर्न थाल्ने क्रियाकलाप सुरू भएको थियो । पूरै जित्दाखेरि आप्mनो फौज बस्ने हो, सम्झौतामा आउँदा त अरुको स्टाटसलाई पनि स्वीकार्नु पर्छ । रक्षा दललाई नेपाल सरकारको फौजमा मिलाएर नेपाल प्रहरी बनायो र त्यहाँ समावेश गर्यो । पछिबाट हाम्रा कमान्डरहरु गोपाल शमसेर पहिला आईजीपी भए । पछाडि जीबी याक्थुम्बा आईजीपी बने ।
वीरगञ्जतिरका कमान्डर गोपाल शमशेर रहेछन् । वीरगञ्जदेखि पूर्वको कमान्डर जीबी याक्थुम्बा रहेछन् मुक्ति सेनाको । उनीहरु पालोपालो आइजीपी भए ।
इलाममा शान्ति व्यवस्था कायम गर्नका लागि मतवाली फौजलाई कन्ट्रोल गर्न सारो पर्दा मेरा बाबुलाई लगेर गएर अमिनी सुब्बा बनाएको रहेछ । सन्जोग पनि कस्तो ! धेरैजस्तो चाहिँ हाम्रो गाउँठाउँका राई लिम्बू रहेछन् । त्यसध्ये लिम्बू बेसी थिए मुक्ति सेनामा । त्यसले गर्दा सुब्बाले भनेको मान्छ भनेर सुब्बा कन्ट्रोलमा गर्नका लागि पनि मेरा बाबु जागिरे भए । उता, लिम्बूका पनि अमाली सुब्बा भए । यता, अमिनीको पनि सुब्बा हुनाले डबल सुब्बा भनिन थाल्यो ।
एउटा, उनी तेह्रथुममा दर्ता भइसकेको अमाली सुब्बा थिए । अर्को, इलाममा अमिनी सुब्बा भए । त्यतिबेला सुब्बालाई के भन्थे, नासु भन्थ्यो कि सुब्बा हो ? नासुभन्दा सुब्बा अलि तलको हो कि एउटै हो । नासु नासु लेख्थ्यो, तर सुब्बा हो त्यसैले एउटै होला । यसरी सुरू भयो ।
बुबाले २०१२ सालसम्म काम गरेर छोड्नु भो । खेतीपाती चौपट । केटाकेटीहरु हुर्कँदै गयौँ । स्कुल पढ्न थाल्यौँ । खर्चबर्च पुर्याउन मुस्किल । धान त छ नि, चामल त छ नि, त्यसले त नहुँदो रहेछ ।
म २०१४ सालमा यहाँ (धुलाबारी) मा हुँदाखेरि त्यतिबेला धान ८/९ रूपैयाँ मन (४० किलोको एक मन हुन्छ) बेचेको । त्यस्तो भाउमा नगदले पुर्याउन गाह्रो ।
उहाँले विचारी हुँदाखेरि राम्रो नपढेकै हुनाले इखैले छोराछोरी पढाउँछु भनेर सोच्नुभो । सबैको एकेडेमिक करिअर त राम्रो भएन । जेठा दाजुले आईए गरेर छोड्नुभो । माइला दाजुले कोलकाता युनिभर्सिटी अन्तर्गत बीए सक्नुभो । दार्जिलिङमा पछि मात्र नर्थ बेङ्गल युनिभर्सिटी खुल्यो ।साइँला दाजुले आईए गरेर छाड्नुभो ।
मैले बीए सिध्याउन आँटेको, बिरामी भएर फाइनल छोडेपछि छोडेको छोडेकै भयो । एडमिट कार्ड मात्र छ मसँग । टीबी (क्षयरोग) लाग्यो अनि मैले पढ्न सड्न सबै छोडेँ ।

हाम्रो कुलमा जन्तरे भाइले मात्रै मास्टर्स गर्यो । खन्तरेले बीएस्सी गर्यो, छोड्यो । अन्तरे आईए पढ्दै थियो, कतिबेला बङ्गलादेशको ‘वार’मा कोसँग हुइँकिएर लागेछ । पछि खडकपुर भन्ने ठाउँमा लिन पठायौँ । थोत्रे टिनमा डढेको कम्बल लिएर घरमा आइरा’थ्यो । यस्तो छ, हाम्रो परिवारको कथा ।
आमाहरु विभिन्न ठाउँका भए । एउटी फिदिमकी । एउटी यासोक । अर्की इलाम । एउटी त झापाकी । बडो अन्तरजातीय परिवार भो हाम्रो । यसरी उदार हिसाबले हाम्रो परिवारको विकास भयो ।
मैले यतिञ्जेलसम्म बाबुआमाका कुरा गरेँ । ठूलो दाजुको जन्म ९० साल भूइँचालो गएको साल । माइला दाजु १९९२ सालतिर जन्मिनु भयो होला । साइँला दाजु १९९४ सालमा र म वि.सं. १९९६ सालको साउन २५ गते बुधबार । बुधबारको बार राम्रो होइन भन्छ हगी । त्यति राम्रो भएन स्वास्थ्य मेरो ।
उतिबेलाको बाल्यकाल कस्तो हुन्छ ? धुलोमुलो खेल्ने । गोठाला जाने । गोठालाको पछि लाग्ने । यस्तै मात्र हुन्थ्यो ।
तर, बुबाले आप्mना जेठा र माइला छोराहरुलाई इलाममा लगेर पढाउन थाल्नु भएछ । इलामबाट छुट्टीमा, दशैँमा घर आउँदाखेरि उनीहरुले ल्याएको खातापाता हेर्थेँ । उनीहरुले लगाएका जुत्ता हेर्थेँ । गाउँमा त जुत्ता पनि थिएन । दाजुका जुत्ता लगायो, कुद्यो । दाजुहरु आउँदा उनीहरुले लेखेको हात्तीमार्का खाता (कापी) थियो । उहिले इलिफेन्ट लेखेको खाता हुन्थ्यो । रिसले कोर्दै बिर्गाथ्यौँ हामी ।
धेरै ठूलो भइन्जेलसम्म म गाउँघरमै थिएँ । २००५ सालसम्म, ९ वर्षको उमेरसम्म भनौँ न ।
केटाकेटीमा गाउँघरमा त गोठाला नै थिएँ । गोठालाहरुसँग घाँस काट्नु जाने, बस्तु हेर्न जाने, गोठालाले जे गर्छ, त्यही काम गर्ने । घरमा छोराहरुमा मै मात्र थिएँ । बैनीहरु स–साना । म मुनिको एउटा भाइ ३/४ वर्षको, टुकुटुकु हिँड्थ्यो । ठूलो भएर मरेको त्यै केटा थियो ।
अरु सबै जिउँदै थियौँ । पछिबाट मात्र जेठा दाजु बिते । साइँला दाजु बिते । पछि माइला दाजु बिते । केटाकेटीमा बित्ने सानो एउटा भाइ हो म मुनिको ।
यसरी केटोकेटीमा गोठाले जीवन बिताइन्थ्यो । मलाई फुपूहरुले जिस्काउनुहुन्थ्यो, ‘यो त कर्मी हुन्छ कि क्या हो’ भन्थे । कर्मी भनेको सिकर्मी होला । काठ यताउता गर्ने, घर बनाउने, कर्मीहरुको पछाडि लाग्ने ।
मलाई त बुबाले पढ्न पठाएको होइन । मधेसबाट जहिले पनि दशैँमा पहाड त आउनुहुन्थ्यो । हामीलाई पढाउने चाहिँ ठूलोबाउ हुन् । उनले मास्टर राखेका थिए । पण्डितहरुले क, ख सिकाउँथे । ठूलोबाबु रिसाहा, नपढ्दा बेतको लौरो खानुपथ्र्यो । यसरी गाउँमै क, ख सिकियो ।
इलाम जाने बाटोमा निभु खोला छ । मकै भाँचेपछि हाम्रो गोठ बिस्तारै बिस्तारै बेंसीमा झर्छ । गोठमा गाईवस्तुलाई खुवाउन मलाई नुन बोकाएर पठाए । त्यही दिन दाजुहरु माथिल्लो बाटोबाट इलाम लागे ।
म नुन पुर्याएर जङ्गलको बाटो एक्लै उकालै उकालो महाभारत डाँडा (अहिलेको राँके) पुगेर बसिरहेँ । जेठा, माइला र साइँला दाजु आएपछि उनीहरुको पछाडि लागेर इलामतिर हिँडे ।
यो कुरा बाबुले थाहा पाएपछि हाम्रो एउटा कारोबारी चन्द्रमान भोटे आए । म त जान्नँ भनेँ । मानेन भने नल्याउनु भनेका रहेछन् । उनी फर्केर गए ।
मलाई दशैँको बिदापछि स्कुल सिद्धिने बेलामा भर्ना गरिदिए । तीन महिना पढेपछि क्लास चढेर उमेर ठूलो भो भन्दै कक्षा दुईमा भर्ना गरिदिए । नाम पनि मेरो घरमा अर्कै थियो, त्यहाँ अर्कै भो ।
यसरी कक्षा दुईमा भर्ना भई पढ्न थालेँ । कक्षा ७ पास गरेँ । २०११ सालमा दार्जीलिङमा गर्भमेन्ट हाईस्कुलमा ८ मा भर्ना भएँ ।
यसरी म गोठबाट भागेर स्कुल पढ्न थालेँ । यसरी मेरो औपचारिक शिक्षा सुरू भयो र दार्जिलिङ पुगियो ।
म केटाकेटीमा अरुजस्तो झोंक्की पनि होइन । अरु जस्तो ड्यासिङ, आक्रामक, त्यस्तो पनि होइन । अरुमाथि जाइलाग्ने, त्यस्तो पनि होइन । अलि लुरे–लुरे, कमजोर नै थिएँ जस्तो लाग्छ । अरुले हेप्नेखालको थिएँ । तर, मनमा चाहिँ इख राख्ने । त्यस्तोखालको स्वभाव थियो । तर, अरुसँग इख राखे पनि कहिल्यै सम्झिन्नँ । बिर्सिहाल्ने ।

मलाई अरुको अगाडि बढेर बोल्न सोल्न कहिल्यै आएन । स्कुलको ब्याक बेन्चर्स जस्तो । अगाडि गएर बसे पनि आपूm जान्ने छु भनेर बोल्न कहिल्यै आएन । अर्कालाई पछाडि पार्न कहिल्यै आएन । त्यस्तो किसिमको स्वभावमा हुर्कें ।
मेरो बिहा त धेरै पछि भएको । मैले त बिहा गर्न मानेको थिइनँ । म दार्जिलिङ पढ्दाखेरि मलाई १९६० को नोभेम्बर लास्टमा हुनुपर्छ, अचानक ब्लिडिङ भयो । मुखबाट रगत ह्वाल्ह्वाल्ती गयो । दाजुभाइ कोही छैन, एउटा स्थानीय राजन मितबाबु भन्नेकोमा बसेको ।
एउटा विद्यार्थी नेता, पछि उनी सोसल लिडर भए, ती मान्छेले ००७ सालमा नेपालको क्रान्तिमा पनि भाग लिए, तिनै मान्छेले थाहा पाएर मलाई डाक्टरकहाँ पुर्याए अनि उपचार सुरू भो । रगत ह्वाल ह्वाल जाने, टिबी भएछ । टिबी रोग दुईखाले हुँदो रहेछ । एउटा ब्लिडिङ गर्ने, अर्को सुख्खा खोकीवाला । मेरो चाहिँ ब्लिडिङवाला ।
यो सन् १९६० ताका । कसरी थाहा भयो भने म बिरामी हुँदाखेरि पुस १ गतेको काण्ड घट्यो । २०१७ साल पुस १ गते महेन्द्रले संसद् विघटन गर्यो । म त्यतिबेला बिरामी छु । तीन महिना पछाडि धेरै जाती भएँ । चौथो महिना लाग्दा नलाग्दा त्यै तारक कार्कीले एउटा डाक्टरको क्लिनिकमा राखेको थियो ।
त्यही साल कोलकाता युनिभर्सिटीबाट जानीजानी बङ्गालीहरुले नेपाली भाषालाई कलेजको पाठ्यक्रमबाट हटाएछन् । कोलकाताबाट विद्यार्थीहरुले आन्दोलनको पर्चा बाँड्न सुरू गरे । दार्जीलिङमा आइपुग्यो । तारकबहादुर कार्कीले मलाई संयोजक बनाएर अरु दुईजना साथीसमेतलाई संयोजन गरेर हातले लेखेका पोस्टरहरु टाँसेर एउटा बैठक आह्वान गरे । म बिरामी छु, अस्पतालमा । विद्यार्थीहरुको सभा डाकेछन् । मलाई हिँड् भनेर उठाएर लगे ।
त्यहाँ बिरामी हुँदै भए पनि भाषण गर्नुपर्यो । अरु साथीहरुले पनि भाषण गरे । अनि समिति गठन भएर डाक्टरको क्याबिनस्याबिन सबै छोडेर ३/४ महिना विद्यार्थी आन्दोलनमा लागियो ।
आन्दोलन लामो गर्यौँ तर १५ दिनको अल्टिमेटम बित्दा नबित्दा उनीहरुले त्यो पाठ्यक्रम राखिदिए । त्यसपछि त्यो आन्दोलनलाई राजनीतिक पार्टीहरुले हातमा लिन खोजे । हामी मानेनौँ ।
माइला बाजेले उनको अफिस चलाउन दिए । खर्च पनि कहिले–कहिले यसो चियासिया दिन्थे । तर पूरै पार्टीलाई सहयोग नगर्ने भएपछि पछिबाट गणेशलाल सुब्बाको अध्यक्षतामा इन्द्रबहादुर राई सचिव भएर नेपाली भाषा मान्यता समिति संस्था बनेपछि त्यसमा हामीले विद्यार्थी आन्दोलनलाई हालिदियौं ।
मेरो स्वास्थ्यमा फेरि नोभेम्बर महिना आउँदा नआउँदा ब्लिडिङ भो । फेरि रिल्याप्स भो । त्यतिन्जेलसम्म फिदिममा राजाले उच्चस्तरीय दौडाहा गठन गरेर पञ्चायतको पक्षमा मान्छे पठाए । उद्वीपसिंह थापा कि के भन्ने धनकुटाको मान्छे होला, उनको नेतृत्वमा ।
मेरा साइँला दाइ, अर्को काकाको छोरा साइला कृष्णविक्रम नेम्बाङ (धर्मेन्द्रविक्रमको बाबु) र गाउँका अरु मिलेर बन्दुक खोजेर क्रान्ति सुरू गरे उनीहरुले । सिपाही भएर जाने त मेरा साइला दाइको साथीहरु स्कुल पढ्दाका साथी थिए । बिचरा रोगैले पछि मरे ।
त्यहाँबाट बन्दुक खोजेर उनीहरु दार्जीलिङसम्म आइपुगे । नेपालबाट बाहिर जानेहरु कोलकातामा थुप्रिए । सुवर्ण शसशेरको छत्रछायामा । आर्थिक सहयोग उसैले गर्ने रहेछन् । पछिबाट दार्जीलिङ एउटा केन्द्र भयो । पूर्वेलीहरुको चाहिँ पूर्वी क्षेत्र, धनकुटा जिल्लाको ।
धनकुटा जिल्ला भनेको त्यतिबेला अहिलेका पाँचवटा जिल्ला । बिराटनगरबाहेक । झापादेखि लिएर ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम क्षेत्रको केन्द्र दार्जीलिङ भयो ।

म सक्रिय भएर त लागेको होइन तर त्यो विद्यार्थी आन्दोलनले गर्दाखेरि मेरो रिल्याप्स भो । पढाइ बिग्रँदै गयो । मैले अरु अन्उ क्रियाकलापमा राम्रो गरेको हुनाले सेन्टअप टेस्ट गराइदियो । पछि बीएमा फाइनल दिने बेलामा फेरि अर्को रिल्याप्स भो र मेरो फाइनल खेर गयो । अस्पताल बस्नुपर्यो । त्योपालि चाहिँ डाक्टरले उनको निजी अब्जरबेसन बेडमा तीन महिना बस्न दिए । पछाडि सारै आलोचना भएछ । अब जा, भनेपछि छोडेर बाहिर निस्किएँ । त्यहीँ ३ महिना बस्दाखेरि तेस्रो आयाम (साहित्यिक पत्रिका) निकालियो ।
यो पनि-
मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’
साहित्यको कुरा गर्दा स्कुलमा हामी कर्माएकल होस्टलमा बस्थ्यौं । सरकारी हाइस्कुलको होस्टल थियो । यतिबेला दार्जीलिङमा प्रिन्ट मिडिया महँगो थियो । लेटर प्रेस एउटा–दुइटा थिए । राम्रो भनेको पारसमणि प्रधानको प्रेस थियो । त्यहाँ जान सक्ने विद्यार्थीहरुको हैसियत हुने नै भएन । अरु स–साना प्रेसहरु थिए तर महँगा । हामीले पत्रिका छाप्ने त कुरो आउने पनि भएन ।
दार्जीलिङमा त्यतिबेला हस्तलिखित पत्रिका थियो मेहरो । हरेक सामाजिक संस्थाका आ–आफ्नो हस्तलिखित पत्रिका सालमा एक पटक निकाल्ने । स्कुलहरुले निकाल्ने । त्यसरी हामीले हस्तलिखित पत्रिका कर्माएकल होस्टलबाट पनि निकाल्न थाल्यौँ ।
सन् १९५४ सालदेखि जानी नजानी लेख्न सुरू गरियो । नेपालबाट आएको, यसको नेपाली राम्रो हुन्छ भनेर फुर्का हाले । राम्रो त के हुने ? यसरी लेख्न सुरू गरेर साहित्यमा प्रवेश गरियो ।
(साहित्यकार प्राज्ञ बैरागी काइँलाले पत्रकार प्रदीप मेन्याङ्बोसँग गर्नुभएको कुराकानीमा आधारित यो सामग्री आजदेखि बजारमा आएको ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ पुस्तकबाट साभार गरिएको हो – सं )
प्रतिक्रिया