सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने  « Khabarhub

सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा हिरामा लगाएको नयाँ करको कडा विरोध गरेका छन् । सङ्घले यी कर व्यवस्थाले सुन, हिरा र बहुमूल्य पत्थरको व्यवसायलाई धराशायी बनाउने बताएको छ । 

देशभरका सुनचाँदी व्यापारीले विरोध प्रदर्शन गर्दै सरकारसँग यी करहरू तुरुन्त फिर्ता लिन सरकारसँघ सङ्घले माग गरेका छन् । सोमबार सङ्घले पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । 

सरकारले सबै प्रकारका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थर जडित गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अगामी आर्थिक वर्षको बजेटमा लगाएको छ ।

संघका अध्यक्ष सुमनमान ताम्राकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सम्भावित दुष्परिणामको ख्यालै नगरी हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको सूचीबाट हटाएको छ । सुन र सुनका गरगहनामा विलासिता कर लाग्ने घोषणा गरेको छ ।’

संघको अध्ययन अनुसार भारतमा हिरामा ०.२५ प्रतिशत भन्सार महसुल लाग्छ भने नेपालमा १ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दा नेपाली उपभोक्ताले भारतको तुलनामा १८ प्रतिशतसम्म बढी मूल्य तिर्नुपर्ने अवस्था आएको छ ।

सुनको हकमा भारतमा ६ प्रतिशत भन्सार र ३ प्रतिशत जीएसटी गरी जम्मा ९ प्रतिशत मात्र लागत थपिन्छ भने नेपालमा १० प्रतिशत भन्सार, बैंक कमिसन र २ प्रतिशत विलासिता कर मिलाएर निकै बढी मूल्य पर्ने संघको भनाई छ ।

फराकिलो मूल्य अन्तरका कारण अवैध आयातको जोखिम बढेको सङ्घले जनाएको छ । नेपाल र भारतबीच खुला सिमाना रहेकोले हिरा र बहुमूल्य पत्थर जस्ता सानो आकारका वस्तुलाई सजिलै अवैध रूपमा ओसारपसार गर्न सकिने भएकाले राजस्वमा ठूलो नोक्सानी हुने चेतावनी दिइएको छ ।

गत साउनमा भारतले सुन आयातमा लाग्ने भन्सार महसुल घटाएर ६ प्रतिशत कायम गरेपछि नेपालमा फराकिलो मूल्य अन्तर कायम भएको थियो । यसका कारण बैंकहरुले ३ महिनासम्म सुन आयात नै नगरेकाले सरकार ३ अर्ब ६ करोड ४० लाख ५६ हजार राजस्व गुमाउन बाध्य भएको संघको अध्ययनले देखाएको विज्ञप्तिमा उल्लेख छ ।

सुनचाँदी, हिरा र बहुमूल्य पत्थर व्यवसायमा २५ हजार हाराहारी व्यवसायीको करिब ३.५ खर्ब रुपैयाँ लगानी रहेको छ । यो व्यवसायबाट वार्षिक १ खर्ब रुपैयाँभन्दा माथिको कारोबार हुन्छ र सरकारले २० अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त गर्छ ।

यो व्यवसायले ३ लाख कारिगरलाई रोजगारी दिएको छ भने व्यवसायी र कारीगरका परिवारका सदस्य समेत गरी अप्रत्यक्ष रूपमा २५ लाख व्यक्ति आश्रित छन् । व्यवसाय धराशायी हुँदा यी सबै व्यक्ति प्रभावित हुने सङ्घले जनाएको छ ।

नेपाल रत्न तथा आभूषण सङ्घले सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्न, हिरा र बहुमूल्य पत्थरलाई पुनः मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको सूचीमा राख्न, सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति तुरुन्त जारी गर्न र गरगहना व्यवसायलाई समेत ड्युटी ड्र ब्याकको सुविधा प्रदान गर्न माग गरेको छ ।

सङ्घले सुन नेपालीको धर्म, संस्कृति र जीवनसँग जोडिएको अपरिहार्य वस्तु भएकाले यसलाई विलासी वस्तुमा वर्गीकरण गर्नु अनुचित भएको जनाएको छ । धार्मिक र सांस्कृतिक अनुष्ठानका लागि आवश्यक पर्ने र लगानीको मुख्य क्षेत्र समेत मानिने यस्ता वस्तुमा विलासिता कर लगाउनु औचित्यपूर्ण नरहेको संघको भनाइ छ ।

व्यापारीहरूले यी करले मूल्य अझै बढाउने र व्यवसायमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् । 

उद्योग वाणिज्य महासंघको समर्थन 

नेपाल उद्योग वाणिज्य महासंघले पनि रत्न तथा आभूषण सङ्घले उठाएको मागलाई समर्थन गरेको छ । पत्रकार सम्मेलनमा महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल र महासंघ एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले एकबद्धता जनाएका हुन् । 

उपाध्यक्ष ढकालले सुन तथा हिरालाई शून्य कर लगाउनुपर्ने बताएका थिए भने उपाध्यक्ष श्रेष्ठले सुन तथा हिरा लगानीको क्षेत्र भएकाले कर नगाउन नहुने बताएकी थिइन् । 

चेम्बरको पनि एकबद्धता 

रत्न तथा आभूषण सङ्घले उठाएको विषयमा नेपाल चेम्बर अफ कमर्सले पनि ऐबबद्धता जनाएको थियो । चेम्बरमा उपाध्यक्ष सन्तोष पाण्डेले सङ्घले उठाएको मागहरूमा एकबद्धता जनाउँदै सुन तथा हिरालाई विलासिताको बस्तु भन्न नहुने बताएका थिए । 

सरकारले चाँडो भन्दा चाँडो यसमा लगाएको करको दर हटाउनु पर्ने पाण्डेको भनाई थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ०० बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको