‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’ « Khabarhub

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’



काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर सिंह राठौर गगन थापासँग कांग्रेसको १५औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । तर उनी अहिलेसम्म महाधिवेशन प्रतिनिधिमा चुनिएका छैनन् । यसबारे प्रश्न गर्दा आइतबारसम्म आफू महाधिवेशन प्रतिनिधि चुनिसक्ने दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्र क्षेत्र बर्दिया–२ बाट उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने हुन्छ । राठौले गगनले पार्टीलाई एक बनाउन नसकेका कारण आफूले उम्मेदवारी दिने बताए । त्रिचन्द्र क्याम्पस पढ्दा आफू स्ववियु सभापति बनेको र गगन थापा त्यसको सदस्य रहेको सम्झना गर्दै राठौरले एक पटक विशेष महाधिवेशनबाट गगन सभापति बनिसकेकाले आफूलाई छोडिदिनुपर्ने तर्क गर्छन् ।

पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने उनी २१ फागुनको निर्वाचनताका मात्रै गगन नेतृत्वको कांग्रेसतिर लागेका थिए । जसरी भएपनि सभापतिमा निर्वाचन लडिछाड्ने अडान लिइरहेका राठौर आफू सभापति भएको खण्डमा स्थानीय तहको निर्वाचनसम्ममा कांग्रेसलाई एक बनाएर देखाइदिने दाबी गरे । महाधिवेशन प्रतिनिधि नै निर्वाचित नभएका राठौरले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि खबरहबले उनीसँग केही समक्ष केही प्रश्नहरू राखेको छ ? प्रस्तुत छ नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरसँग गरिएको कुराकानीको सम्पादित अंश-

१५औँ महाधिवेशनका लागि के-कस्तो तयारी भइरहेको छ ?

मैले सभापति लड्ने तयारी गरिरहेको छु । केन्द्रीय सभापतिको दाबेदार हुँ ।

महाधिवेशन प्रतिनिधि नै निर्वाचित नभई किन उम्मेदवारी घोषणा गर्नुभएको हो ?

उम्मेदवारी घोषणा गरेको मान्छे पराजित हुन्छ होला र ? म निर्वाचित हुन्छु । भोलि नै म महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन्छु ।

उसो भने तपाईँ गगन थापासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?

गगनजी हिजो म त्रिचन्द्रको सभापति हुँदा सदस्य भएको व्यक्ति हो । त्यसैले उहाँले मलाई छोडिदिँदा पनि राम्रो । उहाँ विशेष महाधिवेशनबाट एक पटक सभापति भइसक्नुभयो । त्यसकारण मलाई छोडिदिँदा उहाँ र म दुबै जनालाई न्याय पनि हुन्छ । उहाँसँग भीड्दा अचम्म लाग्नुपर्ने कारण नै छैन ।

कतिपय अवस्थामा नेताहरुले लोकप्रियताका लागि उम्मेदवारी घोषणा गर्ने र पछि ब्याक हुने गरेको छ । तपाईं कहाँसम्म पुग्ने ?

म पछाडि हट्नका लागि सभापति बन्न खोजेको होइन पार्टी बनाउनको लागि उम्मेदवारी दिएको हुँ । पार्टी एकताको लागि, पार्टीलाई मिलाउनका लागि र पार्टीमा न्याय स्थापित गर्नका लागि उम्मेदवारी दिएको हुँ । पार्टीलाई अनुशासित ढङ्गले अगाडि बढाउनको लागि पनि मेरो उम्मेदवारी हो । गगनसँग सम्झौता गर्दिनँ, निर्वाचन लडेरै छाड्ने हो ।

अहिले कांग्रेस तीन वटा धारमा देखिएको छ । यो तीन धारलाई एक बनाउन तपाईंले के गर्नुहुन्छ ? तपाईलाई नै किन मतदान गर्ने ?

मैले सभापति जितेँ भने म सबै धारलाई मिलाएर पार्टीलाई एक बनाउँछु । जति पनि धारहरु देखिएका छन्, तिनलाई गगनले समेटेर एक बनाउन सकेनन् । त्यसकारण मैले उम्मेदवारी दिएको हो । गगन थापाले कांग्रेस एक बनाउन नसकेर नै मैले उम्मेदवारी दिएको हुँ । म यति चाहिँ ठोकुवा गर्न सक्छु कि मलाई सभापतिमा जिताएको खण्डमा आगामी स्थानीय तहको निर्वाचनसम्ममा म कांग्रेसलाई एक बनाएर देखाउँछु ।

तपाईँलाई शेरबहादुर देउवाले गगनसँग सभापति लड्न पठाएको हो रे नि ?

म नियमित महाधिवेशन पक्षधर हो । तपाईँलाई साँच्चै भन्दा म विशेष महाधिवेशन पक्षधरको नेता होइन । तर कांग्रेस एक बनाउनका लागि उहाँहरुलाई साथ दिएर पन्ध्रौँ महाधिवेशनमा सहभागी भएको हो । निर्वाचन आयोग र अदालतले आधिकारिकता दिइसकेपछि सबैभन्दा पहिले विशेष महाधिवेशनलाई सहयोग गरेर जान्छु भन्ने मैले नै कुरा राखेको हुँ । म डमी हुनुपर्ने के जरुरी छ ? मेरो यो पार्टीमा लगानी छैन र ?

मैले यो पार्टी र देशको लागि जीवन दिएको छु । त्यसकारण पूर्वसभापति देउवा दाईले मलाई पठाउनुभएको होइन । मैले स्वविवेक प्रयोग गरेर उम्मेदवारी घोषणा गरेको हुँ । म आफैँ नेता हो । म आफ्नो निर्णय आफैँ गर्नसक्छु। शेरबहादुर देउवाले त छुट्टै अधिवेशन गराउँदै हुनुहुन्छ त ।

गगन थापासँग प्रतिस्पर्धा गरेर सभापतिमा आउँछु भन्ने विश्वास छ?

अहिले जित्ने हार्ने भन्दा पनि आफ्नो दृष्टिकोण राखेर जाने हो । गगनजीहरू विशेष महाधिवेशन गरेर आउनुभो । तर म विशेष महाधिवेशन पक्षधर होइन । जिताउने हराउने भन्ने कुरा कार्यकर्ता र नेताहरूको हातमा छ ।

देशको राजनीतिक अवस्था बदलिएको छ, युवाले नेतृत्व गर्नुपर्छ भन्ने भाष्य छ । तपाईँलाई यो बेला कांग्रेसीहरुले चुन्लान् र ?

के मैले चाहिँ राजनीतिबाट सन्यास लिनुपर्ने हो र ? युवाले मात्रै राजनीति गर्ने भन्ने कुरा हुन्छ । हामी पनि युवाभन्दा कम छैनौँ । म के कुरामा युवाभन्दा कम छु र ? युवा अवस्थामा गगनजी पनि त हुनुहुन्न । उहाँ पनि ५० वर्ष क्रस गरिसक्नुभयो । ३५ वर्षका वालेन्द्र शाह प्रधानमन्त्री हुँदैमा ३० वर्षको व्यक्तिलाई कांग्रेसको सभापति बनाउने ?

तर बदलिँदो राजनीतिक परिस्थितिका कारण अहिलेसम्म कांग्रेस फर्ममा आउन सकेको छैन भन्ने कुरा पनि छ नि ?

कांग्रेस तीन चिरामा पुग्नुको मुख्य कारण नै विशेष महाधिवेशन हो । आन्दोलनका कारण यहाँ पुगेको होइन । साँच्चै भन्दा गगन थापा अथवा विशेष महाधिवेशन पक्षधर नेताहरूका कारण कांग्रेस तीन चिरा भएको हो । यति भन्न मलाई हिच्किचाहट छैन ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : २३ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर