यतिबेला नेपाली समाज ‘मास फ्रस्टेसन’ बाट गुज्रिरहेको छ । सामाजिक, आर्थिक र राजनीतिक हरेक क्षेत्रमा नागरिक चरम निराशाबीच छन् । एउटा सानो कामका लागि कर्मचारीले हप्तौँ झुलाउँछन्, घुसबिना सकेसम्म कामै गर्दैनन् ।
नागरिकको करमा राजनीतिज्ञको रजाइँ छ । सत्तामा भएकाहरू पनि चुनावी घोषण पत्र भुलेर बरालिएका छन् । राज्यको सम्पत्ति दोहनकै लागि राजनीतिमा प्रवेश गर्नेको संख्या कम छैन । नागरिकले राज्यको अनुभूति गर्न कठिन भएको छ । नागरिकले आधारभूत आवश्यकता पूरा गर्न पनि छटपटिनु परेको छ ।
सार्वजनिक र नीजि क्षेत्रमा नागरिक खुलेआम ठगिँदा बोल्दिने कोही छैन । जनगुनासोलाई राज्यका निकायले यथाशीघ्र सम्बोधन गर्दैनन् । यातायात विभागले सवारी चालक अनुमति पत्र प्रिन्ट गर्नै वर्षौं लगाउँछ । मालपोत र भूमिसुधारमा घुसबिना काम लिन मुश्किल पर्छ । राज्य र तिनका निकायका यस्ता बेथितिविरुद्ध मूलधारका सञ्चारमाध्यम पनि सशक्त रुपमा बोल्दैनन् ।
नेपाललाई शासकले होइन पशुपतिनाथको कृपाले चलाइरहेको भन्न बाध्य छन् नागरिक । त्यहीकारण समाज अहिले आफ्नो पीडाबारे बोलिदिने भगवानको खोजीमा छ । यही अवस्थाको फाइदा लिँदै सानातिना समस्या समाधानका लागिसमेत समाजका सदस्य भाइरल म्यानको खोजीमा लाग्छन् । सामाजिक सञ्जालको बढ्दो प्रभावले अहिले बोल मौका कोही न कोही ‘भगवान’ जन्माइरहन्छ । तिनै भगवान्लाई केही क्षणमै यही समाजले राक्षसीकरण गरिदिन्छ ।
सञ्चारमाध्यम पनि आफ्नो धर्म निर्वाहमा प्रतिबद्ध देखिँदैनन् । एकपक्षीय र एकपाखे विचार र समाचारले समाजलाई गलत दिशातिर लैजाँदैछ । पत्रकारिताको पनि आचारसंहिता छ तर वाक स्वतन्त्रताका नाममा अराजकता पनि बढिरहेको छ ।
अहिले कस्तोसम्म भएको छ भने एउटा क्यामेरा बोकेपछि जोकोही पत्रकार भएका छन् । पत्रकार आचारसंहिता ख्याल नगरी दौडिनेका कारण पत्रकारिताको धर्म मर्दै गएको छ । ‘सामाजिक जवाफदेहिता’ को दायित्व भुलिँदैछ । भाषामा सभ्यता छैन । देखाउन हुने–नहुने दृश्य समाजमा फैलिरहेका छन् ।
यसले समाजमा पर्ने असरको ख्याल छैन । धेरैभन्दा धेरै भ्युज बटुलेर पैसा कमाउन एउटा जमात तल्लिन छ । भाइरल पात्रलाई पछिल्लो समय युटुबरले बोकेर झनै भाइरल बनाइरहेका छन् ।
यस्ता भाइरल कन्टेन्टले अशिक्षित र अर्धशिक्षित जमतालाई पछि लगाइरहेको छ । पछिल्लो समय ‘भाइरल’ हुने रहरमा सामाजिक सञ्जालमा अनेखालका समाजसेवी र सामाजिक अभियन्ता देखिन थालेका छन् । तुरुन्तै चर्चा र ताली पाउने लोभले सामाजिक मर्यादा, कानुनी मापदण्ड र नैतिक आचरण सबै बिर्साइरहेको छ ।
आशिकाका अनेक किस्सा
लोकप्रियताको भोकले गाँजेका बेला वास्तविक परिवर्तनको चाहना छायामा छ । भाइरल म्यानहरूआफूलाई ठूला समाजसेवी वा समाज सुधारक ठान्छन् । यिनैमध्येकी एक पात्र हुन्– आशिका तामाङ ।
उनका तनाव पनि अनेक थिए । कुनै बेला दशैंमा खसी काट्दा उसको परिवारको अवस्था हेर्नुपर्ने । खसीका साना बच्चा छन् भनेर उनी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै धर्धरी रुन्थिन् । उक्त भिडियोपछि ‘खसिनी दिदी’ उपनाम पाइन् ।
त्यसबेला धेरैले हाँसी मजाक गरे पनि सामाजिक सञ्जालमा फलोअर्स बढाइन् ।उनले विभिन्न सार्वजनिक निकाय, पार्क, मन्दिर, पुल र होटल क्षेत्रका बेथितिविरुद्ध बोल्दै आएकी छन् । उनलाई चर्चा र विवादमा ल्याउन केही ‘युट्युब’हरू पछि लागेका छन् । तिनैले उनलाई झ्न झन् विवादमा पारेर हिरासतसम्म पुर्याए ।
यो पनि-
आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट
अहिले पशुपति क्षेत्र विकास कोषमा करारका कर्मचारी धर्नामा छन् । कोषले शोषण गरेको भन्दै उनीहरूले धर्ना दिएका हुन् । उनीहरूकै समर्थनमा आशिका केही सहयोगीसहित पशुपति घेर्न पुगिन् । शान्ति सुरक्षाका लागि भन्देै कोषले कार्यालयको मूलगेटमा ताला हालेको छ । त्यतिले मात्रै नपुगेर प्रहरी पनि तैनाथ गरिएको छ । तर करारका कर्मचारी ताला फोडेर भित्र जान चाहन्छन् । तिनै कर्मचारीको समर्थनमा पशुपति पुगेकी आशिकाले प्रहरीसँग भनाभन मात्रै गरिनन्, होच्याउँदै हप्कीदप्कीसमेत गरिन् ।
प्रहरीले करारका कर्मचारी र आशिकालाई भित्र जानबाट रोक्छन् । त्यसपछि आशिका मुखमा आएजति प्रहरीलाई गालीको बर्षा गर्छिन् । उनले एकजना प्रहरीलाई ‘बुढो भएर पनि बुद्धि नआएको’ भनेर तुच्छ टिप्पणी गरेकी छन् । अर्की महिला प्रहरीलाई सई सा’व नभई असई भनेकी छन् । अंग्रेजीमा ‘आई आक्स यू, हुँ आई एम ? भन्दै रवाफ देखाएकी छन् ।
अर्को सबैभन्दा धेरै चर्चित काण्ड हो– पुलमुनि केही युवाले पिसाव गर्दै गरेको दृश्य । एकजना पुरुष काठमाडौंको एक पुलमुनि पिसाव फेरिरहेका थिए । त्यहीबेला उनी ढाडमा धाप मार्दै यो पिसाब फेर्ने ठाउँ हो ? यहाँ मुत्ने हो ? लाजशरम नभएको भनेर थर्काउँछिन् । फोहोर गरेको भन्दै तिनै व्यक्तिका अगाडि उनी उल्टी गर्न खोज्छिन् ।
त्रिभुवन विमानस्थलमा लिइने पार्किङ शुल्कको आशिकाले विरोध गरिन् । त्यहाँ न्यूनतम् पार्किङ शुल्क एक घण्टाको ४० रुपैयाँ छ । घण्टाका हिसाबले शुल्क उठाएकोमा उनले विरोध गरिन्, शुल्क उठाउनेसँग झन्डै हात हालाहालमै उत्रिइन् । जनताको करबाट निर्मित एअरपोर्टमा पार्किङ शुल्क लिन नहुने जिकिर उनको थियो ।
विमानस्थलबाट पार्किङ शुल्क उठाउने निर्णय २०७८ सालमा मन्त्रिपरिषद्ले गरेको थियो । त्यस्तै, आशिकाले एअरपोर्टभित्र एक लिटरभन्दा कम पानीलाई एक सय रुपैयाँमा बेचेकोमा पनि विरोध जनाइन् ।
सूर्यविनायक नगरपालिकास्थित सागाँमा बडेमानको भगावन् शिवको मूर्ति छ । उक्त मूर्तिमा जाने झोलुङ्गे पुलमा लिइने शुल्कको विरोध गरिन् । तर, त्यो पुल आवश्यकता भन्दा मनोरञ्जनका लागि थियो । स्थानीयलाई निःशुल्क भनिएको पुलमा अन्तबाट आउनेलाई २० रुपैयाँ उठाइनु लुट भएको उनले जिकिर गरिन् ।
त्यसैगरी, दक्षिणकाली मन्दिरमा भक्तजनसँग लिइएको शुल्कको पनि आशिकाले विरोध गरिन् । मन्दिरजस्तो पवित्रस्थलमा ठगी हुनु दुर्भाग्य रहेको उनको जिकिर छ । भक्तजनले गाडी पार्किङको २५ देखि १२५ सम्म शुल्क उठाइएको छ । मन्दिरमा पाँच र दश रुपैयाँभन्दा बढी उठाउनु भगवानको नाममा लुट्नु हो भन्ने उनको जिकिर थियो । उनका यी क्रियाकलापमा सामाजिक सञ्जाल समर्थन र विरोध दुवैतिर उत्रियो ।
सामाजिक सञ्जालमा थरीथरीका प्रतिक्रिया
समाजशास्त्री निर्मला ढकाल लेख्छिन्– मान या नमान, आशिका तामाङ नयाँ भेरिएन्ट कि रवि लामिछाने हुन् । यो तन्नम् देशमा नाम र दाम कमाउने यो छिटो, छरितो र पपुलर बाटो हो । नियम, कानुनको यो बाटोमा अर्थ राख्दैन ।
अर्का पत्रकार दुर्गा पंगेनी लेख्छन् – युरोपमा प्रहरीसँग अतिआवश्यक अवस्था या निश्चित तोकिएको काम पर्दाबाहेक दोहोरो संवाद गर्न सम्भव हुँदैन । सरकारी कर्मचारीसँग भेट्ने त परको कुरा, एपोइन्टमेन्टबिना सरकारी अफिसमा छिर्नसमेत पाइँदैन ।
कतिपय बैंकमा समेत एपोइन्टमेन्ट नलिई गए फर्काइदिन्छन् । यस्तो ठाउँमा बसेर नेपाल गएकी आशिका दिदीले सरकारी कर्मचारीलाई थर्काउन पाउँछिन् । प्रहरीलाई माझी औँलो देखाउन पाउँछिन् । अनि हामी वाह ! आशिका दिदी वाह ! गर्छौँ । क्या बात ! दिदी क्या बात ! भन्छौँ । स्वर्गै होइन त हाम्रो देश ?
फेसबुकमा कृष्ण गिरी लेख्छन्– यदि कोही मान्छे क्यामेरा तेस्र्याउँदै कसैलाई धम्क्याएको भिडियो सञ्जालमा राख्छ भने अर्को दिनदेखि उसलाई भगवानको दर्जा दिइन्छ । शासकहरूले हरितन्नम बनाएको हुँदा संस्कार, पद्धति र न्याय हराएको देशका हामी भेडा जनता ।
आशिकाको समर्थनमा प्रकाश थापा लेख्छन्– तिमीहरू आफू पनि जीवनमा केही नगर्ने, अरुले केही परिवर्तन गर्न खोजे जलेर मर्ने । सूर्य गोतामे लेख्छन्– देशको प्रधानमन्त्रीदेखि आशिका तामाङको शैली एउटै हो ।
को हुन् आशिका ?
आशिकाको जन्म धादिङको मलेखुमा भएको हो । आर्थिकरुपमा कमजोर भए पनि पढाइमा अब्बल थिइन् । पढ्नैपर्छ भन्ने मनोबलले ८ वर्षदेखि अर्काको घरमा काम गर्दै पढिन् । एक संस्थाको छात्रावृत्तिमा नर्सिङ पढिन् । नर्स पढेपछि रोजगारका लािग जर्मल गइन्, उतैका नागरिकसँग विवाह गरिन् । हाल उनका दुई सन्तान छन् ।
फेसबुकमा उनका १५ लाख फलोअर्स छन् । परोपकारका लागि उनले आफ्नै नाममा फाउन्डेसन खोलेर नेपालमा सरसफाइलगायत सामाजिक कार्य गर्दै आएकी छन् । कसैसँग सहयोग उठाएर समाजसेवी नबनेको दाबी गर्छिन् ।
यसबीचमा आशिकाले ‘सुश्री’ नामक फिल्मसमेत बनाइन् । चल्तीका हिरो आर्यन सिग्देललाई लिएर निर्माण गरेको फिल्मले बक्स अफिसमा पानीसम्म भन्न पाएन । आर्यनसँगको जोडीलाई दर्शकले रुचाएनन् ।
यो पनि-
मलेखुकी काली : फिल्ममा फ्लप, युट्युबमा लोकप्रिय !
नियमन कसरी ?
नेपाल प्रेस काउन्सिलका बरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनाल कानुनको अभावमा युटुबलाई नियमन गर्न गाह्रो भएको बताउछन् । भन्छन्, ‘यसको नियमन राज्यले गर्ने हो । कानुन बनाउन यत्तिका सांसद् छन् । विभिन्न विषयमा समितिमा छलफल भइरहेको छ । तर खै त ? युट्युब तथा पत्रकार आचारसंहिताको पालना नगर्ने मिडियाका लागि कानुन ?’
कसैलाई कारबाही गर्न स्पष्ट कानुन चाहिने खनालको भनाइ छ । ‘त्यसको अभावमा काउन्सिलले कति नियमन गर्न सक्छ ? आफ्नो क्षेत्राधिकारभित्र नियम गरिरहेकै छ । तर उचित कानुन अभावमा नियमन फितलो भएको छ’, उनले थपे, ‘उजुरी आउँदा युटुब च्यानललाई कारबाही गरेको छ । आफ्नो दायराभित्र नपरेकालाई प्रहरीमा बुझाएको छ ।’
प्रतिक्रिया