घरपझोङ सडकमा कमसल कालोपत्र | Khabarhub Khabarhub

घरपझोङ सडकमा कमसल कालोपत्र


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ ।

घरपझोङ रिङरोड सडक अन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ् रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । रिङरोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।

सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङरोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।

जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङरोड सडकमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङरोड सडक सम्पन्न विलम्ब भइरहेको छ । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटकपटकको ताकेतापछि जसोतसो घरपझोङ रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो । अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।

स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुगमन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् । घरपझोङ रिङरोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नति स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरु हुनसकेको छैन ।

रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकमा गरिएको कालोपत्र सम्बन्धमा जनगुनासो बढेसँगै घरपझोङ–५ ठिनीको वडा कार्यालयले गत २१ मङ्सिरमा पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण माग गरेको हो । त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गरेको पत्रमा जोमसोम–ठिनी सडकको कालोपत्र गुणस्तरहीन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ ।

पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयवासी व्यापक असन्तुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्बन्धमा यतार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ ? भन्ने सम्बन्धमा स्पष्ट जवाफ पेस गर्न समेत वडा कार्यालयले ध्यानाकर्षण गराएको पत्रमा उल्लेख गरिएको छ ।

यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनीयर घनश्याम रोक्कामगरले जोमसोम–ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पुनः समाधान गर्न सकिने बताए । इञ्जिनीयर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाइएको जानकारी दिए ।

उनले उक्त सडक ५ सेमी मोटाइको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटी भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने बताए । उनले भने, ‘ठेक्का सम्झौता र शर्तहरू निर्माण कम्पनीले कार्यान्वयन गरेको छ छैन हामीले हेर्ने हो, शर्त पालना नभएको देखिएमा पुनः त्यहाँ कालोपत्र गराउन लगाइने छ ।’

सूचना अधिकारी इञ्जिनीयर रोक्कामगरले रिङरोड सडकमा ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको उल्लेख गरे ।

मुस्ताङको घरपझोङ रिङरोड सडकको ६ वर्षमा भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रिङरोड सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङलगायता कार्य बाँकी रहेको छ । घरपझोङ रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकणमा निकै नै सहज पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १० : ५६ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै