चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण « Khabarhub

चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।

खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्‍याएकाे हो ।

समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरुले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा २०७२ सालदेखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।

१७ जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको पुनको भनाइ छ ।

भिरालो पाखामा ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरुलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

गाउँमा नभएका दाताहरुले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरण खुलाएर शिलालेख राखिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताए । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ ।

स्थानीयवासीले ‘खयरभारानी’ भन्ने खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ ।

खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने र आँटे, मागेको पूरा भएपछि बली चढाउने चलन छ । जनैपूर्णिमाका दिन करिब एक हजार दुई सय जना भक्तजन खयरबाराही पुग्ने गर्छन् ।

जनैपुर्णिमा बाहेकका दिनमा ताल र यस क्षेत्रको अवलोकनका लागि पर्यटकहरु पुग्ने गर्छन् । पाउद्वारदेखि खयर जाने बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

समुन्द्री सतहदेखि तीन हजार ६ सय ६० मिटर उचाइको खोप्रा लेकबाट धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको यो ठाउँलाई स्थानीयवासी‘खोपारा’ भन्ने गर्छन् । खोप्रामा पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । चौरी र भेडाबाख्राको घुम्ती गोठ पनि खोप्रा, खयर क्षेत्रको आकर्षण हो । पाउद्वारदेखि एक दिनमा खोप्रा र दुई दिनको पैदलयात्रामा खयरबाराही तालमा पुग्न सकिन्छ । (रासस)

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : १४ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै