फोहर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका | Khabarhub Khabarhub

फोहर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले नगरभित्र सङ्कलित प्लाष्टिक र सिसाजन्य फोहर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी काम सुरु गरिएको बताए । नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । 

प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र घरपरिवार गरी १६० स्थानबाट फोहर सङ्कलन गरिएको थियो । जसमा ७९ प्रतिशत फोहर घरपरिवारबाट, नौ प्रतिशत स्वास्थ्य संस्थाबाट, सात प्रतिशत धार्मिकस्थलबाट र पाँच प्रतिशत व्यापारिक क्षेत्रबाट फोहर निस्कने गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढथापाले जानकारी दिए । 

नगरपालिकाको सहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत एक केजी फोहर उत्पादन हुने गरेको उनले बताए । दैनिक छदेखि आठ टन फोहर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहर प्लाष्टिकजन्य रहेको छ । 

नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्लाष्टिक र सिसाजन्य वस्तु पुनः प्रयोग गर्नका लागि आठ लाख ९८ हजार ३५० रुपैयाँमा उपकरण खरिद गरेको छ । यसका लागि गत पुसको पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिमपश्चात दुई जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालनमा ल्याएको नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले बताए ।

नगरमा बढ्दै गएको फोहरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनुपरेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लाष्टिक टुक्र्याउने मेसिन जिल्लामा ल्याउन सफल भएको नगरप्रमुख कठायतको भनाइ छ ।

नगरवासीलाई फोहर वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको छ । 

प्लाष्टिकजन्य फोहरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिन्छ भने फर्निचर तथा अन्य पुनः प्रयोग योग्य सामग्री बनाउन सकिन्छ । प्लाष्टिकजन्य फोहरबाट हुने वातावरणीय प्रदूषणका विषयमा नगरवासीलाई सचेत बनाउने लक्ष्य रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताइन् । 

उपकरण सञ्चालनमा केही चुनौती पनि देखिएका छन् । उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ । मर्मतका आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको नगरउपप्रमुख खड्काले बताइन् ।

फोहरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले फोहर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व सङ्कलनमा चुनौती रहेको बताइन् । 

नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व सङ्कलन गर्न कठिनाइ भइरहेको छ । प्लाष्टिक र सिसाजन्य फोहरको सङ्कलन र व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक देखिएको उनको भनाइ छ । 

फोहर व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको फागुन २७ गतेसम्म दुई लाख ५१ हजार ६०० राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : ४८ बजे

रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना लोप हुँदै 

कञ्चनपुर– परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रे– काभ्रेको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका- ३ बोल्देस्थित गोरखनाथ सामुदायिक

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर– बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती

मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ ।