जलवायु परिवर्तन र मुस्ताङको सकस | Khabarhub Khabarhub

जलवायु परिवर्तन र मुस्ताङको सकस



काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो सामूहिक समस्याका रुपमा देखापरेको छ । यसले विश्वको ध्यान केन्द्रित गरिरहेको छ । जलवायु परिवर्तनले समग्र मानव जातिलाई मात्र नभएर पर्यावरणीय चक्रलाई नै खल्बल्याइरहेको छ । जसरी जलवायु परिवर्तनले विश्वभरि असर पारेको छ, त्यसैगरी नेपाल पनि प्रभावित बन्दै आइरहेको छ । जलवायु परिवर्तनले सबैभन्दा बढी असर नेपालका उच्च हिमाली क्षेत्रमा पारेको देखिन्छ।

 समग्रमा भन्ने हो भने जलवायु परिवर्तनले वातावरणीय असर मात्र पारेको छैन्, मानवीय सङ्कट पैदा गरेको छ । युगौँदेखिको परम्परा र संस्कृति लोपउन्मुख भइरहेको छ । रैथाने कृषि प्रणाली तथा प्रविधि र खानाका परम्परागत परिकारहरू हराउँदै गइरहेका छन् । मानवीय सम्बन्ध, सामाजिक अन्तरसम्बन्ध तथा भौगोलिक सम्पन्नता पनि जलवायु परिवर्तनले प्रभावित बनाएको छ । मानव र वन्यजन्तुबीचको सम्बन्ध पनि खल्बलाएको छ । प्राकृतिक द्वन्द्व सिर्जना गराएको छ । र, जलवायु परिवर्तनले परम्परा र आधुनिकताबीचको नवीन सङ्घर्ष जन्माएको छ । 

म्यान्जो फाउन्डेसनले गरेको एक अध्ययनअनुसार उच्च पहाडी भेगमा पछिल्ला केही दशकहरूमा नाटकीय परिवर्तनहरू आएको जनाएको छ । उक्त अध्ययनले पहिले वर्षभरि हिउँले ढाकेका पहाडहरू अहिले खाली र सुक्खा हुँदै गइरहेका छन् । र, हिमाली क्षेत्रमा हिमनदी, बरफ र हिउँले ढाकिएको क्षेत्र विश्वको औसतभन्दा धेरै छिटो घटिरहेको जनाएको छ । हिमाली क्षेत्र, अरू क्षेत्रभन्दा दुई गुणा छिटो तात्दै गइरहेको अनुसन्धानले जनाएको छ । विश्व तापमानले हिउँ र बरफको मात्रामा गम्भीर प्रभाव पारेको छ । यसले हिमाली क्षेत्रमा मानवीय सङ्कट पैदा गर्दै गइरहेको छ । यो मानव जाति र प्रकृति दुवैका समस्या बन्न पुगेको छ । 

यस्तै, मुस्ताङ पनि जलवायु परिवर्तनको असरबाट प्रत्यक्ष प्रभावित भइरहेको छ । पानी नपर्ने तर हिउँ पर्ने भनेर चिनिएको हिमालपारिको जिल्ला मुस्ताङमा नियमित हिउँ पर्न छोडेको वर्षौं भयो । हिउँमै जन्मी हुर्की खेलेका मुस्ताङीलाई हिउँ नै बिरानो बन्न थालेको छ । हिउँदमा कहिलेकाहीँ देखिने हिउँले उनीहरूलाई जिस्काइरहेको आभास हुन थालेको छ ।

उनीहरु सोचिरहेका छन्, किन उहिलेको जस्तो हिउँ पर्दैन रु किन पहिलेको जस्तो खेतीपाती हुँदैन रु जस्ता प्रश्नहरूले घच्घच्याइरहेको छ ।  उनीहरूले जीवनशैली फेरिएको अनुभव गरिरहेका छन् । आफ्नै आँखा अगाडि हिमाल डाँडामा परिणत भएको देखेका छन् । कृषि उत्पादन भूमि सुक्खा बगरमा परिणत भएको अनुभव गरिरहेका छन् । उनीहरूले आफ्ना लेकहरुमा याक, चौँरी तथा च्याङ्ग्राका बथानहरुको अगुवाइ गर्न छाडिसके । वरिपरिका सुक्खा डाँडाहरुमा बेमौसममा पहिरो गएको आफ्नै आँखासामु देखेका छन् । 

गाउँको पानीको मूलमा पानी आउन छोडेको छ । हिमालबाट आउने पानीका मुहानहरुमा पानी कम हुँदै गइरहेको छ । स्थानीय भाषा, कला तथा संस्कृतिमा परिवर्तन आएको छ । स्थानीय परम्परामा आधारित व्यवसाय संकटमा परेका छन् । मुस्ताङबासी यस्तै परिवर्तन भोग्दैदेख्दै आइरहेका छन् । समयक्रमसँगै भएको परिवर्तनले स्थानीय बासिन्दाको जीवनशैली तथा प्रभावित भएको छ । योभन्दा ठूलो असर प्रकृतिमा परेको छ । यसको मूल कारण भनेको जलवायु परिवर्तन हो ।  

जलवायु परिवर्तनले मुस्ताङमा मानिसको बासस्थान मात्र नभएर पर्यावरण नै प्रभावित भइरहेको छ । मुस्ताङमा पनि अरू हिमाली क्षेत्र जस्तै हिमताल सङ्कटमा रहेका छन् । ताल सुक्ने तथा विस्फोट हुने खतरा पनि बढी रहेको छ । पछिल्ला वर्षहरुमा मुस्ताङमा पानी पर्न थालेको छ । यसको कारण बाढीको प्रकोपमा स्थानीय गाउँबस्तीहरु मारमा पर्ने गरेका छन् । 

उदाहरणका लागि, २०८० साउन २८ गते कागबेनीमा आएको बाढीले त्यस क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । समयमा समयमा हुने तीव्र हावाहुण्डरी तथा असिनापानीले कृषिबालीमा असर पर्न थालेको छ । मुख्यगरी अप्रत्याशित हुने हिमपात, बरफको आँधी तथा खडेरीले पनि जनजीवन प्रभावित हुने गरेको छ । यसले गर्दा यस क्षेत्रका गरिबी रेखामुनि रहेका तथा भौगोलिक जोखिममा परेका समुदायलाई बढी प्रभावित बनाएको छ । 

गाउँघरमा खाना पकाउनका लागि प्रयोग हुने दाउरा पनि पाइँदैन । डाँडामा भएका सामान्य बुट्यानबाहेक ठूल्ठूला रूखहरु लोप हुँदै गइरहेका छन् । बुबाबाजेले घरमाथि जम्मा पारेका दाउरा अचेल नासोका रुपमा मात्र छन् । किनभने उतिबेलाको जस्तो घनाजङ्गल अहिले छैनन् ।

अचेल खाना पकाउन ग्यासको प्रयोग गरे पनि हिउँदमा जाडो हुँदा भने निकै कठिनाइ भोगिरहेका छन् । दाउरा नहुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अझ बढी प्रभावित हुने गरेका छन् । उनीहरुका लागि जाडोबाट बच्न एक मात्र उपाय भनेको दाउरा बालेर आगो ताप्नु र घरलाई न्यानो बनाउनु हो । तर अब त्यो सम्भावना कम हुँदै गइरहेको छ । यसको कारण हिउँदे जीवन प्रभावित हुन थालेको छ । 

जलवायु परिवर्तनसँगै बढ्दो तापक्रम तथा वायुमण्डलमा आएको परिवर्तनले यस क्षेत्रमा स्थानीयको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । मुस्ताङको जोमसोम उपत्यका तथा वरिपरिका बस्तीहरुमा लामखुट्टे देखिन थालेका छन् । जुन भविष्यमा स्थानीय बस्तीका लागि निकै ठूलो स्वास्थ्य समस्या बन्नेछ । बढी हावा चल्ने कारणले बेमौसमा चिसो हुने गरेको छ । यसका कारण रुघाखोकी तथा ज्वरोलगायत रोगहरु बढिरहेका छन् । यसमा पनि अझ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी प्रभावित बनाएको छ ।

जलवायु परिवर्तनले मुस्ताङका विभिन्न क्षेत्रहरु हुने खेतीपाती तथा पशुपालनलाई प्रभावित बनाएको छ । यस क्षेत्रका मुख्य कृषिबालीहरु आलु, उवा, जौ तथा फापरलगायतका उत्पादनमा कमी आएको छ । कमी आउनुको मुख्य कारण बेलैमा हिउँ नपर्नु हो । 

यस क्षेत्रमा हिउँ नपरेसम्म बाली सप्रिँदैन । हिउँ नपरेपछि सिँचाइमा पनि समस्या देखिन थालेको छ । स्थानीय नदीनालाहरुमा पानीको मात्रा कम हुन थालेको छ । अझ सानातिना खोलाहरु त सुक्दै गइरहेका छन् । हिउँ तथा पानी नपरेपछि खेतबारी सुक्खा हुँदै गएका छन् । अर्को कुरा, पशुपालन गर्न कठिनाइ भएपछि मलको अभाव भएको छ । स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादनले सहजै बजार नपाउनु पनि समस्याको रुपमा देखिएको छ । 

पशुपालन यहाँको अर्को मुख्य पेसा हो । च्याङग्रा, चौँरी तथा भेडाबाख्राहरु पाल्न कठिन हुन थालेको छ । पशुपालन नहुँदा ऊन उत्पादनमा कमी आएसँगै धेरैको मुख्य पेसा नै सङ्कटमा परेको छ । एकातिर व्यवसाय घटेको छभने अर्कोतिर स्थानीय कलासंस्कृति तथा परम्परामा आधारित लुगाहरु उत्पादन हुन छोडेको छ । यसले मस्ताङको मौलिक परिचय नै संकटमा परिरहेको छ । 

अर्को कुरा, प्रशस्त मात्रामा स्थानीय कृषि उत्पादन नहुँदा स्थानीय बासिन्दा बाहिरबाट आएको महङ्गो खानेकुरा खान बाध्य छन् । त्यति मात्र हैन, स्थानीय रैथाने खाना तथा परिकारहरू लोप हुँदै गइरहेका छन् । यसले मुस्ताङीको जीवनचक्रलाई परिवर्तन गरेको छ । उनीहरूलाई अचानक आएको परिवर्तनलाई स्वीकार्न सकस हुँदै आएको छ । 

गाउँहरु युवाविहीन देखिन्छन् । गाउँमा आफ्नो भविष्य नदेखेका युवाहरु जीविकोपार्जनका लागि गाउँ छोड्न बाध्य छन् । एकातिर अवसरको कमी, अर्कोतिर परम्परागत व्यवसाय संकटमा परेको कारण युवाहरुका लागि गाउँ बस्नयोग्य रहेन । आफूले भोगेका पीडा आफ्ना सन्तानले नभोगून् भनेर परिवारले उनीहरूलाई पढाइका लागि भनेर शहर पठाउन थालेका छन् । आफ्नो सुन्दर भविष्यका लागि युवाहरु पोखरा, काठमाडौँ तथा विदेश जान थालेका छन् । 

गाउँ छोड्ने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको छ । गाउँमै बसिरहेका युवाहरुलाई पनि सहज छैन । उनीहरु पनि विकल्पको खोजीमा छन् । यही क्रममा युवा पलायन हुँदै गए भने मुस्ताङका बस्ती उजाड हुँदै जानेछन् । मुस्ताङको त्यो गौरवमय इतिहास, कला, संस्कृति तथा पहिचान संकटमा पर्नेछ । 

हिमाल संरक्षणका लागि नेपाल सरकारले दिगो नीति तथा योजना ल्याउनुपर्छ । मुस्ताङ मात्र नभएर हिमाल जोगाउनका लागि विशेष पहलकदमी गरिनुपर्छ । स्थानीय भाषा, कला, संस्कृति तथा पहिचानलाई जोगाउनका लागि पनि सरकारले दीर्घकालीन रणनीति अपनाउनुपर्छ । हिमाली क्षेत्रमा बसोबास गरिरहेकाहरुको वैकल्पिक जीवन जिउने कला तथा सीपको विकास सुनिश्चित गरिनुपर्छ । 

 त्यति मात्र हैन, सरकारले मुस्ताङबासीलाई जलवायु न्याय दिनुपर्छ । जलवायु परिवर्तनले पारेको क्षति तथा असरलाई न्यूनीकरण गर्न पनि उनीहरूलाई क्षतिपूर्ति तथा न्याय दिइनुपर्छ । जलवायु न्याय सुनिश्चित गर्न नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम तत्कालै ल्याइनुपर्छ, जसले गर्दा उनीहरूलाई राहत मिलोस् । जीवन जीउने कलाको विकास हुँदै जाओस् र जीवन्त मुस्ताङ बचिरहोस् । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ४० बजे

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका