पछिल्लो समय शहरी क्षेत्रका बालबालिकाहरूमा मोबाइल तथा इन्टरनेटको बढ्दो प्रयोगले पढाइको स्तर खस्किँदै गएको र स्वास्थ्य समस्या बढिरहेको भन्ने गुनासो आइरहेको छ । जुन तथ्य विभिन्न अध्ययनहरूले पुष्टि गरेको छ ।
के शहरी क्षेत्रजस्तै ग्रामीण तथा दुर्गमका बालबालिकामा मोबाइलको प्रयोगले असर असर गरिरहेको छ ? दुर्गमका बालबालिकामा कस्ता स्वास्थ्य समस्या देखिएका छन् ? खाजा कस्तो खुवाइन्छ ? भन्ने विषयमा खबरहबले शिक्षकहरूसँग जिज्ञासा राखेको छ ।
बच्चाहरू इन्टरनेटमा चाहिनेभन्दा नचाहिने कुरा हेर्छन् :

भौगोलिक हिसाबले दुर्गम तथा हिमाली क्षेत्रमा पर्ने रुकुम पूर्वमा जनचेतना र अशिक्षाका कारण अन्यत्रको तुलनामा सहज छैन । जिल्ला भित्रै पनि जनचेतना स्तर राम्रो भएको ठाउँमा परिणाम सकारात्मक छ । तर धेरै बालबालिकाहरूको स्वास्थ्य अवस्था त्यति राम्रो छैन ।
नयाँ प्रविधिको रूपमा भित्रिएको मोबाइलको सही प्रयोग गरियो भने धेरै कुराहरू सिक्ने अवसर पनि हो । तर बच्चाहरूले चाहिनेभन्दा नचाहिने कुरा धेरै हेर्ने भएकोले बच्चाहरूलाई अलि बिगारिरहेको पाइन्छ ।
पढाईको रूपमा दैनिक एकाध घण्टा जस्तो प्रयोग गर्न दिनु ठिकै हो । तर बच्चाले मोबाइल चलाउँदा के हेरिरहेको छ ? भन्ने कुराको जानकारी अभिभावकले राख्नुपर्छ ।
बच्चालाई फकाउन मोबाइल दिने प्रवृत्ति गलत :

सर्वप्रथम त पोषणयुक्त खानेकुराहरू पाइँदैन । भएको खानेकुरा अभिभावकले तौर तरीका मिलाएर खुवाउन नजान्दा कुपोषण कायमै छ । पहिलेको तुलनामा अभिभावकहरूमा शिक्षा तथा जनचेतना बढेकाले केही घटेको छ । अझै पनि विद्यालय आउने धेरै बालबालिकाहरू कुपोषित नै छन् ।
अहिले प्रविधिको युगमा सही तरीकाले मोबाइल तथा इन्टरनेट चलाउनु त ठिकै हो । तर सदुपयोग भन्दा दुरुपयोग धेरै हुने गरेको पाइन्छ । विद्यार्थीहरू पढाइभन्दा मोबाइलमा धेरै व्यस्त भइरहेका छन् । पहिलेका विद्यार्थीहरू मोबाइल नहुँदा मन लगाएर पढ्थे, खाली समयमा शारीरिक कसरत हुने खालका खेलहरू खेल्ने, साथीभाइहरूसँग भेटघाट गर्थे । अहिलेका बालबालिका एकांकी छन् । मोबाइलमा एक्लै रमाउने प्रवृत्तिले पढाइको स्तर खस्किँदै आएको छ ।
बच्चालाई मोबाइलमा भुलाएर आफू कामतिर जाने धेरै अभिभावकको बानी हुन्छ । यसले बालबालिकाको पढाई सँगसँगै मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत असर गर्ने भएकाले आफ्नो निगरानीमा बालबालिकाले हेर्न मिल्ने खालको कुराहरू मात्रै देखाउने र सकेसम्म अन्य क्रियाकलापहरू गराउन सम्पूर्ण अभिभावकसँग आग्रह छ ।
मोबाइलकै कारण विद्यार्थी शिक्षकलाई उछिन्न सफल भए :

लुम्बिनी प्रदेशका सबैभन्दा बिकट मानिने जिल्ला रुकुम पूर्व हो । स्वास्थ्य शिक्षा सम्बन्धी तमाम समस्या त्यहाँका बालबालिकाहरूले झेलिरहेका छन् । मोबाइलले बालबालिका बिग्रिए मात्रै पनि भन्न मिल्दैन । धेरै कुराहरू सिक्ने अवसर पनि पाएका छन् ।
समयमै खान र आवश्यक पर्दा उपचार नपाउने समस्या बालबालिकाले भोगिरहेका छन् ।
घरमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारी लिने अवसर पाएका छन् । पाठ्यपुस्तकका प्रश्नहरू खोजेर आफैँ हल गर्ने क्षमताको विकास मोबाइलका सकारात्मक पक्ष हुन् । तर अभिभाकले ध्यान नदिँदा कतिपय बालबालिकाहरू त्यसैमा केन्द्रित भएर पढाइमा बाधा हुने र मानसिक समस्याहरू देखिने गरेका छन् । थोरै मात्रामा बेफाइदा गरे पनि मोबाइल तथा इन्टरनेटकै कारण अहिलेका बालबालिका चनाखो र सक्रिय भएर शिक्षकभन्दा धेरै जान्ने भएका छन् ।
विद्यालयमा शिक्षकहरूले मात्रै मोबाइल धेरै चलाउनु हुँदैन भनेर हुँदैन । अभिभावकले पनि आफ्ना बालबालिकाले मोबाइलको प्रयोग कसरी गरिहरेका छन् भनेर निगरानी गरेर मोबाइल चलाउन दिँदा यसका बहुआयामिक फाइदा छन् ।
बालबालिकाको स्वास्थ्यमा गुणात्मक परिवर्तन आएको छ :

दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्यमा पहिलेको तुलनामा निकै सुधार आएको अवस्था छ । पहिलेका बालबालिकाहरूमा कुपोषण हुने, उमेर अनुसारको तौल तथा उचाइ नहुने, सिकाइ क्षमता न्यून हुने जस्ता समस्या हुन्थे । अहिले अभिभावकहरूमा आएको सचेतना र स्वास्थ्यमा पोषणलगायत विभिन्न कार्यक्रम सञ्चालन भइरहेकाले उमेर अनुसारको तौल, उचाइ तथा मानसिक स्वास्थ्यमा सुधार आएको छ ।
विद्यालयमा उपलब्ध गराइएको दिवा खाजाले उनीहरूमा पोषणको मात्रा पुगेको छ । हामीले दिवा खाजामा स्थानीय स्तरमा उपलब्ध अर्ग्यानिक खानेकुरा ६ दिनमा ६ प्रकारका खानेकुराहरू जस्तै अण्डा, फलफूल, गेडागुडी, खिचडी, रोटी तरकारी, कोदोको हलुवालगायतका खानेकुरा समावेश गर्ने गरेका छौँ ।
त्यस्तै किशोरीहरूका लागि महिनावारीको समयमा सेनेटरी प्याड दिने काम भएका छन् । बालबालिकाहरूकै स्वास्थ्यको लागि भनेर सरकाले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रम स्थानीय तहमा लागू भइसकेको छ ।
शहरी क्षेत्रका बालबालिकाको तुलनामा दुर्गमका बालबालिकाहरू मोबाइलको प्रयोग कमै मात्रामा गर्छन् । तर पनि यसले पढाइमा बाधा सँगै शारीरिक क्रियाकलापमा कमी ल्याउने काम गरिरहेको छ ।
नर्स टिक्दैनन्, स्वास्थ्य अवस्था नाजुक छ :

यहाँका बालबालिकामा खानपिनकै समस्या छ । पछिल्लो समय गाउँ गाउँमा गठन गरिएका आमा समूहले अर्ग्यानिक खाना खुवाउनुपर्छ भनेर सचेतना फैलाइरहेका छन् । जसले गर्दा केही बालबालिकाहरूको स्वास्थ्य अवस्था राम्रो छ ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अवस्था नाजुक नै छ । सरकारले खाजाको व्यवस्था गरेको छ । तर जम्मा १५ रुपैयाँले के खाजा आउँछ ? विद्यार्थी संख्या धेरै भएकाले विद्यालयमै पकाएर खुवाउन सम्भव हुँदैन । त्यसैले त्यही पैसा विद्यार्थीहरूलाई दिन्छौँ । अभिभावकहरू जे सजिलो लाग्छ, त्यही पठाउँछन् । धेरै अभिभावकहरूले जंकफुडहरु नै पठाउने गरेका छन् । यो अलि समस्याको विषय छ ।
त्यस्तै स्वास्थ्यकै कुरा गर्नुपर्दा किशोरीहरूका लागि सेनेटरी प्याडहरू विद्यालयले नै दिने गरेको छ भने विद्यालय नर्स कार्यक्रम पनि लागू भएको छ । धेरै नर्सहरू नियुक्ति भएको एक, दुई महिनामा सुगमतिर जाने गर्नाले समस्या दोहोरिने गर्छ ।
बच्चाले आमा बाउको सिको गर्ने हुन् :

हाम्रो स्कुलका बालबालिकाको स्वास्थ्य अवस्था राम्रो छ । सरकारले दिने गरेको दिवा खाजा पनि हामीले विद्यालयमै अर्ग्यानिक खानेकुरा पकाएर खुवाउने गरेका छौँ ।
तर पछिल्लो समय अभिभावक आफै मोबाइल तथा ल्यापटपमा धेरै व्यस्त हुने भएकाले बालबालिकाले त्यसलाई राम्रो मानेर सिको गर्छन् । जसका कारण अहिलेका बालबालिकाको आँखामा समस्या देखिने गरेको छ । प्रतिबन्ध नै लगाउन सम्भव छैन । ज्ञानका सम्पूर्ण स्रोत इन्टरनेटमै भएकाले कडिकडाउ गर्ने भन्दा पनि त्यसको समुचित प्रयोगमा बच्चालाई प्रोत्साहित गर्न जरुरी छ ।
भिडियोमा पनि हेर्नुहोस् :
प्रतिक्रिया