‘बालेनले पार्टी खोल्नु हुन्‍न, मेयरमा पनि दोहोरिनु हुन्‍न’ | Khabarhub Khabarhub

‘बालेनले पार्टी खोल्नु हुन्‍न, मेयरमा पनि दोहोरिनु हुन्‍न’



काठमाडौं– जेन-जी आन्दोलनमा पर्दा पछाडि बसेर भूमिका खेलेका भनिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ सुशीला कार्कीको नेतृत्वमा सरकार बनिसकेपछि विवादमा परिरहेका छन् ।

सामाजिक सञ्जालललाई नै माध्यम बनाएर उदाएका उनी जेन-जीको आन्दोलनपछि लुकेर बसेको भन्दै समर्थक नै रिसाइरहेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा होमिएका युवाहरूले केपी शर्मा ओली सत्ताच्युत भएपछि बालेनलाई मुलुकको नेतृत्व गर्न आह्वान गरेका थिए । तर, उनी बाहिर निस्केनन् । यस्तो अवस्थामा उनलाई कुना पसेर बसेको आरोप लाग्यो ।

त्यतिमात्रै होइन, उनी जेन-जी आन्दोलनमा शहीद भएकाहरूको सामूहिक दाहसंस्कारका क्रममा मलामी समेत गएनन् । उनले भौतिक रूपमा उपस्थित भएर श्रद्धाञ्जली पनि दिएनन् । आन्दोलनका घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरूप्रति सहानुभूति राख्नसमेत गएनन् ।

यो बालेनप्रति कुनै बनिबनाउ आरोप या टिप्पणी होइन । बालेनकै व्यवहारका कारण सार्वजनिक भएकै विषय हो ।

कुनै पनि आन्दोलन सफल वा असफल जे हुँदा पनि नेतृत्वले घट्नाक्रम, क्षति र उपलब्धिको जिम्मेवारी लिन्छ । तर, बालेनलाई लाखौँ युवाहरूले नयाँ परिस्थितिको नेतृत्व लिन आह्वान गर्दा तयार भएनन्, आन्दोलनपछिको अवस्थामा मैदानमा समेत देखिन सकेनन् ।

उनीनिकट विश्वस्त व्यक्तिबाट प्राप्त सूचनाअनुसार भदौ २३ को घट्नापछि बालेनलाई सडकमा जानुपर्छ भनेका थिए । तर, उनले आफू सडकमा जाने विषयमा संशय प्रकट गर्दै आफ्नोबारे ‘सुरक्षा चासो’ लिएर के होला भन्ने भाव प्रकट गरेका थिए ।

आन्दोलनपछि मुलुक सरकारविहीन बनेको अवस्थामा बालेन किन सार्वजनिक भइरहेका छैनन् ? जिम्मेवारी र नेतृत्व लिन किन तयार भइरहेका छैनन् भन्ने धेरैजनाले जिज्ञासा राखिरहेका थिए । 

विस्तारै केही युवा पंक्ति र आममान्छेले पनि बालेनको भूमिका सकारात्मक नभएको भन्दै सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्न गर्दै थिए । तर, उनी अझै पनि बाहिर निस्किन्छन् भन्ने आशा ती मान्छेहरूले गरेको देखिन्थ्यो । त्यहीबीचमा टीकाराम यात्रीसँग सौरभले अन्तरवार्ता दिने क्रममा बालेनलाई ‘लुसिफर’ को संज्ञा दिए ।

बालेनबारे सौरभको उक्त परिभाषाले सामाजिक सञ्जालदेखि मिडिया र चियापसलसम्म ठाउँ पायो । जसले बालेनको पुरानो कदलाई पनि केही घटाएको देख्न सकिन्छ ।

सुशीला कार्की नेतृत्वमा सरकार निर्माण भएसँगै उनले पहिलो सम्बोधनमै जेन-जी आन्दोलनका क्रममा भएको क्षतिलाई विध्वंस भनेर चित्रित गरिन् । साथै, उनले सुधारको कुनै खाका प्रस्तुत गरिनन्, मात्रै चुनाव गराउने बताइन् ।

आम जेन-जीले अघोषित रूपमा स्वीकार गरेका बालेनले पनि जेन-जीका माग के हुन्, तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुराको नेतृत्व गर्ने र सरकारलाई सहयोग वा दबाब दिने कामको सुरुवात गरेनन् । जसले गर्दा जेन-जी नै नेतृत्वविहीन भए ।

पछिल्ला दिनमा जेन-जीको नाममा देखिएका कतिपय नेता तथा व्यक्तिको पृष्ठभूमि र भूमिकाले जेन-जी आन्दोलनले स्थापित गरेको शक्ति क्षयीकरण हुँदै गएको देखिएको छ । त्यससँगै परम्परागत राजनीतिक दलले जेन-जीको मागअनुसार नसुध्री टाउको उठाउने प्रयत्न गरेका छन् । जसको नेतृत्व अहिले कांग्रेसभन्दा एमालेले गरेको छ ।

जेन-जी आन्दोलनको पूर्वतयारीका क्रममा र आन्दोलनकैबीचमा युवालाई उचाल्ने गरी सामाजिक सञ्जालमा लेख्दै आएका बालेनले त्यसपछि आफ्ना स्टाटसहरू आफ्ना कामतर्फ केन्द्रित गर्न लागे । उनले आफूलाई ‘लुसिफर’को रूपमा स्थापित गरिएको विषयको पनि प्रतिवाद गरेनन् । 

सोमबार मात्रै उनले आफू सत्यको पक्षमा रहेको भन्न खोज्नेगरी कविता लेखे । तर, कवितामा प्रयोग गरिएको ‘किसानझैँ फोहोर’ भन्ने शब्दप्रति धेरैले आक्रमण गरे । एमालेको किसान महासंघले त विज्ञप्ति नै निकालेर विरोध गर्‍यो । यद्यपि उनले कवितामा किसानलाई फोहोर भनेर भन्न खोजेको भने देखिँदैन । तर त्यो कविता उनले आफ्नो किताब ‘बालेन’मा लेखिसकेका थिए । एक वर्षअघि पनि उनले त्यही कविता फेसबुकमा हालेका थिए ।

सोमबारको कवितासम्म आउँदा सामाजिक सञ्जालमा बालेनको बलियो उपस्थिति कमजोर हुँदै गएको देखिएको छ । जेन-जीको आन्दोलनपछिको अवस्थामा उनी प्रतिरक्षाको स्थितिमा पुगेको देखिन्छ । यो सामाजिक सञ्जालबाट गरिएको मूल्यांकन भए पनि उनकानिकटहरूसँग उनले आफू ‘ब्याक’ भएको बताएका छन् ।

यही हप्ता बालेनले आफ्नानिकट सहयोगीहरूलाई ‘आफूले अब पार्टी नखोल्ने र आगामी मेयरको निर्वाचनमा पनि नउठ्ने’ बताएका छन् । खासगरी आफूलाई सहयोग गर्दै आएको ‘शक्ति पछाडि हटेको र आफू अगाडि बढ्ने स्थिति नरहेको’ भनाइ उनले राखेको एकजना निकट सहकर्मीले खुलाएका छन् ।

जेन-जी आन्दोलनपूर्व उनका एक सहकर्मीले बालेनको नेतृत्वमा पार्टी निर्माण गर्ने वातावरण बने पनि त्यसमा निर्णय दिन नसकेको बताएका छन् । उनले बालेनमा निर्णय क्षमतामा अभाव रहेको बताएका थिए । यसका साथै उनले ‘उनको संगत कमजोर र अनुभवहीन व्यक्तिहरूसँग भएका कारण विश्वासको वातावरण पनि नभएको’ बताएका थिए ।

पछिल्लो समय बालेनलाई रवि लामिछानेको ठाउँमा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीमा लबिइङ चलिरहेको छ । बालेन र ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा भित्र्याउने गरी उपसभापति स्वर्णिम वाग्लेसहितले छलफल चलाइरहेका छन् ।

तर, बालेन अहिलेलाई अरू पार्टीमा पनि नजाने र आफू पनि दल नखोल्ने पक्षमा दे‍खिएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : १७ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म