कर्णालीका सिंजा, पादुका, श्रीस्थान सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने तयारी | Khabarhub Khabarhub

कर्णालीका सिंजा, पादुका, श्रीस्थान सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने तयारी

अध्ययन गर्दै पुरातत्त्व विभाग


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका पादुका, श्रीस्थान, भुर्तिका पञ्चदेवल र सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने गरी पुरातत्त्व विभागले तयारी थालेको छ ।  विभागको टोलीले दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा पञ्चदेवल र जुम्लाको सिंजा क्षेत्रको अध्ययन गरेर फर्किएपछि उक्त निर्णय गरेको हो । 

टोलीले जुम्लाको हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकाका स्थानीय तथा जनप्रतिनिधिसँग छलफल गरेको थियो । दैलेखको नारायण नगरपालिकामा पनि टोलीले अध्ययन गरेको थियो । त्यस्तै, कर्णालीका अन्य ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमणसमेत गरेको छ ।

कर्णाली प्रदेशलाई भाषा, सभ्यता र संस्कृतिका रूपमा नेपालकै पुरानो थलो मानिन्छ । खस साम्राज्यको विरासत भएकाले उनीहरूको जुम्लाको सिंजा गृष्मकालिन र दैलेखको दुल्लुमा शीतकालीन राज्य रहेको थियो । त्यसै आधारमा यहाँ रहेका सम्पदाहरूलाई पुरातत्त्वले विश्व सम्पदाको सूचीमा राख्ने तयारी थालेको हो । 

दैलेखको दुल्लु र सिंजामा खस राज्यका बेलाका पञ्चकोशी धामहरू, ऐतिहासिक गुम्बाहरू, कीर्तिखम्ब र पञ्चदेवल रहेका छन् । यिनको निर्माण पनि खस राज्यको पालामा नै निर्माण भएको विश्वास गरिन्छ ।

दैलेखको नारायण नगरपालिकाको भुर्तीमा रहेका २५ देवल संरक्षणको लागि पर्खाल निर्माण गरेपनि अन्य काम हुन सकेको छैन । विभागले विश्व सम्पदा सूचीमा राखेर त्यसको अध्ययन गर्ने तयारी थालेको छ । ऐतिहासिक क्षेत्र भएकाले विभागले अध्ययन सूचीमा राखेको अहिले त्यसका विषयमा डमुमेन्टसनको काम भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । 

‘महानिर्देशकज्यूको नेतृत्वमा अध्यायनका लागि कर्णालीमा भ्रमण गएको थियो,’ उनले भने, ‘त्यहाँका ऐतिहासिक ठाउँ सिंजा र भूर्तीमा पुगेर टोली आएको छ ।’
 
तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको प्रवक्ता कुँवरले जानकारी दिए । 

‘सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्त्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो,’ उनले भने, ‘सिंजालाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सबै एक भएको देखिन्छ । तर आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ ।’

विभागले सिंजालाई विश्व सम्पदा सूचीमा समेट्न काम अघि बढाइसकेको छ, तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले परम्परागत संस्कृतिको चिन्ह नै भेट्टाउन मुस्किल परिरहेको प्रवक्ता कुँवरले बताए । 

भुर्तीका पञ्चदेवलको इतिहास

दैलेखको नारायण नगरपालिका–३ भुर्तिमा रहेका देवलहरू चौधौँ-पन्ध्रौँ शताब्दीतिर सिंजाका खस मल्ल राज्यकालका समयमा निर्माण भएको अनुमान गर्ने गरिएको छ । देवलहरुमध्ये एक देवलमा अभिलेख रहेको भनिन्छ । स्थानीयका अनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरू रहेकोमा हाल २२ वटा देवल रहेका छन् ।

मोहनप्रसाद खनालले प्रकाशन गरेको अभिलेख खस सिंजा साम्राज्यका अभिलेखहरूमा देखिने ‘ॐ मणि पद्मे हुँ’ जस्ता शब्दहरू यी देवलमा रहेको अभिलेखमा कोरिएको भनेका छन् । उनकै अनुसार यी देवलको निर्माण विसं.१४६५ मा भएको बताएका छन् । 

उत्साहित स्थानीय

सिंजालाई विश्व सम्पदा सूचीमा राख्न पटक–पटक विभागमा पहल भएको जुम्ला सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । 

‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो,’ उनले भने,‘विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ ।’

सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला पुरातत्त्व विभागले देखाएको चासोप्रति सिंजाबासी उत्साहित भएको धितालले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ३३ बजे

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज