नगरकोट भ्रमण वर्ष : एक लाख पर्यटकको आगमन | Khabarhub Khabarhub

नगरकोट भ्रमण वर्ष : एक लाख पर्यटकको आगमन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दुई दिनमा एक लाख पर्यटकको आगमन भएको छ । पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्यटकको आगमन भएको हो ।

पर्यटन प्रवर्द्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारीका अवसर सृजना, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापितलगायत उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिएको हो ।

नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्‌घाटन गरेको भ्रमण वर्षका अवसरमा पहिलो दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए। उनका अनुसार आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको छ ।

उनले भने, ‘नगरकोट भ्रमण वर्षको सुरुमा पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत चैत अन्तिम दिन कुनै पनि होटलका कोठा खाली थिएनन्, होमस्टेसमेत भरिएका थिए । वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो । आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।’

भ्रमण वर्ष उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्री भइरहेको छ भने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

आज तेस्रो तथा उद्‌घाटन कार्यक्रमको समापनका दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहको प्रस्तुति रहेको छ । सांस्कृतिक कार्यक्रममा २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष एवं चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात् आगामी चैत मसान्तसम्म सञ्चालन हुने जानकारी दिँदै नगरप्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षको सुरुआत पूर्ण रूपमा सफल भएको बताए। 

नगरकोट आएका हजारौँ पर्यटकले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँका विभिन्न स्टलको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेका उनको भनाइ छ । 

नगरकोटमा उद्घाटनका तीन दिनमा एक लाख स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने उद्देश्य रहेकामा उक्त उद्देश्य पूरा भएको भन्दै एक वर्षमा ११ लाख पर्यटकलाई नगरकोट ल्याउने र पर्यटनको विश्वबजारमा नगरकोटलाई चिनाउने नगरप्रमुख खत्रीले बताए। 

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाले प्रत्येक महिनामा कम्तीमा एउटा संयुक्त रूपमा नगरकोट केन्द्रित पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य बनाउने गरी थप कार्यक्रम वडास्तरबाट सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । 

भ्रमण वर्षले चारवटै पालिकाको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत सम्पूर्ण क्षेत्रका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलाई पूरा गर्ने विश्वास लिइएको नगरप्रमुख खत्रीले बताए। 

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई यहाँका वडा नं १ देखि ९ सम्मका सम्पदाका बारेमा पर्यटकलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने, यहाँका सबै पर्यटकीय गन्तव्यलाई देश र विदेशमा प्रचार गर्नेगरी भ्रमण वर्ष सफल पार्ने बताए।

उनले नगरकोटसँगै चाँगुनारायण नगरपालिकाका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने, त्यसलाई संरक्षण गर्ने, विकास गर्ने र नगरकोट आउने पर्यटक चाँगुनारायणका वडावडामा नयाँ गन्तव्यको रूपमा विकास भएका पर्यटकीय क्षेत्रमा पुर्‍याउने, नगरकोटसँग सिमाना जोडिएका पालिकाका पर्यटकीय क्षेत्रमा पर्यटकलाई पुर्‍याउने, यहाँका पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्ने, दीर्घकालीन योजना तयार गर्ने, पर्यटकको बसाइ लम्ब्याउनेगरी भ्रमण वर्ष शुभारम्भ भएको जानकारी दिए । 

नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरेको, चारवटै पालिकाबाट सहजै नगरकोट पग्ने व्यवस्था गरेको, काठमाडौँ नगरकोट सिँधा बस सञ्चालन गरेको, नगरकोटलाई सिङ्गारिएर झकिझकाउ बनाएको बताउँदै भ्रमण वर्षले पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको उपप्रमुख बुढाथोकीले उल्लेख गरे। 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी नवीन लामाले नगरकोट आउने पर्यटकलाई एक वर्षसम्म खान र बस्न १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिए । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : ५३ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको