गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र | Khabarhub Khabarhub

पुस्तक समीक्षा

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र



काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार समितिले यसपटक देश घुमाउँदैछ, त्यो पनि १६५ पृष्ठको सदृष्य किताबमार्फत् ।

सरकारी भएकै कारण राससलाई समाचार सम्प्रेषणमा देखिएको सुस्तता अझै हटाउन नसकेको आरोप लागिरहन्छ । किनेर पनि समाचार समयमा नपाइएको गुनासो निजी क्षेत्रका सञ्चारमाध्यमले गर्ने गरेका छन् । सुरुमा अक्षर समाचार मात्रै पठाउने राससले अहिले फोटो, अडियो, भिडियोसमेत उपलब्ध गराउँछ । यससँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचारका बुलेटिन पनि पठाउने गरेको छ राससले ।

पछिल्लो समय भद्रकालीस्थित कार्यालयमै संग्रहालय खोलिसकेको राससले ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ नामको किताब निकालेर पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म घुमाउने काम गरेको छ ।

कुल १६५ पृष्ठको पुस्तकका सबै पृष्ठ रंगीन छन् । पहिलो खण्ड : हाम्रो संस्कृति, हाम्रो सम्पदा भनेर उल्लेख गरिएको छ । दोस्रो खण्डमा ‘समृद्धिका लागि पूर्वाधार’ शीर्षक राखिएको छ ।

पुस्तकको प्रकाशकीयमा अध्यक्ष धर्मेन्द्र झा भन्छन्, ‘राष्ट्र भनेको एकांकीरुपमा भूमि वा त्यसको सीमा मात्र नभई जनता वा नागरिकबीचको आपसी एकत्वको भावना पनि हो, जुन विभिन्न समुदायको संस्कृति, चाडपर्व, नाचगान, जात्रा आदिमा व्यक्त गरिरहेको हुन्छ ।’

समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा । तस्बिर : दिलकुमार लिम्बू/रासस

झाले प्रकाशकीयमा गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य गलत हो भन्ने तथ्य पुस्तकले सिद्ध गर्ने उल्लेख गरेका छन् । ‘… गणतन्त्र स्थापनापछि नेपालमा केही भएन भन्ने एकथरीले विकास गर्न खोजेको भाष्य चिर्नका लागि हामीले मुलुकमा राज्य वा निजी क्षेत्रले सञ्चालन गरेका विकास निर्माणका गतिविधिले जनताको जीवनस्तर वृद्धि गर्दै मुलुकको समृद्धि र जनताको खुसीका लागि अमूल्य योगदान गरिरहेको पूर्वाधार क्षेत्रलाई प्रदर्शनीमा राख्यौँ’, उनले भनेका छन् ।

प्रकाशन उपसमितिका संयोजक एवम् रासस महाप्रबन्धक सिद्धराज राईले पुस्तकलाई गुणस्तरीय बनाउन प्रकाशकीय र सम्पादकीय पृष्ठसहित सबै रंगीन छापिएको बताए ।

उनले गणतन्त्र आएपछिका १६ वर्षमा धेरै उपलब्धि भएको सम्पादकीयमा उल्लेख गरेका छन् । ‘गणतन्त्रको १६ वर्षको उपलब्धि : समृद्धिका लागि पूर्वाधार, सम्पदा र संस्कृति शीर्षकमा महाप्रबन्धक राई लेख्छन्, ‘मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै हरेक सरकारले सीमित स्रोत, साधन र प्रविधिबीच नागरिकका आशा र अपेक्षालाई अधिकतम् सम्बोधन गर्न भरमग्दूर प्रयत्न गरिरहेका छन् । यसबीचमा गठन भएका संघ, प्रदेश र स्थानीय सरकारहरूले सडक, पुल, जलविद्युत्, सञ्चार जस्ता पूर्वाधारको विकासलाई तीव्रता दिएका छन् ।’

राईले नेपाल विधिताले भरिएको मुलुक भएको उल्लेख गर्दै भनेका छन् । ‘… नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यो साझा फूलबारीमा अनेक जाति, परम्परा र संस्कृति छन्, जसले नेपाललाई चिनाउन अहम् भूमिका खेलेका छन् ।

पुस्तकमा राससका सहकर्मीहरूले कैद गरेका केही प्रतिनिधिमुलक तस्बिरहरू समावेश गरिएका छन् ।’

खोटाङको हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिकालगायत पर्वमा मेला लाग्छ । तस्बिर : केदार मगर/रासस

पुस्तकको सुरुवात

पुस्तकको पहिलो पृष्ठमै ०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवर यादवले संविधानसभाको बैठकमा नेपालको संविधान प्रस्तुत गर्दै गरेको तस्बिर प्रस्तुत गरिएको छ । ०६५ जेठ १५ गते गणतन्त्र घोषणा भए पनि २०७२ मा संविधान जारी भएसँगै संघीयताले पनि संस्थागत हुन पाएको थियो ।

भनिन्छ, हजार शब्दको काम एक तस्बिरले गर्छ । यो पुस्तक नेपालीका लागि मात्रै नभएर विदेशीका लागि पनि महत्त्वपूर्ण छ । पुस्तकमा समावेश तस्बिरको क्याप्सन नेपाली र अंग्रेजी दुवैमा राखिएको छ । यसका कारण तस्बिरमार्फत् सजिलै नेपालको गणतन्त्र यात्रा र संस्कृति बुझ्न यसले मद्दत गर्न सक्छ ।

२०७२ असोज १ गते नेपालको नयाँ संविधान प्रमाणीकरणदेखि अघि बढेको यो पुस्तकको तस्बिर यात्रा संस्कृतितर्फ १०१ पृष्ठमा गएर टुंगिन्छ । गणतन्त्र घोषणको तस्बिरबाट कञ्चनपुरका राणथारू समुदायको भिझी नाचसम्म संस्कृति यात्रा गर्न पाइन्छ ।

दोस्रो खण्डमा ‘समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तयार गरिएको छ, जुन १०३ पृष्ठदेखि १८५ पृष्ठसम्म समेटिएको छ । यसमा नेपालमा पछिल्ला १५ वर्षमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा भएका प्रगति समेटिएको छ । राससले यस अवधिमा नेपालमा गर्व गर्नलायक विकास भएको उल्लेख गरेको छ ।

यस समयमा सडक विस्तार, सुरुङमार्ग निर्माणसहित ठूला विकासका पूर्वाधारको काम भइरहेका पनि वर्णन गरिएको छ । तर राससले यही पुस्तकमा आमजनताले विकास पूर्वाधार निर्माणलाई अझै तीव्र बनाउनुपर्ने माग गरिरहेको पनि उल्लेख गरेको छ ।

यो तस्बिर पुस्तकको पहिलो खण्डमा देशभरका मुख्य सांस्कृति सम्पदा र कला संस्कृतिलाई समेटिएको छ ।

पुस्तकको सातौँ पानामा अहिले विवादमा परेको ताप्लेजुङस्थित पाथीभरा मन्दिर समेटिएको छ । अहिले यहाँ केबलकार बनाउने प्रक्रिया अघि बढ्दा स्थानीय आदिवासी जनजाति आफ्नो पावनभूमि मुक्कुम्लुङ मास्न लागेको भन्दै विरोधमा उत्रिएका छन् ।

राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस सडक आयोजना (फास्ट ट्रयाक) । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजनाको भौतिक प्रगति २७ र वित्तीय प्रगति २९ प्रतिशत छ । तस्बिर : अशोक घिमिरे/रासस

पुस्तकको अर्को रोचक पक्ष के छ भने पूर्वी नेपालबाट पसेर पश्चिम नेपाल छिचोल्न सकिन्छ । पुस्तकमा धर्तीको पहिलो तीर्थस्थल सुनसरीको बराहक्षेत्र र मुन्धुमको उद्गमथलो भोजपुरस्थित साल्पा पोखरी पनि देख्न पाइन्छ ।

पुस्तकमा तीर्थस्थल मात्रै छैनन्, भूगोलअनुसार विभिन्न जाजजातिका सांस्कृति नृत्य र झाँकी पनि र्हेन पाइन्छ । पूर्वी पहाडमा नेवार समुदायले नाच्ने लाखेदेखि साकेला सिली नाच पनि यस्त पुस्तकमा समेटिएको छ ।

इलाम पुग्दा लारुम्बामा धर्मगुरू आत्मनन्द लिङ्देनका अनुयायीले प्राथना गरिरहेकोे देख्न पाइन्छ भने पाँचथर उक्लेर च्याब्रुङ नाच हेरेपछि झापा झरेर बिर्तामोड र कन्काईमा राजवंशी र सन्थाल समुदायको नृत्यमा पनि रमाउन सकिन्छ ।

खोटाङको बराहपोखरी उक्लेपछि मगरहरू हुर्रा नाचिरहेका भेटिन्छन् । मोरङको विराटनगर झरेपछि मुस्लिम समुदाय ईदउल फित्रमा रमाइरहेका हुन्छन् । मधेस प्रदेश पसेपछि जानकी मन्दिरको भव्यता, रामजानीको बिहे र महागंगा आरती हेर्न पाइन्छ ।बारा पुगेपछि प्रसिद्ध गढीमाईलाई भेट्न सकिन्छ । यो पुस्तकले पूर्वबाट पसेर तराई, मधेस, पहाड, हिमालको एक साथ यात्रा गराउँछ ।

मधेसमा छठ पर्वमा रमाउँदै गरेका हिन्दुधर्मावलम्बीलाई पुस्तकमा देख्न पाइन्छ । मधेस छिरेर मिथिलाका पर्व र संस्कृति बुझेपछि बागमती पस्दा पशुपतिनाथको दर्शन गर्न पाइन्छ । उपत्काका कला संस्कृति, जात्रा र सम्पदा हेर्दै पुस्तकमार्फत् हामी दोलखाको कालिञ्चोक पुग्छौँ ।

सुदूरपश्चिममा थारू समुदायका युवती सखिया नृत्य देखाउँदै । यो नृत्य बडादसैँको घटस्थापनादेखि विजयादशमीसम्म देखाउने गरिन्छ । तस्बिर : राजेन्दप्रसाद पनेरु/रासस

चितवनको देवघाटमा मकर स्नानको तस्बिरसँगै नुवाकोटको बेत्रावतीमा श्राद्ध गर्नेको भिड पनि पुस्तकमा समेटिएको छ । उपत्यकाको नेवारी सम्भयता बुझेपछि शेर्पा र तामाङ समुदायलाई पनि पुस्तकमा चिन्न पाइन्छ ।

बागमतीबाट गण्डकी पुग्दा सिधै मुक्तिनाथ उक्लिन पाइन्छ पुस्तकमार्फत्। मुक्तिनाथबाट गोरखा मनकामना हुँदै म्याग्दीको गलेश्वर महादेव लैजान्छ पुस्तकले । मुस्ताङको लोमान्थाङस्थित निर्फु गुम्बा पनि कम आकर्षक छैन । केबलकार पुगेपछि धार्कि पर्यकट तानिरहेको नावलपरासीको मौलकाली मन्दिर हुँदै पुस्तकले पट्टा नाच हेर्न बागलुङको निशी खोला पुर्‍याउँछ ।

गण्डकीकै घाटु नाचको तस्बिर पनि पुस्तकमा समेटिएको छ । लम्जुङको बेंसीसहरस्थित दलित संग्रहालय छिचालेपछि लुम्बिनी पसेर मायादेवी मन्दिरको दर्शनमा लैजान्छ पुस्तकले । त्यसपछि अर्घाखाँचीको सुपादेउराली पुगेर नेपालगञ्जका मुस्लिम समुदायको मोहर्रम पर्वमा ताजिा सजाइएको हेर्न पाइन्छ ।

नेपालगञ्जबाट पहाड उक्लेपछि प्यूठानको स्वर्गद्वारी लैजान्छ पुस्तकले । त्यहाँबाट दाङमा थारु समुदायको मयूर नाच हेरेपछि झाँक्री मेला हेर्न रुकुम पुगिन्छ ।

रुकुमबाट पारी कर्णाली तरेपछि डोल्पाको बालात्रिपुरासुन्दरीको मन्दिर पनि पुस्तकमा समेटिएको छ । कर्णालीको राजधानी सुर्खेतमा काँक्रेबिहार घुमाएपछि पुस्तकले लैजान्छ दैलेखको अखण्दीप र जुम्लाको चन्दननाथ मन्दिर दर्शन गराउन । त्यहाँबाट उक्लेपछि अझै माथि मुगुको छायानाथ दर्शन गर्न पुगिन्छ ।

डोल्पाका शेर्पा समुदायको स्याब्रु नृत्यको तस्बिर पनि पुस्तकमा छ । हुम्लाको सिमकोटमा देउडा खेलेपछि सुर्खेत झरेर पैसारी नाच हेर्न पाइन्छ ।

ब्रेक थ्रु भइसकेको सिद्धबाबा सुरूङमार्ग । तस्बिर : रासस


कर्णालीको यात्रा गराउँदै त्यहाँको संस्कृति बुझाएपछि पुस्तकले लैजान्छ सुदूरपश्चिम । सुदूरपश्चिम छिर्नेबित्तिकै पुस्तकले लैजान्छ प्रसिद्ध खप्तड क्षेत्र ।

खप्तड घुमेपछि पुग्नैपर्ने थलो हो प्रसिद्ध शक्तिपीठ बाजुराको बडिमालिका । पुस्तकमा बडिमालिकालाई हिउँले छपक्कै छोपको सुन्दर तस्बिर समेटिएको छ । बडिमालिकाबाट डोटीको शैलेश्वरी दर्शन गरेर डडेल्धुराको उग्रतारादेवी मन्दिर दर्शन र मेला भर्न लैजान्छ पुस्तकले । त्यहाँबाट उक्लिएर अछामको विनायक नगरपालिकास्थित पञ्चदेवल मन्दिरको दर्शन हुन्छ ।

बैतडीको त्रिपुरासुन्दरी मन्दिरको दर्शन भुल्ने कुरै भएन । बैतडीकै निङ्गलासैनी मन्दिर अर्को चर्चित धाम हो । त्यहाँबाट बाजुरामा गौरा पर्व हेर्न लैजान्छ यो तस्बिर पुस्तकले ।

सुदूर पहाडको संस्कृति बुझेपछि कैलालीमा झरेर रानाथारू समुदायको कठरिया नृत्य र थारूको मुंग्रहवा नाच हेर्न पाइन्छ । कञ्चनपुरमा सखिया नृत्य हेरेपछि सुदूरपश्चिमकै छलिया नाच पनि भुल्ने कुरा भएन ।

महाकालीस्थित चार लेनको पुल । तस्बिर : रासस

विकास र समृद्धिका कुरा

पूर्वाधारतर्फको पहिलो तस्बिरका रुपमा ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई देखाइएको छ । जुन विमानस्थल ०२८ सालमा स्थानीयबासीको पहलमा निर्माण भए पनि कालोपत्रे हुन ०७० सालसम्म कुर्नुपरेको उल्लेख गरिएको छ । निर्माण हुँदा पञ्चायती व्यवस्था थियो । त्यसपछि ०४७ सालमा बहुदल र २०६२/०६३ को राजनीतिक परिवर्तनयता मात्रै सुकेटार विमानस्थल पिच हुन सम्भव भयो ।

दोस्रो तस्बिरका रुपमा राससले यस पुस्तकमा संखुवासभास्थित च्याम्ताङ–घोङगोप्पा सडकलाई देखाएको छ । चीन र भारतसमेत जोड्ने कोशी लोकमार्गअन्तर्गतको यो सडकखण्ड पनि ट्रयाक खोल्ने काम भइसकेको छ । अब कच्ची नै भए पनि भारतको जोगवनीदेखि संखुवासभास्थित चीन जोड्ने किमाथांका नाकासम्म गाडी जाने अवस्था बनेको छ ।

उता, ताप्लेजुङबाट पनि चीनतर्फ जोड्ने सडक हिमालमुनि नै पुगिसकेको दृश्य पनि राससले समेटेको छ । यो सडक अब चीन जोड्ने टिप्ताला नाकामै पुगसिकेका यहाँबाट पनि नेपाल हुँदै चीन र भारत जोडिएका छन् ।

राससले समेटेको अर्काे तस्बिरले नेपालमा विद्युतीय गाडीको क्रान्ति भइरहेको देखाएको छ । सुनसरीको इनरुवास्थित नयाँ बसपार्कमा चार्ज गर्दै गरेको यात्रुवाहक विद्युतीय गाडीले नेपालमा सार्वजनिक यातायातमा आएको परिवर्तन देखाएको छ ।
तस्बिर खण्डमा पछिल्लो समय पहाडी जनजीवनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मध्यपहाडी लोकमार्गको तेह्रथुमको चुहानडाँडा खण्ड पनि समेटिएको छ ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरिएको सौर्य प्यानल । आयोजनाको सौर्य फार्मबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ । तस्बिर : रासस

एक हजार ८७९ किलोमिटर लामो यो लोकमार्गले पहाडी जनजीवनमा परिवर्तन ल्याए पनि सरकारले बसाइँसराइ रोक्न चुनौतीपूर्ण बनेको छ ।

समृद्धि खण्डमा दमक नगरपालिका–३ स्थित दापगाछीमा व्यवसायिक प्रयोजनका लागि बनाइएको ‘भ्यू टावर’लाई पनि समेटिएको छ । तर एक अर्ब ५० करोड बढी लागतमा बनेको यो टावर प्रयोगमा नआउँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठिरहेको छ ।

राससले जनकपुराधमस्थित रेललाई पनि समृद्धिको सूचकमा रुपमा देखाएको छ । भारतको जयनगरसम्म पुग्ने यो रेलले वास्तवमा नेपाललाई घाटा गराइरहेको छ । ०७८ सालदेखि सञ्चालनमा आएको यो रेललाई व्यवसायिक रुपमा नाफामा लैजान अन्यत्र पनि सञ्जाल विस्तार गर्न सरकारले सकेको छैन ।

नेपालको समृद्धिको अर्को सूचक बन्न लागेको काठमाडौं–तराई द्रूत मार्ग पनि राससको फोटो पुस्तकमा समेटिएको छ । यस तस्बिरमा चीनले यसअघि बनाउने गरेका विशाल पुलहरू जस्तै संरचना देखाइएको छ । तर नेपाली सेनाले बनाइरहेको यो संरचना पूरा हुने अझै टुंगो छैन ।

नेपालका दुई चर्चित सुरुङमार्ग पनि पुस्तकमा समेटिएका छन् । पृथ्वी राजमार्ग हुँदै सिस्ने–काठमाडौं सुरुङमार्गले संघीय राजधानी आउन र जान भइरहेको सास्तीलाई अन्त्य गर्नेछ । यो सुरुङमार्ग जापानको सहयोगमा बनेर अब सञ्चालन तयारीमा छ ।

उता सुनकोशी–मरिन डाइभर्सनले मधेसको उर्बर भूमिमा सिँचाइ दिएर अन्न फलाउन सहयोग गर्नेछ । चीनको सहयोगमा बनिरहेको यो सुरुङमार्गको ब्रेक थ्रु भइसकेको छ । यसबाट मध्यतराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब २२ हजार हेक्टर जमिनमा सिँचाइ पुगेर अन्न उत्पादन बढ्नेछ ।

विराटनगरको रानीदेखि धरानसम्मको कोशी राजमार्गमा बनेको ६ लेन सडकको इटहरीस्थित आँपगाछी खण्ड । तस्बिरः नवीन गड्तौला/रासस

राससले सिंहदरबारस्थित संघीय संसद् भवनलाई पनि समृद्धिको सूचकका रुपमा राखेको छ । गणतन्त्र आएयता संसद् भवन, मन्त्री–मुख्यमन्त्रीका सरकारी निवास पनि बनाइँदा जनस्तरबाट विरोध हुने गरेको छ । पुरानो संसद् भवन भूकम्पले क्षतिग्रस्त भएपछि अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् चल्ने गरेको छ ।

चीनतर्फ जोडिएका तातोपानी र रसुवागढी नाकालाई अध्याधुनिकरण गरिँदैछ । ०७२ को भूकम्पबाट ध्वस्त भएर मृतप्राय यी नाकामा पूर्वाधार बनाएर अहिले आयात निर्यात बढ्दैछ । यस्तोमा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह बन्दैछ भने सिन्धुपाल्चोकको तातोपानीमा भन्सार यार्ड तयार भएको छ ।

यो तस्बिरमा चोभारस्थित सुख्खा बन्दरगाह पनि हेर्न पाइन्छ । भीमसेन थापाले बनाएको पुरानो धरहरा ०७२ सालको भूकम्पले ढलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बनेको नयाँ धरहरा पनि समृद्धिका सूचकमा समावेश गरिएको छ । यो धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सेतो टावर भने पनि मासिक रुपमा गतिलो आम्दानी दिन थालिसकेको छ ।

गणतन्त्रयता नुवाकोटको देवीघाटमा तयार भएको २५ मेगवाटको सोलार फार्मलाई पनि राससले पुस्तकमा समेटेको छ । विश्व ग्रीन र नवीकरणीय इनर्जीतिर अघि बढिरहेका बेला सरकारको यो पूर्वाधार हेर्नलायक बनेको छ । यहाँबाट २०७५ सालदेखि नै विद्युत् उत्पादन भइरहेको छ ।

रुपन्देहीस्थित भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर : रासस

नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज बढेको छ । यस्तोमा पूर्वाधार भने अभाव छ । तर, मूलपानी र कीर्तिपुर क्रिकेट स्टेडियमले स्वरुप फेर्दै गएको तस्बिर यो पुस्तकमा छन् । वर्षौँदेखि अल्झिएको मूलपानी अन्तिम चरणमा छ भने कीर्तिपुरमा अहिले फ्लड लाइट र प्याराफिट पनि बन्दैछ ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट स्टेडियले पनि विस्तारै गति लिएको कुरा पनि तस्बिरमा छ । सुरुमा धुर्मुस–सुन्तलीले बनाउन थालेपछि बजेट अभाव भएका कारण रोकिएको यो स्टेडियम अहिले सरकार आफैँ बनाउँदैछ ।

गण्डकीतिर तर्दा यो पुस्तकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुन्दर तस्बिर हेर्न पाइन्छ । तर, यो विमानस्थल भूराजनीतिक चक्रर्मा परेकाले विदेशबाट नियमित उडान हुन सकेको छैन । चीनको ऋणमा बनेको भनिएको यो विमास्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि दक्षिणी छिमेकी भारत पनि सकारात्मक भएको छैन ।

पुस्तकमा पोखरा महानगरपालिका–२५ हेम्जास्थित भाइरल सडक पनि देख्न सकिन्छ । खासमा यहाँबाट पृष्ठभूमिमा माछापुच्छ्र हिमश्रंखलाको मनमोहक दृश्य देखिन्छ । यो सडकको तस्बिर र भिडियो भाइरल भएपछि नेता–कार्यकर्ताबीच सामाजिक सञ्जालमा बहस र भनाभन नै भएको थियो । कसैले केपी ओलीको पहलमा त कसैले पुष्पकमल दाहाल प्रचण्डको पहलमा बनेको भनेर जस लिने होडबाजी गरेका थिए ।

पुस्तकले खासगरी हिमाली र पहाडी भूगोलमा भएको पूर्वाधार विकासको छलाङलाई तस्बिरमार्फत् वर्णन गरेको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडबाट देखिएको तिला नदी र किनारमा रहेको सुर्खेत–जुम्ला सडकखण्डको दृश्य । तस्बिर : सुरेश आचार्य/रासस

पुस्तकमा मुस्ताङको घरपझोङको कालोपत्रे सकडदेखि चीन जोड्ने कोरला नाका जाने लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा बनेको पक्की पुलमार्फत् पछिल्लो समयको विकासको गति देखाउन खोजिएको छ । पुस्तकमा समेटिएको रंगीचंगी पोखरा रंगशाला र पृष्ठभूमिमा माछापुछ्रे हिमाल चित्ताकर्षक लाग्छ ।

लुम्बिनीतर्फ गत माघ ११ गते ब्रेक थ्रु भएको सिद्धबाबा सुरुङमार्ग पनि पुस्तकमा हेर्न पाइन्छ । यो सुरुङमार्ग बनेपछि पाल्पा–बुटवल खण्डमा बाढी र पहिरोबाट हुने जनधनको क्षति रोकिने विश्वास छ । यस पूर्वाधारले नेपाल अब सुरुङमार्गतिर पुगेको सन्देश दिएको छ ।

भैरहवास्थित बेलहिया–बुटवल सडकले जोकसैको ध्यान तान्छ । ६ लेनको यो सडक नेपालको मुख्य नाकामध्ये एक बेलहिया हुँदै भारतको सुनौलीसम्म पुग्छ । सडक सौन्दर्यका दृष्टिले हरियालीसहित यो देशकै नमुना बनेको छ ।

देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीमै छ । भैरहवास्थित गौमबुघद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तारै चहल–पहल बढ्दैछ । यस विमानस्थलका लागि सरकारले ३५ अर्ब ६६ करोड लगानी गरेको छ । अहिले यहाँ दैनिक चार बढी अन्तर्राष्ट्रिय कम्पनीले जहाज ल्याइरहेका छन् ।

पुस्तकमा बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीमा ५ हजार जना अट्ने अत्याधुनिक सम्मेलन केन्द्र बनिसकेको देख्न पाइन्छ । नेपालले धार्मिक पर्यटनमार्फत् गतिलो नगद आर्जन गर्नसक्ने गन्तब्य लुम्बिनी क्षेत्रको यो ठूलो पूर्वाधारमध्ये एक हो ।

मधेसलाई सुनसरी–मरिनले अब सिँचाइ गर्ने तयारी भइरहँदा बाँकेमा सिक्टा सिँचाइ आयोजना तयार भएको छ । तस्बिरमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मुख्य नहरलाई देखाइएको छ । यसले आयोजनाबाट ३३ हजार ७ सय ६६ हेक्टर जमिन सिञ्चित भएर अन्न उत्पादन बढ्ने छ ।

बाराको अमलेखगञ्जस्थित इन्धन भण्डारणका लागि निर्माण गरिएको पाइपलाइन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र प्रोसेसिङ एरिया’ । तस्बिर : रत्न श्रेष्ठ/रासस

कर्णालीतर्फ एउटा गौरवका रुपमा उभिएको संरचना हो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । यसलाई पनि गणतन्त्रको एक उपलब्धिका रुपमा चर्चा गरिएको छ । देशकै हेपिएकोमध्ये एक कर्णालीका जुम्लास्थित यो प्रतिष्ठानले देशभित्रै चिकित्सक तयार पार्न थालिसकेको छ । हाल यहाँ चिकित्सा शिक्षा, जनस्वास्थ्य र नर्सिङ पढाइन्छ ।

कर्णालीकै डोल्पास्थित जिल्ला अस्पतालको आकर्षक भवन पनि पुस्तकमा देख्न पाइन्छ । पृष्ठभूमिको सुन्दर पठारअगाडि उभिएको उक्त भवन २४ करोड लागतमा तयार गरिएको हो । पुस्तकमा भेरी–बबई बहुउद्देश्यीय आयोजना पनि समेटिएको छ । राष्ट्रिय गौरवको यो आयोजना पनि बहुप्रतिक्षितमध्ये एक हो ।

कर्णालीमै दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पर्दाथको खानी अन्वेषणको तस्बिर पनि पुस्तकमा छ । यदि यो अन्वेषण सफल भएमा नेपालले पहिलो पटक आफैं पेट्रोलियम पदार्थ उत्पादन थाल्ने छ ।

पुस्तकमा सुर्खेतस्थित विमानस्थलको आकर्षक तस्बिर पनि समेटिएको छ । त्यससँगै देशकै आकर्षकमध्ये एक वीरेन्द्रनगरस्थित कर्णाली रंगशालाले जोकसैको मन तान्छ । तल कञ्चन बगिरहेको तिला नदी र माथि नागबेली हुँदै गइरहेको सडक कालिकोटको तिलागुफा नगरपालिका–६ स्थित खल्लागाडको तस्बिर पनि पुस्तकमा छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा ड्रोनबाट देखिएको कीर्तिपुर क्रिकेट स्टेडियमको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस

सुदूरपश्चिम पुग्दा कैलालीस्थित गेटा मेडिकल कलेजको विशाल पूर्वाधार हेर्न पाइन्छ । यहाँ ३६ भन्दा भवन बनिसकेका छन् । तर विडम्बना ! अहिलेसम्म यहाँ मेडिकलको अध्ययन अघि बढ्न सकेको छैन । उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले विकास सुदूरपूर्वदेखि पश्चिमसम्मै फैलिएको प्रतीत हुन्छ । यो पुलले भारतको बाटो हुँदै ओहोरदोहोर गर्नुपर्ने नेपालीको हीनताबोध पनि अब हटेको छ ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड जोड्ने गरी पक्की पुल धमाधम बनिरहेको पुलले पनि भौतिक पूर्वाधारमा प्रगति देखाइरहेको छ ।

अन्तिम पृष्ठमा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना सुदूरपश्चिमका परिचयका रुपमा उभिएको छ ।

हिउँले सेताम्ये बाजुरास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका मन्दिर । तस्बिर : सुशील भण्डारी / रासस

कमजोरी पनि
देशभरका मुख्य संस्कृति, सम्पदा र पूर्वाधार विकासको वर्णन गरेको पुस्तकले उपलब्धि मात्रै पस्किएको छ । सरकारी एजेन्सी भएर पनि उसको यो बाध्यता हुनुपर्छ । विकास र समृद्धि देखाउँदै गर्दा सञ्चारमाध्यमको दायित्व समस्या देखाउने पनि हो भन्ने कुरा भुल्न हुँदैन ।

हुन त पुस्तकको शीर्षकले समृद्धिको कुरा गरेको छ । तर, कुनै सानो च्याप्टरमा समस्या कुरा देखाउन सकेको भए पनि राम्रै हुन्थ्यो । जस्तै– वर्षौँदेखि अलपत्र ठूला विकास योजना, लोप हुँदै गरेका संस्कृति र तिनको जगेर्नाका उपायसहितका कुरा पनि यसमा समेट्न सकेको भए राम्रो हुन्थ्यो कि ?

पुस्तक उपयोगी हुँदा हुँदै पनि भाषिक र व्याकरणीय त्रुटि हरेक पृष्ठमा भेटिन्छन् । उदाहरणका लागि कतै ‘तिब्रता’ लेखिएको छ भने कतै ‘तीव्रता’ । कुनै पृष्ठमा ‘तस्बिर’ लेखिएको छ त कतै ‘तस्वीर’ । शब्द चयनमा एकरुपता छैन ।

फुल्ने फूललाई कतै ‘फुल’ भनिएको छ भने कतै ‘फूल’ लेखिएको छ । शब्द संयोजन र चयनमा पनि तालमेल छैन । अनावश्यक धेरै पुछ्रे शब्दले वाक्यलाई जोड्ने काम गरिएको छ । व्याकरणीय समस्या अनगिन्ती छन् ।

एकै पृष्ठमा कतै हरु लेखिँदा कतै हरू उल्लेख छ । फोटोकै क्याप्सनमा कतै डा. लेखिँदा अर्को ठाउँमा डा मात्रै लेखिएको छ । कतै बिन्दु लेखिँदा अर्को ठाउँमा विन्दु छ । उचाइ र उचाई दुवै प्रयोग गरेको भेटिन्छ । भिड पनि लेखिएको छ भीड पनि भेटिन्छ । किरात र किराँत दुवै लेखिएका छन् ।

अनेक भाषिक गडबडी भए पनि तिनलाई पुस्तकका तस्बिरले धानेका छन् । राससजस्तो सरकारी जनशक्तिले भरिपूर्ण एजेन्सीले निकालेको पुस्तकमा यस्ता भाषिक गडबडी देखिनु सुहाउँदो कुरा होइन । यति भन्दा भन्दै यस फोटो पुस्तकको गुणस्तरमा ध्यान दिएकाले तस्बिरहरू हेरिरहुँ लाग्ने देखिन्छन् ।

राससको यो पुस्तक प्रकाशन समितिले तस्बिरहरूको श्रेय नामसहित सम्बन्धित व्यक्तिलाई दिएर उनीहरूको परिश्रमको भने सम्मान गरेको छ । ०६२/६३ पछि जन्मेको पुस्ताका लागि यो फोटो पुस्तक समृद्धितर्फ लम्किँदै गरेको नेपाल चिन्ने राम्रो माध्यम भने पक्कै बनेको छ ।

सबै तस्बिरहरू : रासस

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ०८ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै