हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो | Khabarhub Khabarhub

पूर्वगभर्नर क्षेत्रीलाई ५ प्रश्न

हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

बाह्य आर्थिक सहयोग सजिलो छैन, देशले लामो समय दुःख पाउने अवस्था छ



काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर देशलाई अन्तरिम सरकारको अवस्थामा पुर्‍याइदिएको छ । जेन–जी आन्दोलनको क्रममा करिब ७२ जनाको मृत्युसँगै मुलुकभरि खर्बौं बराबरको सरकारी एवं सार्वजनिक र निजी भौतिक संरचननामा क्षति पुगेको छ ।

विगत केही वर्षदेखि सरकारले आफ्नो सञ्चालन खर्चसमेत राजस्व आम्दानीबाट जुटाउन नसकेको अवस्थामा सरकारको अगाडि पुनर्निर्माणको ठूलो चुनौती खडा भएको छ ।

साथै, निजी क्षेत्रका लागि थप लगानीको वातावरण निर्माणमा थप सहजीकरण गर्नुपर्ने अवस्था छ ।

यसै सन्दर्भमा खबरहबकर्मी नारायण अर्यालले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीलाई ५ वटा समसामयिक प्रश्न सोधेका छन् ।

जेन–जी आन्दोलनका कारण सार्वजनिक र निजी क्षेत्रमा भएको ठूलो क्षतिको बीचमा अन्तरिम सरकारले अब कस्तो अर्थराजनीति अख्तियार गर्नुपर्ला ?

सबैभन्दा पहिला मनोविज्ञानलाई दह्रो बनाउनुपर्ने अवस्था छ । जनता, लगानीकर्ता तथा उद्यमी व्यवसायीको र त्योभन्दा बढी सरकारी संयन्त्रमा पनि सुरक्षा निकायको मनोबल खस्किएको अवस्था देखिन्छ । त्यसकारण सबैको मनोबल दह्रो बनाउने विषयमा सरकारले काम गर्नुपर्छ । त्यसो भयो भने सबै क्षेत्रले पूरा गर्नुपर्ने आ–आफ्नो दायित्व विस्तारै लयमा आउने स्थिति निर्माण हुन्छ । र, विकास निर्माण एवं पुनर्निर्माणको निम्ति राम्रो आधार बन्न सक्छ ।

जहाँसम्म आर्थिक पक्षको कुरा छ, हाम्रो आफ्नै आर्थिक स्रोतबाट यी सबै कुराहरू पुनर्निर्माण गर्न सकिने अवस्था देखिँदैन । हामीले विगतमा ठूला–ठूला संकट, जनयुद्धपछिको अवस्थामा, भूकम्प र कोभिड महामारीको अवस्थामा पनि विभिन्न अन्तर्राष्ट्रिय द्वीपक्षीय र बहुपक्षीय सहयोग लिएका थियौँ । त्यतिबेला हारगुहार गर्दा सबैले सुनेका थिए । पछाडि परेको मुलुकले अब एउटा दिशा लिन्छ भन्ने आधारमा हाम्रा कुरा उनीहरूले सुनेका थिए । तर, यसपटकको घटनाले के देखायो भने जति निर्माण गर्‍यो, सजिलैसँग यिनीहरूले नष्ट गर्न सक्दा रहेछन् । सिंहदरबार र सर्वोच्च अदालत भनेका त साँच्चीकै धरोहर हुन् नि, जुनसुकै मूल्यमा पनि यी बच्नुपर्छ भन्ने हुन्थ्यो होला नि । हामीलाई सहयोग गर्नेहरूलाई जति गरे पनि त्यसलाई सुरक्षा गर्न सक्ने अवस्था नआएपछि त के अर्थ भयो र भन्ने हुने भयो ।

भनेपछि, तपाईको भनाइअनुसार अब पुनर्निमार्णको निम्ति अन्तर्राष्ट्रिय समुदायसँग याचना गर्दा पनि सहयोग पाउने सम्भावना कम छ ?

हो, त्यति सजिलैसँग आउँदैन र पर्याप्त मात्रामा आउँदैन । दोस्रो– विश्व नै समस्यामा अल्झिएको छ । अमेरिकाको ट्रम्प प्रशासनले ट्यारिफ बढाउने नाममा विश्वका अन्य मुलुकलाई त्राहिमाम बनाएको छ । युरोपमा पनि रसिया र नेटो सम्बद्ध मुलुकबीच समस्या छ । नजिकका छिमेकी मुलुक भारत र चीनबीच पनि कसरी शक्ति हासिल गर्ने भन्ने होड चलिरहेको छ । यी कारणले गर्दा विश्वका विकसित मुलुकको अरू मुलुकलाई हेर्ने दृष्टिकोण पहिलेको जस्तो उदार हुन सक्दैन । त्यसो भएको हुनाले हामीले बाह्य सहयोग सजिलै प्राप्त गर्न सक्ने अवस्था रहँदैन ।

अहिलेको राजनीतिक घटनासँगै मुलुकको आर्थिक वृद्धिदरमा पनि असर गर्ने देख्नुहुन्छ ?

यसभन्दा अगाडि नै के सुनिन्थ्यो भने ल है नेपालबाट पुँजी पलायन भयो, दुबईतिर फ्ल्याट लिएर बस्ने उद्योगपति, व्यवसायी भेटिए भन्ने कुरा आउँथ्यो । दुई दिनको घटनाले यति अकल्पनीय क्षति व्यहोर्न पर्ने परिस्थिति आउँछ भने हामी कति सक्षम रहेछौँ भनेर सोच्नुपर्ने स्थिति बनेको छ । जसले गर्दा आन्तरिकरूपमा पनि थप लगानी हुने सम्भावना कम भयो भने बाह्य लगानीका लागि सजिलै वातावरण बन्ने देखिँदैन । जसले गर्दा राजस्व आम्दानी झन कम हुन सक्ने भयो ।

हामीले आन्तरिक उत्पादन गर्न त सकेका छैनौँ, जसले गर्दा व्यापार घाटा बढ्यो भनिरहेका छौँ । सँगै आन्तरिक उपभोगमा वृद्धि भएन भने व्यापार पनि कसरी होला ? जब कि हाम्रो राजस्वको मुख्य स्रोत नै त्यही हो । अन्य स्रोतमा उद्योगीका लागि राम्रो वातावरण छ भन्ने लागि नराखेको र नेपालले पनि बाहिर लगानी गर्न सक्ने कानुन ल्याएको अवस्था छ, जसले गर्दा भएको पुँजी पनि बाहिर जान्छ कि भन्ने अड्कल गर्ने ठाउँ देखिएको छ । हामी निकै ठूलो खाडलमा परिरहेको अनुभूति गरेको छु मैले त ।

आर्थिक दृष्टिकोणले कतै न कतै कालो बादलमा चाँदीको घेरा देख्न सकिँदैन र ?

त्यो हुनसक्छ । अहिलेको सरकारले पारदर्शिताको हिसाबले हिजो भएका सबै कमिकमजोरीलाई मनन गरेर इमान्दारिताका साथ अडिग भएर जान थाल्यो भने अघि भनिएका समस्याहरूलाई न्यूनीकरण गर्न सकिने सम्भावना रहन्छ पनि ।

त्यो भनेको अहिलेको यो आन्दोलनको मुख्य विषय भ्रष्टाचार हो भनिएकोमा मचाहिँ त्यो कुरासँग त्यति सहमत हुन्नँ । किनकि कुनचाहिँ पार्टीले हामी भ्रष्टाचार गर्छौं भनेका थिए र ? कुन सुरक्षा संयन्त्रले हामी भ्रष्टाचारको शून्य सहनशीलतामा छौँ भन्न छाडेका थिए र ? अहिले पोखिएको आक्रोश भ्रष्टाचारसँग मात्रै जोडिएको थियो भन्ने मलाई लाग्दैन । यसमा राजनीतिक अस्थिरताको पनि कुरा छ । यहाँ केही राजनीतिक दलको भूमिका पनि देखियो नि ।

त्यसैले, दीर्घकालीन रूपमा हाम्रो मुलुक भनेको बुद्धको देश हो भनेर शिक्षा र व्यवहारको माध्यमबाट लैजान सकियो भने हामीले यो समस्याबाट मुक्त हुन सक्छौँ र विश्वले पनि पत्याउँछ । नत्र हरेक १०/१० वर्षमा यस्तै ठूला–ठूला नोक्सानी व्यहोर्नुपर्ने अनि हारगुहार गर्ने अवस्था रहिरहने हो भने नेपालले निकै लामो समय दुःख पाउने अवस्था बन्छ ।

अन्तरिम सरकारको जिम्मेवारी निर्वाचन गराउने भन्ने अवस्थामा आर्थिक चलायमानको वातावरण बनाउन राजनीतिक दलले कस्तो भूमिका खेल्नुपर्ने देख्नुहुन्छ ?

निर्वाचनको परिणामलाई नतमस्तक भएर स्वीकार गर्ने वातावरण भयो भने त्यो होला । हुन त यो विकसित मुलुकहरूमा पनि नहुँदो रहेछ । जुन कुरा अमेरिका, ब्राजिल लगायतका मुलुकमा पनि हामीले देखेका छौँ ।

यो राजनीतिक परिवर्तनलाई राजनीतिक दलहरूले कसरी लिएका छन् भन्ने कुरा थाहा पाउन अहिले पनि गाह्रो परेको अवस्था छ । विरोध गर्न सुरु गरेका छन् भन्ने हिसाबले हेर्दा यो परिवर्तन नेपालको धरातलसम्म पुगेको छैन भन्ने अध्ययनमा सायद उहाँहरू हुनुहुन्छ । उहाँहरूसँग संगठन पनि छ, उहाँहरू निर्वाचनमा नै हामीले देखाउँछौँ भनेर गइदिनुभयो भने स्वस्थ वातावरण बन्छ ।

तर, त्योभन्दा अगाडि नै सरकारको वैधता, संवैधानिकतालगायतको विषय उठाउन लाग्नुभयो भने थिचोमिचोमा नै देश अल्झिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा निर्वाचन समयमा नै हुन नसक्ने परिस्थिति समेत बन्छ । त्यो भनेको दुर्भाग्यपूर्ण अवस्था हो भन्ने मलाई लाग्छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : १० बजे

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउनू

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा

राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ