सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड  | Khabarhub Khabarhub

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले  बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको बजेटले कृषि र पूर्वाधार, उद्योग र उत्पादनमा जोड दिएको छ । प्रदेशको सुशासन प्रवर्द्धन र पर्यटन विकासलाई पनि बजेटमा स्थान दिएको छ । शिक्षा र रोजगारीलाई पनि विशेष जोड दिएको र उद्यम र उत्पादनमा युवा जोड्ने गरि बजेटको योजना प्रस्तुत गरिएको छ ।

मन्त्री थापाका अनुसार कुल बजेटमध्ये चालु तर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगत तर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ छुट्याइएको छ । अघिल्लो वर्षको तुलनामा चालु वर्षको बजेट करिब २ अर्ब रुपैयाँले वृद्धि भएको हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याइएको थियो ।

सरकारले सबैभन्दा ठूलो बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरेको छ । मन्त्रालयका लागि १५ अर्ब ४० करोड ३० लाख १७ हजार रुपैयाँ छुट्याइएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ अर्बले बढी हो ।

चालु आर्थिक वर्षमा यो मन्त्रालयलाई १४ अर्ब ६० करोड १४ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको थियो । मन्त्रालयमार्फत सडक निर्माण, खानेपानी योजना, मर्मत तथा बाढीपहिरो नियन्त्रणजस्ता कार्यक्रम सञ्चालन गरिने छ ।

कृषि क्षेत्रमा प्रदेश सरकारले ३ अर्ब ३० करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘एक स्थानीय तह, दुई उत्पादन’ कार्यक्रम लागू गर्ने गरी ७० करोड रुपैयाँ छुट्याइएको छ । सो कार्यक्रमअन्तर्गत १७६ वटा पकेट क्षेत्र निर्माण गरिनेछ र त्यहाँ १७६ जना प्राविधिक परिचालन गरिने छन् । यसबाट ५ हजार कृषक लाभान्वित हुने विश्वास गरिएको छ ।

यसैगरी, कृषि कर्जाको ब्याजमा अनुदानका लागि १३ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । मन्त्री थापाका अनुसार, यसले युवाहरूलाई कृषिमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

साथै, प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्न १ अर्ब ३१ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ । विगतमा सुरु भएर अपूरा रहेका योजनाहरूलाई आगामी वर्षमा उच्च प्राथमिकता दिइने पनि मन्त्री थापाले स्पष्ट पारेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ । समग्र उद्योग, वन तथा पर्यटन क्षेत्रमा दुई अर्ब ३८ करोड रुपैयाँ छुट्याइएको छ ।

एक जिल्ला, एक उद्योग कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ छुट्याइएको छ । खेलकुद क्षेत्रतर्फ प्रत्येक जिल्लामा एक वटा क्रिकेट मैदान निर्माण गरिनेछ, जसका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा तथा प्रविधिको क्षेत्रमा पनि सरकारले महत्वपूर्ण कार्यक्रम अघि सारेको छ । कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको लागि ५ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । त्यसैगरी, एम्बुलेन्ससहित भेटेरिनरी इमर्जेन्सी सेवा सुरु गर्न १ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारको कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘सीएम एक्सन’ नामको संयन्त्र बनाइने भएको छ । अनुगमन प्रणालीलाई सुदृढ बनाउन ५० लाख रुपैयाँ छुट्याइएको छ । सुशासन प्रवर्द्धनका लागि संयन्त्र निर्माणसहित सुशासन फेलोसिप कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री थापाले जानकारी दिएका छन् ।

प्रदेशभर कार्यरत जनशक्तिको विवरण व्यवस्थापन गर्न ३ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ । साथै, व्यवसायमैत्री वातावरण निर्माण गरी लगानी आकर्षण गर्ने नीतिगत तथा संस्थागत संयन्त्र बनाउने योजना पनि बजेटमा समावेश गरिएको छ ।

यसै सन्दर्भमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको सम्मेलन सुदूरपश्चिममै आयोजना गरिने भएको छ र त्यसका लागि पनि बजेट छुट्याइएको छ । जलवायु अनुकूल सिँचाइ सुविधा विस्तार गर्न १० करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, निजी–सार्वजनिक साझेदारीको मोडेलमा जलविद्युत उत्पादन सुरु गर्ने योजना बजेटमार्फत अघि सारिएको छ ।

यसरी, सुदूरपश्चिम प्रदेशको आगामी वर्षको बजेटले पूर्वाधार विकाससँगै कृषिको व्यावसायीकरण, उद्योग र पर्यटनको प्रवर्द्धन, शिक्षा र प्रविधिमा लगानी, सुशासन प्रवर्द्धन तथा जनशक्ति व्यवस्थापनजस्ता क्षेत्रमा विशेष जोड दिएको छ ।

मन्त्री थापाका अनुसार बजेटले समावेशी, उत्तरदायी र परिणाममुखी शासन व्यवस्थाको आधार तयार पार्ने अपेक्षा गरिएको छ ।

बजेटमा नौ वटै जिल्लामा क्रिकेट मैदान बनाउने गरि १ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । क्रिकेटको हब सुदूरपश्चिमलाई बनाउने गरि बजेट विनियोजन गरिएको देखिन्छ ।

सुदूरपश्चिमका ५३ सांसदलाई २ अर्ब २३ करोड सुदूरपश्चिम प्रदेश सरकारले २ अर्ब २३ करोड रुपैयाँ सांसदहरूलाई वितरण गरेको छ । सुदूरपश्चिम प्रदेशका ५३ प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारबाट २ अर्ब २३ करोडका योजना पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष विजयी भएका ३२ प्रदेशसभा सदस्यहरूलाई पाँच करोड र समानुपातिक २१ जना प्रदेश सभा सदस्यहरूले तीन करोडका दरले योजना पाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला मुख्यमन्त्री, मन्त्रीहरू र राज्यमन्त्रीहरूले समेत अन्य प्रदेश सभा सदस्यहरू सरह बजेट पाएका छन् । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरूलाई पाँच करोडका योजना माग गर्न भनेको थियो ।

प्रदेश सरकारले १० लाखका २० वटा र २५ लाखका १२ वटा योजना माग गर्न भनेको थियो । तर, प्रदेश सभा सदस्यहरूले पाँच लाखका योजनासमेत माग गरेका छन् । प्रदेश सरकारले स्थानीय तहमा बजेट पठाउने सर्तमा प्रदेश सभा सदस्यहरूका पाँच लाखका योजना समेत बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

वित्तीय हस्तान्तरणमार्फत कार्यान्वयन गर्ने भन्दै पाँच लाखसम्मका कार्यक्रम तयार भएका हुन् । तर, प्रदेश सरकारले १० लाख भन्दा साना योजना नबनाउन प्रदेश सभा सदस्यहरूलाई भनेको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : २३ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने