एमालेका भ्रातृ संगठनमा निर्वाचन निषेध, सर्वसम्मतिका नाममा सबैमा ‘टीकेप्रथा’ | Khabarhub Khabarhub

एमालेका भ्रातृ संगठनमा निर्वाचन निषेध, सर्वसम्मतिका नाममा सबैमा ‘टीकेप्रथा’

युवासंघमा दोहोरिने थेबेको दाउ, अरूले दिँदैछन् चुनौती



काठमाडौं– नेकपा एमालेका २२ वटा जनसंगठनमध्ये १० वटाको महाधिवेशन भइसकेको छ । ती संगठनले फागुनयता महाधिवेशन गरेका हुन् ।

अब बाँकी १२ वटा जनसंगठनको महाधिवेशन एमालेले चैत मसान्तसम्म गरिसक्ने तयारी गरेको छ । त्यसमध्ये ६ वटा जनसंगठनको निर्वाचन यही जेठमा गर्ने छ ।

एमाले जनसंगठन प्रमुख भानुभक्त ढकालका अनुसार ०८१ र ०८२ को वर्षमा जनसंगठनका निर्वाचन गरिसक्ने कार्यतालिका छ ।

फागुनयता भएका १० वटै जनसंगठनका पदाधिकारी एमालेले सर्वसम्मत चयन गरेकाले त्यसपछि १२ हुने वटाका पनि पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ । अर्थात् नेताहरूले सर्वसम्मतका नाममा निर्वाचनलाई पूरै निषेध गर्न थालेका छन् । एमालेमा विस्तारै प्रतिस्पर्धा हराउँदै गएको छ ।

त्यहीकारण सर्वसम्मत नेतृत्वका नाममा कम्युनिस्ट पार्टीमा ‘टीके प्रथा’ हाबी भएको भन्दै नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठिरहेको छ ।

एमालेले जनसंगठनहरूमा नेतृत्व छान्न निर्वाचनलाई अंकुश लगाउँदा लोकतान्त्रिक प्रक्रिया भने मर्न थालेको छ । कतिपय संगठनका नेताहरू प्रतिस्पर्धा गर्न नपाउँदा निराश छन् । नेतृत्वमा आउन चाहेका उनीहरूलाई पार्टीको माथिल्लो तहबाट हस्तक्षेप गरेर छेकिएको छ । सहमतिका नाममा प्रतिस्पर्धा निषेध गरिँदा कतिपय सक्षम नेता कार्यकर्ता निरशा भएर पाखा लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै जनवर्गीय संगठनको महाधिवेशन सहमतिमै गर्न निर्देशन दिएका छन् । उनको यो निर्देशनले जनसंगठनका नेताहरूको भावनामा खेलबाड गरेको गुनासो छताछुल्ल छ ।

ओलीले आफ्नो पकडभन्दा बाहिरको नेतृत्व जनसंगठनमा आउन नदिन यसो गरेको नेताहरू बताउँछन् । किन सहमतिमा नेतृत्व छान्नु भएको भन्ने प्रश्नमा जनसंगठन विभाग प्रमुख भानुभक्त ढकाल भन्छन्, ‘फागुनयता १० वटा जनसंगठनको महाधिवेशन भएको छ । झगडा गरेर महाधिवेशन गर्नु राम्रो होइन । सर्वसम्मत नभए विधि र प्रक्रियाको पालन गरौँ भन्ने पार्टीको मान्यता हो । जनसंगठनका साथीहरू सर्वसम्मति गरिरहेका छन् । नेतृत्वले यसमा हस्तक्षेप गरेको छैन ।’

पार्टी नेतृत्वले ढकाललाई पनि सर्वसम्मत महाधिवेशन गराउन निर्देशन दिएको छ। यसअघि विराटनगरमा भएको प्रेस चौतारीको महाधिवेशनमा उनले त्यही कुरा मञ्चबाट सुनाउँदै निर्वाचन कार्यक्रम नै नराखिएको घोषणा गरे ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आफू अनुकूलका मान्छे जनसंगठनमा आफ्नो पकड बलियो बनाउन चाहेको एमाले नेताहरू बताउँछन् । तर ढकाल भने यसलाई अस्वीकार गर्छन्, ‘सर्वसम्मत नेतृत्व आउँदा कतिपयलाई टाउको दुखेको छ । पार्टीले हस्तक्षेप गरेको छैन । उहाँहरू आफैँ तयार हुनुभएको हो ।’

तर ०८१ चैत ११ गते विराटनगरमा भएको एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको १० औँ महाधिवेशनमा प्रतिस्पर्धालाई पूरै निषेध गरियो ।

पदाधिकारीमा निर्वाचन नगरेर सर्वसम्मतिको बाटो रोज्दा चौतारीसम्बद्ध नेताहरूले महाधिवेशनस्थल नै छाडेका थिए । त्योबेला अध्यक्षका लागि गणेश पाण्डे र राजेश राई दाबेदार थिए । तर पार्टीले हस्तक्षेप गरे पाण्डेलाई सर्वसम्मतका नाममा टीका लगाइदिएर अध्यक्ष बनायो ।

महाधिवेशन भएका जनसंगठन र नेतृत्व

०८१ फागुनयता एमालेका १० वटा जनसंगठनको महाधिवेशन भएको छ । ढकालका अनुसार कुनै पनि जनसंगठनको महाधिवेशन नेतृत्व चुन्न मतदान भएको छैन ।

१.मानवअधिकार तथा सामाजिक न्याय मञ्च : विदुर सुवेदी
२.नेपाल उद्योग व्यवसाय महासंघ : भगिरथ सापकोटा
३.प्रगतिशील इन्जिनियर्स एसोसिएसन : डा. भेषराज थापा
४.राष्ट्रिय अपाङ्गता संगठन नेपाल : जगदीश प्रसाद अधिकारी
५.नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन : विनोद पाण्डे दोस्रो कार्यकाल
६.नेपाल मुस्लिम इत्तेहाद संगठन : हारून हलवाई कादरी
७.प्रेस चौतारी नेपाल : गणेश पाण्डे
८.राष्ट्रिय जनसाँस्कृतिक महासंघ : भूमिका सुब्बा
९.भूमि अधिकार तथा श्रमिक संगठन नेपाल : इन्द्र तामाङ
१०.रिटर्नी फेडरेसन नेपाल : उत्तम अधिकारी

मंसिरअघि नै ६ वटाको महाधिवेशन

यही जेठ मसान्तसम्म ६ वटा जनसंगठनको महाधिवेशन हुने अवस्था छ । तत्कालै ५ गतेबाट ७ गतेसम्ममा नेपाल उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशन हुँदैछ । त्यसपछि जनसंगठनमा सबैभन्दा प्रभावशाली राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन हुँदै छ ।

युवासंघको महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म हुने तालिका छ । त्यसपछि नेपाल बुद्धिजीवी परिषद्को महाधिवेशन हुने छ । यस्तै स्वास्थ्यकर्मी महासंघको महाधिवेशन जेठ मसान्तसम्म हुने छ ।

यस्तै नेता उत्पादन गर्ने आधार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पनि महाधिवेशन हुने छ । यस संगठनको निर्वाचनलाई पनि पार्टीमा महत्वसाथ हेरिएको छ । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगको निर्वाचन पनि जेठ मसान्तसम्म हुने छ ।

चैतसम्म महाधिवेशन सक्नुपर्ने ७ जनसंगठन

बाँकी ७ वटा जनसंगठनको पनि चैत मसान्तसम्म महाधिवेशन सक्नुपर्ने छ । चैत मसान्तभित्र ७ वटा जनसंगठनको महाधिवेशन पनि सक्ने तयारी भइरहेको ढकालले बताए ।

१.अखिल नेपाल किसान महासंघ
२.अखिल नेपाल महिला संघ
३.लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल
४.नेपाल खेलकुद महासंघ
५.नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०
६.पेसागत महासंघ, नेपाल
७.राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

त्यसपछि ०८३ सालबाट सबै जनसंगठनले आफ्नो–आफ्नो गतिविधि बढाएर पार्टीलाई ०८४ को निर्वाचनमा जिताउन मैदानमा उत्रिने एमाले नेताहरू बताउँछन् ।

युवा संघमा रस्साकस्सी

युवा संघ नेपालमा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । संघले यही ९ गतेदेखि ११ गतेसम्म पोखरामा दशौँ महाधिवेशन गर्दैछ । अध्यक्षमा क्षितिज थेबे दोहोरिने दाउमा छन् । तर तीन उपाध्यक्ष र महासचिवले पनि आकांक्षा देखाएका छन् । एमाले नेतृत्व थेबेलाई नै नेतृत्वमा ल्याउन चाहेको नेताहरूको दाबी छ । थेबेले भने कुनै रुपमा इच्छा नदेखाएको बताए ।

‘मैले दोहोरिने मनसाय गरेको छैन । तर पार्टीले आवश्यकता ठानेर दिए तयार छु । हामी पार्टीको सल्लाह र निर्देशनमा काम गर्ने हौँ, ’ थेबेले खबरहबसँग भने, ‘मैले त पार्टीको काममा लाग्छु भनेको छु । नेतृत्वले केही भन्नुभएको छैन । अन्य साथी पनि हुनुहुन्छ युवा संघ हाँक्ने ।’

थेबे अध्यक्ष हुँदा युवा संघ चलायमान भएको बताइन्छ । उनले विभिन्न कार्यक्रम गरेर युवालाई उत्साहित बनाएकाले पुन : अध्यक्षमा दोहोरिनुपर्ने आवाज पनि उठेका छन् । तर नेतृत्व नदोहोरिई सबैले अवसर पाउनुपर्ने मनसायसहित तीन पदाधिकारीले उनलाई रोक्न प्रयत्न गरिरहेका छन् ।

थेबेसहित नेतृत्वको दाबी गर्नेमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी र महाराज गुरुङ छन् । युवा संघका अहिले पनि पूर्वइन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको हस्तक्षेप छ । अहिलेसम्म उनी थेबेप्रति लचक छन् । त्यसपछि महासचिव पुरी उनको रुचिका व्यक्ति हुन् ।

संघका एक पदाधिकारी भन्छन्, ‘यो पटक तीनजनाले दाबी नछाडे थेबे दोहोरिनु हुन्छ होला ।’ थेबेले काठमाडौंमा युवा उतार्नेदेखि लिएर आइटी सम्मेलन पनि गरेका छन् । उनले खेलहरू आयोजना पनि गरे ।

यता जनसंगठन प्रमुख ढकाल युवाले सक्षम, क्षमतावान् र योग्य व्यक्ति छनोट नगरे पार्टीले सुझाव दिने बताउँछन् । तर अहिले यो–त्यो भनेर नहिँड्ने उनको तर्क छ । उनले युवा संघमा थेबेको कामको प्रशंसा गरे ।

‘थेबेजी जतिको चलायमान र इमानदार युवा आउनुपर्छ । यदि अहिलेका आकांक्षीमा त्यो क्वालिटस् नदेखिए दोहोरिन सक्नुहुन्छ । उमेर पनि छ’, ढकालले भने । युवा संघको उमेर हद ४० वर्ष हो । थेबेले अझ एक कार्यकाल चलाउँदा मात्रै ४० पुग्ने नेताहरू बताउँछन् ।

यस्तै महासचिवमा पनि ४, ५ जना दाबेदार छन् । निरज पौडेल, विनय शाह, महेश चौलागाईँ, खेम शर्मा, राजु थापालगायत महासचिवका दाबेदार हुन् ।

एक उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि ४, ५ जना आंकाक्षी छन् । युवा संघमा अहिले १७ जना पदाधिकारी छन् । अब ९ जना मात्रै रहने प्रावधान छ ।

महाधिवेशनले १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । हालसम्म युवा संघले म्याद पुगेका ६५ जिल्लाको महाधिवेशन गरेको सचिव निरज पौडेलले बताए । शुक्रबार पाँचथरमा अधिवेशन भएको छ । महाधिवेशनमा देशभरबाट १८ सय ४० जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : ५४ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप