काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो पहाडी जिल्ला कडा चट्टान र बलौटे माटोको सम्मिश्रणबाट बनेको छ ।
चारैतिरबाट सेता हिमालले घेरिएको इलाम सुन्दर चियाबगानले सजिएको छ । त्यही दृश्य नियाल्दै रैथाने जीवनशैली अनुभूत गर्न एक पटक पुग्ने हरकोहीको चाहना हुन्छ ।
तर, असोज १८, १९ र २० गतेको भारी वर्षापछि इलामको यो सुन्दरतामा ग्रहण लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाममा यसपटक परेको ३०१.५ मिलिमिटर वर्षाले ४० वर्षयताकै रेकर्ड तोडेको थियो । भारी वर्षापछि बाढी–पहिरोमा परी ३९ जनाको जीवन गुमेको छ ।
उक्त अकल्पनीय विपत्तिबाट हजारौँ घाइते भएका छन् भने घरबारविहीन कयौँले शरद ऋतुको चिसो रात कटाउन छानो र मानोका लागि सरकार र आफन्तको सहारा खोजिरहेका छन् । राहत लिएर जाने सडक सञ्जाल ठप्प हुँदा खाद्यान्न, औषधि, पानी लगायत अत्यावश्यक सामाग्रीको अभाव उस्तै छ ।
इलाम मात्रै होइन, ताप्लेजुङ र पाँचथरसहितका जिल्ला पनि केही वर्षयता प्राकृतिक विपत्तिबाट प्रताडित छन् । अन्य वर्षको तुलनामा यसपटक विपदका बेला सरकारको सक्रियताले आशाको दियो बालेको छ।
इलामको अवस्थाबारे समाचार तयार गर्ने क्रममा सम्पर्क गर्न खोन्दा अधिकांश जनप्रतिनिधि र सरकारका निकाय कोही मैदानमै रहेको, कोही खटिन हतार भएकाले बोल्ने फुर्सद पनि थिए । खबरहवसगँको टेलिफोन सम्पर्कमा त्यहाँको ताजा अवस्थाबारे के भन्छन् त इलामका स्थानीय, सरकारी निकायका कर्मचारी तथा जनप्रतिनिधि ?

के भन्छन् स्थानीय ?
इलाम नगरबासी निरज खड्काका अनुसार इलामको अवस्था हेर्दा ९ दिनदेखि मेची राजमार्ग अन्तर्गतको राजदुवाली माईखोला सडकखण्ड करिब ४ किलोमिटर क्षतिग्रस्त छ । धेरै प्रयास गर्दा पनि गत शनिबार राति ९ बजेपछि सवारी पास गराइसक्दा फेरि सडक दबेको छ । अब त्यो खण्ड लामो समय खुल्ने अवस्था छैन ।
त्यहाँ सडकका पाँचवटा घुम्ती सोहोरेर खोलामा झारेको छ । सडक पूरै तहसनहस छ । यहाँको समस्या पुरानै हो । गतसाल पनि त्यहाँ करिब हप्ता दिन सडक बन्द भयो । विकल्पका लागि प्रदेश हुँदै केन्द्रसम्म जाँदा पनि सुनुवाइ भएन । बजेट प्रयाप्त आउन सकेन । अहिले समस्या बल्झियो । इलाम सदरमुकामदेखि बिर्तामोड जोड्ने करिब ५० किलोमिटरको फास्ट ट्रयाक केचना–कञ्चनजंघा नै अबको विकल्प हो ।

‘यो खण्डबाट १ घण्टा १५ मिनेटमा बिर्तामोड पुगिन्छ । माईखोला राजदुवालीको बाटो जाँदा ८४ किलोमिटर पर्छ । निर्माणाधीन फास्ट ट्रयाकको करिब ९ किलोमिटर पिच हुन बाँकी छ । अहिले पुलसँगै निर्माण सामाग्री बगाएले समस्या भएको हो ।’
त्यसपछि वैकल्पिक रुपमा जोगमाई– तिल्केनी सिमलगोलाइ खण्डमा गत असारमा बेलिब्रिज हालिएको थियो । त्यो पनि भत्काएर लग्यो । त्यहाँ आइतबार प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन, स्थानीय जनप्रतिनिधि लगायतको निरीक्षणपछि डाइभर्सन निर्माणमा हुँदैछ । यो काम अन्तिम चरणमा पुगिसकेको छ । सम्भवतः तत्कालै यो खण्ड खुल्छ । ग्यास लगायत अत्यावश्यक सामाग्री अड्किएका छन् । सिलपुरमा ३ सय वटा ग्यास, डिजेल ३ हजार लिटर त्यहाँ अड्किएको छ । इलाममा डिजेल अभाव छ ।
हाइड्रोपावर सबै बन्द भएकाले खोलामा पानीको वहाव घटेको छैन । त्यहीकारण वैकल्पिक मार्ग सुचारु गर्न समस्या भइरहेको छ । इलाम नगरपालिकाको पुवाखोलाको बेलिब्रिज बगाएपछि त्यहाँ अस्थायी काठे पुल निर्माण गरिएको छ ।
‘सेनासहित ५-६ सयजना जुटेर काठेपुल निर्माण गरिएको छ । यो पुलले केचना–कञ्चनजङ्घा खण्डलाई इलाम नगरपालिकाको ११ नम्बर वडा र सदरमुकाम मेची राजमार्गसम्पर्क जोड्छ । स्थानीय र सेनाको सहकार्यमा निर्माण गरिएको काठेपुलबाट साना सवारी आवतजावत भइरहेका छन । अब नागरिकले खाद्यान्न लगायत किनमेल गर्न सदरमुकामसम्म जान पाउनेछन्’, उनले थपे, माई नगरपालिकाको वडा नं. ८ मा बाँसको अस्थायी पुल बनाइएको छ । आउजाउ गर्ने अवस्था छ । जो खिमको लेखाजोखा छैन ।’

जोगमाईमा डाइभर्सन बनाएकाले यस खण्ड सुचारू भएपछि ग्यास र औषधिलगायत आयातित सामाग्री इलाम पाँचथर र ताप्लेजुङ ल्याउन सकिने उनले बताए ।
अहिले सबै पालिकामा बिजुली बल्न थालेको छ । खानेपानी तहसनहस भएको छ, इलामस्थित खानेपानी डिभिजन कार्यालय सारेर धनकुटा लगिएको छ । इलाम नगरपालिकामा पानी नआएको हप्तादिन भयो । दमकल र टयाङ्करबाट पानी घर–घरमा पुर्याउने व्यवस्था भइरहेको छ ।
४२ किलोमिटर परबाट पानी ल्याउनुपर्थ्यो, त्यो पूर्णरुपमा क्षतिग्रस्त छ । फिकलको अवस्था त्यस्तै छ, जिल्लामा अहिले प्राविधिक छैनन् । विपद् व्यवस्थापनमा सरकारको सक्रियता हेर्दा भने आश लाग्ने केही ठाउँ देखिएको छ ।
‘राहत कोषबाट २ लाख मृतक परिवारलाई दिइएको छ, प्रदेश सरकारले दिने भनेको एक लाख आइसकेको छैन, नगरपालिकाले सहयोग गरिरहेको छ । जनप्रतिनिधि, कर्मचारी, सडक विभाग, सुरक्षा निकायले समन्वय गरेका छन् । तर कतिपयले समयमै नआएको भनेर गुनासो गरेका छन् । एउटा वडाबाट अर्को वडा जान सक्ने अवस्था रहेन ।
के भन्छन् जनप्रतिनिधि ?
विष्णुकुमारी लिम्बू, उप–प्रमुख, इलाम नगरपालिका
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त नगरपालिका कार्यालय सामान्य अवस्थामा फर्किन नपाउँदै अर्को विपत्ति सामना गर्नुपरेको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बूले बताइन् । ‘जेन–जी आन्दोलनका कारण करिब साढे सात करोड रुपैँया बराबरको क्षति भोग्यौं, त्यसबाट उठ्दानउठ्दै फेरि अर्को बज्रपात परेको छ’, उनले सुनाइन् ।
राजदुवाली खण्ड तत्काल खोल्न खोजेको नसकिएको उनले बताइन् । अब अर्को विकल्पमा सिमलबोलाईबाट खोलालाई फिँजाएर गाडी तार्ने भनिएको उनले बताइन् । डेढ महिनाअगाडि उद्घाटन गरेको इलाम नगरपालिका ९ र ११ जोड्ने बाटोमा पर्ने बेलासेको पुल पनि बगेको छ ।
इलाम नगपालिकामा मात्रै ७ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ मा दशैँ मान्न आएका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । त्यही वडामा एक जना अझै बेपत्ता छन् । धानबाली, अलैँची बारी, अकबरे लगायत र पशुपंक्षीको क्षति आंकलन गर्नै नसकिने छ ।
१० नम्बर वडाको राजदुवाली जोगमाईखोला बगरमा बस्ने २७ परिवार विस्थापित भएका छन । त्यहाँ २०६३ सालमा १४ रोपनी क्षेत्रफलमा बनेको माईभगवती वृद्धाआश्रम पनि पहिरोको जोखिममा छ ।

विस्थापित परिवारलाई एक सय ९१ क्षेत्रफलमा फैलिएको बगरमै निर्माणधीन क्रिकेट मैदानतर्फ टेन्ट बनाएर व्यवस्थापन गर्ने योजना छ । पछि उनीहरूलाई सुकुम्बासी घोषणा गरि दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने प्रारम्भिक छलफल चलेको छ ।
भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले अवलोकन गरेका छन् । त्यहाँका पीडितले उनलाई सबै कुरा बताएका छन् । तीन महिनासम्म संकटग्रस्त क्षेत्र भनिएको छ। अब बजेट आउने आशा छ । सिँचाइका लागि २०७९ को स्थानीय चुनावपछि बनाइएका २७ वटा पक्की कुलोमा क्षति भएको छ ।
उनी थप्छिन्, ‘हामी मान्छे नै बदमास हौँ । खोलाको बहाव नै मोडिने गरि गिठ्टी–बालुवा, ढुङ्गाा निकालेका छौँ, मान्छेकै बदमासीले खोलो बस्तीमा पसेको हो ।’

सूर्यप्रसाद पोखरेल, प्रमुख, सूर्योदय नगरपालिका
इलाम पहाडी जिल्लाहरूमा सबैभन्दा बलियो बनोट भएको मानिन्थ्यो । तर यस पटक हामीलाई प्रकृतिले झुक्याएको छ । बाढीपहिरोले यस पालिकामा आठ जनाको मृत्यु भएको छ । ३५ घर पूरै क्षतिग्रस्त छन् ।
एक सय १९ घर बस्न सक्ने अवस्थामा छैनन् । पशुजन्य तथा कृषि क्षेत्रको क्षति संकलन थालेका छौँ । तत्कालका लागि मृत्यु भएकामध्ये २ जना पाँचथरकालाई उतैबाट राहत र नगद प्रदान गरिसकेका छौँ । जसमा किरिया खर्च बापत् प्रतिपरिवार ५० हजार र २ लाख केन्द्र सरकारबाट दिएका छौं । एकै परिवारमा धेरै सदस्यको मृत्यु भए १-१ लाख रुपैँया प्रतिव्यक्ति थप प्रदान गरेका छौँ ।
त्यससँगै लत्ता कपडा, खाद्यान्नका लागि आश्रयस्थल हुनेका लागि तीनै तहका सरकारको एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने उनले बताए । ६-७ परिवारलाई ओढ्ने, ओछ्याउने, पकाउने भाँडाकुँडा खाद्यान्नको व्यवस्था गरिएको छ । प्रशासनको स्वीकृति लिएर मात्रै गर्ने भन्ने छ ।
सहायक प्रजिअ भोलानाथ गुरागाईं के भन्छन् ?
बाढीपहिरोले इलामभित्र हालसम्म ७ सय १८ जना प्रभावित भएका छन् । ७ सय ५३ घरमा क्षति पुगेको छ । ३९ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन । १३ जना घाइते उपचाररत छन् । २ सय ९० घरमा पहिरो र बाढीले क्षति पुगेको छ ।
यस्तै विस्थापित ४ सयजना मध्ये ३ सय ८९ जना आफन्तको आश्रयमा छन् । ११ जनालाई सामुदायिक भवनमा राखिएको छ । विवरण संकलन भइरहेकाले यो संख्या अझै बढ्नेछ ।
राहत वितरण सरकारी निकाय, निजी क्षेत्र र स्थानीयको सहकार्य भइरहेको छ । विपदमा १९ पक्की पुल, दुईवटा बेलिब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ । ३१ सडकमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
सहायक प्रजिअ गुरागाईंले बाढी-पहिरो पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न पनि अपील गरेका छन् । उनले बुधबार एक सूचना जारी गर्दै विभिन्न व्यक्ति र संघसंस्थाबाट स्वेच्छिक रूपमा राहत वितरण गरिएको भन्ने जानकारी आएको बताएका छन् ।
उनले यो अवस्थामा जिल्ला राहत कोषबाट मात्रै एकद्वार नीतिअनुसार राहत दिन र वितरण गरिसकिएको राहतको विवरण पठाउन पनि भनेका छन् । उनले अब वितरण गर्ने राहतका लागि प्रशासन कार्यालयको अनुमति लिनु पनि आग्रह गरेका छन् ।
मेची राजमार्गको विकल्पमा इलाम–तिल्केनी–बञ्जवेदी–नामसालिङ–नयाँबजार हुँदै फिक्कल निस्किने सडकखण्ड प्रयोग गर्न सकिने अवस्था छ । आइतबारदेखि अस्थायी रुपमा क्षतिग्रस्त पुल फिलिङ गरेर दिनको समयमा साना सवारी मात्रै चलाउन दिइएको छ।
इलाम नगरपालिका–९ भञ्ज्याङ्–सोमबारे–शितली–शुक्रबारे तथा मंगलबारे–बेलासे हुँदै झापा आवतजावत गर्ने खण्डमा पर्ने माइखोलाको पुल प्रयोग गर्न नसकिने प्राविधिक अध्ययनबाट जानकारी आएको छ । पुल लोड धान्न सक्ने क्षमतामा छैन । त्यहाँ जोखिम रहँदारहदै स्थानीयले अटेरी गरेकाले प्रयोग नगर्न भनेका छौं ।
‘सुरक्षाकर्मी नै खटाएर आवतजावतमा रोक लगाएका छौँ । यस्तै झावा पुवाखोलामा पनि स्थानीय र नेपाली सेनाको प्रयासमा काठको साँघु निर्माण भएको छ । उक्त काठको फड्के हुँदै साना सवारी वारपार गराइएको पाइएपछि सूचना जारी गरिसकेका छौँ’, उनले भने ।

पवन भट्टराई, प्रमुख, सडक डिभिजन कार्यालय
सडक खुलाउन सक्दो प्रयास गरिहेका छौँ । राजदुवाली खण्ड तत्काल सुचारु गर्न सकिँदैन । आइतबारबाट जिल्ला प्रशासनसहित सरोकारवालको स्थलगत निरिक्षणपछि माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन बनाइएको छ। प्राविधिक समस्या आइपर्दा ४ दिनसम्म काम पूरा गर्न नसकेको अवस्था बुधबार पूरा भएको छ ।
बेलासे पुल लोड धान्न सक्ने क्षमतामा नरहेको रिपोर्ट छ । त्यहाँबाट आवतजावत गर्न सकिँदैन । पुवाखोलामा काठको पुलबाट साना सवारी आवतजावत गराइएको सुनिएको छ । काठको भारवहन क्षमता मापन गर्ने कुनै यन्त्र छैन, हामीले मानिस मात्रै आवतजावत गर्न भनेका छौँ । सवारी वारपार गर्नु जोखिमपूर्ण हुने अवस्था छ ।
भू–प्राविधिक विशेषज्ञ मधुसुदन आचार्य के भन्छन् ?
यो राजमार्ग करिब ६० वर्षदेखि चलेका हो । सुरुमा खन्दा पनि पहिरोको बीचबाटै लगिएको थियो । सडक खोल्ने समयमा पानी निकास गर्ने प्रणालीको व्यवस्थापन गरेका थियौँ । समयक्रममा सडक दबिएर, बिग्रिएर ती निकास टालिएका हुनुपर्छ । पानीले निकास नपाउँदा सडकले पहिरोको रुप लियो । राजदुवाली खण्डमा करिब ४० मिटर माटोको मात्रै सतह रहेको पाइएको छ ।
त्यो बाक्लो माटोमा तलदेखि ४-५ वटा घुम्ती हुँदै सडक माथिसम्म सडक विस्तार गरिएको थियो । चट्टान नभएपछि भारी वर्षा हुँदा पानी सहजै सतहबाट भित्र छिर्ने गर्छ । त्यसले माथिदेखि नै सडक बगायो । त्यहाँ ७-८ ठाउँमा पानीको मुहान निस्किएको छ । अहिले त्यसको निकास गरिसकेका छौँ । अन्य लिकेजपनि खोज्दैछौँ ।
भेटिएका मुहान व्यवस्थापन नगरी जमिन सुख्खा हुँदैन, माटो भासिने क्रम पनि रोकिँदैन । ‘हामीले अहिले त्यस्ता मुहान खोज्ने, खन्ने त्यसलाई व्यवधान गर्ने काम गरिरहेका छौंँ । त्यसरी भेटिएका मुहानबाट तल्लो भागमा ४० मिलिलिटरको पाइपबाट पानी फालेका छौँ’, उनले भने ।
ती मुहान रोक्नै नसकिने भन्ने हुँदैन । यो खण्डले ठूलो पानी पर्दा पहिले पनि दुःख दिँदै आएको थियो । त्यतिबेला सबै लुप अर्थात् घुम्तीका खण्ड एकैपटक खस्दैनथ्यो । त्यसले एक दुई दिनमा बाटो खुल्थ्यो । यसपटक तीन घुम्ती माथिदेखि तलसम्म एकै पटक खसेर ठूलो पहिरोको रूप लियो । गत वर्ष पनि मैले निरीक्षण गरेको थिएँ । पहिरो नियन्त्रणको उपायसहित डिजाइन गरेर गत वर्ष नै ठेक्का सम्झौता भएर दशैँपछि काम सुरु गर्ने तयारी थियो । करिब २० करोड रुपैँयामा ठेक्का लागिसकेको थियो । काम नथाल्दै पहिरो खसिहाल्यो ।
पहिरो शून्य नै बनाउन सकिने हुँदैन । अहिलेको डिजाइनमा रहेर मर्मतसम्भार गर्दा यो खण्डले विगतका दिनमा जस्तो समस्या नदेला भन्न भने सकिन्छ । वैकल्पिक उपाय नभएका होइनन् । तर त्यसमा लाग्दा योजना, डिजाइन, ठेक्का लगायतको प्रक्रिया झन् लामो हुन्छ ।
आजको भोलि यो सडक खोल्न सकिदैन । त्यसैले यसै खण्डलाई मर्मत गरिनु उपयुक्त हुन्छ । पहिरोका कारण अन्य खण्ड बन्द हुँदा यहाँ लोड परेको हो । पब्लिक प्रेसर धेरै भएर काममा समस्या भइरहेको हो ।
सामान्य मर्मत गर्नेबित्तिकै हामीलाई हतार छ, पास गराइदिनु भन्न थाल्नु भयो । शनिबार बेलुका केही गाडी पास गराइयो । त्यसले गर्दा बाटो फेरि लच्कियो । त्यो बाटो गाडी हिँड्नलायक बनाएकै थिएनाैँ । अझै केही समय कुर्नुपर्ने थियो, त्यसो हुन सकेन ।
अस्थायी बाटो खोल्न पनि समय लाग्छ । राति ११ बजेसम्म बत्ती बालेर काम गरेका छौँ । स्लोप मिलाउने, पानीका मुहान खोज्ने र व्यवस्थापन गर्ने तथा ग्राभेल लाउनुपर्र्ने छ । ग्राभेल हालेपछि सडक खुलाउन सकिन्छ । त्यसका लागि निर्माण सामाग्री ल्याउन सडक छैन ।
अहिले सडक विभाग लगायत सबै सरोकारवाला निकाय राजदुवालीसँगै जोगमाईखोलाको पुल बगाएको स्थानमा डाइभर्सन निर्माणमा जुटेका छौँ । निर्माणको जिम्मा दिएका छौँ, हामी पनि लागेका छौँ । ३०-४० वटा ह्यूमपाइप हाल्न समय लागिहाल्छ । खोलाको वहाव पनि ठूलो छ ।
गर्न सकिने भनेर लागेका छौँ । सोमबार काम गर्दा डाइभर्सनलाई अपुग ह्यूमपाइप सडक डिभिजन कार्यालयमा आइसकेको छ । सम्भवतः बुधबार साँझसम्ममा तिल्केनी माईबेनी–सिमलगोलाई खण्ड खुल्लाउँछौं । त्यहाँ सकेसम्म सानाठूला गाडी आवतजावत हुनेगरी डाइभर्सन बन्नेछ । ठूला सवारीको हकमा एकदुई ठाउँको साँघुरो घुम्तीमा केही असहजता हुन सक्छ ।
सोमबार काम गर्ने क्रममा जोगमाई हाइड्रोको केनल पल्टाउन नसकेपछि काम रोकियो । मंगलबार त्यसलाई तीन टुक्रा बनाएर डाइभर्सनमा प्रयोग गरिएको छ । उक्त खण्ड आज साँझसम्म सुचारु हुनसक्छ । राजदुवाली खण्डमा मुख्यतः भूमिगत पानी नियन्त्रण गरिसकेका छौँ । ठेक्का लागिसकेकाले अब सम्बन्धित कम्पनीले भित्तामा प्वाल पारेर पानीको निकास गराउनुहुन्छ । त्यसबाट दीर्घकालीन रुपमा पहिरो रोकथाम हुने अपेक्षा छ ।

पहाडी क्षेत्रको पहिरोबारे भूगर्भविद शिव बस्ताकोटी के भन्छन् ?
खानी तथा भूगर्भ विभागबाट सन् २०१० सालमा मेची राजमार्ग अन्तर्रगतको चारआली–इलाम–फिलिमखण्डको जमिनबारे अध्ययन गरेर पुस्तक नै प्रकाशन गरिएको थियो । त्यो समयमा इलामको अध्ययन गर्दा झापासम्मै हिमालयका चट्टान पाइएको थियो । उक्त क्षेत्रको चट्टान बलौटे माटो बन्ने प्रकृतिको छ ।
त्यो माटोले पानी सोस्न सक्ने क्षमता त राख्छ, तर अत्याधिक वर्षा हुँदा पानीले माटोको सतह छिचोलेर चट्टानसम्म पुग्छ । जसका कारण माटोको भाग चिप्लिएर यो विपद् आएको अनुमान गर्न सकिन्छ । ती त्यति कमजोर हुने त होइनन् । तर तर भू–बनोट अनुसार पानीको निकास, भिरालोपन, पानी बग्ने ठाउँ, चट्टानको झुकाव लगायत थप्रै तत्त्वले असर गर्ने भएकाले स्थानअनुसर फरक–फरक प्रभाव देखिने गर्छ ।
सडक विस्तार गर्दै गर्दा ध्यान पुर्याउने कुराबारे प्रश्न गर्दा उनले भने, ‘पछिल्लो समयमा सडक विस्तारलाई लिएर धेरै आरोप लाग्ने गरेको छ । सडक बनाउँदै गर्दा त्यहाँको भौगर्भिक अवस्थाको पटक्कै ख्याल गर्ने गर्दैनौँ । आफूलाई जताबाट खन्न सजिलो हुन्छ, जता आवश्यक परेको छ, जसको घरमा पुर्याउनु परेको छ, त्यसलाई सिधै टार्गेट गरेर खोल्ने गरिन्छ । जसले भावी दिनमा ठूलो क्षति निम्त्याउने हुनसक्छ । पहाडी जिल्लामा बाटो खोल्दै गर्दा स्लोप कटान, कटफिल, रिटेन गर्नु मुख्य उपाय हुन् । तर भू–बनोट अनुसार १ किलोमिटरमै पनि ५-६ वटा डिजाइन गर्नुपर्ने हुन्छ ।’
मुख्यतः बाटो खन्दै गर्दा बाटोको माटो कतातिर फाल्छौँ, पानीको निकासका लागि के गरेका छौँ भन्ने कुरा महत्वपूर्ण रहन्छ । बर्खामा आइलाग्ने पहिरोजन्य विपत्तिको हकमा सडक विस्तारका क्रममा पानीको निकास नगरिएमा सडकलाई नै नाली मानेर पानी बग्ने गर्छ । पानी जहाँ रोकिन्छ, त्यहाँबाट तलतिर बग्न थाल्ने हुँदा समस्या आउने गरेको छ ।
इलामको विपत्ति के कसरी निम्तियो ? त्यहीँ पुगेर परीक्षण नगरी केही भन्न सक्ने अवस्था हुँदैन । हाललाई त्यस क्षेत्रको भौगर्भिक अध्ययन विपद् व्यवस्थापन प्राधिकरण वा अन्य कुनै निकायबाट भइसकेको छैन । हामी आफैँले गर्न प्रयाप्त बजेट छैन ।
प्रतिक्रिया