महबाट करोडको कारोबार « Khabarhub

महबाट करोडको कारोबार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुन् ।

२०५५ सालदेखि माहुरीपालन व्यवसाय गर्दै आएका उनीबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन् । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउँछन् । ‘सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभएको छ’, उनी भन्छन्, ‘थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ ।’

दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुगेका छन् । उनले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राखेका छन् । ‘आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ’, उनी भन्छन्, ‘तोरीको सिजन सकिएपछि जता फूल फुल्यो माहुरी घार त्यतै पुग्छन् ।’

उनका अनुसार कैलालीलगायतका तराईका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ मौरीपालक किसान माहुरीका घार बोकेर आउने गरेका छन् । उनीहरू कैलाली, बर्दिया, बाँके, दाङका विभिन्न क्षेत्रमा माहुरीका घार बोकेर चराउन जाने गर्छन् । मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ । ‘दाङको हावापानी माहुरीका लागि राम्रो छ । तोरी अनि मकैखेती राम्रो हुने हुँदा पनि मौरी व्यवसाय राम्रो भएको पाइन्छ’, हमाल भन्छन्, ‘तोरी र मकैको फूल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।’

स्वर्गद्वारी विकन्सर्न प्रालिमार्फत माहुरीपालन गर्दै आएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने अप्रत्यक्ष रूपमा सयौँ व्यवसायसँग जोडिएका छन् । हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताए । ‘आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजी मह उत्पादन गर्छौँ’, उनी भन्छन्, ‘त्यो मह न्यूनतम पाँच सय रुपैयाँ प्रतिकेजीभन्दा बढीमा बिक्री गर्दै आएका छौँ ।’ महको मूल्य पनि फूलको स्रोतका आधारमा तय गरिने उनको भनाइ छ ।

माहुरीपालक किसानलाई बजारको कुनै समस्या छैन । अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाइ छ । काठमाडौंलगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आएका उनी धेरै उत्पादन कम्पनीमा नपुर्याएरै बिक्री हुने गरेको बताउँछन् । उनको परिवार नै माहुरी व्यवसायमा लागेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ८ : ३९ बजे

सभामुखले सारे आजको प्रतिनिधिसभा बैठक : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित