देश दौडाहामा गगन : जहाँ पुग्छन्, त्यहाँ तामझाम ! | Khabarhub Khabarhub

देश दौडाहामा गगन : जहाँ पुग्छन्, त्यहाँ तामझाम !

समर्थक भन्छन्– लोकप्रियता, आलोचकलाई ‘टेन्सन’


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पछिल्लो समय जहाँ–जहाँ पुगिरहेका छन्, त्यहाँ–त्यहाँ कांग्रेस कार्यकर्ताको थामिनसक्नु भिड उर्लिने गरेको छ । कांग्रेसमा १५औँ महाधिवेशनको तिथि–मितिबारे बहस सुरु भएसँगै उनी कार्यकर्ता र शुभचिन्तकको भीडमा हराइरहेका छन् ।

थापाको पछिल्लो समयमा देखिएको सक्रियताले कांग्रेसमा भावी नेतृत्वको आकांक्षा राखेका नेताहरूलाई झस्काउनेदेखि नेकपा माओवादी केन्द्रलाई उसकै उदगम थलो रोल्पामा जबरजस्त प्रभाव देखाएको छ । उनी गत फागुन १२ गते रोल्पा पुग्दा कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले ठूलो संख्यामा बाजागाजासहित स्वागत गरेका थिए ।

कर्णाली र लुम्बिनीका विभिन्न जिल्लाहरूमा पार्टीको सम्मेलन र सभामा सहभागी हुन चारदिने कार्यक्रम बनाएर फागुन १० मा महामन्त्री थापा काठमाडौंबाट बाहिरिएका थिए । उनी बाँकेको नेपालगञ्जस्थित विमानस्थलमा उत्रिँदा कांग्रेसका नेता–कार्यकर्ताको थामिनसक्नु भिड उर्लिएको थियो ।

त्यसअघि माघ १० गते नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिकामा पर्ने सेमरीको आर्दश क्याम्पस (भवन शिलान्यास) र बेलाटारीमा पर्ने त्रिभुवन माविको वार्षिकोत्सव समारोहमा सहभागी हुन जाँदा पनि महामन्त्री थापाको स्वागतमा गाडीको लस्कर देखिएको थियो ।

फागुन अन्तिम साता मधेश प्रदेशमा जाँदा होस् कि गत चैत्र चैत २४ गते लुम्बिनी प्रदेशको दाङ पुग्दा होस्, थापाको स्वागतका लागि ठुलै भिड र गाडीहरूको ताँती नै देखिएको थियो । यस्तै पाँचथरको लुम्बेवा महोत्सवमा सहभागी भएर फर्किएका थापालाई इलाम प्रवेश गर्दा पनि सडकमा उस्तै दृष्य देखिएको थियो ।

महामन्त्री थापा पार्टीको भ्रातृ संगठन नेपाल थारु संघको प्रथम अधिवेशनमा सहभागी हुन दाङको तुलसीपुर गएका थिए । दाङमा पनि उनको स्वागतका लागि नेता–कार्यकर्ताले प्रयोग गरेका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनको लस्कर नै देखिएको थियो ।

पार्टीभित्रैका नेता र प्रतिष्पर्धी दललाई झस्काउने गरी महामन्त्री थापा सहभागी कार्यक्रममा देखिने गरेको उपस्थितिबारे जे–जस्ता टीका–टिप्पणी भइरहे पनि उनीनिकट नेताहरू भने हौसिएका छन् । थापानिकट युवा नेता शंकर तिवारी कार्यकर्ता र समर्थकहरूले पार्टीको नेतृत्वमा चम्किलो र सम्भावनायुक्त व्यक्तिको रूपमा हेरेका कारण भिड लाग्ने गरेको बताउँछन् ।

‘गगन थापा पार्टी क्याडर, पार्टी शुभेच्छुकको माझमा आशा र भरोसाको केन्द्र हो । उहाँ विद्यार्थीकालदेखि नै सेलिब्रेटी लिडर हो । सेलिब्रेटी लिडरलाई भेट्न पनि मास उर्लिने गरेको देखिन्छ,’ तिवारीको भनाइ छ, ‘अर्को कुरा शेरबहादुर देउवापछि ‘ग्रास रुट’ले गगनलाई ‘स्पोटिङ एक्सपोजर’का रुपमा हेरेका छन् । त्यो भएर मान्छेहरू उहाँ सहभागी कार्यक्रममा देखिने गरेका हुन् । गगन थापाले के भन्छन्, के बोल्छन् भनेर पनि मान्छेहरू आउने गरेका छन् ।’

महामन्त्री थापाले कार्यक्रममा जाँदा आफ्नो नजिक–टाढाको नहेरी जिल्लाको वस्तुस्थिति बुझेर नेता–कार्यकर्तालाई समान व्यवहार गर्दै आएका कारण पनि आकर्षण कायम रहेको उनको भनाइ छ । थापा विभिन्न कार्यक्रममा सहभागी हुन जाँदा देखिने सवारी साधनको ताँतीबारे पनि नेता तिवारीको फरक तर्क छ ।

‘०४६ सालतिर केही गाडी र धेरै साइकल चढ्ने कार्यकर्ताहरू हुनुहुन्थ्यो । अहिले मध्यम वर्ग बढेको छ । गाडी चढ्ने हैसियतका कार्यकर्ताहरू त्यहीअनुसार भएको छ । फेरि, मोटरसाइकल चड्ने पनि उत्तिकै बढेका छन् । अनि सार्वजनिक सवारीको उपलब्धता पनि बढेको छ । देशभरी देखिएको दृष्य त्यसको प्रभाव हो,’ तिवारीले भने, ‘सहरी बस्तीमा स्वाभाविक रुपमा मान्छेहरूसँग सवारी साधनहरू हुन्छन् । महामन्त्रीको स्वागतका लागि उनीहरूले स्रोत साधनको उपयोग गरे । दाङमा पार्टीका सबै गुटका मान्छेहरू आएका थिए ।’

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले महामन्त्री थापा जिल्लामा आउँदा पार्टीका तर्फबाट राम्रो कार्यक्रम गरिएको प्रतिक्रिया दिए । ‘दाङमा कार्यक्रम राम्रो भएको छ । हाम्रोतर्फबाट राम्रो कार्यक्रम भयो । नेता जिल्ला आउँदा कार्यक्रम राम्रो हुनु परिहाल्छ । दुबै महामन्त्रीज्यूको कार्यक्रममा उपस्थिति राम्रो थियो,’ उनले खबरहबसँग भने ।

तिवारीले पार्टीको १४ औँ महाधिवेशनपछि आफू सभापति शेरबहादुर देउवासहितका पदाधिकारी प्रमुख अतिथि रहेका कार्यक्रमहरूमा सहभागी हुँदाको अनुभव पनि खबरहबलाई सुनाए । उनको नजरमा सभापति देउवा र महामन्त्री थापा सहभागी हनुे कार्यक्रममा देखिने नेता–कार्यकर्ताको उपस्थिति समान प्रकारको हुने गरेको छ ।

‘१४ औं महाधिवेशन पछिका पछिल्ला तीन वर्षमा म सभापति, उपसभापति, महामन्त्री प्रमुख अतिथि भएका सबैखाले कार्यक्रममा म सहभागी भएको छु,’ तिवारीले भने, ‘जुन किसिमको भीड गगन थापाको कार्यक्रममा हुन्छ, त्यसपछिको या त्यस्तै भीड शेरबहादुर देउवाको कार्यक्रममा हुन्छ ।’

नेता तिवारी कार्यकर्ताहरूले नेतालाई आफ्नै घरदैलोमा भेट्न पाउँदा खुसी भएर गरेको बन्दोवस्तीलाई अन्यथा लिन नहुने पनि बताउँछन् । कांग्रेसका स्वर्गिय सभापति गिरिजाप्रसाद कोइराला पछिको प्रभावकारी नेताका रुपमा थापा देखिएकाले एउटा जमात आलोचनामा लागेको दाबी गर्छन् ।

‘सरकारी संयन्त्र प्रयोग गरेर दुरुपयोग गरेर शक्ति प्रदर्शन गर्‍यो भने त्यो आलोचनाको विषय हुनु पर्दछ । कार्यकर्ताहरू नेतालाई जिल्लामा आफ्नो घरदैलोमा भेट्न पाउँदा खुसी भएर गरेको बन्दोवस्तीलाई अन्यथा लिनु हुँदैन,’ तिवारीको दाबी छ, ‘कांग्रेस महामन्त्रीमा गिरिजाप्रसाद पछिको प्रभावकारी नेताका रुपमा देखिनु भएको छ । त्यो भएर उहाँको आलोचना गर्न, निन्दा गर्न एउटा जमात लागेको हुन सक्छ ।’

भिड जनताको विश्वास हो : विश्लेषक वाग्ले

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कांग्रेसका उदयीमान र लोकप्रिय नेता भएका कारण थापा जिल्लामा जाँदा नेता–कार्यकर्ता र जनताको उल्लेखनीय उपस्थिति देखिने गरेको बताउँछन् । कार्यक्रममा हुने उपस्थितिलाई उनी कांग्रेस र महामन्त्री थापाको भविष्यका दृष्टिले सकारात्मक मान्छन् ।

‘कांग्रेसका उदयीमान र लोकप्रिय नेता भएका कारणले उहाँ जिल्लामा जाँदा नेता–कार्यकर्ता र जनताको उल्लेखनीय उपस्थिति भएको देखिन्छ,’ विश्लेषक वाग्लेले खबरहबसँग भने, ‘उहाँको कार्यक्रममा हुने उपस्थिति कांग्रेस र गगनजीको भविष्यको दृष्टिले सकारात्मक हो ।’

महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका अन्य नेताहरू जसरी थापा पनि आफ्नो विचार, दृष्टिकोण र कार्यक्रम लिएर जनतासामु गइरहेका उनको भनाइ छ । ‘गगनजीले आफूलाई आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि प्रस्तुत गर्दै आएका कारणले आफ्नो विचार, दृष्टिकोण र कार्यक्रम लिएर जनतासमक्ष जानु स्वाभाविक हो,’ वाग्लेले भने, ‘उहाँको लोकप्रियता र उहाँप्रतिको जनसमर्थनको प्रतिबिम्ब उहाँ गएको कार्यक्रममा देखिन्छ । जनता र कार्यकर्ताको सकारात्मक ‘रेस्पोन्स’ र विश्वासबाट गगनजीमा आत्मविश्वास पनि बढेको छ ।’

उनका अनुसार कांग्रेसमा प्रभावकारी जनपरिचालक, संगठक र कुशल वक्ताको आवश्यकता भूमिका महामन्त्री थापाले निर्वाह गरिरहेका छन् । ‘कांग्रेसमा प्रभावकारी रूपमा जनपरिचालन र संगठन गर्ने तथा ओरेटर (कुशल वक्ता)को आवश्यकता थियो,’ वाग्ले भन्छन्, ‘त्यो भूमिका गगनजीले निर्वाह गर्दै आउनु भएको छ ।’

कांग्रेसको आगामी महाधिवेशनले कस्तो नेतृत्व छान्ला ? यो पनि यतिबेला चर्चाको विषय बनेको छ । राजनीतिक विश्लेषक वाग्ले जनतासामु गएर ‘कन्भिन्स’ (आश्वास्त) गर्न सक्ने नेताले नै कांग्रेसको नेतृत्व गर्ने तर्क गर्छन् । त्यही रणनीतिअनुसार थापा जिल्ला दौडाहामा देखिएका उनको भनाइ छ ।

‘कार्यकर्ता र गुटमा पकड भएको कुनै नेता अब कांग्रेसको सभापति वा लोकप्रिय नेता हुने सम्भावना छैन । जो जनता समक्ष जान्छ र जसले जनतालाई कन्भिन्स गर्न सक्छ, त्यही नै अब कांग्रेसको नेता हुन्छ,’ वाग्लेले भने, ‘सायद यही रणनीतिअनुसार गगनजी पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकका साथै जनता समक्ष जानुभएको हुनसक्छ ।’

राजनीतिक विश्लेषक वाग्ले महामन्त्री थापा सहभागी हुने कार्यक्रममा देखिएको भिड र सवारी साधनको ताँतीलाई जनताको विश्वास, अपेक्षा, समर्थन र शुभेच्छाका रुपमा लिन्छन् । ‘कोही गाडीमा आउँछन्, कोही बसमा आउँछन्, कोही मोटरसाइकलमा आउँछन्, कोही साइकलमा आउँछन्, कोही हिँडेर आउँछन् । कोही हेर्न आउँछन्, कोही सुन्न आउँछन्,’ उनले भने, ‘उक्त परिदृश्य भनेको जनताको विश्वास हो, अपेक्षा हो, समर्थन र शुभेच्छा हो ।’

आलोचकलाई ‘टेन्सन’ !

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले अप्रिल ११ अर्थात् चैत २९ गते अपरान्ह कांग्रेसका महामन्त्री थापाप्रति लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे– पार्टीको महामन्त्रीले पनि सरकारी सुविधा पाउन थालेको हो !

नेपाल सरकारका सेवानिवृत्त सचिव त्रितालले महामन्त्री थापा चैत २४ गते दाङ जाँदा सडकमा देखिएको चार पाङ्ग्रे सवारी साधनको लावा–लस्करलाई ईंगित गर्दै उक्त टिप्पणी गरेका हुन् । तर, उनले फेसबुकमा महामन्त्री थापाको नाम भने उल्लेख गरेका छैनन् ।

‘दाइभाउजू कम्पनीका एकजना महामन्त्रीले दाङ जाँदा लामै कारकेड (कारगेट) प्रयोग गरेको देखियो । आफूलाई बीपी कोइरालाको नेपाली कांग्रेसको सिद्धान्तप्रति बफादार मान्ने महामन्त्री यस्तै रवाफी बन्दै जाने हो भने त खै के भनौँ र ! कारगेड (कारगेट)मा सरकारी गाडीहरू पनि देखिए,’ त्रितालको टिप्पणी थियो ।

पूर्वप्रशासक त्रितालले सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवातर्फ ईंगित गर्दै कांग्रेस पार्टीलाई ‘दाइ–भाउजू कम्पनी’को ‘ट्याग’ लगाउँदै थप टिप्पणी गरेका छन् ।

‘पार्टीको कार्यक्रममा जाँदा सरकारी गाडीको प्रयोग गर्नु पनि सायद बीपीद्वारा हुर्काइएको नेपाली कांग्रेसको सिद्धान्तभित्रै पर्ने विषय हो कि !,’ आश्चर्यसहित उनले लेखेका छन्, ‘सत्ता साझेदार दलको नेता भएर यस्तो सुविधा पाएको पो हो कि । अथवा दाइभाउजू कम्पनीको सिद्धान्तमा चलेको पो हो कि !’

पूर्वप्रशासक त्रितालको टिप्पणीप्रति महामन्त्री थापानिकट विभिन्न नेता–कार्यकर्ताहरूले सामाजिक सञ्जालबाटै आपत्ति जनाएका थिए । जसमध्ये पर्छिन् कांग्रेसकी लुम्बिनी प्रदेश सदस्य निमा गिरी । समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी उनी पार्टी संसदीय दलमा सचेतक पनि हुन् ।

पार्टीको लुम्बिनी प्रदेश सह–महामन्त्रीको जिम्मेवारीमा पनि रहेकी सचेतक गिरी स्टाटसमा कमेन्ट गर्दै पूर्वप्रशासक त्रितालमाथि खनिएकी छन् । उनले देश नबन्नुमा त्रितालजस्ता कर्मचारी जिम्मेवार रहेकासमेत आरोप लगाएकी छन् ।

‘बाटो महामन्त्रीको मात्र होइन । त्यो यात्रामा आफ्नो कामले हिँड्दै गरेको गाडी रोकिएर बस्न पनि मिलेन नि,’ प्रदेश सांसद गिरीले भनेकी छन्, ‘एकपटक बुझेर लेख्नु कम से कम नेपाल सरकारको त्यो ओहोदामा बसेको व्यक्ति । किन देश बनेन भनेको तपाईंहरु जस्ता कर्मचारी भएर पनि हो ।’

त्रितालले फेसबुकमा टिप्पणी गरेकै दिन शुक्रबार राति ९ बजेपछि फेसबुकमार्फत नै कांग्रेस नेता गुरुराज घिमिरेले पनि संस्था र सदस्यहरूलाई चित्तबुझ्दो परिणाम र उपलब्धि दिन नसक्दासम्म सक्रियता र दौडधुपको कुनै अर्थ नरहने टिप्पणी गरे ।

संस्थागत अस्तव्यस्तता कायम राखेर उपदेश दिँदै हिड्नुको कुनै औचित्य नहुने भन्दै उनले उचित र सार्थक परिणाम नदिँदासम्म राजनीतिक व्यापारमात्र सावित हुने पनि स्मरण गराए । पूर्वप्रशासक त्रिताल झैँ नेता घिमिरेले पनि स्टाटसमा महामन्त्री थापाको नाम भने उल्लेख गरेका थिएनन् ।

कांग्रेस महामन्त्री थापा पछिल्लो समय तामझामका साथ आक्रामक रुपमा देश दौडाहामा निस्किन थालेपछि कांग्रेसको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् । महामन्त्री थापा सहभागी हुने कार्यक्रममा स्वागतका लागि जिल्ला–जिल्लामा नेता–कार्यकर्ताहरू चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनसहित सहभागी हुन थालेपछि एकातिर आलोचना बढिरहेको छ भने अर्कोतिर समर्थन पनि भइरहेको छ ।

महामन्त्री थापाका केही समर्थकहरू त सामाजिक सञ्जालमा आलोचना गर्नेहरूका प्रति असहिष्णुसमेत देखिएका छन् । महामन्त्री थापाप्रति लक्षित गर्दै टिप्पणी गरेपछि नेता घिमिरेले आक्रोश, विरोध र तुच्छ प्रतिटिप्पणी खेप्नु परेको गुनासो गरेका छन्।

‘मैले गत चैत २९ गते यही प्लेटफर्मबाट आफूलाई लागेको सानो कुरा सम्पेषण गरेको थिएँ । त्यसमा साथीहरूले बडो स्नेहपूर्वक गम्भीर चासोका साथ आफ्नो चेतना, ज्ञानको सीमा र ‘प्राप्त स्कुलिङ’अनुरुप टिप्पणी गर्नुभयो,’ घिमिरेले आइतबार फेसबुकमै लेखेका छन्, ‘कतिपय साथीहरूको प्रेम, आदर र सद्भावपूर्ण सुझावलाई मैले मनन् पनि गर्नुपर्छ । कतिपय साथीहरूको विरोध, आक्रोश र तुच्छ टिप्पणीको आधार खोज्दा कहीँ पनि पाइनँ ।’

नेता घिमिरेले कसैप्रति आग्रह वा मोलाहिजा नभएको र आफूले कसैलाई अतिशय प्रेम वा अतिशय घृणा पनि नगर्ने प्रष्टीकरण दिँदै तुच्छ टिप्पणी गर्ने महामन्त्री थापाका समर्थकलाई भनेका छन्, ‘हामी सबैका कुरा ध्यानपूर्वक सुनौँ । राम्रो लागे अनुशरण गरौँ, नत्र असहमति राखौँ तर हुकुमत नलादौँ । तपाईं आफ्नो लोकतन्त्र आफैँसँग राख्नुस् र मलाई मसँगै रहनदिनुस् । यसैका निम्ति हामीले आफ्नो जीवनका बहुमूल्य वर्षहरू बिताएका छौँ ।’

पाँचथर र इलाममा महामन्त्री थापा सहभागी कार्यक्रममा देखिएको भीड र र्‍यालीबारे यसो भन्छन् कांग्रेस पाँचथरका सचिव दीपक नेपाल –

पछिल्लो दिनमा कांग्रेसका कार्यकर्ताहरूमा एक प्रकारको निरासा छाएको थियो । पार्टीलाई रक्त सञ्चार गराउन महामन्त्री गगन थापाले मात्रै सक्नु हुन्छ भन्ने मनोविज्ञान देखिएको छ । यो मनोविज्ञान हाम्रो पुस्तामा मात्रै नभएर अग्रज पुस्तामा पनि देखिएको छ । यो उहाँ प्रतिको विश्वास नै हो ।

उहाँ नेतृत्वमा आए पछि कांग्रेसमा ऊर्जा थपिन्छ भन्ने अनुभूति हाम्रो पुस्ताले मात्रै नभएर अग्रज पुस्ताले पनि गर्नुभएको छ । त्यसकै परिणाम हो अस्ती देखिएको । र्‍यालीमा पनि युवा पुस्तामात्रै थिएनन्, उमेर समूहका हिसाबले फरक उमेर समूहका मान्छेहरू पनि गाडीमा बस्नुभएको थियो । प्रशस्त उपस्थिति थियो ।

महामन्त्री थापासँग नजिक भएका मान्छेहरूको उपस्थिति त स्वाभाविक हुने नै भयो । तर, पछिल्लो चरणमा स्वःस्फूर्त मान्छेहरू देखिन थाल्नुभएको छ । यसरी नेताहरूलाई ‘स्कर्टिङ’ नै गर्ने, ‘वेलकम’ गर्न आफ्नो जिल्लाको ‘इन्ट्री प्वाइन्ट’मा पुग्ने चिज पहिला थियो । त्यो चिज बीचमा रोकिएको थियो । त्यो अहिले फेरि महामन्त्री थापा जाने कार्यक्रममा देखिएको छ ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ५२ बजे

आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख